राजु सिटौलाको कवितासंग्रह ‘ईश्वरका फूलहरू’ सार्वजनिक

काठमाडौं : गत  शुक्रबार अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरको आयोजनामा कवि तथा अनेसास केन्द्रीय महासचिव कवि राजु सिटौलाद्वारा लिखित कवितासंग्रह ‘ईश्वरका फूलहरू’ को लोकार्पण कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ। कार्यक्रम अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीको अध्यक्षतामा भएको थियो।

अनेसास नेपाल च्याप्टरकी महासचिव रन्जना निरौलाले सहजकर्ताको भूमिका निभाएको उक्त कार्यक्रम वरिष्ठ छन्दकविका रूपले चिनिएका डा नवराज लम्सालको प्रमुख आतिथ्यतामा भएको थियो । लोकार्पण कार्यक्रममा स्वागत मन्तव्यमार्फत नेपाल च्याप्टरकी उपाध्यक्ष मन्जिला अनिलले स्वागत गरेकी थिइन् । 

कृतिको समीक्षा साहित्यकार खेमनाथ दाहाल र विशिष्ट गीतकार प्रा. डा. कृष्णहरि बरालले गरेका थिए । प्रा. डा. कृष्णहरि बरालले सिटौलाको कवितामा भाषा र भावको सशक्त संयोजन रहेको उल्लेख गर्दै भने, “सिटौलाका कविता अन्तरात्माको स्पर्श हुन्, जसले पाठकमा गहिरो प्रभाव छोड्छ।” तेसैगरी समीक्षक खेमनाथ दाहालले पुस्तकको आद्योपान्त समीक्षा गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार तथा सञ्चारकर्मी डा. नवराज लम्सालले ‘ईश्वरका फूलहरू’ नेपाली कविताको गाम्भीर्यमा एउटा ताजा भाव र संवेदनाको स्पर्श भएको बताए। उनले भने, “सिटौलाको कविताले विचार र अनुभूतिलाई गहिरो ढंगले उधिनेको छ, जसले नेपाली कविता साहित्यलाई अझ समृद्ध बनाउनेछ।”

विशिष्ठ अतिथिका रूपमा उपस्थित प्राध्यापक डा. खगेन्द्र लुइटेलले संग्रहमा प्रयोग भएका प्रतीक र शिल्पको प्रशंसा गर्दै यसले पाठकलाई चिन्तनशील बनाउने बताए।

त्यसैगरी कार्यक्रममा साहित्यकार र अनेसासका पूर्व अध्यक्ष राधेश्याम लेकालीले संग्रहको समीक्षात्मक टिप्पणी गर्दै यस कृतिमा समर्पण, अध्यात्म र सामाजिक यथार्थको सूक्ष्म चित्रण भएको उल्लेख गरे।

साहित्यकार, प्रतीक ढकाल,  लीला लुइटेल, डा.रामप्रसाद दाहाल, सुमन वर्षालगायतले शुभकामना मन्तव्यसहित राजु सिटौलाको व्यक्तित्व तथा कृतिको महत्वबारे चर्चा गरेका थिए । कार्यक्रममा विभिन्न कविहरूले कृतिभित्रका कविता वाचन गरेर सुनाएका थिएभने च्याप्टरकी कोषाध्यक्ष कमला रिसालले सुमधुर गीत प्रस्तुत गरेकी थिइन् ।

अनेसास दर्पणका कार्यकारी समपदक रमेश दाहालसहित काठमाडौँस्थित अनेसास नेपाल च्यापटरका पदाधिकारी, सदस्य एवं आजीवन सदस्यहरूलगायत विभिन्न साहित्यकार, पत्रकार, व्यवसायीहरूको उल्लेख्य रूपमा उपस्थित सहभागीहरूलाई च्याप्टरका अर्का उपाध्यक्ष निर्मलरमण पराजुलीले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमका सभापति राजेन्द्र केसीले पुस्तक र कवि राजु सिटौलाको व्यक्तित्व र कृतित्व बारेमा बोल्दै लाोकार्पण कार्यक्रमलाई विसर्जन गरेका थिए ।

नुवाकोटमा जन्मिएका राजु सिटौला हाल अमेरिकामा रहेर लामो समयदेखि नेपाली भाषा, साहित्यको  प्रवर्धनमा क्रियाशील छन्भने कोलोराडो स्थित विभिन्न सामाजिक संघसंस्थामा क्रियाशील रहेका छन् ।

ईश्वर बल्लभको ‘आगोका फूलहरू’ जस्तै गहिरो शीर्षकबाट अब सिटौलाले ‘ईश्वरका फूलहरू’ मार्फत नेपाली कवितामा नयाँ स्वाद थपेका छन्।

प्रतिकृया दिनुहोस्