‘विस्फोटपछिको शून्यतामा आवाज’ विषयक कवि गोष्ठी सम्पन्न

काठमाण्डौ । वर्तमान कविता समूह र अरनिको नाट्यशालाको संयुक्त आयोजनामा ‘विस्फोटपछिको शून्यतामा आवाज’ विषयक विशेष कवि गोष्ठी कैलाश चौर, पशुपतिमा सफलतापूर्वक सम्पन्न भएको छ ।

देशको समसामयिक राजनीतिक अवस्था, परिवर्तनका चुनौतीहरू र त्यसका दीर्घकालीन प्रभावहरूलाई केन्द्रविन्दु बनाएर आयोजित गोष्ठीमा सहभागी कविहरूले आफ्ना कवितामार्फत समाजमा देखिएका विरोधाभास, अन्योल र संक्रमणकालीन अवस्थाका संवेदनशील पक्षहरू उजागर गरे ।

जेनजी आन्दोलनका क्रममा सहिद भएका युवाहरूको सपना, देशको अबको बाटोप्रतिको अनिश्चितता र परिवर्तनको नाममा फाइदा लुट्ने प्रवृत्तिप्रति खबरदारी आदि समेटिएका कविताहरू सो गोष्ठीमा साझा स्वर बनेर गुञ्जिए ।

कार्यक्रममा कवि रामगोपाल आशुतोषले आफ्नो उमेरको आधा समय नकटेको समयसित  कविता  वाचन गरेका थिए, जुन कविता प्रेम राजनीति र द्वन्द्वको त्रिवेणी थियो । रजनी मिलाले  ‘आमा न तिमी स्वतन्त्र थियौ न म  स्वतन्त्र छु’ शीर्षकको कविता  वाचन गरेकी थिइन् भने विना नेम्कुलले ‘द्वन्द्व’ शीर्षकको मन र मष्तिस्कवीचको द्वन्द्वबारे कविता वाचन गरेकी थिइन् । 

विश्व सिग्देलले ‘जुनकीरी र आगोको किस्सा’ शिर्षकको अहङ्कार, अवसाद र सामाजिक संवेदनशीलताको टकरावमार्फत व्यक्तिगत र सामूहिक विनाशको चेतावनी दिने गहिरो रूपकात्मक प्रतिरोध कविता वाचन गरे । त्यसैगरि कमलराज के.सी.ले  ‘प्रश्न आफैंसँग’ शीर्षकको सहिदको योगदान सम्बोधन गरिएको कविता वाचन गरे भने देवकी तिमल्सिनाले ‘उमार्नु छ दुबो’ शीर्षकको सहिदका परिवारको मनोदशा रहेको कविता वाचन गरिन् । 

अन्य कविहरूमा सुरेश गाउँलेले ‘घरसँगै भत्केको मन’,  राधिका कल्पितले ‘के मलाई तिमी विना बाच्ने बानी पर्ला’,  सञ्जय सुमनले ‘नाटक भित्र अर्को नाटक किन ?’, श्रीराम दाहालले ‘तिमी र म’, शैलेन्द्र प्रसाद सिग्देलले ‘चेतना’,  कञ्चन जि.आर.ले  ‘फेरि  नउभ्याऊ कारागारमा मलाई’, रोमा लम्सालले ‘खरानीको चीत्कार’, एमपी पान्डेले ‘भयो चैँ के ?’, ध्रुव गजुरेलले ‘सोचाइ’, गजेन्द्र बोहोराले ‘बा’ शीर्षकका आ-आफ्ना कविता वाचन गरे । वाचित सम्पूर्ण कविताले वर्तमानको आलो अवस्था बोलेका थिए ।

सो अवसरमा वर्तमान कविता समूहका प्रतिनिधि विश्व सिग्देलले समूहले विगतदेखि नै समसामयिक र सृजनात्मक विषयमा केन्द्रित कार्यक्रम गर्दै आएको जानकारी दिँदै आगामी दिनहरूमा पनि यस्तो प्रयास निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे । कवि रमी प्रियाले सो कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्