विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा वैचारिक चिन्तन -प्रा.डा. लक्ष्मणप्रसाद गौतम
१. विषयप्रवेश: परिचय
नेपाली राजनीति र साहित्य दुवै क्षेत्रमा अतिविशिष्ट व्यक्तित्वका रूपमा परिचित विश्वेश्वरप्रसाद कोइराला यी दुवै क्षेत्रका वैचारिक चिन्तकका रूपमा समेत प्रतिष्ठित छन् । कोइरालाका व्यक्तित्वका अनेक पाटाहरूमध्ये राजनीतिक व्यक्तित्व र स्रष्टाव्यक्तित्व वा साहित्यकार व्यक्तित्व सर्वाधिक चर्चित र प्रतिष्ठितसमेत देखिन्छ । साहित्यिक व्यक्तित्वहरूमा पनि उपन्यासकार, कथाकार, संस्मरणकार, कवि, समीक्षक आदि विविध व्यक्तित्वका आयामहरू उनमा देखिन्छन् ।
वि.सं. १९८६ देखि साहित्य लेखनका क्षेत्रमा प्रवेश गरेका कोइरालाको पहिलो रचना-कथा हिन्दीमा प्रकाशित भएको देखिन्छ । भारतको ज्यादै प्रसिद्ध हिन्दी साहित्यिक पत्रिका हंसमा उनको १९८६ मा लिखित वहाँ शीर्षकको कथा १९८७ मा प्रकाशित देखिन्छ भने त्यसपछि पथिक, अपनी ही तरह, ‘भैयादाइ, होड शीर्षकका हिन्दी कथाहरू २००३ सम्म प्रकाशित भएको पाइन्छ भने नेपालीमा १९९२ को शारदा पत्रिकामा चन्द्रवदन शीर्षकको कथा प्रकाशित भएको देखिन्छ । यो नै उनको पहिलो नेपाली कथा हो ।
हिन्दीमा एउटा र नेपालीमा तेरओटा गरी उनका चौधओटा कविता पनि प्रकाशित छन् र यसबाट उनको कविव्यक्तित्व पनि देखापर्छ । आफ्नो कथा (२०४०) र जेलजर्नल तथा आत्मवृत्तान्त (२०५४) जस्ता कृतिहरूले उनको संस्मरणकार व्यक्तित्वलाई समेत देखाउँछन् । दोषी चस्मा (२००६) र श्वेतभैरवी (२०३९) उनका प्रसिद्ध दुई कथासङ्ग्रह हुन् । उनका नेपालीमा छब्बीस र हिन्दीमा पाँच गरी एकतीस कथाहरू प्रकाशित छन् । कोइराला मूलतः उपन्यासकार हुन् । उनका तीन घुम्ती (२०२५), नरेन्द्रदाइ (२०२६), सुम्निमा (२०२७), मोदिआइन (२०३६), हिटलर र यहुदी (२०४०) र बाबु, आमा र छोरा (२०४५) गरी छओटा उपन्यासहरू प्रसिद्ध छन् । उनको उपन्यासकार व्यक्तित्वपछिको सशक्त व्यक्तित्वका रूपमा कथाकार व्यक्तित्व देखापर्छ । यसरी विश्वेश्वरप्रसाद कोइरालाका छओटा उपन्यास, दुईओटा कथासङ्ग्रह र दुईओटा संस्मरण÷आत्मवृत्तान्त गरी जम्मा दसओटा पुस्तक कृतिहरू प्रकाशित छन् भने असङ्ख्य फुटकर रचनाहरू पनि प्रकाशित देखिन्छन् । उनको साहित्यिक जीवनका मानक कृतिका रूपमा रहेका उपन्यासहरूमा मूलतः वैचारिक चिन्तनको प्रतिपादन ज्यादै महŒवपूर्ण देखिन्छ ।
२. कोइरालाको वैचारिक चिन्तनको सन्दर्भ
आख्यानकार विश्वेश्वरप्रसाद कोइरालाको वैचारिक चिन्तन, राजनीतिमा समाजवादी छ भने साहित्यमा एउटै मात्र वैचारिक चिन्तनको सन्दर्भ पाइँदैन; तर पनि मूलभूत रूपमा मानवतावादी, संस्कृतिपरक, समाजवादी, यौनमनोविज्ञानपरक, समन्वयवादी, अस्तित्ववादी, नियतिवादी, युद्धविरोधी आदि वैचारिक पृष्ठभूमिबाट कोइरालाको आख्यानकारिताको मूल्य निरुपण गर्न सकिन्छ । पूर्वीय पाश्चात्य दर्शनका विशिष्ट अध्येता कोइरालाले पूर्वीय दर्शन तथा वेद, पुराण, उपनिषद् आदिको गम्भीर अध्ययन गरेका छन् भने पाश्चात्य दर्शनमा जाँ पाल सात्र्र, अल्बर्ट कामु, सिग्मन्ड फ्रायड, फ्रेडरिक नित्से, कार्लमाक्र्स, डार्बिन आदिका दर्शन र विचारहरूको अत्यन्त गम्भीर र सशक्त अध्ययन गरी ती दर्शन र विचारहरूलाई पचाएर प्रयोग गरेका छन् । नेपाली सन्दर्भमा जातीय सद्भाव, सहभाव र जातीय मिश्रणको नवीन समन्वयवादी वैचारिक चेतना उनको निजी र मौलिक वैचारिक चिन्तन हो ।
पूर्वीय आर्यदर्शन र किराँत दर्शन तथा पाश्चात्य अस्तित्ववादी—विसङ्गतिवादी दर्शन एवम् फ्रायडेली यौनमनोविज्ञानको दर्शनलाई एकसाथ प्रयोग गर्ने विशिष्ट क्षमता र कला विश्वेश्वरप्रसाद कोइरालामा पाइन्छ । कोइरालाको वैचारिक चिन्तनका आधारभूमि यसप्रकार छन् ः
(१) दैहिक तत्व र आत्मतत्वको समन्वय,
(२) मानवीय मूल्य र आदर्शको स्थापना,
(३) शान्तिपूर्ण वैचारिक अस्तित्वको स्थापना,
(४) मानव नियतिमा विश्वास,
(५) अस्तित्व र नियतिको संश्लेषण,
(६) मानवीय सत्यको अन्वेषण आदि ।
यी सम्पूर्ण वैचारिक चिन्तनको सम्पूर्ण सार मानवतावादमा केन्द्रित देखिन्छ । यही मानवतावादी वैचारिक चिन्तनको छाताभित्र अन्य धेरै चिन्तन देखिन्छन् तापनि दार्शनिक तहमा अस्तित्ववाद, विसङ्गतिवाद र यौनमनोविज्ञान कोइरालाको वैचारिक चिन्तनको आधारभित्ती हो ।
