चेतनामा बाँचीरहने कवि:तेजेन्द्र
डिल्ली अम्माई/ 
एक कृतिभित्र सिङ्गोयुग अटाउन सक्ने कवि हुनुहुन्थ्यो तेजेन्द्र। सापकोटाको साहित्यिक यात्रा र व्यक्तिगत जीवन निकै प्रेरणादायी छ। यहाँ उहाँको सामान्य परिचय र कृति समिक्षालाई सँगै मिलाएर राख्ने प्रयत्न गरिएको छ। 
उहाँको जन्म वि.सं. २०२५ साल साउन ७ गते गुल्मी जिल्लाको वामीमा भएको थियो। बुबा डिलाराम सापकोटा र आमा रतिकला सापकोटाका सुपुत्र तेजेन्द्र सापकोटाले व्यवस्थापन संकायमा स्नातक तहसम्मको शिक्षा हासिल गर्नुभएको छ।
 उहाँको वि.सं. २०५२ साल फागुन २६ गते दिलशोभा भुसाल (सापकोटा) सँग विवाह भएको थियो। उहाँका दुई सन्तान छोरा मौसम सापकोटा र छोरी मौलिका सापकोटा हुनुहुन्छ। गुल्मीमा जन्मनुभएका सापकोटाको कर्मभूमि भने नवलपरासीको अमरापुरी रहेको छ। उहाँको भर्खरै अर्थात यहि फेब्रुवरी १७का दिन असमायिक निधन हुन पुग्यो।
मृत्युका किसिम र शैलीहरुबारे सज्जनले हैन,मुर्खहरुले बहस गर्दछन्। साहित्यमा लिओ टोल्स्टोयले आफ्नो सरिरलाई कठोर यातना दिएर समाप्त पारे पछि बहसको स्थान बन्यो तर युगले उनको योगदानलाई बाहेक अन्य बोझिला दुखहरु सम्झेन।
दैहिक मृत्यु मानिसको छनौटमा पर्दैन। जीवनरुपी हुण्डरीभित्र छिरेर अचानक एक सकवेभ आउँछ र त्यसैले लैजान्छ। योगमायाँ सहित सयौं विधवाहरु समाजको मनोबैज्ञानिक र दैहिक यातनाबाट तर्सेर हैन,सुधारकोलागि दवाव सृजना गर्न अरुणनदीमा जल समाधि लिए। पद्म शमशेरहरुलाई त्यस आत्मदाहले तर्साएन। योगमायाँहरुको ‘आत्मदाह’ इतिहाँसमा लेखिदा कायरता भनेर लेखिएन। त्यो दैहिक त्याग महिला स्वतन्त्रताको एक झिल्को,आवाज, उज्यालोको प्रतिक बन्यो। त्यसैले नै भनिएको हो,जन्मनु र मर्नु दुवै सकवेभ(Shock wave) हुन् अर्थात छनौट गर्न नपाइने आकस्मिक ‘घटना’ हुन्। यो योजनाबद्ध हुँदैन र अचानक आइलाग्छ,यो एक निश्चित समय र स्थानमा घट्छ। यसमा मानिसका तर्कले कदाचित काम गरोस् ,”ब्यर्थ सब ब्यर्थ।” 
उहाँको एक ससक्त कृति र हजारौँ फुटकर कविताहरु जसले पृथ्वीका समस्त मानव आशालाई ससक्त आवाजमा बदलि दिएको छ। कृतिको शब्द,भाव र प्रश्नहरुको अस्तित्व रहुन्जेल समग्र नेपालीको हृदयमा उहाँ बाँची रहनु हुनेछ। उहाँको समग्र अस्तित्वको ‘चेतन सार’ यहि कविता संग्रहमा भएकोले उहाँको नाम अगाडी कहिल्यै कसैले स्वर्गीय लेख्ने आँट गर्ने छैनन् भन्ने लाग्छ। 
