कथाकार शर्माको ‘हजुरआमा’ सार्वजनिक
काठमाडौँ । कथाकार लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ शनिबार लोकार्पण गरिएको छ । नेपाल स्रष्टा समाजको आयोजनामा राजधानीमा सम्पन्न कार्यक्रममा कथाकार भागिरथी श्रेष्ठ, श्रीओम श्रेष्ठ रोदन, डा. दिनबन्धु शर्मा र कथाकार शर्मा लगायतले उक्त कृति लोकार्पण गरेका हुन् ।
कार्यक्रमकी प्रमुख अतिथि भागिरथी श्रेष्ठले मानवीय संवेदनाले भरिपूर्ण शर्माका कथाहरुले आफूलाई छोएको बताइन् ।
वि.सं.२०५५ सालमा पहिलो कथा प्रकाशित गरेकी शर्माका कथाहरुमा नारी पात्रको प्रथम दृष्टिविन्दुबाट लेखिएका कथाहरुको प्रधानता पाइने कुरा कृतिमाथि चर्चा गर्दै शेषनाथ पौडेलले कथाहरुमा आशावादी चेत, छोटा आयाम, नारी पुरुषको समआख्यान, समास शैली, प्राकृतिक सौन्दर्यको वर्णन, नारीको समर्पण भाव प्रशस्त पाइने बताए । अर्का चर्चाकार चुडामणी पौड्यालले शर्माका कथाहरु संस्मरणात्मक र वर्णनात्मक शैलीका भएको भन्दै महिलाका कथाव्यथा नै कथाहरुका मुख्य विषयवस्तु रहेको बताए ।
कथाकार डा. दिनबन्धु शर्माले कथाहरुमा भावनात्मक प्रवाह भएको बताउँदै संग्रहमा हृदयले लेखिएका कथाहरु समाविष्ट भएका उल्लेख गरे । ‘हजुरआमा’की सर्जक कथाकार शर्माले जीवनका भोगाइका अनुभूतिहरुलाई कथाको रुपमा ल्याएको भन्दै पुस्तक निकाल्न प्रेरित गर्ने सबैलाई धन्यवाद दिइन् ।
श्रष्टा समाजका अध्यक्ष रोदनले स्रष्टाको व्यवहार र सिर्जनामा तादम्यता हुनुपर्ने बताउँदै ‘हजुरआमा’ संग्रहकी कथाकारलाई आफूले लेखनीमा इमान्दार र कृतिमता बिहिन पाएको स्पष्ट पारे ।
प्रकाशन सँस्था भुँडीपुराण प्रकाशनका केशव पराजुलीद्वारा शुभकामना मन्तव्य व्यक्त कार्यक्रमको सञ्चालन माधव विडारी र स्वागत मन्तव्य तारा सुवेदीले राखेकी थिइन् ।