साहित्य र राजनीति दुई भिन्न तत्व हुन् र कोइराला स्वयम्ले आफूलाई राजनीतिमा समाजवादी र साहित्यमा अराजकतावादी भनेर साहित्यिक तत्व र राजनीतिक तत्वका बीच सामान्य विभेद देखाए पनि केही अन्तर्सम्बन्धका व्याख्या पनि सँगै भएको देखिन्छ । यसरी हेर्दा कोइरालाका उपन्यासमा एउटै मात्र विचारको प्रतिपादन नभएर विचारको विविधता पाइन्छ र उनका उपन्यासहरूलाई यही वैचारिक वैविध्यका कोणबाट विश्लेषण गरेर उनका उपन्यासमा प्रयुक्त वैचारिक चिन्तनको निरूपण गर्न सकिन्छ ।
३. कोइरालाका उपन्यासमा वैचारिक चिन्तनको निरूपण
विश्वेश्वरप्रसाद कोइरालाका साहित्यिक व्यक्तित्वका विविध पाटाहरूमध्ये उपन्यासकार व्यक्तित्व सर्वाधिक महत्त्वपूर्ण, विशिष्ट र उच्च देखिन्छ । उनले लेखेका छओटै उपन्यासहरू वैचारिक प्रतिपादनका दृष्टिले प्रभावपूर्ण छन् । “उपन्यासमा मैले कथा भन्न खोजेको छुइनँ, विचार दिन चाहेको छु” भन्ने कोइरालाको कथनले पनि उनका उपन्यासमा विचारको सशक्तता छ भन्ने स्पष्ट हुन्छ । उनले अर्को ठाउँमा वैचारिक धरातलविनाको उपन्यासको कल्पना पनि गर्न सकिन्न भनेका छन् र यसबाट पनि वैचारिक चिन्तन उनका उपन्यासको मूल प्रतिपाद्य विषय हो भन्ने देखिन्छ । उनका उपन्यासमा प्रतिपाद्य वैचारिक चिन्तनका सन्दर्भहरूलाई पनि वैविध्यमय रूपमा हेर्नु पर्ने हुन्छ ।
स्थूल रूपमा हेर्दा पूर्वीय पाश्चात्य वैचारिक चिन्तनका प्रभाव र केही निजी तथा मौलिक दृष्टिकोण पाइन्छ भने सूक्ष्म रूपमा हेर्दा उनका उपन्यासमा अत्यन्त प्रभावपूर्ण रूपमा वैचारिक घनत्व आएको देखिन्छ र त्यो वैचारिक घनत्व बहुलमय रूपमा रहेको पाइन्छ । वैचारिक चिन्तनको प्रतिपादनका निमित्त कोइरालाले पात्रहरूको सहयोग लिएका छन् । कहीँ पात्रका कार्यव्यापारले पनि वैचारिकतालाई अभिव्यञ्जित गरेको पाइन्छ भने कहीँ उपन्यासकार स्वयम् समाख्याता बनेर वैचारिक चिन्तन प्रस्तुत गरेको पनि देखिन्छ । उनले आफ्ना विचार, चिन्तन र दर्शनलाई आफै समाख्याता बनेर प्रस्तुत नगरी पात्रहरूका माध्यमबाट अभिव्यक्त गरेको सन्दर्भमा त्यो चिन्तन प्रभावी बनेको छ । अझ त्यसमा पनि पात्रका मनको अन्तरकुन्तरमा पसेर त्यसलाई सूक्ष्म ढङ्गले विश्लेषण गर्दै पाठकलाई मनोवैज्ञानिक सन्देश दिनु र सामाजिक, आर्थिक, सांस्कृतिक, यौनिक आदि सन्दर्भसमेत प्रस्तुत गरी विचारलाई बहुआयामिक बनाएर देखाउनु उपन्यासकार कोइरालाको विशेषता हो । उनका उपन्यासगत वैचारिक चेतनाका सन्दर्भलाई यसप्रकार देखाइन्छ :
३.१ ‘तीन घुम्ती’ को वैचारिक धरातल
उपन्यासकार विश्वेश्वरप्रसाद कोइरालाको पहिलो उपन्यास तीन घुम्ती (२०२५) हो र यो समाजमनोवैज्ञानिक अन्तर्वस्तुमा आधारित छ । यसमा व्यक्तिले अस्तित्वका लागि झेल्नुपरेका समस्यालाई प्रस्तुत गरिएको छ र मान्छे हुनुको अर्थ नै अस्तित्व र स्वतन्त्रताका निम्ति सङ्घर्ष गर्नु हो भन्ने मूल विचार अभिव्यक्त गरिएको छ । अर्कातिर विद्रोहबाट नै अस्तित्व प्राप्त हुन सम्भव छ भन्ने विचार पनि यस उपन्यासमा देखिन्छ । यस उपन्यासकी इन्द्रमायामा आएका विघ्न बाधाहरू उसको इच्छाले आएका नभई परिस्थितिवश आएकाले यहाँ नियतिवादी विचार अभिव्यक्त भएको छ । मातृत्वप्रति समर्पित रहनु र आत्मनिर्णयका साथ मातृत्वयुक्त नारीअस्तित्वको मर्यादाप्रति इमान्दार बनेको देखाएर यहाँ अस्तित्ववादी विचार व्यक्त गरिएको छ । यो विचार जाँ पाल सात्र्रको चिन्तनसँग नजिक देखिन्छ ।
३.२ ‘नरेन्द्र दाइ’ को वैचारिक धरातल
कोइरालाको नरेन्द्र दाइ (२०२६) दोस्रो औपन्यासिक कृति हो र यो पनि समाजमनोवैज्ञानिक एवम् त्रिकोणात्मक अन्तर्वस्तुमा आधारित देखिन्छ । मान्छे के हो र उसको जीवन के हो भन्ने दार्शनिक विचार यस उपन्यासमा व्यक्त गरिएको छ । साथै यस उपन्यासमा अस्तित्ववादी विसङ्गतिवादी चिन्तन र जीवनवादी धारणा प्रस्तुत गरिएकाले जीवनको अस्तित्वसम्बन्धी वैचारिक चिन्तन यहाँ अभिव्यक्त गरिएको छ । यस उपन्यासमा दैहिक र आत्मिक प्रेमका प्रतीक पात्र नरेन्द्र—मुनरिया र गौरीका माध्यमबाट त्रिकोणात्मक प्रेम अभिव्यक्त गर्ने क्रममा जीवनवादी र अस्तित्ववादी—नियतिवादी विचार प्रस्तुत भएको देखिन्छ । जीवनप्रति प्रतिबद्धता जाहेर गर्नुको विकल्प छैन भन्ने मान्यता यस उपन्यासको मूल विचार हो । यो विचार मार्टिन हाइडेगर र सात्र्रको चिन्तनबाट प्रभावित देखिन्छ ।
