अक्षर खेती गर्नेहरूले आज धानको रोपाइँ गरे

२०८२ असार १४, काठमाडौं । असारको महिना किसानहरूका लागि भ्याइनभ्याई हुने गर्छ। मानो रोपेर मुरी फलाउने महिनाको उपाधि र प्रसिद्धि पाउँदै आएको असारमा किसान त किसान किसान बाहेकका समेत रोपाइँ भनेपछि ज्यादै उत्सुक र उत्साहित देखिन्छन्।
स्कुल कलेजका विद्यार्थीलाई समेत प्राविधिक शिक्षा अन्तर्गत धान रोपाइँ बारे स्थलगत भ्रमण गराएर राष्ट्रिय धान दिवसमा सरिक गराइन्छ। राष्ट्रिय धान दिवसका अवसरमा साहित्यकारहरू पनि कम उत्साहित देखिँदैनन्।
यसै क्रममा आज सर्जकहरूको टोलीले धान रोपाइँ गरेर थप हौसला बढाएका छन्। अक्षरको खेती गर्ने र गीत गाउने कलाकारहरूले खेतमा रमाउँदै धान रोपाइँ गरेको देखेर किसानहरू निकै खुसी भएका छन्। साहित्यिक पत्रकार संघ, उपन्यास समाज नेपाल र सखी प्रतिष्ठानको संयुक्त आयोजनामा सर्जकहरूको टोलीले गोकर्णेश्वर नगरपालिका वडा नं ३ स्थित सुन्ताखानका कृषक तथा समाजसेवी कृष्ण भण्डारीको खेतमा रोपाइँ गरेका हुन्।
रोपाइँमा भण्डारीका परिवारजनलगायत अन्य स्थानीय बासिन्दाको उपस्थिति रहेको थियोे। सहभागी सर्जकहरूलाई समाजसेवी भण्डारीले दहीचिउरा र तरकारीलगायतका परिकारहरु खुवाएर आतिथ्य सत्कार गरेका थिए।
सर्जकहरूले धान रोपाइँ गर्नुका साथ-साथै रोपाइँसम्बन्धी गीत गाएर सुनाएका थिए।
सहभागीहरूले जनकवि धर्मराज थापा रचित ‘हरियो डाँडामाथि हलो जोत्ने साथी’ बोलको गीत सामूहिक रूपमा गाएका थिए। त्यसैगरी, सुभाषचन्द्र पौडेल’भीमफेदीया’ले’ असारको पन्ध्र’बोलको स्वरचित गीत गाएर सुनाएका थिए।
सहभागी सर्जकहरूमा राधेश्याम लेकाली, शंकर भारती, मन्जिला अनिल, मुरारि सिग्देल, डा. सिर्जना शर्मा, रमेश दाहाल, कमला रिसाल, ऋतु कडेल, सुभाषचन्द्र पौडेल’भीमफेदीया’, उषा केसी, रूपा रिसाल, अनिलनाथ उप्रेतीलगायत रहेका छन्।