युवराज अधिकारीको’युद्ध, युद्ध नै हुन्छ’ लोकार्पित

२०८२ असार ८, काठमाडौं । नेपाल वायुसेवा निगमका अध्यक्ष कवि एवं गीतकार युवराज अधिकारीको नविनतम कवितासंग्रह ‘युद्ध, युद्ध नै हुन्छ’ लोकार्पण भयो ।
कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री मा. बद्रीप्रसाद पाण्डे, विशिष्ट अतिथिहरु मा. अमरेशकुमार सिंह, मा. महेश बस्नेत, वरिष्ठ कवि तुलसी दिवस, एपेक नेपालका अध्यक्ष विश्वविमोहन श्रेष्ठ लगायतले सो कृतिको लोकार्पण गरेका थिए ।
इन्डिगो इन्क प्रा.लि.ले प्रकाशन गरेको ‘युद्ध, युद्ध नै हुन्छ’ कृतिबारे बोल्दै प्रमुख अतिथि पाण्डेले ‘युद्ध, युद्ध नै हुन्छ’ कविताकृतिले समकालीन विश्वको पीडा उजागर गरेको बताउँदै “युद्ध कुनै पनि कोणबाट स्वीकार्य हुँदैन” भन्ने सन्देश अधिकारीको कविताले दिन खोजेको बताए ।
यसैगरी वरिष्ठ कवि तुलसी दिवसले संग्रहमाथि समीक्षात्मक टिप्पणी गर्दै कवि अधिकारीको कवितामा समकालीन चेतना र यथार्थको गहिरो अभिव्यक्ति रहेको बताए ।
निर्देशक तथा लेखक प्रकाश सायमिले अधिकारीको समग्र लेखन यात्राबारे बोलेका थिए भने लोकार्पित कृतिका सर्जक युवराज अधिकारीले आफ्नो लेखन यात्राको वर्णन गर्दै “कविता भनेको माटोको सुगन्ध बोकेर जनमानससम्म पुग्ने माध्यम हो” बताउँदै आफ्ना केही थान कविता सुनाएका थिए ।
कार्यक्रममा अभिनेता क्याप्टेन विजय लामाले लोकार्पित कृतिबाट ‘युद्ध, युद्ध नै हुन्छ’ वाचन गरे भने अभिनेता निखिल उप्रेतीले ‘जिन्दगी यस्तै त हो कान्छा’ वाचन गरेका थिए । कवि राजेन्द्र शलभले स्वागत गरेको सोही कार्यक्रममा कलाकार वीरेन्द्र हमालको निर्देशनमा कवि अधिकारीको कविता ‘जिन्दावाद र मुर्दावादको सहरमा कोही आउने छ’ को नाट्यमञ्चन गरिएको थियो ।
चलचित्र विकास बोडका अध्यक्ष चर्चित कलाकार दिनेश डी. सी. ले सहजीकरण गर्नु भएको सो कार्यक्रम एलिस रिसेप्सन, गैह्रीधारा, काठमाडौंमा सम्पन्न भएको थियो ।