महाकवि देवकोटाको सम्झनामा
पुष्पराज पौडेल, महासचिव – अनेसास कोलोराडो च्याप्टर

   

मानवताको इतिहास नै बसाइँसराइको इतिहास सम्झेर
तिम्रा पुर्खा जसरी खसराजधानी जुम्लाबाट
पृथ्वीको ऐतिहासिक एकीकरण अभियानमा गोर्खा हुँदै
नेपाल खाल्डोमा पदार्पण भए
त्यसरी नै तिम्रो उदयले कवित्व र कृतित्वले आकाश छोयो,
त्यसै महाकवि भएनौ नेपाली साहित्याकाशको परिधिबाट
के नेपाल सानो छ र ? भन्दै विश्व–दृष्टि अँगाल्यौ
रात, दिन, महिनौँ र वर्षौँका मिहिनेतले
मुना र मदनका पारिवारिक वेदनाजस्ता
शकुन्तला र दुष्यन्तका प्रेमका चिनोजस्ता
जनजीवनका काव्य, खण्डकाव्य र महाकाव्यहरू पस्कियौ।

तिम्रो अनिवार्य नेपाली विषयको शिक्षा
विश्वसाहित्यमा सुगन्धित उत्कृष्ट योगदान
देश परदेशमा जहाँ बसेर पनि जगेर्ना गर्दैछौँ
नेपाल र नेपालीको प्राकृतिक पहिचान दिनका लागि
कसले माया मार्न सक्ला परदेशी नै भए पनि?
तथापि तिम्रो पालाको मन्त्रिमण्डलको महल
विध्वंशकारीको अग्निज्वालामा धुवाँएको छ
विश्वविद्यालय स्थापना र विकासको तिम्रो योजना
भ्रष्टाचार र भागबण्डाको लालपूर्जा बनेको छ
त्यसैले तिम्रा विद्यार्थीअझै चिन्तित छन,
तिम्रा पाठ र अन्तरक्रिया मज्जाले सुनाउँछन् ।

नेपाल आमाका सन्तान कति त देशमै अटाउन वा रमाउन सकेनन्
कतिले तिम्रो साहित्य र सन्देशलाई भेटाउन सकेनन्
कुशासनले युवालाई अहोरात्र धपाएको छ, चपाएको छ
बेरोजगारी, भ्रष्टाचार र स्वतन्त्रताको सवालमा
खबरदारीका बदला गोलीले उँडाइएका छन्
रगतले सडक र अस्पताल रङ्गाइएका छन्
विचरा आमाबुबालाई धर्धरी रुवाएका छन्
जहाँ आन्दोलन, गोली, आगजनी मात्र मौलाएका छन्
त्यहाँ झूट, बेइमानी, गाली, जेल र नेल देखाएका छन्
लाग्छ, कतै राष्ट्रमाथि नै धावा बोलिएको त होइन ?
महाकविज्यू, यही चिन्तनमा कविता कोरिएका छन् ।

प्रतिकृया दिनुहोस्