बहुभाषिक कविता वाचनसहित कवि सिग्देलको ‘पेल स्याडोज एट डस्क’ लोकार्पण

काठमाडौं, साउन ३१ । कवि विश्व सिग्देलको नयाँ कविता संग्रह पेल स्याडोज एट डस्क शनिबार पुतलीसडकस्थित ग्रीन लिफ क्याफेमा लोकार्पण भयो । वर्तमान कविता समूहले आयोजना गरेको कार्यक्रममा बहुभाषिक कविता वाचन समेत गरियो ।
पुस्तक विमोचन कार्यक्रमका प्रमुख अतिथि डा. हेमराज काफ्ले र डा. बलराम अधिकारीसहित कवि सिग्देललाई सञ्जय सुमनले खादा अर्पण गर्दै सम्मानपूर्वक आसन ग्रहण गराएपछि प्रमुख अतिथिहरू र लेखक स्वयंले संयुक्त रूपमा पुस्तक सार्वजनिक गर्दा सभाहल तालीले गुञ्जिएको थियो । कवयित्री रमी प्रियाको स्वागत मन्तव्यपश्चात कार्यक्रमले थप औपचारिकता लियो ।
मन्तव्यका क्रममा डा. हेमराज काफ्लेले सिग्देलको संवेदनशील र भावुक लेखनशैलीको चर्चा गर्दै संग्रहले मानवीय भावना र अनुभवका सूक्ष्म तहलाई समेटेको टिप्पणी गरे । उनले यसै सङ्ग्रहका कविताका सुन्दर बान्की पनि प्रस्तुत गर्दै विश्व सिग्देलका कविताले काव्य तत्वलाई सुन्दर ढङ्गबाट समेटेको बताए ।
अर्का बक्ता डा. बलराम अधिकारीले कृतिको विषयगत गहिराइ, समकालीन कवितामा यसको महत्त्व र अनुवादको दृष्टिकोणबाट यसलाई कसरी अझ अन्तर्राष्ट्रिय बनाउन सकिन्छ भन्ने विषयमा आफ्ना धारणा केन्द्रित गरे । उनले नेपाली साहित्यको अनुवाद लेखक र अनुवादकको सहकार्यलाई अघि बढाउनुपर्ने कुरामा जोड दिए ।
अंग्रेजी र जर्मन दुवै भाषामा गरिएको कविता वाचन कार्यक्रमको विशेष आकर्षण थियो । कविहरू रजनी मिला, हरिश अधिकारी, भीष्म उप्रेती र अभय श्रेष्ठले विश्व सिग्देलका अंग्रेजी कविता वाचन गरे भने निशान बेलबासे, साकृत सिग्देल, सेविका लिम्बु र प्रतीक्षा दाहालले सिग्देलका जर्मन भाषामा अनुवाद गरिएका कविता प्रस्तुत गर्दै सिग्देलको कविताको अन्तर्राष्ट्रिय अपीललाई उजागर गरे ।
लेखकको मन्तव्यमा कवि सिग्देलले आयोजक, वक्ता, उपस्थित अग्रज र समकालीन साहित्यिक व्यक्तित्वप्रति आभार व्यक्त गर्दै आफ्नो सिर्जनात्मक यात्राबारे बोले । भारतको उत्तराखण्डको मसुरीमा पढाउँदा सन् २००८/९ ताका अंग्रेजीमा अनुवाद भएका कविताहरुमध्ये छानिएका २५ ओटा कविताकी अंग्रजी अनुवादक स्टर्मी हजारिका र त्यसको जर्मन अनुवादक स्भेन्यालाई कविले विशेष धन्यवाद दिए । ‘पेल स्याडोज एट डस्क’ लाई आत्ममन्थन र बाहिरी संसारको अवलोकन दुवैको यात्रा भएको उनले बताए ।
कवि चन्द्रबहादुर लामाद्वारा सञ्चालित कार्यक्रम कवि धीर कुमार श्रेष्ठले धन्यवाद ज्ञापनका साथ समापन गरे ।