‘हिमतरङ्ग’ खण्डकाव्य विमोचन र पुस्तक परिचर्चा सम्पन्न

न्यूयोर्क, अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड अफ ट्रस्टीका वर्तमान सल्लाहकार, पूर्व सभापति तथा पूर्व केन्द्रीयअध्यक्ष गीता खत्री, अनेसास न्यूयोर्क च्याप्टरका पूर्व अध्यक्ष ज्योति पौडेल र सोही च्याप्टरका अर्का पूर्व अध्यक्ष पुनम काफ्लेद्वारा रचित संयुक्त खण्डकाव्य ‘हिमतरङ्ग’ को विमोचन पुस्तक चर्चा तथा अन्तरक्रिया कार्यक्रम हालै सम्पन्न भएको छ ।

अनेसास बिओटी सभापति पदम विश्वकर्मा, केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्ले, वरिष्ठ उपाध्यक्ष लालगोपाल सुवेदी लगायतले अनलाइन जूम समारोह मार्फत कृतिको विमोचन गर्नुभयो ।

अनेसास बिओटी सभापति पदम बिश्वकर्मा, न्यूयोर्क च्याप्टर अध्यक्ष लक्ष्मी श्रेष्ठ तथा सहित्यकार डा. ज्ञानु पाण्डेले सो अवसरमा लेखकत्रयलाई बधाई दिँदै कृति सफलताको लागि शुभकामना व्यक्त गर्नुभयो । ‘हिमतरङ्ग’ खण्डकाव्य लेखन पृष्ठभूमिको रहस्योद्घाटन गर्दै ज्योति पौडेलले लेखकीय मन्तव्य व्यक्त गर्नुभयो भने त्रिवेणीको संगमको बारेमा पूनम काफ्लेले प्रकाश पार्नुभयो ।

लोकार्पित कृति बारे साहित्यकारहरू प्रा. डा. रामप्रसाद ज्ञवाली, डा. नवराज लम्साल र प्रा. महेश पौड्यालले समिक्षात्मक टिप्पणी र परिचर्चा गर्नुभयो । कृति सर्जक त्रिवेणीको तर्फबाट गीता खत्रीले धन्यवाद ज्ञापन गर्नुभयो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय कार्यसमितिको आयोजनामा अध्यक्ष सर्वज्ञ वाग्लेको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजिकरण महासचिव राजु सिटौलाले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्