राजबंशीका दुई कृतिमाथि परिचर्चा

काठमाडौं। साहित्यकार राधादेवी राजवंशीका दुई कृतिमाथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । हालै एक साहित्यिक कार्यक्रमका बिच उनका ‘छोरीको साहास’ कथासङ्ग्रह र ‘अनुभूतिका लहरहरु’ कविता सङ्ग्रहमाथि परिचर्चा गरिएको हो ।
बाइसवटा कथाहरु समेटिएका कथा संग्रहमाथि चर्चा गर्दै दिपक लोहनीले छोटा कथाहरु रहेको कृतिले मान्छेभित्रका मानसिकताहरु उजागर गरेको बताए । शैक्षिक,सामाजिक,साँस्कृतिक विविधतालाई आधार मानेर लेखिएका प्रायः कथाहरुले सामाजिक यथार्थवादी धार समाएका उनले बताए ।
भोगाइलाई कथाको रुप दिएजस्तो लाग्ने उल्लेख गर्दै अर्का चर्चाकार ध्रुर्वराज थापाले समाजका विसङ्गतिहरु बोध गर्ने राजवंशीका कथाहरु पाठकका आफ्नै विषयजस्तो भान पर्ने बताए ।
राजवंशीको कविताकृतिमाथि टिप्पणी गर्दै प्रा.डा.शैलेन्दु प्रकाश नेपालले कविता, बालकविता र भजनहरु गरी तीन प्रकारका कविता समावेश भएको कृतिमा जम्मा ५० थान प्रायःअनुभूतिप्रधान कविताहरु रहेको बताए ।
सर्जक राधादेवी राजवंशीले आफ्नो लेखन गर्भको बारेमा बताउँदै चार दशकको शिक्षण पेशाबाट निवृत्त भएपछि लेख्ने हुटहुटी जागेको जानकारी दिइन् ।
कार्यक्रममा प्रा.डा. गार्गी शर्मा, श्रीओम श्रेष्ठ ‘रोदन’, राधेश्याम लेकाली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सुनकोसी वाङ्मय प्रतिष्ठानले आयोजना गरेको कार्यक्रम प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालको अध्यक्षता र कोषाध्यक्ष तारा केसीको सञ्चालनमा सम्पन्न भएको थियो भने इखबर नेटले कार्यक्रमको मिडिया पार्टनरको भूमिका निभाएको थियो ।