ओस्कार कलेज अफ फिल्म स्टडिजमा ‘ओपन माइक’ कार्यक्रम

काठमाडौं । सुकेधारास्थित ओस्कार इन्टरनेसनल कलेजमा हरेक महिना आयोजना हुँदै आएको ‘ओपन माइक’ कार्यक्रम मंगलबार, २० जनवरी २०२६ का दिन साधनाघर थियटरमा सफलतापूर्वक सम्पन्न भएको छ ।

विद्यार्थीहरू स्वयं आयोजक रहने यो कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूलाई आफ्नो भित्री प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्नु र उनीहरूलाई खुलेर अभिव्यक्ति दिन प्रेरित गर्नु रहेको छ । कलेजले आयोजना गरे पनि यो कार्यक्रम सबैका लागि खुला मञ्चका रूपमा सञ्चालन हुँदै आएको बताइएको छ ।

सो अवसरमा कलेज बाहिरका कविहरुको पनि उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा कवि विश्व सिग्देलले चक्रपथ घुम्ती सेवा, उदेक , जोकर र देश अनि जंगल गहइरहेको मान्छेलाई लगायतका आफ्ना केही प्रेम, वातावरण र समसामयिक राजनीतिलाई सम्बोधन गर्ने कविता वाचन गरेका थिए ।  

कवि संजय सुमनले आफ्नै सङ्गीत र स्वर र विश्व सिग्देलको शब्दमा रहेको साइकलैमा बोलको गीत र स्वतन्त्रता शीर्षकको तिखो कविता वाचन गरेका थिए भने कवि रमी प्रियाले पिरलो, क्षमायाचना र ऐना समय शीर्षकका समसामयिक तथा प्रेम कविता वाचन गरेकी थिइन् ।

प्रकृति कार्कीले बाको विषयमा लेखिएको कविता पस्केकी थिइन् । कौस्तुभ ओली र गणेशकुमार पौडेलले पनि आ-आफ्ना कविता सुनाएका थिए ।

कार्यक्रममा गीत गायन, कविता वाचन, स्ट्यान्डअप कमेडी, मोनोलग प्रस्तुति लगायत विविध सिर्जनात्मक प्रस्तुति समावेश गरिएको थियो । झलनाथ खत्री, आशिष घिमिरे, घनश्याम विश्वकर्मा, दिवसराज भट्टराई, सुदिप रसाइली, सौगात नेपाल र उमेश कुमार पौडेलले सुमधूर गीत प्रस्तुत गरेका थिए ।

मिराक लिम्बु र विकाशले आफैले लेखेर सङ्गीतवद्ध गरेको गीत प्रस्तुत गरेका थिए  । विद्यार्थीहरूले आफ्नो कला, क्षमता र आत्मविश्वास प्रस्तुत गर्दै दर्शकहरूबाट प्रशंसा बटुलेको सो कार्यक्रमले विद्यार्थीहरूमा सिर्जनशीलता, आत्मविश्वास र नेतृत्व क्षमताको विकास गर्न महत्वपूर्ण भूमिका खेलेको कलेजका प्राचार्य रामराजा दाहालले बताए । सहभागी विद्यार्थीहरूले पनि यस्तो कार्यक्रमले आफ्नो प्रतिभा उजागर गर्ने राम्रो अवसर मिलेको प्रतिक्रिया दिए ।

कार्यक्रम रमेश महतो र योगेश सिंहले संचालन गरेका थिए । ओस्कार इन्टरनेसनल कलेजले आगामी दिनहरूमा पनि यस्ता सिर्जनात्मक तथा प्रेरणादायी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

प्रतिकृया दिनुहोस्