३.३ ‘सुम्निमा’ को वैचारिक धरातल
विश्वेश्वरप्रसाद कोइरालाको औपन्यासिक यात्राको तेस्रो उपन्यास सुम्निमा (२०२७) आर्य र किराँत मिथकमा आधारित मिथकीय, सांस्कृतिक र मनोविश्लेषणात्मक उपन्यास हो । यस उपन्यासका सोमदत्त र सुम्निमा क्रमशः आत्मपक्ष र शरीरपक्षका प्रतीक पात्र हुन् र यी दुई पक्षका बीचको द्वन्द्वमा उपन्यास गतिशील बनेको देखिन्छ । यसरी शरीरपक्ष र आत्मपक्षका बीचको द्वन्द्वमा शरीर पक्षको विजय देखाएर शरीर नै अस्तित्वको मूल आधार भएकाले शरीरको आवश्यकताप्रति अनुदारता राख्नु राम्रो होइन भन्ने विचार यस उपन्यासमा प्रस्तुत भएको छ । साथै आर्य संस्कृति र किराँत संस्कृतिको मिलन हुनुपर्ने कुरा देखाएर जातीय सांस्कृतिक सम्मिश्रण आजको आवश्यकता हो भन्ने विचार पनि प्रस्तुत गरिएको छ । यो विचार आदिममनोविज्ञान ९ब्चअजभतथउभि एकथअययिनथ० बाट प्रभावित देखिन्छ ।
३.४ ‘मोदिआइन’ को वैचारिक धरातल
कोइरालाको चौथो औपन्यासिक कृति मोदिआइन मूलतः दार्शनिक प्रकृतिको उपन्यास हो । यस उपन्यासमा हिन्दूहरूको धर्मग्रन्थ गीताको प्रचलित र परम्परित अर्थको पुनव्र्याख्या गरिएको छ । यस क्रममा यस उपन्यासमा महाभारतको युद्धको सन्त्रासले आक्रान्त अमानवीय पक्षको पहिचान गरी मानवीय मूल्य र शान्तिपूर्ण मानवताको पक्षमा समर्थन गरिएको छ । यस उपन्यासमा महाभारत युद्धका लाखौँ विधवा नारीहरूका प्रेतात्माहरूको प्रतीक पात्रका रूपमा मोदिआइनलाई प्रस्तुत गरिएको छ । कृष्णले अर्जुनलाई उक्साएर त्यत्रो नरसंहार गरे, अन्त्यमा सबैले छाडेर जानु पर्यो भन्दै युद्धको परित्याग र शान्तिको कामना यस उपन्यासको केन्द्रीय विचार भएर आएको छ । समग्रमा भन्नुपर्दा मानवता, मानवीय स्वतन्त्रता, युद्धविरोधी चिन्तन र मानवतावादी सोच एवम् मान्छे ठुलो होइन, असल बन्नुपर्छ भन्ने विचार यस उपन्यासको सारभूत कुरा हो । यो उपन्यास प्रतीकात्मक रूपमा पौराणिक मिथकभित्र राजनीतिक विचारबाट अभिप्रेरित देखिन्छ ।
३.५ ‘हिटलर र यहुदी’ को वैचारिक धरातल
वी.पी. कोइरालाको हिटलर र यहुदी (२०४०) उपन्यास २०१५-१६ तिर लेखिएको तर उनको मृत्युपछि प्रकाशित भएको र दोस्रो विश्वयुद्धको परिवेशमा लेखिएको एवम् ऐतिहासिक अन्तर्वस्तुमा ‘म’ पात्रको समाख्यानका माध्यमबाट कथानक अगाडि बढेको उपन्यास हो । यस उपन्यासमा समाख्याता ‘म’ पात्र र युद्धपीडितहरूका मुखबाट दोस्रो विश्वयुद्धको दारुण स्थिति र बर्बर दृश्यहरूको वर्णनका माध्यमबाट युद्धको विरोध र मानवतावादको समर्थन गरिएको विचार व्यक्त गरिएको छ । उपन्यासकारकै कथनअनुसार पनि दोस्रो विश्वयुद्धपछि देखापरेका विभिन्न द्वन्द्वात्मक पक्ष र वैचारिक विविधताजस्ता कुराहरू यस उपन्यासमा दर्साइएको छ । यसमा युद्धविरोधी र शान्तिकामी वैचारिक चिन्तनका साथै मानवतावादी विचारलाई केन्द्रीय कथ्य बनाइएको छ । यस उपन्यासमा उपन्यासकारले बीचबीचमा हिगेल, कार्लगुस्ताभ युङ्ग, कार्लमाक्र्स, सेक्सपियर, नित्से, शङ्कराचार्य, मुसोलिनी, स्तालिन आदिका विचारलाई समेत प्रस्तुत गरेर विविध विचारहरूको सङ्ग्रहका रूपमा पनि यस उपन्यासलाई प्रस्तुत गरेको देखिन्छ ।
३.६ ‘बाबु, आमा र छोरा’ को वैचारिक धरातल
आख्यानकार विश्वेश्वरप्रसाद कोइरालाको बाबु, आमा र छोरा (२०४५) २०२० तिर लेखिएको र उनको मृत्युपछि प्रकाशित भएको उपन्यास हो । यसमा सामाजिक विषयवस्तुलाई ग्रहण गरेर मानव जीवनको विडम्बनापूर्ण यथार्थलाई विचारवस्तुका रूपमा प्रस्तुत गरिएको छ । एउटी नारी उमा बाबु बस्नेतकी कान्छी पत्नी र छोरो शिवप्रसादकी प्रेमिकाका रूपमा देखापरेको घटनालाई आकस्मिक रूपमा अवतरण गराएर जीवनमा व्याप्त विसङ्गतिमूलक विचारको प्रतिपादन यहाँ गरिएको छ । उमालाई नियतिको सर्वोपरिता स्वीकार गर्न लगाएर नारीचरित्रका माध्यमबाट नियतिवादी विचार यहाँ व्यक्त गरिएको छ । यौनपरक वैचारिक मनोविश्लेषणका साथ प्रेम, यौन र गृहस्थीको सन्तोषमा लगेर उपन्यास टु्ङ्ग्याएकाले जीवनबोधको अस्तित्व र प्रेमान्वेषण यस उपन्यासको केन्द्रीय विचारका रूपमा रहेको देखिन्छ ।
