खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत सार्वजनिक
महाकाव्यकार खेमनाथ दाहालको शब्द रचना रहेको गीत ‘बित्छ बिहान आमाको’ सार्वजनिक भएको छ । डा.यज्ञश्वर निरौलाको प्रमुख आतिथ्यतामा बिहीबार काठमाडौंमा एक विशेष कार्यक्रमबीच उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो ।
विशिष्ठ गायिका ज्ञानु राणाको स्वरमा रहेको गीत महाकाव्यकार दाहालको कृति ‘योद्धा’मा रहेको काव्यलाई कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको संगीत गरेका हुन् ।
मिलापको आयोजनामा साहित्यकार लेखनाथ पोख्रेलको सभापतित्वमा भएको कार्यक्रममा गीता अधिकारीले स्वागत मन्तव्य राख्दै मिलापका पछिल्ला कार्यको चर्चा गरेकी थिइन्। कीर्तिमानी संगीतकार श्रेष्ठले काव्यबाट लिएको हुनाले आफूहरूले छन्दभंग नहुने गरी गीत तयार पारिएको जानकारी गराए ।
डा.बुनु दाहालले महाकाव्यकार दाहालका कृतित्व र व्यक्तित्वका बारेमा आफू परिचित रहेको बताउँदै उहाँका साहित्य सिर्जनाको विशिष्ठ गुण रहेको आफूले पाएको बताइन् । यस्तै, विशिष्ठ कलाकार उत्तम केसीले गीतका शब्द अत्यान्तै मार्मिक रहेको बताउँदै ‘आमा’ शब्दमा रचना गरिएको गीत उत्कृष्ट रहेको जिकिर गरे ।
गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापाले साहित्यमा एउटा उचाइ प्राप्त गर्नुभएको व्यक्ति दाहाल गीतकारका रूपमा पनि त्यतिकै सशक्त रहेको आफूले पाएको धारणा राखेका थिए।
जनकविकेशरी धर्मराज-सावित्री थापा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन थापाले गीतको समीक्षा गर्दै एउटा उत्कृष्ट गीत श्रोता/दर्शकमाझ आएको बताए । पछिल्लो समय यस्ता शब्दमा गीत नआउने गरेको गुनासो गर्दै वरिष्ठ गायिका राणाले महाकाव्यकार दाहालका उत्कृष्ट शब्द रचना रहेको जिकिर गरिन् ।
महाकाव्यकार दाहालले आफूले ‘योद्धा’ काव्यमा समावेश गरेका पंक्तिलाई सन्तोष र ज्ञानु दिदीको सहकार्यमा यो गीत रकेर्ड गरिएको बताए भने ‘योद्धा’ काव्य कसरी तयार भयो ? भन्ने सन्दर्भ प्रस्तुत गरेका थिए ।

मिलापका सम्पादक कृष्ण भुसालले सहजीकरण गरेको कार्यक्रममा प्रमुख अतिथि डा.निरौलाले ‘योद्धा’ काव्यको चर्चा गरेका थिए। डा. निरौलाले महाकाव्यकार दाहालका कृतित्व र व्यक्तित्वको बारेमा आफ्ना भनाइ राखेका थिए। संगीत र काव्यको सजीव संयोजनले तयार भएको ‘बित्छ बिहान आमाको’ केवल आमाप्रतिको प्रेममात्र नभएर, नेपाली साहित्य र संगीतको साझा पहिचानको प्रतीक बन्न सफल भएको बताउँदै डा. निरौलाले ‘योद्धा’ काव्यलाई महाकाव्यका रूपमा ल्याउन सुझाव दिएका थिए ।
राजु कार्कीको संगीत संयोजन ‘बित्छ बिहान आमाको’मा दिल समर्पणको संगीतसञ्चयन, प्रकाश मिश्रको संगीत सम्पादन छ । अकस्टिक नेपाल संगीतसञ्चयन कक्ष रहेको यो गीतको भिडियोलाई त्यही नै राजन खरेलले सम्पादन गरेका हुन् ।

महाकाव्यकार दाहालको विसं २०६० सालमा प्रकाशित काव्य कृति हो ‘योद्धा’ । यसै योद्धाबाट केही दिनअघि ‘लाली गुराँसको साटो’ गीत सन्तोषको स्वर र संगीतमा सार्वजनिक भएको थियो । यस्तै, ‘श्वेतपत्र’ महाकाव्यबाट पनि सन्तोषको स्वर र संगीतमा ‘बुद्धको देश नेपाल’ श्रोता/दर्शकमाझ आएको छ ।
लाब्री, तेह्रथुमका साहित्यकार खेमनाथ दाहालका ‘श्वेतपत्र’ (महाकाव्य), ‘रश्मि’ (खण्डकाव्य) तथा ‘श्रद्धाञ्जलि, योद्धा, हावर्डको चौतारीमा, म त बन्दी भएको छु’ जस्ता कवितासंग्रह प्रकाशित छन् । यस्तै उहाँका ‘यात्राको सिकर्नी’ नियात्रा, ‘अहोरात्र’ उपन्यास र ‘सिर्जनामा दृष्टि’ भूमिकासंग्रह जस्ता कृति पाठकमाझ आएका छन् ।