साहित्यिक सिर्जनाका क्षेत्रमा उहाँले फुटकर कवितादेखि कविता संग्रहसम्म प्रकाशन गरिसक्नुभएको छ। उहाँका रचनाहरू विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित हुँदै आएका छन्। उहाँको एक महत्वपूर्ण कृतिका रूपमा “ग्लोबमाथि उभिएको मेरो कङ्गाल” (कवितासङ्ग्रह) प्रकाशित छ। यसले उहाँको कवित्व शक्ति र विचारलाई सशक्त रूपमा प्रस्तुत गरेको छ।सरल र भावपूर्ण शब्दहरूको प्रयोग गरी समाजका विविध पक्षलाई कवितामार्फत चित्रण गर्नु उहाँको विशेषता हो।तेजेन्द्र सापकोटाका कविताहरू कोमलता, विद्रोह,चेतना र युगीन पीडाको त्रिवेणी हुन्। 
कवि तेजेन्द्र सापकोटाका कविताहरू केवल शब्दका सङ्ग्रह मात्र होइनन्, यी त मानवीय भावना, सामाजिक विसंगति र समयको पदचापलाई उतारिएका जीवन्त चित्रहरू हुन् । उहाँका यी चार कविताहरूले एउटा सर्जकको रूपमा उहाँको पूर्ण र बहुआयामिक व्यक्तित्वलाई प्रस्तुत गर्छन् ।
 महत्वपुर्ण कविताहरुको चेतन तत्व निष्कर्ष :
१. मानवीय सम्बन्धको कोमलता: “साझा-यात्रा”
यस कवितामा कवि एउटा प्रेमी र सहयात्रीका रूपमा देखा पर्छन् । जीवनका अप्ठ्याराहरूमा एक्लै हिँड्नुभन्दा सँगै मिलेर काँडाहरू पन्छाउँदै सगरमाथाको चुचुरो चुम्ने उहाँको सपना अत्यन्तै सुन्दर छ । यसले ‘हामी’ र ‘सहकार्य’ को शक्तिलाई उजागर गर्छ ।
२. व्यवस्थाप्रति खबरदारी: “अझै बन्दी छ प्रजातन्त्र”
यो कवितामा कविको रूप फेरिएको छ । उनी अब प्रेमी मात्र रहेनन्, एउटा विद्रोही सचेत नागरिक बनेका छन् । रगतले भिजेको माटोबाट जन्मिएको प्रजातन्त्र कसरी दरबारबाट सिंहदरबार र सिंहदरबारबाट घुम्ने कुर्सीहरूमा मात्र सिमित भयो भन्ने उहाँको प्रश्नले आजको राजनीतिक अवस्थालाई नङ्ग्याउँछ ।
३. साहित्यिक पाखण्डमाथि प्रहार: “प्रतिष्ठित कवि”
यहाँ कवि तेजेन्द्रले आफ्नै क्षेत्रका ‘ठूला’ भनिने साहित्यकारहरूमाथि कडा व्यङ्ग्य गरेका छन् । महलमा बसेर, सत्ताको चाकडी गरेर र तक्माको लोभमा भुइँमान्छेका पीडा बिर्सनेहरूलाई उहाँले “घुम्ने कुर्सीका पुजारी” भन्नुभएको छ । उहाँको विचारमा सच्चा कवि त्यो हो जसले मान्छेका भाँचिएका मनहरू जोड्ने सामर्थ्य राख्छ ।
४. समयको ठहराव र युगीन पीडा: “यहाँ युग अल्झिएको छ”
यो कविता उहाँको काव्यिक उचाइको उत्कृष्ट नमुना हो । यहाँ उहाँले समयलाई नै ‘अल्झिएको’ देख्नुभएको छ ।
पुर्खौंदेखिको खिया लागेको कुटो-कोदालो बोक्ने बुढो खच्चड जस्तै यहाँको दिन उकालो चढ्दै छ ।
स्यालले चिरेको सन्नाटा र वर्षादको रुवाइ जस्ता विम्बले समाजमा व्याप्त निराशा र संघर्षलाई बोल्छन् ।
हिउँदको सेतो घुम्टो र देउरालीमा उभिएको इतिहासले हाम्रो मौलिकता र समयको क्रूरतालाई एकैसाथ प्रस्तुत गर्छन् ।
समग्र कविता संग्रहको शुक्ष्म समीक्षा:
