देशले धान्न नसक्ने सपना
देशले मलाई
मन दियो, धन दिएन
रहर दियो, ठहर दिएन
सपना दियो, विपना दिएन
कि म यस्तो देशमा
जन्मनु नै थिएन ?
विद्यालयले मलाई
ज्ञान दियो, ध्यान दिएन
बुद्धि दियो, शुद्धि दिएन
साहस दियो, सुझबुझ दिएन
व्यग्रता दियो, धैर्यता दिएन
शिक्षा दियो, संस्कार दिएन
या त म त्यस्तो स्कुलमा
पढ्नु नै थिएन ?
समाजले मलाई
ठूलो मान्छे बन्न सिकायो, असल हुन सिकाएन
लक्ष्य बतायो, बाटो देखाएन
सजिलोमा कुद्न सिकायो, अप्ठ्यारोमा जुध्न सिकाएन
संघर्ष बुझायो , संयम सुझाएन
अघि बढ्न सिकायो, सिँढी चढ्न सिकाएन
बरु यो समाजमा
हुर्कनु नै थिएन ?
बाबाले हिड्न प्रेरित गर्नुभयो
गाउँमै पुगेको मोटरले हिँड्नु नपर्ने बनायो
हजुरबाले भारी बोक्न सिकाउनुभयो
वस्तीमा ट्र्याक्टरले भारी बोक्न थाल्यो
आमाले खेती गर्ने तरिका बताउनुभयो
घरमा बजारको रासन आइपुग्यो
दाईले घाँस कटनी र पशुपालन देखाउनुभयो
भान्सामा पाउडर दुध भित्रियो
काकाले घर छाउन सिपालु बनाउनुभयो
घर पनि ढलानले ढाकियो
कुवाको पानी अँजुलीले पिउन
सिकाउनुभयो दिदीले
मुहान सुकेर कुवा कुवा रहेन
सायद मलाई
पुरानो जिन्दगी जिउनु नै थिएन ?
समयले मलाई दिएको चेतनाले
परदेश चिन्ने बनायो, परिवेश बुझ्ने बनाएन
कि देशले नै केही जानेन ?
कि रानो र कानो छानेन ?
कि चुम्बकले धातु झैँ तानेन ?
मेरो आकांक्षा के विघ्न गह्रुँगो भएछ
आफ्नै मातृभूमिले धान्न सकेन
(डेनमार्क निवासी कवि/लेखक पौडेलका ‘विश्वआर्थिक क्रान्ति: सुमेरदेखि सिलिकन भ्यालीसम्म’ नामक पुस्तकका अलावा थुप्रै पत्रपत्रिका र अनलाइनमा असंख्य लेखरचना प्रकाशित छन्।आफूलाई गीतकारका रूपमा समेत चिनाइसक्नुभएका पौडेल कविता लेखनमा पनि अग्रसर हुनुहुन्छ।)