वरिष्ठ गीतकार किरण खरेललाई परशु-कल्पना स्रष्टा सम्मान

काठमाडौँ । प्रसिद्ध आख्यानकार परशु प्रधानको स्मृतिमा स्थापित ‘परशु–कल्पना स्रष्टा सम्मान, २०८२’ वरिष्ठ गीतकार किरण खरेललाई समर्पण गरिएको छ ।

नेपाल स्रष्टा समाजद्वारा राजधानीमा आयोजित विशेष कार्यक्रममा वरिष्ठ समालोचक प्रा. डा. दयाराम श्रेष्ठले गीतकार खरेललाई सम्मानपत्र समर्पण गरे । उनलाई सम्मानसाथ नगद राशि एक लाख १११ रुपैयाँ परिवारका सदस्य लगायतले समर्पण गरे ।

प्रा. डा. श्रेष्ठले गीतकार खरेललाई बधाई दिँदै आख्यानकार प्रधानको कथाकारिताको चर्चा गरे । उनले प्रधानका कथाहरूको पुनर्मूल्यांकन गरिनुपर्नेमा जोड दिंदै भने, “उनका कथाहरूको समीक्षा र मूल्यांकन नयाँ दृष्टिकोणका साथ हुनुपर्छ ।”

गीतकार रमण घिमिरेले सम्मानित व्यक्तित्वको बारेमा चर्चा गर्दै गीत सिर्जना किरण खरेलको एक मात्र लत भएको बताए । उच्च शिक्षा हासिल गरेर पनि अरू पेसामा नगएर उनी गीत सिर्जनामा नै निरन्तर लागिरहेको घिमिरेले उल्लेख गरे ।

प्रधानसँग व्यतित गरेका केही अविस्मरणीय पलहरु शैलेन्द्र साकारले जानकारी दिंदै पुरस्कृत सर्जकलाई बधाई दिए । उनले किरण खरेल र परशु प्रधानको सम्बन्धको चर्चा गर्दै भने, “किरण दाइले नै दाजु (परशु प्रधान)का कथाहरूलाई गीतिकथाका रूपमा रेडियो नेपालमा प्रसारण गर्न सहयोग गर्नुभएको थियो ।”

गीतकार दिनेश अधिकारीले हिउँदको खोलाको संज्ञा दिँदै शान्त रुपमा निरन्तर गीत सिर्जनाकर्ममा लागिपरेका खरेललाई नेपाली गीतलाई यो उचाइमा पुर्‍याउएको श्रेय दिनुपर्ने बताए 

बाह्रखरी मिडियाका प्रधानसम्पादक प्रतीक प्रधानले आफ्ना पिताजी (परशु प्रधान)को स्मृतिमा आफूहरू चार दिदीभाइ मिलेर यो सम्मानको स्थापना गरेको बताए । “हामीलाई यो अवस्थामा ल्याइपुर्‍याउनुमा पिताजीको साहित्य सिर्जनाको नै योगदान छ ।” उनले भने, ”पिताजीको जीवन साहित्य सिर्जनाले नै अगाडि बढेको हो र त्योसँगै हाम्रो जीवन पनि । साहित्यकार भनेको समाजका रत्न हुन् भन्ने हामीले पिताजीबाटै बुझेका हौँ ।”

कार्यक्रममा साहित्यकार पवन आलोकले नेपाल स्रष्टा समाजको स्थापनामा आख्यानकार परशु प्रधानको योगदानको चर्चा गरे । परशु प्रधान आफ्ना गुरु पनि भएको उनले उल्लेख गर्दै कल्पना प्रधानले समेत नेपाली बालसाहित्यमा महत्वपूर्ण योगदान गरेको बताए ।

समाजका अध्यक्ष साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले धेरै किताब प्रकाशन गरेरभन्दा पनि पाठकलाई छुने उत्कृष्ट साहित्य लेखेर स्रष्टा लामो समय बाँच्ने चर्चा गरे । उनले ७०० भन्दा बढी कालजयी आधुनिक गीत स्रोतालाई सुम्पिएका गीतकार खरेल नेपाली संगीतका उज्ज्वल नक्षत्र भएको बताए ।

समाजका सदस्य डा.शान्तिमाया गिरीद्वारा धन्यवाद ज्ञापन गरिएको कार्यक्रमको सहजीकरण समाजका सदस्य प्रदीप सापकोटाले गरेका  थिए ।

 

प्रतिकृया दिनुहोस्