१. प्रथम 

जगन्नाथ पौडेल भर्जिनिया, अमेरिका

न्युयोर्कभरि सगरमाथा 

एक अङ्खोरा उज्यालो तिर्खा सम्झेर

बिच्किएको म सीमापारि

बोकेर ममताका बादलहरू

तोपेर स्नेहका फुलहरू

रहर थिएन 

बचेराझैं उड्न 

रिनका पखेटाहरूमा

उमङ्ग थिएन 

माटो छोड्न

छातीमा थुनिएका भाकाहरूमा

छिमेकी खस्यो रेगिस्तानमा

दाइले छाड्यो घरदेशको छिंडी

डरका प्वाँखहरूले मलाई उचालिरहे

करका पाइलाहरूले धकालिरहे

आमाको साडीले माडी फुलाउँदैन रहेछ

दरबार बोक्ने गाडीले

भुइँफुट्टे सपनाको घरबारसम्म पुर्याउँदैनरहेछ

प्याउली फुल्न मन थियो 

सगरमाथासँग आँखा जुधाएर

नाच्न मन थियो 

मुस्ताङे स्याउहरूले सुस्ताइरहेको तामाङसेलोमा

घरकै छिंडीमा बसेर

कोक्याउन मन थियो 

माटोको सम्बन्ध 

अनि

सानो छोराको स्कुलेशुल्कको गीत

गीतका अक्षरहरू न्युयोर्कले लेख्छु भन्यो

स्कुलको शुल्क वालमार्टले तिर्छु भन्यो

काठमाडौंले कहिल्यै सच्याएन 

भाका नमिलेका मेरा गीतका हरफहरू

छानोले कहिल्यै ओतेन

सङ्घर्षका कविताहरूको पुरानो डायरी

कवितामा 

आमा थिइन्

आमाका रुझेका आँखाजस्ता अक्षरहरू थिए

भुन्टेको भाँचिएको कलमजस्ता डिकाहरू थिए

डायरी भिज्ने डरभावको इनार थियो

न्युयोर्कले भिज्न दिन्न तेरा आँखाका पङ्क्तिहरू भन्यो

बिक्न दिन्न तेरा सपनाका पृष्ठहरू भन्यो

अक्षता थमाएर बाका काँपेका औंलाहरूले

बिदाइ हल्लाएका बैनीका हत्केलाहरू हेर्दै

छातीमा छापेर मायालुका गाजलु आँखा

चढेर ट्याक्टरको वायुपङ्खी

छाडेको थिएँ घरको बलेँसी 

हिजोआज 

साँघुरो भए पनि यताको घर 

उमारिरहेछु

एक्लो कुनामा भरोसाका जमराहरू

निन्याउरो भए पनि आगन

फुलाइरहेछु

किनाराभरि आस्थाका मखमलीहरू

म अग्लो न्युयोर्कमा 

सगरमाथा छापिएको टोपी थामेर

यादको देश पठाइरहेछु घरदेशतिर

बल्झिरहेको मुठी माटो सम्झेर

रोबोटसमयको भीडमा 

खोपिरहेछु पुनर्मिलनको नयाँ गाथा ।

 

२. द्वितीय

ऋषभदेव घिमिरे ललितपुर, नेपाल

गाउँको कथांश

सिउदैन अचेल शहरले
जीवन फाट्न लागेको जीर्ण हृदय
गाउँ-बस्तीमा प्रत्येक प्रहर
ध्वार्ध्वार्ती च्यातिएका छन्
आमा-बा र आफन्तीको मन

फिका छ दशै, तिहार
उँभौली र उँधौलीमा
वयस्क हातहरूले
लिप्सेर मुस्कुराउन छोडेका छन्
घर, गोठ र अटालीहरू

आँगनको तुलसी मोठ
परदेश भएको छ
गाह्रो मानेर फुल्दै छ सयपत्री
फुस्रिएको मखमलीले पर्खिरहेको छ
हात र गलाको स्पर्श

काँस जस्तै भएको छ
आमा, काकी र फुपुको कपाल
आँखाले ठम्याउन छोडेको छ
करेसाको छिमेकी
क्रमश क्रमशः
चुढिदैछन् काट्दा काट्दै गरेको
लक्ष्यवर्तिकाको सूत्र

काफल पाकेको खुसीमा
कुहुकुहुको सुरिलो आवाज भर्न
जाँगर गर्दिनन् कोइली
दलान र पीढीको ढिकी र जाँताहरूले
चाख्न पाएका छैनन् ताइचिनको चिउरा
सत् संकल्पका नाममा
बोल्दैनन् फरासिला चौताराहरू
विषाद समयको अन्तर्दशामा
उदास उदास गाउँघरले
कसरी उचाल्न सक्लार देशको समृद्धि ?

