पोखरामा श्रष्टा मिलन, अन्तरक्रिया र सिर्जना वाचन

पोखरा । माधव वियोगी वाङ्मय प्रतिष्ठान नेपालले स्रष्टा स्वागत, संस्था मिलन, अन्तरक्रिया र सिर्जना बाचन कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा प्रतिष्ठानले नेपाल स्रष्टा समाजका केन्द्रीय पदाधिकारीलाई स्वागत गरको थियो ।

छन्दनिवास १७, बेलघारी, पोखरामा हालै आयोजित सो कार्यक्रमका प्रमुख अतिथि नेपाल स्रष्टा समाजका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले नेपाली साहित्यको वर्तमान अवस्थाबारे चर्चा गरे । साहित्यिक क्षेत्रमा छाएका विकृति र विसङ्गतिहरु औल्याउँदै उनले साहित्यिक पुरस्कार प्रदानमा आएका विकृति र समस्याहरु बारे प्रकाश पारे । साहित्यमा योगदान गरेका चर्चित स्रष्टा र सर्जकहरुको सम्मान र योगदान जीवन्तलाई राख्नुपर्नेमा रोदनले जोड दिए ।

छन्दका अग्रज व्यक्तित्व माधव वियोगीले काव्य संस्कृतिको संरक्षणमा जोड दिंदै नेपाल स्रष्टा समाजसँगको सम्बन्ध आगामी दिनमा झाङ्गिने आशा व्यक्त गरे भने समाजका संरक्षक पवन आलोकले यस्ता कार्यक्रमले अझै बढी एकअर्कासँग घुलमिल हुने मौका मिल्ने भन्दै माधव वियोगीसँगको चिनापर्चीको सन्दर्भ जोडे । त्यस्तै समाजका महासचिव प्रकाश घायलले नेपाल स्रष्टा समाजको संक्षिप्त परिचय र गतिविधिहरुको जानकारी दिए । कार्यक्रममा विभिन्न स्रष्टाहरुले आआफ्ना सिर्जनाहरु सुनाए ।

प्रतिष्ठानका अध्यक्ष नवराज बरालको सभापतित्व र सचिव शिव त्रिपाठीको सञ्चालनमा भएको कार्यक्रममा उपाध्यक्ष छन्दमणि त्रिपाठीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस्