प्रा. डा. पोखरेलको ‘हिमवत्खण्डको समीक्षात्मक अध्ययन’ सार्वजनिक
काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालयका पूर्वशिक्षाध्यक्ष एवं त्रिभुवन विश्वविद्यालयका पुराण विभागका संस्थापक प्रा.डा. बाबुराम शर्मा पोख्रेलका दुई कृति ‘हिमवत्खण्डको समीक्षात्मक अध्ययन’ र ‘स्तुति पुष्पाञ्जली’ सार्वजनिक भएका छन् । डा. पोख्रेलको निधनको ११ वर्षपछि उहाँका छोरा पूर्वप्रहरी महानिरीक्षक एवं वरिष्ठ चिकित्सक दिनेशचन्द्र पोख्रेलले पुस्तक प्रकाशन गर्नुभएको हो ।
वरिष्ठ समालोचक एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति प्रा.डा. वासुदेव त्रिपाठी, प्रा.डा. विद्यानाथ उपाध्याय, प्रा.डा. जीवेन्द्रदेव गिरी, प्रा. नीलमणि ढुङ्गाना, प्रा. केदार न्यौपाने र डा. दिनेशचन्द्र पोख्रेलले संयुक्त रूपमा पुस्तकको विमोचन गर्नुभयो ।
डा. पोख्रेलले पिएचडी गर्दाको विषयलाई संस्कृतमा लेख्नुभएको उक्त अनुसन्धानलाई प्रा. नीलमणि ढुङ्गानाले नेपाली भाषामा अनुवाद गरी ‘हिमवत्खण्डको समीक्षात्मक अध्ययन’ पुस्तक प्रकाशित गरिएको हो । पुराणहरूमध्ये स्कन्द पुराणमा ८१ हजार स्लोक रहेका र त्यसको उपपुराणमा ५० खण्ड रहेकामध्ये एक खण्ड हिमवत्खण्ड रहेको ढुङ्गानाले बताउनुभयो ।
वरिष्ठ समालोचक प्रा.डा. त्रिपाठीले नेपालमा पुराणका प्रवर्तक नै प्रा.डा. पोख्रेल रहेको उल्लेख गर्दै हिमवत्खण्डमा मूल रूपमा नेपाल खण्ड पाइने बताउनुभयो । प्रा.डा. उपाध्यायले पुराणको शिक्षाले जीवनजगत् अगाडि बढाउन र मार्गदर्शन गर्न मद्दत मिल्ने भन्दै प्रा.डा. पोख्रेल पुराण इतिहासको स्तम्भ भएको उल्लेख गर्नुभयो । ‘स्तुति पुष्पाञ्जली’ले चाहिँ स्तुति गर्न सिकाउने उहाँको भनाइ थियो ।
वक्ताहरू प्रा.डा. गिरी, प्रा. न्यौपानेले उक्त पुस्तक प्राचीन विषयको अध्ययन गर्न चाहनेहरूका लागि महत्वपूर्ण दस्ताबेज रहेको उल्लेख गर्नुभयो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा हिमवत्खण्डसम्बन्धी दुईवटा सम्मेलन भएका थिए । प्रा.डा. पोख्रेलको सो पुस्तकले उक्त खण्डको अध्ययनलाई झन गहिराइमा पुर्याउने वक्ताहरूको भनाइ थियो ।
पञ्चकुमारी सामाजिक गुठीको आयोजना तथा भरोसा अस्पतालको सहआयोजनामा भएको कार्यक्रममा लेखक पोख्रेलका पुत्र डा. पोख्रेलले आफ्ना पिताको अर्को पुस्तक आगामी वर्ष प्रकाशित गर्ने जानकारी गराउनुभयो । नेपाली साहित्य लेखनमा सम्मानको कमी भएको भन्दै सबैले यथोचित सम्मान पाउनुपर्नेमा उहाँको जोड थियो ।