यसप्रकार विश्वेश्वरप्रसाद कोइरालाका उपर्युक्त सबै उपन्यासहरू वैचारिक प्रतिपादनका दृष्टिले सबल देखिन्छन् । उपन्यासमा कथा नभनेर विचार दिन खोज्ने कोइरालाका उपन्यासमा विचारहरूको वैविध्यमय प्रयोग पाइन्छ भन्ने कुरा उपर्युक्त विवेचनाबाट पनि स्पष्ट हुन्छ । उनका उपन्यासमा प्रयुक्त विचारलाई समग्रमा विश्लेषण गरेर हेर्नु पर्ने हुन्छ । यसबाट उनका उपन्यासको वैचारिक धरातल र त्यस धरातलबाट आउने अन्य विविध वैचारिक आयामहरू बुझ्न सजिलो हुन्छ ।
४. कोइरालाका औपन्यासिक विचारहरूको विश्लेषण
विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासहरूमा घटना वा कथानकको बुनोटभन्दा चरित्रको प्रधानता हुन्छ र उपन्यासमा आउने पात्रहरूले स्रष्टा कोइरालाका विविध विचारहरू लिएर आएका हुन्छन् । तिनले उपन्यासमा कथाकथन मात्र गर्दैनन्, आफ्ना विचार र धारणालाई समेत प्रस्तुत गर्छन् र पात्र वा चरित्रका कार्यव्यापारहरू पनि विचारको प्रतिपादनमा सहयोगी बनेर आउँछन् । यसरी आउने विचारहरू विविधतामय छन् । उनका उपन्यासमा एउटै केन्द्रीय विचारको नेतृत्व पाइँदैन र प्रत्येक उपन्यासमा रूप र सार दुवै दृष्टिले वैचारिक विविधता पाइन्छ । मानवतावादी, संस्कृतिपरक, समाजवादी, राजनीतिक, यौनमनोविज्ञानपरक, अस्तित्ववादी, विसङ्गतिवादी, नियतिवादी र युद्धविरोधी विचारहरू उनका उपन्यासका मूलविचार हुन् । उनका औपन्यासिक विचारहरूको सङ्क्षिप्त विश्लेषण यसप्रकार गर्न सकिन्छ :
४.१ मानवतावादी विचार
विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासहरूमा प्रमुख रूपमा मानववादी-मानवतावादी विचार पाइन्छ । यस दृष्टिले मोदिआइन र हिटलर र यहुदी बढी उल्लेखनीय छन् । मूलतः वैचारिक उपन्यासका रूपमा चिनिएको मोदिआइन मानवताका पक्षमा लेखिएको उपन्यास हो । यसमा गीताको दर्शनलाई परम्परित आस्थाका दृष्टिले भन्दा वर्तमान सापेक्ष रूपमा मानवतावादी दृष्टिले पुनव्र्याख्या गरिएको छ । यो एक किसिमले भन्ने हो भने गीताको पुनर्पठन-उत्तरपठन-विपठन पनि हो । यसरी यही विचारसँग ठुलो नहुनू असल हुनू भन्ने भाव केन्द्रीय विचारका रूपमा आएको देखिन्छ:
१) ‘ठुला मानिस थरीथरीका हुन्छन् । असल मानिसहरू भने एकथरी मात्र हुन्छन् । ठुलो हुनपट्टि नलाग्नू असल हुन पट्टि लाग्नू नानी । — पृ. १४
२) ‘नानी ठुलो नहुनू, वीर नहुनू, असल हुनू असल ।’ — पृ. ६०
३) ‘कुनै तर्कले पनि, कुनै उच्च दर्शनको जोरले पनि जीवनको सुख, दुःखलाई, जन्ममरणको सत्यलाई, यो ठोस घेरालाई मिथ्यामा परिणत गर्न सक्दैन ।’ — पृ. ५५
यी उद्धरणहरूले अत्यन्त कलात्मक रूपमा र प्रतीकात्मक रूपमा मानववादी विचारलाई अभिव्यक्त गरेका छन् । कोइरालाको हिटलर र यहुदी मा पनि यस्ता मानववादी विचार प्रशस्त देखिन्छन्:
४) ‘मैले चिच्याएर भनेँ — भो भो म अब सुन्न सक्दिनँ, यस्तो अमानविक वृत्तान्त’ — पृ. २२ ।
यी तथ्याङ्कहरूले मानवतावादी विचार र चिन्तनलाई प्रस्तुत गरेका छन् । ठुलोभन्दा असल मान्छे बन्न सन्देश दिने उपन्यासकारको विचार र फ्रायडवादसँग समीकृत मानवतावादका साथै मानवताविरोधी बर्बरताको जीवन्त बिम्ब पनि यहाँ उतारिएको छ । गीतालाई धार्मिक भावनाबाट भन्दा कर्तव्य र मानवताका कोणबाट हेर्नुपर्ने विचार मोदिआइनमा छ भने दोस्रो विश्वयुद्धको विभीषिकाबाट मानवताको अपहरण भएको र संसारलाई सुन्दर बनाउन मानव अस्तित्व र मानवीय मूल्य हुनुपर्ने कुरा हिटलर र यहुदीमा छ ।
४.२ संस्कृतिपरक विचार
कोइरालाको सुम्निमा मूलतः संस्कृतिपरक उपन्यास हो र यसमा आर्यसंस्कृति र किराँत संस्कृतिको समन्वय र अन्तर्मिश्रणलाई मूल विचारका रूपमा प्रस्तुत गरिएको छ । यसै सन्दर्भमा सांस्कृतिक दर्शनको विचार पनि यहाँ अभिव्यञ्जित देखिन्छ । आत्मतत्वको परिपोषक आर्यसंस्कृति र देहतत्वको परिपोषक किराँत संस्कृतिका बीचको द्वन्द्वमा देहतत्वको विजय देखाएर ‘शरीरमाद्यं खलु धर्म साधनम्’ भन्ने पूर्वीय विचारलाई सुम्निमा उपन्यासले मूल केन्द्र बनाएको छ । आर्य र किराँत जीवनका सामाजिक, सांस्कृतिक सन्दर्भलाई देखाएर यी दुई संस्कृतिको सहसम्बन्ध नेपालका सन्दर्भमा अपेक्षित छ भन्ने विचार पनि यहाँ छ । यसबाट नेपालका लागि जातीय विखण्डन होइन, जातीय सद्भाव, सहभाव र एकता आवश्यक भएको विचार अभिव्यक्त हुन्छ । आर्यसंस्कृति र किराँत संस्कृतिपरक विचारलाई अभिव्यक्त गर्ने केही तथ्यहरु यसप्रकार छन् :
१) ‘यहाँ भोको बसेर तप गर्दै द्यौता रिझाउने खण्ड छैन । हाम्रा द्यौता भोको बसेर रिझिँदैन ।’ ‘त्यसो भए केले रिझिन्छ त ?’
