साहित्य, पर्यटन र सहकारीबिच अन्तरसम्बन्ध बारे अन्तरक्रिया
काभ्रे । सुनकोशी वाङ्मय प्रतिष्ठान र जनमैत्री बचत तथा ऋण साकोसको संयुक्त आयोजनामा ‘साहित्यसँग सहकारी र पर्यटन विषयक’ अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । काभ्रेको पनौतीमा आयोजित कार्यक्रममा वक्ताहरुले सहकारी र पर्यटनसँग साहित्यको अन्योन्याश्रित सम्बन्ध भएको बताए ।
पत्रकार राजेश खनालको सहजीकरणमा भएको कार्यक्रममा प्रा. डा. लक्ष्मणप्रसाद गौतम, वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदन, साहित्यकार एवं पर्यटन व्यवसायी प्रदीप सापकोटा र सहकारीकर्मी श्यामहरि सापकोटा लगायतले सहकारीले साहित्य र पर्यटन विकासमा महत्वपूर्ण योगदान गर्न सक्ने उनीहरुले बताए ।
समालोचक तथा साहित्यकार प्रा. डा. गौतमले सामुहिक भावनाबाट जन्मेको सहकारी वर्तमान अबस्थामा विचलन नभैकन राम्रा कार्यहरु गरिरहनु आफैमा उल्लेखनीय भएको बताउँदै साहित्यकारले अनुभूत गरेका कुराहरु लेख्ने भएकोले संस्थागत प्रचारमा पनि साहित्यको भूमिका बढ्ने तथा सहकारी पनि साहित्यको सेवा गर्न सक्षम हुने कुरा प्रस्तुत कार्यक्रमले स्पष्ट पारेको बिचार व्यक्त गरे ।
वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले साहित्यको उन्नयन र विकासमा सहकारीले धेरै योगदान गर्न सक्ने र पर्यटनको विकासमा साहित्यको महत्वपूर्ण योगदान रहेको बताउँदै साहित्य,पर्यटन र सहकारीलाई संगै जोडेर लैजानुपर्नेमा जोड दिए ।
पर्यटन व्यवसायमा समेत संलग्न साहित्यकार प्रदीप सापकोटाले साहित्यले पर्यटनको विकासमा योगदान गर्नसक्ने भन्दै यसको निम्ति सम्बन्धित पक्षले पहलकदमी लिनुपर्ने बताए ।
सहकारीकर्मी श्यामहरि सापकोटाले साहित्य र पर्यटनको विकासमा सहकारीको अहम् भूमिका हुने भएकाले साहित्यिक कार्यमा सहकारीको सहयोग रहँदै आएको उल्लेख गरे ।
कवि पवन आलोक, छविरमण सिलवाल, श्रीओम श्रेष्ठ ‘रोदन’, प्रदीप सापकोटा, मधु पाठक, सुमन सौरभ, पूर्णबहादुर श्रेष्ठ, लोकनाथ सापकोटा, रामसुन्दर देउजा लगायतले आफ्ना सृजनाहरु पनि बाचन गरे ।
शंकर भारती, बालकृष्ण तामाङ लगायतले पनि आफ्ना धारणाहरु राखेका कार्यक्रमको अध्यक्षता जनमैत्रीका साकोसका उपाध्यक्ष रामचन्द्र सापकोटाले गरेका थिए भने कोषाध्यक्ष तिर्थराज सापकोटाले धन्यवाद ज्ञापन र प्रमुख व्यवस्थापक बेदप्रसाद सापकोटाले जनमैत्रीको वर्तमान अबस्थाको बारेमा प्रकाश पारेका थिए
कार्यक्रमको औचित्यबारे सुनकोसी वाङ्मय प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालले प्रकाश पारेका सो कार्यक्रममा साहित्यकार, पर्यटन क्षेत्रका जानकार एवं सहकारीकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