वालुवामा गाउँको पसिना र यौवन
फुलेर ढकमक्क भएको सपनाले
कतै गाउँ फुरुङ्ङ छ
कुनै गाउँको यौवना
आसुले भिजेर धुमिल छ
डाँडामाथिका जूनहरू खसेर
धरापमा छन् बाले बनाएको सिकुवा

अथाह छन्
गाउँमा घटित
हृदयविदारक कथाका अंशहरू
वन, विहग विरहमा
सुसेल्न नसकेर थकित भएको छ
यतिबेला गाउँ बिरामी छ
बन्द विमानबाट
वियोगको समाचार बोकेर आउने बाकस बोक्न
अशक्त र असमर्थ भई सकेको छ गाउँ ।

 

३. तृतीय-१

आनन्द श्रेष्ठ न्यूजर्सी, अमेरिका

 

सुक्दै गरेको बोट 

गट्टा,गुच्चा र डोरी खेल्दै 

उफ्रदै गरेका 

ती 

हरिया बसन्तहरू

मेरो नजरबाट

दूर-दूर टाढिंदै गएको छन्,

चम्किलो उज्यालो प्रकाश

मेरो नजरबाट

धमिलिंदै गएको छ,

कहकहलाउँदो 

चम्सुर पालुङ्गोको साग झैँ

मेरो वैँश

मेरा सेता कपालहरूसँगै

दिनदिनै फुल्दै-फुल्दै गएका छन्

र 

सोच्दै गर्छु

म पनि त प्रभातको सूर्य झैँ

चम्किलो थिएँ

र 

पूर्णीमाको साँझको जून झैँ

टहटह चम्किन्थेँ

तर आज ?

आज

म र सुक्दै गरेको बोट बिच 

कुनै भिन्नता देखिएको छैन,

ती मेरा वसन्तका दिनहरू,

हावाहुरीले ढाल्नै नसक्ने मेरो बोट,

सलसल पातका स्पर्शले लठ्याएका रातहरू,

चुम्बकले फलामलाई 

तानेर आफ्नो वशमा पारे झैँ यौवन,

एकाएक मेरो मानसपटलबाट

चलचित्रको पर्दा हटे झैँ हटेकाछन्

एक,दुई,तीन गर्दै अन्तिम दृश्यतर्फ,

बगैँचामा फुलेको गुलाफलाई

पानी हालिदिने कोही छैन अहिले

सुक्दैछ

खङ्ग्रङ्ग सुक्दैछ

यो चैतको खडेरीमा 

पानी बिना सुकेको छ

हो

त्यसरी नै सुक्दैछु म पनि,

जीवन भन्नु फूल रहेछ

फूल फुलिञ्जेल 

बास्नाका लागि झुम्नेहरूको खाँचो पर्दैन

सुक्दै गएपछि

माली पाउन पनि गाह्रो रहेछ,

आफैले आफ्नै बिउबाट

जन्माएका कोपिलाहरू

अरूका बगैँचाका शोभा रहेछन्,

सुक्दै गरे पनि

कोपीला र बढ्दै गरेका नयाँ बिरूवाहरू

एउटै बगैँचामा रहेका भए

बोटको सहारा हुनेथियो कि !

टेको हुने थियो कि !

सहारा बिनाको बोट

कहिले ढल्छु

कहिले सिद्धिन्छु

र 

जहिले मर्छु त्यतिबेला 

कसै न कसैले मिल्काउन त आउलान् नि !

म सुक्दै गरेको बोट 

ढलेर कसैको बाटो त छेकिएला नि !

यस्तै-जस्तै सोच्दैछु

यस्तै-यस्तै सोच्दैछु ।

 

४. तृतीय-२

मदन घिमिरे पोखरा

 

म मरेको दिन

चितामा सुताउनै लाग्दा,
जुरुक्क उठ्यो उसको लास र भन्यो –
ए मेरा मलामीहरु हो !
पर्ख, मलाई एकपटक हेर्न मन छ: म मरेको दिन ।

मलामीहरुले सुनेनन् ।

ऊ सरासर पुग्यो आँगनको डिलमा,
र एकटकले हेर्‍यो आफ्नो घर,
जसका इट्टा इट्टामा
बसाइरहेको थियो उसको पसिना ।
जसका कुना कुनाबाट
आइरहेको थियो, उसको जिन्दगीको वासना ।
यही घरमा उसले फुलाएका खुसीहरु
खुसीको फुलबारी बनाउन सक्ने भैसकेका छन् ।
ऊ पनि खुसी भयो ।