‘खाएर शरीरलाई तृप्त पारेर, अनि पो शरीर सुसाउँछ र द्यौता रिझिन्छन् ।’ — पृ. ६४
२) ‘सुम्निमा ! म भन्दैछु । यो तिम्रो शरीर पापरूप हो, विष हो, फोहोर हो ।’ पृ. ३५
यहाँ आत्मतत्व र देहतत्वका बीचको द्वन्द्व त छँदैछ गहिरिएर हेर्दा उपन्यासमा नेपाली संस्कृति पनि जीवन्त देखिन्छ । पौराणिक संस्कृतिका दृष्टिले मोदिआइनमा केही संस्कृतिपरक विचार देखिए पनि संस्कृतिपरक विचारको प्रतिपादनका दृष्टिले सुम्निमा नै प्रभावशाली उपन्यास हो । सुम्निमा उपन्यासका आधारमा नेपाल बहुजातीय र बहुसंस्कृतियुक्त देश हो र यसबाट सांस्कृतिक सहभाव अपेक्षित छ भन्ने कुरा पनि मूल विचारका रूपमा आएको देखिन्छ ।
४.३ राजनीतिक विचार
वी.पी. कोइरालाका उपन्यासमा मूल वा केन्द्रीय विचारका रूपमा राजनीतिक विचार आएको देखिँदैन तर त्यस विचारलाई साङ्केतिक रूपमा, प्रतीकात्मक रूपमा, मिथकीय रूपमा र कहीँ सामान्य बीजबिन्दुका रूपमा अभिव्यक्त गरिएको छ र त्यो व्यक्तिस्वतन्त्रताका रूपमा समेत अन्योक्तिमूलक ढङ्गले प्रस्तुत भएको पाइन्छ । मूलतः राजनीतिक विचारको प्रतिपादनका दृष्टिले मोदिआइन र हिटलर र यहुदी केही प्रभावी देखिन्छन् । बाह्यरूपमा राजनीतिक विचार स्पष्ट नदेखिए पनि मोदिआइनमा महाभारतको पौराणिक राजनीतिलाई अन्योक्तिमूलक रूपमा नेपालको राजनीतिसँग गाँसेर हेर्न पनि सकिन्छ । हिटलर र यहुदी स्थूलरूपमा विश्वराजनीतिसँग गाँसिएको दोस्रो विश्वयुद्धको सन्दर्भमा केन्द्रित छ र यस उपन्यासले पनि मानवता अन्तर्निहीत राजनीतिका पक्षमा अभिमत प्रकट गरेको छ । कोइरालाका उपन्यासका पात्रहरू प्रायः राजनीति गर्दैनन्; ती राजनीतिक चरित्रका पनि छैनन् तर राजनीति बुझ्छन् र व्यक्तिस्वतन्त्रता पक्षमा रहन्छन् । यति हुँदाहुँदै पनि हिटलर र यहुदीमा व्यक्त राजनीतिक विचारको उच्चता महत्त्वपूर्ण छ :
१) ‘आर्यावर्तको नागरिकता, राजनीतिक अर्थमा होइन — सञ्चित पुण्यको दान हो ।’ — पृ. ७२
२) जाति राजनैतिक अर्थबोध शब्द होइन; जसलाई राष्ट्र भन्छौँ; न देश नै भौतिक विभाजन मात्र हो ।’ — पृ. ७३
लाखौँ यहुदीहरूको हत्या गर्ने हिटलरको राजनीति र यो सन्दर्भ धन्यात्मक अर्थमा नेपालको राणाशासनको क्रूरतासँग समीकृत हुन्छ । राजनीतिक सन्दर्भमा अन्य धेरै तथ्यहरू हिटलर र यहुदीमा छन् :
३) राजनीतिमा लागेको व्यक्ति अरु पेसाका मानिसहरूभन्दा झन् बढी शक्तिको पथको यात्री हुन्छ । — पृ. १३०
मोदिआइन र हिटलर र यहुदी दुवै उपन्यासहरू युद्धराजनीतिसँग सम्बद्ध छन् र युद्धराजनीतिक र शक्तिराजनीतिक परिवेशका वैचारिक धरातलबाट यी दुई उपन्यासको सिर्जना भएको देखिन्छ ।
४.४ प्रेम र यौनमनोविज्ञानपरक विचार
नेपाली आख्यानमा फ्रायडेली यौनमनोविज्ञानका सशक्त प्रयोक्ता विश्वेश्वरप्रसाद कोइरालाका प्रायः सबै उपन्यासहरूमा यौनमनोविज्ञानपरक विचारको प्रतिष्ठापन भएको छ । यौनलाई मानवजीवनको सञ्चालक र नियन्त्रक ठान्ने फ्रायडेली मान्यता नै आख्यानकार कोइरालाको यौनपरक विचार हो । यौनका सम्बन्धमा मर्यादाहीन स्वच्छन्दता उनका उपन्यासमा छैन तर यौनलाई जैविक आवश्यकताका रूपमा मानेर त्यस जैविक आवश्यकतालाई दमित गर्नु हुँदैन र त्यसले निकास पाउनु पर्छ भन्ने विचार उनका सबै उपन्यासमा पाइन्छ । यौनका सम्बन्धमा कोइरालाका केही नवीन विचारहरू अत्यन्त मननीय छन् । प्रेम र यौनलाई सामाजिक मर्यादासँग नजोडेर व्यक्तिको स्वतन्त्रता र स्वेच्छासँग जोडिएको छ । प्रेम बिनाको यौनलाई वेश्याचरण ठान्ने कोइरालाको विचार र दैहिक तथा जैविक आवश्यकता एवम् सृजनात्मकतासँग जोडिएको यौनलाई मानसिक उर्जा ठान्ने उनको चिन्तन पनि प्रभावपूर्ण छ । उनका सबै उपन्यासमा यौनका सम्बन्धमा नवीन विचारहरू प्रस्तुत भएका छन् ।
तीन घुम्तीमा अभिव्यक्त यौनसम्बन्धी विचारलाई अभिव्यक्त गर्ने केही उदाहरण यसप्रकार छन् :
१) ‘रसशून्य थिइनँ, किनभने प्रेमशून्य थिएन त्यो सम्बन्ध । यदि प्रेमशून्य भएको भए मेरो सहवास वेश्याचरण हुन्थ्यो ।’ — (पृ. ६८)
बाबु, आमा र छोरा उपन्यासमा पनि लगभग यस्तै विचार अभिव्यक्त भएको देखिन्छ ः
२) ‘यौन त प्रेम नै हो रहेछ, जसले त्यस क्षणमा आदर्श शरीर रूप धारण गर्छ र जो पुनः शरीर आदर्शमा विलाएर जान्छ । स्थूलतत्व सूक्ष्म तत्वमा, सूक्ष्मतत्व स्थूल तत्वमा अन्तर्निहित हुन्छ ।’ — (प.. ६१)
नरेन्द्र दाइ उपन्यासमा पनि यौनसम्बन्धी विचारको प्रतिपादन उल्लेखनीय रूपमा भएको छ :
३) ‘मैले पनि उसलाई आफ्नो प्रेम दिएर उनको सुक्न लागेको पुरुषत्वलाई हरियो पारेकी थिएँ । त्यसले आफ्नो स्वाभाविक माटोमा हुर्किन पाएको थिएन । गौरीको प्रतिकूल हावापानीमा सुकिसकेको थियो । ममा रोपिन पुग्दा त्यो आफ्नो अनुकूल मलजल पाएर प्रस्फुटित हुन पुग्यो ।’ — (पृ. ५८)
