म जे-जस्तो छु,पूर्ण छु

ब्रह्मदत्त वाग्ले (बेल्जियम)
———————
म जे छु
त्यो आकस्मिक होईन
वर्षौंको यात्रामा सिञ्चित बोधीवृक्ष जस्तै
आँधी वेहेरीले ढाल्न नसक्ने
संघर्षहरूले खारिएर कुँदिएको व्यक्ति हूँ म
म भित्रका मेरा आत्माकथाहरू
मेरा मौन भावनाहरू
शब्दहरू भन्दा अति गहिरो
ब्रह्माण्डको ध्वनी जस्तै गहन एवं खिरिला छन्,

कहिले काँही समाजको नजरमा
मेरो सत्य अपत्यारिलो लाग्न सक्दछ
मेरो स्वभाव र बिचार
अपरिपक्व अधकल्चो जस्तो देखिन्छ होला
त्यसैले ,
मलाई ढाल्न खोजिन्छ उनीहरूको सोच र बिचारमा,

जहाँ म न त अटाउँन सक्छु
न त अडिन सक्छु
न त बदलिन सक्दछु
न त बस्ननै सक्छु
किनकी ,
म फलामको धातु जस्तो होईन
तताएर स्वरूप परिवर्तन गर्न सकिने
म आफै एउटा शिलालेख न हूँ
जहाँ लेखिएको अक्षर अनन्त कालसम्म मेटिदैन,

त्यसैले ,
मेरो मौनता र सरलतालाई कमजोरी ठान्ने
मेरा मित्रहरूलाई सदा नमन गर्दछु
तपाईंहरूका कटाक्षेरूपी तीखा शब्दहरूले
कहिले काँही त
निर्दयी बनेर हृदय नै घोचिदिन्छन्
तर पनि
त्यही काँडाहरूनै विशिष्ट ऐना बनेर
मेरा प्रेरणाका अपार स्रोत हुर्किरहेछन्
मलाई आफ्नै बाटो हिड्ने प्रेरणा दिईरहेछन्

मित्रहरू !
म फुल्छु आफ्नै समयमा
चारैतिर सुवाश छर्दै
र त म यसैमा खुशी छु ,पूर्ण छु
आफ्ना कविताहरूका हरेक भावहरूलाई
आफ्नै सुरक्षित ढाल बनाई
कल्पनाका प्वाँख हालेर क्षितिजमा उडने प्रयत्न गरिरहेछु।

प्रतिकृया दिनुहोस्