यो संग्रहको भूमिकामा महान प्रगतिवादी कवि मोदनाथ प्रसितले भन्नु भएको छ,”रुन्चे कविता रच्नु भन्दा कलम भान्च्नु धेरै उत्तम हो”, अनि कविको गौरवशाली गुण ‘स्वाभिमान’ भनेर औल्याउनु भएको छ। हो स्वाभिमानी हृदयबिना ज्युँदा कविता जन्मने सक्दैनन्। जसले देशको मर्म बुझ्दैन,जसले जनताको मुटुको धड्कन महसुस गर्न सक्दैन,जसले युगको पदचाप सुन्दैन,उसले महाभारत जत्रै महाकाब्य लेखेपनि त्यसको कुनै अर्थ हुँदैन। दलाली र चाकडीले धसिएको मलुकलाई स्वाभिमानको उर्जाले मात्र उठाउँछ। तेजेन्द्रद्वारा रचित यो कविता संग्रह एक स्वाभिमानी कलमले लेखिएको छ र यसभित्र यो युगको त्यो उर्जा छ,जसले देशको भाग्यलाई कायापलट गर्ने सामर्थ्य राख्छ। समग्रमा यो संग्रह युगको आवाज र आगो दुवै हो। आवाज र आगो ब्रह्माण्ड रहुन्जेल हराएर जाँदैनन्। 
यी कविताहरुलाई जोडेर हेर्दा तेजेन्द्र सापकोटा एक यस्ता कवि हुनुहुन्छ,जोसँग आँखामा सपना, मुटुमा संवेदना र कलममा आगो थियो । उहाँले ‘साझा-यात्रा’ बाट प्रेम सिकाउनुभयो, ‘प्रजातन्त्र’ बाट अधिकार खोज्नुभयो, ‘प्रतिष्ठित कवि’ बाट इमानदारिता माग्नुभयो र ‘यहाँ युग अल्झिएको छ’ बाट समयको वास्तविक ऐना देखाइदिनुभयो ।
त्यस्तै नयाँ बर्षले समयलाई पात्रोमात्र बनायो र निम्छरा मानिसका लागि नयाँ कुरो केहि दिएन। त्यस्तै ठुलो मान्छेको घरको तप्केनीमा सानो घर ओसियो र कुहिन थाल्यो। दौलतको वृक्षबाट झरेको फूलभित्र घरखेत हराएकाहरुको न्याए हरायो। न्याय दिनेहरु सुते पछी न्याय माग्नेहरूको बस्ति जलेर खरानी भयो। परदेशमा आमाका यादभित्र पसिनाका आँशुहरु खोजिरहेछन् नेपालीहरु। तर घर फर्कनलाई तोकिएका दिनहरु आँफै किन मेटिन लागेका हुन् कवि तेजेन्द्रले भन्न सकिरहेका छैनन्। नेपालीहरु चिसा हुँदा कविका शब्दहरु तातेका छन्। पारिजातले पात फेरे तर हालत फ़ेरिएन। हालत फेर्न तम्सेकाहरुमाथि सहयोग गर्नु पर्ने हातहरु मौन धारण गर्दा मात्रै जुट्छन्। यो नेपालीको दुर्भाग्य प्रति कविका शब्दहरु अरिङ्गाल बनेका छन्। तवेलामा घोडा नभएर मृत्यु मडारिएका छन्। युद्ध र आन्दोलनमा योद्धाहरु  बोक्ने घोडाहरु के भए कवि आँफैलाई थाह छैन। सभ्यतामा बल्नु पर्ने राता किरण छेकिएका र ओसिएका छन् अचेल। चाकडीको चिसोले स्वाभिमान गलेको छ। उज्याला किरणहरु छर्ने कवि चाहना ओइलाउन नदिन कविको कंकाल मानव सभ्यतालाई दिशाबोध गर्दै उभिएको छ धर्तिमा। कवि कंकाल बनेर पनि जिउदो छ अझै तर मासु भएकाहरु मुर्दातुल्य किन भए ? यहि प्रश्नले कविता संग्रहलाई मानवताको पहाडमाथि उभ्याई दिएको छ। मानवलाई मालामा जेलिएको फूल जस्तै हैन,स्वतन्त्र फूल भएको पोथारामा हेर्न चाहनु भएको छ कविले। आमा संगै उहाँले पनि पूर्ण चन्द्रमाको फुक्काफाल किरण चाहनु भएको छ। उहाँले मरुभूमिको तातो हैन उज्यालो चाहनु भएको छ। कविले मेरो जिन्दगी कवितामा भन्नु भएको छ ,’म कुनै दिन अचानक हराएँ भने,मेरो सोझोपनभित्र मलाइ खोज्नु,त्यहाँ पनि भेटिन सकिन भने,अप्थायो अनकन्टार एकान्त कुनाहरूमा खोज्नु,म संघर्ष गर्दागर्दै सकिएको हुने छु।’ 
तर कविले भने अनुशार पटक्कै भएन। के प्रेम नभेटी हुन्न ? कसले भेटेको छ ईश्वर,तर ईश्वरलाई अगाध प्रेम गर्छन त मान्छेले। तेजेन्द्रका त सन्तान र सृजना सबै छन्। उहाँले टेकेको भुमि र पिढी छ,खुद उहाँकै रगत छ। 
मैले चाहनु भएको छ उहाँलाई उहाँकै शब्दहरुमा निरन्तर भेट्न सकेको छु। मैले उहाँलाई सकेको नभई, सुगन्धमा सरेको पाएको छु। उहाँको भौतिक देहाभित्र लुकेको चेतनाको प्रकाश सबैतिर जलुन्जेल उहाँले बिदा लिनुहुन्छ कसरि ? कायाको रुप र चेतनाको रुप एउटै हुँदैन। उहाँ हिमालबाट गाउँ झर्ने गोठालाहरुको सुसेलीमा जिवन्त हुनुहुन्छ,बजीरहेका छन् चेतनाका गीतहरु र आत्मोत्सव मनाइ रहेका छन् किसानका धानका रासहरुमा। 
तेजेन्द्रको प्रतीक्षा भोलिका लागि आशा बनेर पर्खि रहेको छ मानव सभ्यताले। अल्झेको हैन,अल्झाइएको युगलाई तेजेन्द्रका कविताहरुले एकदिन मुक्त गर्ने छ र कविको सपनालाई साकार पार्ने छ। 
सृजनाका समिक्षा आ-आफ्नै होलान्,कालान्तरमा हुँदै जालान् । उहाँले शब्दमा नेत्र राखेर देखेको बिचित्र चित्रको सार मानव मुक्ति हो भन्ने कुरामा कुनै बिबाद हुने छैन। उहाँको कविता संग्रह “ग्लोब माथि उभिएको मेरो कंकाल”ले मानव सभ्यतालाई एक अद्भुत सपना देखाएको छ। त्यो पुरा नहुन्जेत उहाँको प्राण साहित्यकार गोबिन्दराज बिनोदीले शुभकामनामा भनेझै “कविताहरुमा पोखिएका भावहरुमा अल्झेर बाँचिरहेको हुने छ।”
उहाँको सिंगो देह अब यो कविता संग्रह भयो भने प्राण शब्दहरुको संगीत बनेर धर्ती रहुन्जेल बहि रहने छ। यहि मुक्तिका आवाजहरुले कवि तेजेन्द्रलाई अभुतपुर्व बनायो। अब उहाँ सदाबहार चेतनाको गीत बनेर बाँच्नुको बिकल्प के छ र ! 
त्यस्तै मोदनाथ प्रश्रित जस्ता दिग्गजले उहाँको सिर्जनामा ‘सहीछाप’ लगाउनुको अर्थ यही हो कि तेजेन्द्रको कलमले सधैं सत्य र मानवताको पक्ष लियो । उहाँ भौतिक रूपमा हामीमाझ नरहे पनि, यी सिर्जनाहरूले नेपाली साहित्यको आकाशमा एउटा चम्किलो ताराको रूपमा उहाँलाई मात्र नभएर जागृत चैतन्यलाई सधैं शब्दहरुमा जीवित राख्नेछन् । आशा छ, स्वर्गीय मित्रका यी गहन सिर्जनाहरूले उहाँको नामलाई नेपाली साहित्यको इतिहासमा चिरन्जीवी बनाउनेछन् । अस्तु :
प्रतिकृया दिनुहोस्