यौनविचारको प्रतिपादनका दृष्टिले सुम्निमा झनै प्रभावपूर्ण देखिन्छ :
४) ‘मैले आफ्नो मुटुको तातो सासले तिम्रो मनुवालाई फुकिदिएकी छ ।’ (पृ. ७२)
५) ‘पर्कितिले मिलाएको प्याङछ्याङलाई कहाँकहाँ धर्मका अमिल्दा कुरा ल्याएर वित्थामा किन भत्काउँछौ ? … पर्किर्तिको बनोटलाई भत्काउन खोज्नु आफ्नै बिगार गर्नु हो ।’ — पृ. १७
प्रेम र यौनसम्बन्धी यस्ता धेरै विचार र चिन्तनहरू कोइरालाका उपन्यासमा पाइन्छ । यौनतृष्णा जीवनको स्वाभाविक प्रक्रिया हो र त्यसको परितृप्ति आवश्यक छ भन्ने धारणाका साथै समाजमा यौनविकृति हुनुहुँदैन भन्ने धारणा पनि कोइरालाका उपन्यासमा पाइन्छ । उनका उपन्यासहरूमध्ये तीन घुम्तीमा यौनस्वतन्त्रता, नरेन्द्रदाइमा आस्तित्विक सन्दर्भको यौनसम्बन्धी विचार, सुम्निमामा सांस्कृतिक पक्षसँग गाँसिएको यौनसम्बन्धी विचार र हिटलर र यहुदी एवम् मोदिआइनमा दर्शनसँग गाँसिएर आएका यौनसम्बन्धी विचारहरू देखिन्छन् । सुम्निमामा अभिव्यक्त यौनसम्बन्धी विचारमा साङ्ख्यदर्शनको समेत प्रभाव पाइन्छ । विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा पाइने उपर्युक्त प्रेम र यौनसम्बन्धी विचारहरू सामान्य नमुना मात्र हुन् र तिनको गहन र व्यापक विश्लेषण हुनसक्छ । कोइरालाका प्रेम र यौनसम्बन्धी विचारहरू फ्रायड, युङ र एडलरका चिन्तन, साङ्ख्यदर्शन, आदिमतापरक चिन्तन र सांस्कृतिक सन्दर्भबाट प्रेरित छन् ।
४.५ समन्वयवादी विचार
पृथक् पृथक् किसिमका सिद्धान्त, विचार, पक्ष, भावना, पात्र, परिवेश र परिस्थितिका बीच सहसम्बन्धको स्थापना नै समन्वयवादी विचारको अवधारणा हो । विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासहरूमा समन्वयवादी दृष्टिकोण र विचार प्रभावपूर्ण रूपमा रहेको पाइन्छ । मनोदैहिक स्वतन्त्रता र मानवीय मूल्यको स्थापनामा जोड दिने कोइरालाका उपन्यासहरूमा समन्वयवादी दृष्टिले प्रायः सबै उपन्यास प्रभावपूर्ण भए पनि सुम्निमामा यो विचार ज्यादै स्पष्ट र प्रभावपूर्ण देखिन्छ । मानवजीवन सुखमय बनाउनका लागि अध्यात्मवाद र भौतिकवाद, शरीर र आत्मा आदिका बीच समन्वय हुनै पर्छ भन्ने दृष्टिकोण यस उपन्यासमा प्रस्तुत छ । नरेन्द्रदाइ र बाबु, आमा र छोरामा पनि दैहिक र आत्मिक सम्बन्धका बीचको समन्वयको सन्दर्भ छ । सुम्निमामा प्रयुक्त समन्वयवादी दृष्टिकोणको साक्ष्य यसप्रकार छ :
१) ‘छोरीले पनि तिम्रा कुरा बुझेर आफ्नो बाटोलाई केही छाड्न तयार हुनुपर्छ । त्यस्तै तिमीले पनि सम्झौता गर्ने प्रयत्न गर्नुपर्छ, आफ्नो बाटोलाई केही छाड्न तयार भएर । तिमीहरूको भलो होस् । तिमीहरूका सन्तान सम्झौताको बाटो झिक्न सक्ने होऊन् ।’ — (पृ. ११६)
सुम्निमा उपन्यासमा आर्य र किराँतका बीच सहसम्बन्ध देखाएर समन्वयवादी विचार प्रस्तुत गरिएको छ । सुम्निमा र सोमदत्त तथा तिनका छोरीज्वाइँको सम्बन्धले समन्वयवादी विचार प्रस्तुत गरेको देखिन्छ र उनको श्वेतभैरवी कथामा पनि यस्तै समन्वयवादी विचार छ । तीनघुम्तीमा पनि प्रेम, कर्तव्य र मातृत्वका बीचको समन्वयवादी वैचारिक चिन्तन छ ः
२) ‘जीवनमा कर्तव्यप्रतिको जागरुकता कुनै भित्री आत्मिक भावनाले प्राणवान् हुनुपर्छ ।’ — पृ. ६१
यस्ता समन्वय वैचारिक चिन्तनका उद्धरणहरू कोइरालाका उपन्यासमा धेरै पाइन्छन् । जीवन बाँच्नका लागि सहभाव र समन्वय आवश्यक छ भन्ने निष्कर्षमा उनका धेरै उपन्यासहरू केन्द्रित छन् । कुनै पनि विचार, पक्ष, व्यक्ति, समाज आदि स्वयम्मा पूर्ण हुँदैनन् र ती कुनै न कुनै रूपमा एक अर्कामा सापेक्षित हुन्छन् भन्ने समन्वयवादी विचार कोइरालाका उपन्यासको मूल चुरो कुरो हो । यो विचार उनको राजनीतिक विचारकै परिपूरकका रूपमा देखिन्छ ।
४.६ अस्तित्ववादी नियतिवादी विचार
विश्वेश्वरप्रसाद कोइरालाका धेरै उपन्यासहरूमा अस्तित्ववादी नियतिवादी विचारको प्रबलता पाइन्छ । व्यक्ति अस्तित्वको स्वतन्त्रता र मानवनियतिमा विश्वास कोइरालाका उपन्यासको विशेषता हो । उनका औपन्यासिक पात्रहरू नियतिकै कारण दुःखी भएको भाव उपन्यासहरूमा पाइन्छ र यो आस्तित्विक चेतनासँग गाँसिएको छ । तीन घुम्तीकी इन्द्रमाया अस्तित्व र स्वतन्त्रताको समर्थक बनेकी छ भने ऊ अनेक विघ्न बाधाहरू झेलेर नियतिकै दास बनेकी छे । नरेन्द्रदाइ उपन्यासको नरेन्द्र व्यक्ति अस्तित्व र स्वतन्त्रताको संवाहक हो भने यस उपन्यासका तीनओटै पात्रहरू अनिच्छित नियति भोगिरहेका छन् । बाबु, आमा र छोराको बाबु बस्नेत अस्तित्व र स्वतन्त्रताप्रति सचेत छ भने यस उपन्यासका तीनओटै पात्र नियतिद्वारा परिचालित छन् । हिटलर र यहुदीकी रेवा पनि आस्तित्विक स्वतन्त्रताप्रति सचेत देखिन्छे र साठी लाख यहुदीहरूको हत्या गरिएको कथा र त्यहाँका पात्रहरूको दुःखद परिस्थिति मानवनियति नै हो भन्ने देखिन्छ र यस उपन्यासका पात्रहरू नियतिको दुश्चक्रमा पेलिएका छन् । कोइरालाका सुम्निमा र मोदिआइनमा अस्तित्ववादी चिन्तन त्यति स्पष्ट नभए पनि नियतिवादी चिन्तन भने पाइन्छ । मान्छेले नियतिद्वारा निर्देशित यात्रा गर्नुपर्छ भन्ने वैचारिक चिन्तन उनका उपन्यासको नियतिवादी केन्द्रीय कथ्य हो । तीन घुम्तीमा अस्तित्ववादी विचार यसरी प्रकट भएको छ :
