कवि विश्व सिग्देलको कृति ‘तालीको समाजशास्त्र’ माथि परिचर्चा

काठमाडौं । ‘अधिक बिम्वहरुको जञ्जालले कविता जटिल हुन्छ योबाट कवि जोगिनुपर्छ । साँस्कृतिक चेतना र लघुताभाष भैसकेको सन्दर्भमा घिनलाग्दो परिपाटी मञ्चबाट शुरु हुन्छ । समयको मूल्यलाई नमान्ने जो कोही कवि हुन सक्दैन् ।’ – शुक्रबार ठमेलमा आयोजित कवि विश्व सिग्देलको कविताकृति ‘तालीको समाजशास्त्र’माथि परिचर्चा कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य दिँदा विशिष्ठ कवि श्यामलद्वारा अभिव्यक्त भनाइ हो यो ।
कविताले कुनैपनि व्यक्तिको नीजि व्यक्तित्व निर्माण गर्ने र विश्वको व्यक्तित्व उनका कविताहरुले निर्माण गरेको बताउँदै कवि विश्व सिग्देललाई अत्यन्तै सम्भावना भएका कविको रुपमा उनले चर्चा गरे । ‘तालीको समाजशास्त्र’ वर्तमान समयमा पनि उत्तिकै सान्दर्भिक भएको भन्दै उनले थपे- ‘कवि विश्वका कवितासँग म अभिभूत भएको छु ।’ साहित्यकारले परम्परा तोड्नुपर्नेमा जोड दिँदै नेपाली कवितको स्थान बुझ्न विश्व साहित्य बुझ्नुपर्ने उनले बताए ।
परिचर्चाकार आर एम डंगोलले तालीको समाजशास्त्रमा शक्तिशाली कविताहरु पाइएको बताए । थोरै लेख्ने तर गहकिला कविता लेख्ने र कवितामा छुट्टै पहिचान बनाउन सफल कवि विश्व सिग्देलका कविताले हामी अरुको अधिनमा कसरी गाँजिदै गैरहेका छौं भन्ने कुरा प्रष्ट पार्ने बताए ।
समाजका जटिल यथार्थहरुलाई टपक्क टिपेर यस्तै विषयमा लेखिएका ४५ थान कविता रहेको संग्रहमा समाजका विभिन्न तहमा रहेका विकृति र विसङ्तिलाई उजागर गरिएको उनले बताए । बैचारिक र बौद्धिक चेतले लेखिएका कवि विश्वका सरल कवितामा विषयवस्तुको गाम्भिर्यता भरिएको चर्चा गर्दै डंगोलले भने- ‘भावनाको सुगठित संयोजन हो कविता । विश्व मनले कविता लेख्छन् । सुन्दर बिम्वहरुको प्रयोगले अझै बढी कविता सुन्दर बनेका छन्।’
अर्का चर्चाकार सुधा मैनालीले भनिन्- ‘कवितामा छुट्टै पहिचान बनाएका कवि विश्वका कविता सामाजिक विषयवस्तुमा आधारित भएर विषयगत विविधता सहित सालीन विद्रोह गरेको पाइन्छ ।’ शिर्षकको औचित्यमाथि चर्चा गर्दै सुधाले अगाडि भनिन्-‘आजको २१ औं शताब्दीको सभ्य, उन्नत र विकसित समाजको तालीलाई दासत्वको यात्राको रुपमा दर्शाइएको कविताहरुमा सामाजिक विकृति र विचलनप्रति व्यङ्ग प्रहार गरिएका छन् । विचारहरु गहन छन् ।’
आफू सुन्न, सुनेर गुन्न आएको भन्दै ‘तालीको समाजशास्त्र’का सर्जक कवि विश्व सिग्देलले आफ्ना कवितामा रहेका कमी कमजोरीलाई केलाइदिनुहुने सबैलाई धन्यवाद दिए । विचार र कलालाई सँगसँगै लगेमात्र कविता कविताजस्तो बन्ने बिचार राख्दै सचेततापूर्वक कविता कर्ममा लागिरहन अग्रज र समकालीनहरुको सुझाव आवश्यक रहेको उनले औँल्याए ।
कवि रमी प्रिया, चन्द्रबहादुर लामा, अमोघ काफ्ले लगायतले ‘तालीको समाजशास्त्र’बाट कविताहरू बाचन गरे ।
आयोजक सुनकोसी वाङ्मय प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालको अध्यक्षतामा सम्पन्न कार्यक्रम महासचिव प्रदीप सापकोटाले सहजीकरण गरेका थिए भने सदस्य पूर्णबहादुर श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सह-आयोजक चि:वहाल परिबार, ठमेल र इखबर नेट मिडिया पार्टनर रहेका थिए ।