सापकोटाको ‘सन्नाटाका सुस्केरा’ सार्वजनिक

काठमाडौं । कवि प्रकाश सापकोटाको नविनतम कविताकृति ‘सन्नाटाका सुस्केरा’ मंगलबार काठमाडौंमा आयोजित एक साहित्यिक कार्यक्रमका बिच विमोचन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ कवि एवं गीतकार दिनेश अधिकारी, साहित्यकारहरू श्रीओम श्रेष्ठ रोदन, सुस्मिता नेपाल, पवन आलोक, राधेश्याम लेकाली लगायतले सापकोटाको उक्त कृति लोकार्पण गरे ।
कविले लेखेको मनस्थितिमा पाठकहरू पुगेनन् भने कविता सफल नहुने हुँदा कवि सरल हुनुपर्ने उल्लेख गर्दै प्रमुख अतिथि अधिकारीले कवि प्रकाशका कवितामा त्यो सरलपन पाइने बताए ।
सापकोटाका सिर्जनामा आफ्नोपन पाइने बताउँदै साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले विश्वका अतिविकसित देशमध्येको डेनमार्कलाई कर्मथलो बनाएका कवि सापकोटाले त्यहाँ रहेर पनि आफ्नो माटो भुल्न नसकेका, देश दुख्दा र बेथितिमा कवि सापकोटा दुखी भएका उनका लेखनले प्रष्ट पार्ने बताए ।
कृतिमाथि चर्चा गर्दै टिप्पणीकार यादव भट्टराईले मझौला र छोटा आयतनका कविताको बाहुल्यता रहेको कविता कृतिमा कवि चेतना मज्जैले पोखिएको बताए । नेपाली समाजमा भएका हरेक घट्नाहरु लिने सरल भाषाका कविता मुलत: शिर्षकको केन्द्रीयतामा घुमेको बताए । कवितामा घृणा छ,आक्रोस छ, चिन्ता छ भन्दै विदेशमा बसेर पनि देश दुख्नुले कविको संवेदनशिलता प्रष्ट हुन्छ भन्दै कविताहरु सरल भैकन पनि बिम्बात्मक रहेका उनले बताए।
सापकोटा कविमन भएको मान्छे आफूले पाएको बताउँदै सञ्चारकर्मी एवं कवि ठाकुर बेलवासेले विदेशमा भएपनि कविको मन नेपालमै रहेको भाव व्यक्त गरे । कुनैपनि विषयको उत्खनन सुन्दर ढंगले कविताहरू मार्फत गरेका भन्दै पाठकको मन झंक्रित बनाउने ‘सन्नाटाका सुस्केरा’का कवि सापकोटालाई उनले बधाई दिए ।
कार्यक्रममा वरिष्ठ साहित्यकार पवन आलोक, नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, भुँडीपुराण प्रकाशनका केशव पराजुली लगायतले शुभकामना दिए भने कवि दिपक चौलागाईं, रुपा रिसाल लगायतले लोकार्पित कृतिका केही थान कविता वाचन गरेर सुनाए ।
डेनमार्कबाट कवि सापकोटाद्वारा प्रेषित लिखित मन्तव्य कवि विश्व सिग्देलले बाचन गरे । आफ्नो भौतिक उपस्थिति नरहे पनि भावनात्मक उपस्थिति बलियो रहेको र आफ्ना सिर्जनाहरू नै खास उपस्थिति रहेका उल्लेख गर्दै कवि सापकोटाले लिखित मन्तव्यमार्फत सहभागी र सहयोगी सबैप्रति कृतज्ञता जाहेर गरेका थिए ।
पुस्तकको प्रकाशक सुनकोसी वाङ्मय प्रतिष्ठानकै आयोजनामा सो संस्थाका अध्यक्ष छविरमण सिलवालको अध्यक्षता र महासचिव प्रदीप सापकोटाको सञ्चालनमा भएको कार्यक्रममा स्वागत मन्तव्य पूर्ण बहादुर श्रेष्ठ ह्रदयङ्कृतले राखे ।
‘सन्नाटाका सुस्केरा’ प्रकाश सापकोटाको पाँचौ प्रकाशित कृति र पहिलो कविता संग्रह हो । दुई सय ५० रूपैयाँ मूल्य रहको पुस्तक भुँडीपुराण प्रकाशनले वितरणको जिम्मा लिएको छ ।
अन्तर्राष्ट्रिय नेपाली सहित्य समाज (अनेसास)का आजिवन सदस्य, डेनमार्क च्याप्टरका पूर्व अध्यक्ष कवि सापकोटा अनेसास दर्पण अनलाइन संस्करणका सम्पादक समेत हुन् । प्रवासमा रहे पनि नेपाली साहित्य र पत्रकारितामा निरन्तर सक्रिय सापकोटाका यसअघि उपन्यास, मुक्तक संग्रह, अनुसन्धनात्मक कृतिहरू प्रकाशित छन् भने एक उपन्यास प्रकाशोन्मूख छ ।