१) ‘हुन त मानिसले नै निर्णय गर्छ, तर नियतिले निर्देशन गरेकै बाटोमा हिँड्ने उसको निर्णय भवितव्यको सेवकको रूपमा प्रकट हुन्छ ।’ — पृ. २३
नरेन्द्रदाइ उपन्यासमा नियतिवादी अस्तित्ववादी सञ्चेतना यसप्रकार देखिन्छ:
२) ‘सारा कुरा कस्ता निस्सार ! पारिको बालुवालाई बीचबीचमा भुमरी हावाले केही माथिसम्म पु¥याएर फेरि झाथ्र्यो । जीवन कस्तो अर्थहीन ।’ पृ. ७८
बाबु, आमा र छोरामा नियतिवादी विचार यसरी प्रकट भएको देखिन्छ :
३) ‘नियतिको एकोहोरो गति नै त प्रारब्ध हो नि ?’ — पृ. ६४
हिटलर र यहुदीमा नियतिवादी विचार यसप्रकार अभिव्यक्त भएको छ :
४) ‘घटनाको सूचनाले तपाइं द्रवित हुनु भयो । नियतिको ध्येयलाई बुझ्नु भएन । … नियतिको उद्देश्य बुझ्ने ज्ञान त परमेश्वरको मस्तिष्कको वस्तु हो; जसलाई हाम्रा ऋृषिमुनिहरूले बुझेर नै भनेका थिए अन्तिम वाक्य—नियतिलाई प्रश्न नगर ।’ पृ. ३२
विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासहरूमा अस्तित्ववादी नियतिवादी वैचारिक चिन्तनका यस्ता धेरै उदाहरणहरूबाट कोइरालाका उपन्यासको मूल अभिप्राय कथा भन्नु नभई विचार प्रतिपादन गर्नु हो भन्ने स्पष्ट हुन्छ ।
४.७ युद्धविरोधी विचार
आख्यानकार विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासहरूमा मानवतावादी विचारकै परिपूरक विचारका रूपमा युद्धविरोधी विचार पनि अभिव्यक्त भएको देखिन्छ र यसैक्रममा शान्तिकामी चेतना पनि प्रस्तुत भएको छ । विशेषतः मोदिआइन र हिटलर र यहुदी उपन्यासमा यस विचारको प्रतिष्ठापन बढी सशक्त भएर आएको देखिन्छ । प्रासङ्गिक रूपमा सुम्निमामा पनि युद्धविरोधी र शान्तिकामी विचारहरू आएका देखिन्छन् । महाभारतको युद्ध, दोस्रो विश्वयुद्धको स्थिति र नेपालको पञ्चायती व्यवस्थाका परिदृश्यहरू पनि युद्धविरोधी विचारका आधारका रूपमा देखिन्छन् । मोदिआइनमा महाभारतकालीन सन्दर्भका कोणबाट र हिटलर र यहुदीमा दोस्रो विश्वयुद्धको सन्दर्भका कोणबाट युद्धविरोधी विचार प्रस्तुत गरिएको छ । कोइरालाले युद्धलाई मानवसमाजको कलङ्क मान्दै युद्धलाई विध्वंसात्मक, निन्दनीय वर्जनीय छ भन्ने विचार व्यक्त गरेको पाइन्छ ।
मोदिआइनमा युद्धविरोधी विचार यसप्रकार प्रस्तुत भएको पाइन्छ :
१) ‘मधुसूदन ! सामुन्ने उपस्थित भएका, युद्धका लागि आएका मेरा यी स्वजन समुदायलाई मारेर न म विजय नै चाहन्छु, न त राज्य, न कुनै प्रकारको सुख ।’ — पृ. ३७
हिटलर र यहुदी उपन्यासमा युद्धविरोधी विचार यसरी प्रकट भएको छ :
२) ‘युद्धले अरु कुरा केही गर्न नसके पनि शरीर, समयभन्दा पहिले नै तयार पारिदिएको छ र भोक पनि ….. ।’ — पृ. ९४
सुम्निमा उपन्यासमा प्रासङ्गिक रूपमा युद्धविरोधी विचार यसप्रकार प्रकट भएको पाइन्छ ः
३) ‘युद्धको सल्लाह सर्वनाशको सल्लाह हो … अहँ, म तिम्रो युद्ध गर्नुपर्छ भन्ने सल्लाह मान्दिनँ ।’ — पृ. १२—१३
कोइरालाका उपन्यासमा पाइने युद्धविरोधी विचार र शान्तिकामी चेतना मानवतावादी देखिन्छ । युद्धका विभीषिका, सन्त्रास र विदू्रपताबाट मानवीय जीवनमूल्यको क्षय हुने कुरा उनका उपन्यासहरूले देखाएका छन् । नरेन्द्रदाइ, तीन घुम्ती र बाबु, आमा र छोरामा भने यो चिन्तन त्यति देखिँदैन ।
आख्यानकार विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासहरूमा वैचारिक चिन्तनको सशक्तता छ भन्ने कुराको साक्ष्य वा प्रमाणका रूपमा स्वयम् कोइरालाका उपन्यासहरू उपस्थित हुन्छन् । उपर्युक्त विश्लेषणमा आएका वैचारिक चिन्तनका अतिरिक्त अन्य विविध विचारहरू पनि उनका उपन्यासमा प्राप्त गर्न
