अनेसास बेल्जियमको १०औँ अधिवेशन सम्पन्न: लोकनाथ शर्माको अध्यक्षतामा नयाँ समिति चयन
-समाचारदाता/बेल्जियम 
आन्थ्रोपेन, बेल्जियम
नेपाली कला, साहित्य र संस्कृतिको प्रवद्र्धनमा सक्रिय अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरको दशौँ अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ। आइतबार (२९ मार्च, २०२६) सम्पन्न यस अधिवेशनले लोकनाथ शर्माको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
नयाँ कार्यसमिति:
निर्वाचित समितिको उपाध्यक्षमा गोपाल दाहाल र जमुना बास्तोला गैह्रे, महासचिवमा सन्तोष न्यौपाने, सचिवमा विष्णु सापकोटा र कोषाध्यक्षमा अच्युत ढकाल चयन भएका छन्। सदस्यहरूमा मुना राई, मुना ताम्राकार, रिता पाण्डे, लिलाधर पन्त र दिनेश पोखरेल रहेका छन्। अधिवेशनले आवश्यकता अनुसार थप दुई सदस्य मनोनीत गर्ने अधिकार समितिलाई दिएको छ भने परमानन्द सापकोटा, विमल गिरी, ब्रह्मदत्त वाग्ले, मोहन खत्री र दीपेन्द्र केसीलाई सल्लाहकार चयन गरेको छ।
ऐतिहासिक पृष्ठभूमि र शुभकामना:
वि.सं. २०६३ मा स्थापित यस संस्थाले प्रवासमा आफ्ना भावना साट्ने, भाषा जोगाउने र नेपालीपन कायम राख्ने ध्येय बोकेको छ। कार्यक्रममा अनेसास केन्द्रका अध्यक्ष सर्वज्ञ वाग्ले र वरिष्ठ उपाध्यक्ष लाल गोपाल सुवेदीको शुभकामना सन्देश महासचिव गोपाल दाहालले वाचन गर्नुभएको थियो। युरोपका विभिन्न शाखाहरूबाट प्राप्त शुभकामना सन्देशका साथै उपाध्यक्ष डिल्ली अम्माई, युरोप सह-संयोजक पञ्चम अधिकारी, संस्थापक विमल गिरी र दीपेन्द्र केसीले नयाँ समितिलाई सफल कार्यकालको शुभकामना दिनुभयो।
कृति विमोचन र सम्मान:
निवर्तमान अध्यक्ष सौरभ कारंजितको अध्यक्षता तथा बेनेलक्सका लागि नेपाली राजदूत सेवा लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा दुई महत्वपूर्ण कृतिको लोकार्पण गरियो। नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष वसन्त पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’ र नवनिर्वाचित अध्यक्ष लोकनाथ शर्माको मुक्तक सङ्ग्रह **’परदेशमा गुमनाम’**को संयुक्त विमोचन भयो। सोही अवसरमा राजदूत लम्सालले अनेसासका गतिविधिमा सहयोग पुर्‍याउने व्यक्तित्वहरूलाई प्रशंसापत्र र मायाको चिनो प्रदान गर्नुभयो।
कार्यक्रममा एनआरएनए बेल्जियमका अध्यक्ष कमल पन्थी, चितवन क्याटका अध्यक्ष तेजेन्द्र कंडेल, नेपाली मिलन केन्द्रका अध्यक्ष ललित पोखरेल, धादिङ्ग समाजका अध्यक्ष कृष्ण न्यौपाने र आध्यात्मिक गुरु श्रीओम सापकोटालगायतको उपस्थिति थियो। वक्ताहरूले परदेशको व्यस्तताका बाबजुद साहित्यमार्फत एकता कायम राखेकोमा खुशी व्यक्त गरे।
प्रतिकृया दिनुहोस्