पदम विश्वकर्माको उपन्यास “पाताल”को “परिचर्चा कार्यक्रम” सम्पन्न

२०८२ भदौ १८, काठमाडौं । साहित्यिक पत्रकार संघ (Literary Journalist Association)ले आज डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा साहित्यकार पदम विश्वकर्माको उपन्यास “पाताल”को “परिचर्चा कार्यक्रम”को आयोजना गर्यो ।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा प्रमुख अतिथि पूर्व राजदूत कवि भीम उदासले पानसमा दीप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । उनले द्वन्द्व, अवसर र रोजगारीको अभावमा गैरकानूनी रूपमा अमेरिका जानेहरूको ठूलो संख्या रहेको र तिनीहरू चारैतिरबाट शोषणमा परेको जस्तो उठाउनै पर्ने संवेदनशील विषयलाई उपन्यासले उठाएको बताएका थिए ।
सोही कार्यक्रममा विशिष्ट अतिथि प्रा.डा. सुरेन्द्र केसीले नेपालीहरूले भोगिरहेको पीडाप्रति राजनीतिक दल र नेताहरू संवेदनशील नभएको धारणा राखे।
कार्यक्रममा स्वागत गर्दै अध्यक्ष लेकालीले कार्यक्रमको उदेश्य र महत्वमाथि बोलेका थिए। उनले कृतिकारको परिचय, कृतिको महत्व, सापसको परिचय र अन्य समसामयिक विषयमा प्रकाश पारेका थिए ।
कार्यक्रममा “पाताल”को “परिचर्चाबारे वरिष्ठ समालोचक प्रमोद प्रधान, प्रा. डा. गोविन्दमान सिंह कार्की, मोमिला जोशी, नयनराज पाण्डे, विमल भौकाजी र डा. शान्तिमाया गिरीले समीक्षात्मक मन्तव्य राखेका थिए ।
वरिष्ठ समालोचक प्रमोद प्रधानले २०५२ पछि सर्वसाधारण नेपालीले भोगेका र भोगिरहेका त्रासदी र पीडादायी अवस्थालाई पाताल उपन्यासले अभिलेखीकरण भएको चर्चा गरे भने वरिष्ठ आख्यानकार नयनराज पाण्डेले पाताल उपन्यासको राम्रो चलचित्र बन्नसक्ने बताउँदै साहित्यिक कृतिको चलचित्र बनाउन जोखिम भने हुने उल्लेख गरे।
प्रसिद्ध निबन्धकार मोमिलाले पाताल उपन्यासमा देखाइएको पीडा, दुख र त्रासले पाठकलाई मर्माहत बनाउने बताउँदै पुस्तक राम्रो भएको विचार व्यक्त गरिन् भने साहित्यकार एवम् शारदा मासिकका सम्पादक विमल भौकाजीले उपन्यासमा पाठकलाई तान्ने क्षमता रहेको विचार व्यक्त गर्दै उपन्यासमा अध्यायको शीर्षक राख्दा कौतूहल समाप्त हुने भएकोले उपन्यासकारहरूले यसतर्फ ध्यान दिनुपर्छ भनेका थिए ।
समालोचक प्रा.डा. गोविन्दमानसिंह कार्कीले पाताल एक सफल उपन्यास भएको र यसले नेपाली उपन्यासका क्षेत्रमा आफ्नो स्थान सुरक्षित राख्ने विश्वास व्यक्त गरेभने डा. शान्तिमाया गिरीले सफल उपन्यास लेखनका लागि उपन्यासकारलाई बधाई दिँदै उपन्यासले नेपाली उपन्यासका क्षेत्रमा अहिलेको अत्यन्त संवेदनशील विषयलाई उठाएको बताइन् ।
कार्यक्रममा कृतिकार पदम विश्वकर्माले अनलाइनबाटै धन्यवाद ज्ञापन गर्दै आफ्नो सिर्जना यात्राबारे प्रकाश पारेका थिए । कार्यक्रमको सहजीकरण संघको कोषाध्यक्ष वरिष्ठ आख्यानकार पद्यमावती सिंहले गरेकी थिइन्।
कार्यक्रममा साहित्यकारहरु हिरण्यकुमारी पाठक, मधुबन पौडेल, पवन आलोक, खेमनाथ दाहाल, युवराज नयाँघरे, युवराज मैनाली, नरेन्द्रराज पौडेल, विजध्वज थापा, ललिता दोषी, मथुरा श्रेष्ठ, पारशप्रकाश नेपाल, प्रद्युम्न जोशी, सविता ढुंगाना, सुमन वर्षा, शकुन्तला जोशी, रमेश दाहाल, डी. आर. राई, रितु कँडेल, राधा भण्डारी, डा. बुनु दाहाल, श्रीबाबु कार्की, हरिश कल्पित, जीवनकुमार श्रेष्ठ, शकुन्तला जोशी, छविरमण सिलवाल, प्रदीप सापकोटा, राजन नेउपाने, राज रजक, नीता श्रेष्ठ, हेमा मानन्धर, दिलकुमार महर्जन, देवेन्द्र के. सी., रश्मि रिमाल, तेजेन्द्र प्रसाईं, कृष्णमाया विश्वकर्मा, सुमित्रा विश्वकर्मा, जीवनाथ पोखरेललगायतको उपस्तिथि रहेको थियो ।