सकिन्छ । यसक्रममा नारी आस्तित्विक वैचारिक चिन्तनलाई उनका उपन्यासहरूले बढी नै अभिव्यञ्जित गरेको पाइन्छ र कतिपय उपन्यासका नारीपात्र नै विचारका संवाहक बनेर देखापरेका छन् । नारीसमस्याकेन्द्री भएर यससम्बन्धी विचार प्रस्तुत गर्नु उनको विशेषता हो । आत्मा, नैतिकता र जीवनका सम्बन्धमा पनि उनका उपन्यासहरूले केही नवीन विचारको प्रक्षेपण गरेका छन् । यसक्रममा नारीलाई प्रेम र मातृत्वका कोणबाट हेरिएको छ । आत्मा, नैतिकता र जीवनका सम्बन्धमा पनि कोइरालाका उपन्यासमा नवीन विचारको प्रतिपादन छ र आत्मिक नैतिकता र स्वनिष्ठताका पक्षमा उनका उपन्यासका पात्रहरूलाई उभ्याइएको छ । जीवनलाई हेर्ने कोइरालाको दृष्टिकोण भने रहस्यवादी छ र उनका उपन्यासमा जीवनलाई रहस्यमय, अपरिभाषेय र अबोधगम्य मानिएको पाइन्छ । प्रेमप्रतिको उनको विचार अझ पृथक् देखिन्छ । कोइरालाका उपन्यासहरूमा प्रेमलाई जीवनको महत्त्वपूर्ण पक्षका रूपमा स्विकार गरिएको हुन्छ र मानवीय अस्तित्वको पहिचान पनि हुन्छ । यसरी कोइरालाका उपन्यासमा वैचारिक चिन्तन बहुलतामय र विविधतामय देखिन्छ ।
५. उपसंहार
आधुनिक नेपाली उपन्यास परम्परामा विश्वेश्वरप्रसाद कोइरालालाई वैचारिक चिन्तनका उपन्यासकारका रूपमा मानिन्छ । उपन्यासमा कथा नभनेर वा घटनाको वर्णन नगरेर विचार दिन चाहेको छु भन्ने कोइरालाका उपन्यासहरू वैचारिक दृष्टिले बहुत्वमय देखिन्छन् । एउटै स्थिर र केन्द्रीय विचारका वरिपरि मात्र परिक्रमा नगरेर बहुविध विचारका बहुविध स्वरूपहरूलाई आफ्ना उपन्यासमा प्रस्तुत गर्नु कोइरालाको वैचारिक चिन्तनको विशिष्टता हो । कोइरालाका पूर्वीय धर्म, संस्कृति एवम् दर्शन तथा पाश्चात्य दर्शनहरूकै जीवनसापेक्ष रहेर लेखिएकाले र ती दार्शनिक चिन्तनका आधारभूमिमा उनका उपन्यास लेखिएकाले उनका उपन्यासहरूमा विचारको बहुत्वमय परिदृश्य पाइन्छ । कोइरालाका उपन्यासमा प्रयुक्त वैचारिकता पूर्वीय पाश्चात्य दर्शन र चिन्तनहरूलाई पचाएर आएको छ र त्यो जीवनसापेक्ष छ । अभौतिक मूल्यभन्दा भौतिक मूल्यमा विश्वास गर्ने कोइरालाका उपन्यासहरूको आधारभित्ति भनेको पनि पूर्वीय पाश्चात्य दार्शनिक धरातल हो । यति हुँदाहुँदै पनि नियतिको सर्वोपरिता उनका उपन्यासमा आस्तित्विक चेतनासँग गाँसिएर आएको देखिन्छ ।
विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासको मूल विचार मानवतावादी रहेको छ भने त्यसको सम्बन्ध उनको राजनीतिक स्वतन्त्रताको विचारसँग पनि समीकृत भएर देखापरेको छ । कोइरालाका उपन्यासमा पाइने समन्वयवादी विचारले राजनीतिक विचारमा विशेष अर्थ राख्दछ । राजनीतिमा फुट र अनेकताको होइन, जुट र एकताको एवम् सहअस्तित्वको आवश्यकता पर्छ भन्ने कुरा उनका उपन्यासमा प्रकारान्तरले अभिव्यक्त भएको देखिन्छ । अस्तित्ववादी, मनोविश्लेषणवादी र शून्यवादी वैचारिक चिन्तनबाट उनका उपन्यास बढी प्रभावित देखिए पनि त्यो प्रभाव अनुकृतिका रूपमा नआई नेपाली जीवन र समाजसापेक्ष भएर वैयक्तिक अस्तित्व र स्वतन्त्रताको पक्षपोषकका रूपमा आएको देखिन्छ । कोइरालाका उपन्यासमा पाइने मानवतावादी, संस्कृतिपरक, अस्तित्ववादी, नियतिवादी, समाजवादी, युद्धविरोधी, नारीपरक आदि सबै किसिमका वैचारिक चिन्तन उनका उपन्यासका केन्द्रीय कथ्य हुन् र यसै केन्द्रीय कथ्यको वैचारिक चिन्तनका वरिपरि अन्य परिधीय विचारहरूले परिक्रमा गरेको देखिन्छ ।
प्रमुख सन्दर्भसूची
अधिकारी, शिव, विश्वेश्वरप्रसाद कोइराला: विचार र व्यक्तित्व, काठमाडौँ: रत्न पुस्तक भण्डार, २०५० ।
कमल, ढकाल भूपति, विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा विचार पक्ष, पोखरा: जय नेपाल प्रकाशन, २०५६ ।
कोइराला, कुमारप्रसाद, आख्यान विमर्श, काठमाडौँ: ओरिएन्टल पब्लिकेसन्स, २०६८ ।
कोइराला, कुलप्रसाद, कोइरालाको उपन्यासकारिताको मूल्याङ्कन र विश्लेषण, अप्रकाशित स्नातकोत्तर शोधपत्र, त्रि.वि. नेपाली केन्द्रीय विभाग, २०३७ ।
कोइराला, जीवनचन्द्र, सम्पा., विश्वेश्वरप्रसाद कोइराला: समालोचना र विचारमा, काठमाडौँ: वी.पी. अनुसन्धान तथा सेवा केन्द्र, २०५३ ।
कोइराला, विश्वेश्वरप्रसाद, तीन घुम्ती, छैटौँ संस्क., ललितपुर: साझा प्रकाशन, २०५५ ।
————, नरेन्द्र दाइ, पाँचौँ संस्क., ललितपुर: साझा प्रकाशन, २०५५ ।
————, बाबु, आमा र छोरा, काठमाडौँ: सुरुचि प्रकाशन, २०४५ ।
————, मोदिआइन, पाँचौँ संस्क., ललितपुर: साझा प्रकाशन, २०५६ ।
————, सुम्निमा, दोस्रो संस्क., ललितपुर: साझा प्रकाशन, २०४३ ।
————, हिटलर र यहुदी, तेस्रो संस्क., ललितपुर: साझा प्रकाशन, २०५० ।
दाहाल, कृष्णप्रसाद, वी.पी. कोइरालाको अस्तित्ववादी यौनमनोवैज्ञानिक उपन्यास: तीन घुम्ती, एक परिचर्चा, गरिमा (१४१÷२०५१), पृ. १८५—२०३ ।
पाण्डे, ज्ञानु, विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा अस्तित्ववाद, काठमाडाैं: नेपाली आख्यान समाज, २०६२ ।
भट्टराई, तुलसी, वी.पी. कोइराला: चिन्तन र प्रयोग, काठमाडौँ: हिमशिखर प्रकाशन, २०५८ ।
त्रिभुवन विश्वविद्यालय
नेपाली केन्द्रीय विभाग
कीर्तिपुर, काठमाडाैं