स्वयम्भूको शान्त वातावरणमा ‘काव्यिक प्रणय-साँझ’

काठमाडौं । प्रणय दिवस (भ्यालेन्टाइन्स डे) को पूर्वसन्ध्यामा स्वयम्भूको शान्त वातावरण ‘वर्तमान कविता समूह’ले होटल नयनमा आयोजना गरेको ‘काव्यिक प्रणय-साँझ’ विशेष कविता वाचन सहितको समकालीन नेपाली कविताको गुञ्जनले तरङ्गित बन्यो ।

कार्यक्रममा २४ जना कविहरूले प्रेमलाई परम्परागत रोमान्टिक घेराभन्दा माथि उठाएर सामाजिक, मनोवैज्ञानिक र राजनीतिक दृष्टिकोणबाट प्रस्तुत गरे । वाचन गरिएका कविताहरूले प्रेमलाई केवल व्यक्तिगत भावनामा मात्र सीमित नगरी व्यापक सामाजिक संरचनासँग जोडिएको एक जटिल मानवीय अनुभवका रूपमा प्रस्तुत गरे ।

 

कविहरूले विद्रोहभित्रको प्रेमको शक्ति र उत्पीडन एवं द्वन्द्वका विरुद्ध प्रेम कसरी प्रतिरोधको माध्यम बन्न सक्छ भन्ने कुरालाई उजागर गरे । यसका साथै, पुँजीवादी व्यवस्थाभित्र आधुनिक मानवीय सम्बन्धहरू टिकाइराख्न कति चुनौतीपूर्ण छ र प्रविधिको बढ्दो प्रभावका बीच प्रेमको आदर्श कसरी बाँचिरहेको छ भन्ने प्रश्न पनि कविताहरूमा उठाइएको थियो । विछोडको मनोवैज्ञानिक पक्षदेखि श्रम र सङ्घर्षसँग जोडिएको प्रेमसम्मका विषयलाई कविहरूले बहुआयामिक ढङ्गले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै वर्तमान कविता समूहका सदस्य विश्व सिग्देलले समूहको उद्देश्य प्रेमका विषयमा मात्र सीमित नरहेको बताए । उनले यसअघि पनि श्रम, पर्यावरण र सामाजिक न्याय जस्ता विविध र समसामयिक मुद्दाहरूमा केन्द्रित भई कार्यक्रमहरू आयोजना गरिएको र आगामी दिनहरूमा पनि यस्ता विषयगत साहित्यिक बहसहरूलाई निरन्तरता दिइने उल्लेख गरे ।

साहित्यको भविष्य र पहुँचका बारेमा चर्चा गर्दै समूहका अर्का सदस्य धीर कुमार श्रेष्ठले समूहले अनुवादका परियोजनाहरूमा पनि सक्रियताका साथ काम गरिरहेको जानकारी दिए । श्रेष्ठका अनुसार नेपाली सिर्जनालाई अन्य भाषामा अनुवाद गर्नु स्थानीय साहित्यलाई विश्वव्यापी पाठकमाझ पुर्‍याउन र अन्तर्राष्ट्रिय जगतसँग नेपाली मौलिकता जोड्नका लागि एक महत्वपूर्ण कदम हो ।

कार्यक्रममा स्नेह सायमी, किशोर पहाडी, सुधीर ख्वाबी, वसन्त नकर्मी, रामगोपाल आशुतोष, अभय श्रेष्ठ, राधिका कल्पित, रजनीमिला, दिलकुमारी डंगोल, शोभा सरभ, दीप शाह, लक्ष्मी रुम्बा, विणा नेम्कुल, रहेना नकमी, विष्णुकला राई, मञ्जु श्रेष्ठ सिंह, तपन जीएम, रश्मी रिजाल, समाश्री, विश्व सिग्देल, धीर कुमार श्रेष्ठ, चन्द्रबहादुर लामा, दीपक चौलागाईं र रमी प्रियाले आफ्ना रचनाहरू वाचन गरेका थिए ।

साहित्यिक सम्मानस्वरूप सहभागी सबै कवि तथा अतिथिहरूलाई पुस्तक उपहार प्रदान गरिएको थियो । बौद्धिक र सामूहिक साहित्यिक उत्सवका रूपमा सम्पन्न उक्त साँझको समापन रात्रिभोजसँगै भयो । सो अवसरमा सहभागीहरूले नेपाली साहित्यको वर्तमान अवस्था र आगामी दिशाका बारेमा थप अनौपचारिक छलफल गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्