वरिष्ठ साहित्यकार दाहाल र डाक्टर अधिकारी दम्पतीलाई सयपत्री राष्ट्रिय सम्मान

बनेपा, काभ्रे । विगत २८ वर्षदेखि हरेक बर्ष लक्ष्मी जयन्तिको अवसर पारेर दुइ जोडी साहित्यकार दम्पतीलाई सम्मान गर्ने प्रचलनलाई निरन्तरता दिँदै बनेपाको सयपत्री प्रतिष्ठान नेपालले यस वर्षको सयपत्री राष्ट्रिय सम्मान वरिष्ठ साहित्यकार प्रा.डा. रामप्रसाद दाहाल र उहाँकी धर्मपत्नी चन्दा कोइराला दाहाल तथा बरिष्ठ मनोचिकित्सक एवं काभ्रेली साहित्यकार डाक्टर अनन्तप्रसाद अधिकारी र उहाँकी धर्मपत्नी नर्वदा खनाल अधिकारीलाई समर्पण गरेको छ ।
शनिबार जनागालमा आयोजित विशेष काव्यिक समारोहका बिच सम्मानित जोडीद्वयलाई सम्मानपत्र, सयपत्री र दुवोको माला, दोसल्ला तथा बाटो खर्च स्वरूप पाँच हजार एक नगदसहित सम्मान गरिएको हो । वरिष्ठ साहित्यकार प्रा.डा. रामप्रसाद ज्ञवालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष राजेन्द्र श्रेष्ठले कार्यक्रमको औचित्य बारे प्रष्ट पारेका थिए ।
वि.सं. २०५५ सालदेखि प्रतिष्ठानका संस्थापक अध्यक्ष कृष्णकुमार केसीको पालाबाटै हरेक वर्ष जनागालमा साहित्यिक कार्यक्रम गरी राष्ट्रिय स्तरका एक र काभ्रेली साहित्यकार एक जोडीलाई सयपत्री राष्ट्रिय सम्मानद्वारा सम्मानित गर्ने प्रथाको थालनी भएकोमा २०७३ असोजमा उहाँको असामयिक निधन भएपछि राजेन्द्र श्रेष्ठले अध्यक्षको जिम्मेवारी सम्हाल्दै उक्त मौलिक र विशिष्ठ सम्मानको निरन्तरता सफलतापूर्वक हुँदै आएको छ ।
यस क्रममा प्रतिष्ठानले राष्ट्रकवि माधव प्रसाद घिमिरे, कृष्णचन्द्र सिंह प्रधान, रमेश विकल, चित्तरन्जन नेपाली, माधवलाल कर्माचार्य, शेषराज शिवाकोटी, मोहन दुवाल, तुलसी दिवस, मन्जुल, डा. खगेन्द्र लुइटेल, मोदनाथ प्रश्रित, डा. रामप्रसाद ज्ञवाली, अर्जुन पराजुली, डा. सुरेजराज शर्मा, ज्ञानकाजी मानन्धर, प्रा.डा. अभि सुवेदी, रामसुन्दर देउजा, प्रा.डा. जीवेन्द्रराज गिरी, प्रभात सापकोटाको दम्पतीसहित ७० जनालाई सयपत्री राष्ट्रिय सम्मान प्रदान गरिसकेको छ ।
वरिष्ठ साहित्यकार एवं प्रतिष्ठानका सल्लाहकार मोहन दुवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा देशका विभिन्न क्षेत्रका र काभ्रे जिल्लाका श्रष्टाहरूले कविता वाचन गरेका थिए । प्रतिष्ठानका सचिव रामसुन्दर देउजाद्वारा सञ्चालित कार्यक्रममा लोक गायक मच्छेश्वर सापकोटा, उहाँकी धर्मपत्नी गायिका सरस्वती सापकोटा, गायक रामहरी न्यौपाने लगायतको गायनले सांगितिक माहौल सिर्जना भएको थियो ।
सोही कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष राजेन्द्र श्रेष्ठले आफ्ना स्वर्गीय मातापिताको नाममा स्थापना गर्नुभएको सयपत्री रामभक्त भुवनदेवी स्मृति छात्रवृति पनि प्रदान गरियो । काभ्रेको जनागालमा अवस्थित जनज्योति माध्यामिक विद्यालयबाट २०८१ को एसइई परीक्षामा सहभागी भई उत्कृष्ट अंक प्राप्त गर्ने एक छात्र र एक छात्रालाई छात्रवृत्ति प्रदान गरिएको हो ।