अनेसासको छैठौँ अन्तर्राष्ट्रिय च्याप्टर सम्मेलन एघार बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

बेल्जियम । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को छैठौं विश्व च्याप्टर सम्मेलन एघार बुँदे घोषणापत्र जारी गर्दै बेल्जियमको आन्टर्प सहरमा सम्पन्न भएको छ । अनेसासका केन्द्रिय अध्यक्ष सर्वज्ञ वाग्ले र सम्मेलनका संयोजक सौरभ कारंजितले औपचारिक रूपमा कार्यक्रमको अन्त्य भएको घोषणा गर्नुभएको छ ।

प्रा.डा. कविता लामा, प्रतिमा केसी र मीरा कोइराला सम्मिलित  समितिले तयार पारेको ११ बुँदे घोषणापत्रमा अनेसासका उद्देश्य, साहित्य संरक्षण, प्रवर्धन र दीर्घकालिन रणनीति समावेश छन् ।

विभिन्न साहित्यिक तथा सांस्कृतिक प्रस्तुती, कार्यपत्रहरू र प्रतिवेदनहरू पेश गर्दै सम्मेलन भव्य रूपले सम्पन्न भएको आयोजकले बताए । तीन दर्जन भन्दा बढी कवि, गजलकार र हाइकुकारहरूले आ-आफ्ना रचनाहरू प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा अनेसास बोर्ड अफ ट्रस्टी (बिओटी) का सभापति पदम विश्वकर्माले संगठनको संरचना, वित्तीय अवस्था र संस्था निर्माणमा केन्द्रित भई तथ्यहरू प्रस्तुत गर्दै नेतृत्व र संगठनका लागि प्रशिक्षण गराउनु भयो । अनेसासका निवर्तमान अध्यक्ष गोवर्धन पूजाले केन्द्र र बोर्डबीचको सीमा र भूमिकामा स्पष्टता आउनुपर्ने सुझाव सहितको सुझाव प्रतिवेदन प्रस्तुत गर्नुभयो । त्यसैगरी अनेसासको बाल समितिका गतिविधिबारे सुरेन उप्रेतीले प्रतिवेदन प्रस्तुत गर्नुभयो भने महेश्वर पन्तले साँस्कृतिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । महिला समिति महत्त्वको प्रतिवेदन मीरा कोइराला र आर्थिक पारदर्शिताको प्रतिवेदन मित्रबन्धु पोखरेलले प्रस्तुत गर्नुभयो । 

सम्मेलनमा सर्वोत्कृष्ट च्याप्टर घोषित भई अमेरिकाको बोस्टन च्याप्टरले बिओटी सभापति पदम विश्वकर्माद्वारा प्रायोजित पाँच सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्‍यो भने दोस्रो स्थान जापान र तेस्रो स्थान पोर्चुगल च्याप्टरले हासिल गर्न सफल भए ।

सम्मेलनले बाल समितिका संयोजक सुरेन उप्रेती लाई  ‘अनेसास हिरो’ घोषणा गर्दै दोसल्ला ओढाएर सम्मान गर्‍यो । सोही अवसरमा वरिष्ठ उपाध्यक्ष लाल गोपाल सुवेदीद्वारा लिखित ‘युरोपका नेपाली स्रष्टा’, उपाध्यक्ष डिल्ली अम्माईको कविता सङ्ग्रह ‘निरपेक्ष अस्तित्वको खोज’ लगायत दर्जनौं कृतिहरू विमोचन गरियो ।

अनेसासका वरिष्ठ उपाध्यक्ष लाल गोपाल सुवेदीले सम्मेलनमा विमोचित पुस्तकहरूको वितरण गरिन बाँकी रहेको बताउँदै ‘पुस्तक चर्चा बिशेष’ कार्यक्रममा सभ्य मञ्च उपलब्ध गराउने घोषणा गर्नुभयो ।

कार्यक्रममा सहभागी विश्वका विभिन्न च्याप्टरका प्रमुख तथा प्रतिनिधी र आगन्तुकहरूलाई सम्मान तथा मायाको चिनो प्रदान गरियो ।

सम्मेलनबाट सुमन तिम्सिना, डा. शशी थापा, र तिर्थ अर्याल सम्मिलित विधान संशोधन समिति गठन गरी दुईतिहाइ नियम अन्तर्गत विधान परिमार्जन विषयमा चलेको बहसले गतिशीलता ल्याएको बताइएको छ ।

अनेसासका केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्लेले अनेसासका विद्यमान तथा भावी संस्थागत संरचनालाई मजबुत बनाउँदै एक परिवार बनेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । सम्मेलन संयोजक कारंजितले स्तरोन्नत उदघाटन/समापन र दैनिक सञ्चार प्रणालीका लागि सराहना व्यक्त गर्नुभयो ।

सम्मेलन समापनपछि बेल्जियम र हल्याण्ड (नेदरल्याण्ड)का सहरहरूमा साहित्यिक भ्रमण गरिएको थियो ।

सम्मेलनको दौरानका केही झलकहरू:

प्रतिकृया दिनुहोस्