फर्किनै लाग्दा
बारीको साँधमा गाडेको ढुङ्गाले
सम्झाइदियो उसलाई आफ्नो कान्छो भाइ ।
जोसँग त्यही साँध नमिलेको निहुँमा ऊ वर्षौं  बोलेन ।
पुग्यो खुरुरु कुदेर भाइको आँगनमा,
जुन आँगनमा उसले बाँचुन्जेल टेकेको थिएन ।
देख्यो आज मुटुभित्रको भाइको माया-
जुन माया उसले बाँचुन्जेल देखेको थिएन ।

अलिक तल आइपुग्दा देखियो ठुल्दाइको घर ।
जुन घरमा टेकेको हो उसले पनि पहिलो पाइला ।
अनायासै एकदिन
त्यो घरमा नअटाउने भएका थिए उसका पाइलाहरु
र उ कस्सिएको थियो सम्बन्धहरुको चिरा पार्न ।

घर ठुल्दाइलाई पर्‍यो ।
धन्सार कान्छोले लियो ।
उसले लिएको थियो बिर्ताको एकहल खेत
र त्यहीँ बनाएको थियो आफ्नो घर ।
घर बनाउने बेलामा
भएको थियो ठुल्दाइसँग चर्काचर्की –
खरबारीको रुख काटेर दलिन बनाएको निहुँमा ।
उनको बारीतिर घरको बलेनी खन्याएको निँहुमा ।

झर्‍यो पश्चातापको एकथोपा आँसु
पुछ्यो, आत्मग्लानीको बर्को उठाएर ।

फर्केर पुग्यो मसानघाट ।
ऊ जलेर सक्किदै-सक्किदै  थियो ।
मलामीहरु हतारमा फर्किरहेका थिए ।
देख्यो कतै कुनामा ठुल्दाइ र कान्छोभाइ
र एकै सासमा चिच्याउँदै भन्यो –
संगै देख्नपनि दाजुभाई, म मरेको दिन कुर्नुपर्यो,
यो जिन्दगी बुझ्न मलाई,  म मरेको दिन कुर्नुपर्यो ।

 

५. तृतीय-३

सुन्दर शिरिष चौतारा, सिन्धुपाल्चोक

 

माटोको वर्णमाला

म माटो हुँ–

पालुवा फेर्दै गरेको कलिला मुनाजस्तै
साना नानीबाबुलाई राखिदिनु
मेरो शीरको विछ्यौनामा,
जहाँ बसेर उनीहरु
गुन्गुनाउनेछन् तोतेबोलीमा
जिन्दगीको रंगीन वर्णमाला ।

थमाईदिनु,
किसानहरुको हातमा औजार
उनीहरुले कोर्नेछन् मेरो छातीका पन्नाहरुमा
हलोले अमूर्त अक्षर
र, गाउँदै धर्तिको गीत
फलाउनेछन् हरियो सपना ।

जसरी फर्कन्छन्
साँझ खस्नुअघि गुँड सम्झेर चराहरु
त्यसैगरी फर्कनेछन् एकदिन
कुनै अनाम भुगोलमा
पसिना पोख्न परदेशीएकाहरु,
उनीहरुलाई देखाईदिनु
मेरा पाखुराका फाँटहरु–
जहाँ रोप्नेछन् देशको माया,
फुटाउनेछन् विकासको मुहान,
र, बनाउनेछन् पौरखको गोरेटो ।

चन्द्रसूर्य निधारमा अड्याएर
धर्ति सिउँदै गरेका
श्रमिकहरुलाई देखाईदिनु मेरो मुटु–
जहाँ लेख्नेछन् उनीहरुले पसिनाको कविता ।

म माटो हुँ–
सिञ्चिनु मेरो इन्द्रिय
र, फुलाउनु राष्ट्रियताको असंख्य थुङ्गा पूmलहरु
पिँध्नु कुमाले चक्रमा
र, बनाउनु अलौकिक कलाकृति
लगाउनु टेको
जसले हरदम थामिरहनेछ देशको माथ ।

कुनैदिन आईहाल्यो भने आँधी
भत्कन सक्छ पैतालाको डोबजस्तै देखिने
देशको मानचित्र
त्यतिबेला ठड्याईदिनु सीमानामा मेरो करङ
गाडिदिनु मेरै अस्थिपञ्जरमा देशको झन्डा
र, गाउनु स्वतन्त्रताको गीत ।

प्रतिकृया दिनुहोस्