सुप्रमा-ईप्रमा अन्तर्रास्ट्रिय पुरस्कारका लागि दश उत्कृष्ट पुस्तकहरूको सूची सार्वजनिक

लण्डन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेलायत च्याप्टरले सुप्रमा-ईप्रमा अन्तर्रास्ट्रिय पुरस्कार २०२५ का लागि दश उत्कृष्ट पुस्तकहरूको सूची सार्वजनिक गरेको छ ।
पुरस्कार समितिका संयोजक डा. रूपक श्रेष्ठद्वारा जारी प्रेस विज्ञप्तिका अनुसार समितिलाई प्राप्त पुस्तकहरू मध्येबाट निर्णायक समितिको सर्वसम्मतिले उत्कृष्ट १० पुस्तकहरू छनौट गरिएको हो ।
सार्वजनिक सूचीमा एउटा उपन्यास, चारवटा कविता संग्रह र दुईवटा मुक्तक संग्रह परेका छन् भने उपन्यास, खण्डकाव्य, भूमिका संग्रह र नियात्रा संग्रह एक-एकवटा छन् ।
छानिएका १० उत्कृष्ट पुस्तकमा श्रीधर खनालको सावर्णि (उपन्यास), ठाकुर बेलवासेको चोटहरूको उत्सव (कवितासंग्रह), जीत बुढाथोकीको यानीमाया (मुक्तक संग्रह), लालगोपाल सुवेदीको अनि प्रतीत्य समुत्पाद शून्य शून्य महाशून्य (कविता संग्रह), सूर्य खड्का विखर्चीको अर्जुन उलूपी (खण्डकाव्य ), डा. राजकुमार छेत्रीको अक्षरका आयाम (भूमिका संग्रह), सुमन थापा ‘संगम’ को अभ्युदय (कविता संग्रह), सबी श्रेष्ठको अपरिभाषित आभा (मुक्तक संग्रह), खगेन्द्र कोपिलाको पर्जन्य मासूर (नियात्रा संग्रह) बिजय हितानको मलाई आर्यघाट लगेर नजलाउनु (कविता संग्रह) परेका छन् ।
सार्वजनिक गरिएका १० मध्ये एक सर्वोत्कृष्ट कृतिको घोषणा अगष्ट ५ मा गरिने र अगष्ट ९ मा भानु तथा ईश्वर जयन्तीका अवसरमा लण्डनमा आयोजना हुने कार्यक्रममा कृतिका श्रष्टालाई पुरस्कृत गरिने कुरा विज्ञप्तिमार्फत जानकारी दिइएको छ ।