अंग्रेजी भाषामा गुञ्जिए नेपाली संवेदनाहरू
काठमाडौँ, । राजधानीको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा केही दिन अघि ‘वसन्त कविता महोत्सव’ सम्पन्न भयो । ‘वर्तमान कविता समूह’ को आयोजनामा भएको उक्त कार्यक्रमको विशेषता बेग्लै थियो । नेपाली कविहरूले आफ्ना मौलिक भावना र संवेदनाहरू अंग्रेजी भाषामार्फत प्रस्तुत गरेका थिए ।
कार्यक्रमको उद्देश्य नेपाली माटोको सुगन्ध र भोगाइहरूलाई अंग्रेजी शब्दावलीमार्फत विश्वव्यापी बनाउनु रहेको कुरा उद्घोषक चन्द्रबहादुर लामाले बताए । महोत्सवमा प्रस्तुत कविताहरूले सामाजिक विसंगति, प्रेम, प्रकृति, राजनीतिक निराशा र मानवीय अस्तित्वका विविध पाटालाई समेटेका थिए ।
सुरुवातमा कवि विश्व सिग्देलले ‘वर्तमान कविता समूह’ ले अन्य फरक भाषामा बहुभाषिक अभिव्यक्तिहरू प्रस्तुत गर्ने योजना सुनाउँदै सो कार्यक्रम त्यसकै थालनी भएको जानकारी दिए । आफ्नो कविता ‘पब्लिक टोइलेट’ मार्फत आधुनिक सभ्यता र राजनीतिमाथि कडा व्यङ्ग्य प्रहार गर्दै कवि सिग्देलले बुद्धु नेताहरू संसद्बाट बाहिरिँदा बुद्धको भेष धारण गरेको ढोंग गर्छन् भन्ने कुरालाई उदाङ्गो पारिदिए ।
कवि भीष्म उप्रेतीले ‘ह्वाट इफ द स्काई फल्स’ शीर्षकको कवितामा बाबु र छोराको संवादमार्फत आकाशलाई विश्वास र उच्च आकांक्षाको प्रतीकका रूपमा चित्रण गरे भने कवि रजनी मिलाले ‘डार्कनेस इन सर्च अफ लाइट’ मार्फत उज्यालोको प्रतीक्षामा रहेका सिर्जनशील आँखाहरूको कथा सुनाइन् । कवि अभय श्रेष्ठले ‘लभ: अ मेडिटेटिभ स्लीप’ मार्फत प्रेम र निद्राको अन्तरसम्बन्धलाई जोड्दै देश गुमाउनुको पीडा र अस्तित्वको संकटलाई गहिरो गरी प्रस्तुत गरे ।
कवि सुमन वर्षाले ‘लुज’ शीर्षकको कविता मार्फत आफ्ना इन्द्रियहरूलाई त्यागेर जीवनको वास्तविक उत्सव र शान्ति कसरी पाउन सकिन्छ भन्ने दार्शनिक पक्ष उधिनिन् । कवि रामगोपाल आशुतोषले ‘वान डे द नेसनल एन्थम विल बी प्लेड फर मी टु’ मार्फत भविष्यमा समानता आउने र सिमान्तकृत पात्रहरूले न्याय पाउने आशा व्यक्त गरे ।
कवि करुणा नेपालले ‘न्यू विगिनिङ’ शीर्षकको कविता वाचन गर्दै पीडा र निराशापछिको नयाँ सुरुवातको उत्साहलाई व्यक्त गरिन् । कवि तेजिन एमिल इजमले जेन्जी विरोध प्रदर्शनबाट प्रेरित भई लेखिएको आफ्नो शीर्षक विहीन कवितामार्फत शान्तिका लागि चढाइएको फूल कसरी बारुद र घृणाको धुवाँमा परिणत हुन्छ भन्ने कुरामा आक्रोश र अन्योल व्यक्त गरे ।
वातावरणीय चेतका साथ कवि सुवास सिंह पराजुलीले ‘नोटिस फर द लस अफ रिभर’ मार्फत हराउँदै गएका नदीहरू र भू-माफियाको कब्जामा परेको प्रकृतिको कारुणिक अवस्था चित्रण गरे । कवि कृपा खनालले ‘लुकिङ फर अ म्यूज’, ‘ब्रीदिङ विथ द म्यूज’ र ‘लेसन्स फ्रम अ म्यूज’ गरी तीन खण्डमा सहरी जीवनका प्रेरणा र उडानको कलाबारे कविता सुनाइन् । कवि भुवन थपलियाले ‘स्प्रिङ’ शीर्षकको कवितामा प्रकृति र वनसँगको सामीप्यताले नै मानिसको आत्मा शुद्ध हुने भाव व्यक्त गरे ।
कवि आनन्द विजय गुरुङले ‘मोटरसाइकल सायरी’ मार्फत सहरीकरणले प्राकृतिक सौन्दर्यलाई कुरूप पारेको यथार्थ प्रस्तुत गरे । कवि अमर आकाशले ‘एभ्रीबडी नोज, नोबडी नोज’ मार्फत गरिबीको मूल्य र सामाजिक अन्यायको नग्न तस्बिर कवितामा खिचे । कवि रमी प्रियाले ‘इन्चान्टेड इल्यूजन’ मार्फत प्रेमको जादुमयी भ्रमबाट मुक्त हुने चाहनालाई सुन्दर ढङ्गले प्रस्तुत गरिन् ।
अन्त्यतिर कवि चन्द्रबहादुर लामाले ‘कोइसन’ शीर्षकको कवितामार्फत आफ्ना ‘कमरेड’ ले गरेका बाचा र देखाएका सपनाहरू अधुरा रहेको भन्दै राजनीतिक धोकामाथि प्रश्न उठाए भने कवि धीरकुमार श्रेष्ठले मृत्युको मौनता र अन्तिम यात्राको यथार्थलाई ‘द कल’ मार्फत प्रस्तुत गरे । कार्यक्रममा कवि हरीश अधिकारीले प्रतिकूल मौसममा पनि अस्तित्व जोगाउन संघर्ष गर्ने बिरुवाको प्रतीक प्रयोग गर्दै मानवीय जिजीविषाको कथा सुनाए ।
