इन्दिरा ढकालका लघुकथामा अभिव्यक्त भावसन्दर्भ
इन्दिरा ढकालका लघुकथामा अभिव्यक्त भावसन्दर्भउनका रचनामा संघर्षशील जीवनप्रतिको आस्था, ग्रहस्थ जीवनप्रति सकारात्मक चिन्तन, आमा र छोराछोरीका बिचमा हुने आपसी सुमधुर सम्बन्ध, जीवनको सहज, स्वाभाविक गतिशीलताको चिन्तन आएको छ । उनका लघुकथा प्रकृति चिन्तनका लघुकथा हुन् । मानिसले आफूभित्रका संभावनालाई चिनेर अघि बढ्नुपर्ने, योगको आवश्यकताबोध गर्नुपर्ने सोच आएको छ ।
लघुकथाकार इन्दिरान ढकालको वास्तविक नाम इन्दिरा ढकाल हो । इन्दिरा सापकोटा (ढकाल) (जन्मवर्ष २०२३) नेपाली लघुकथा लेखनका क्षेत्रमा सत्तरीको दशको मध्यतिर देखापरेकी स्रष्टा हुन् ।
उनको जन्म गौरी सापकोटा एवं टिकाप्रसाद सापकोटाकी सुपुत्रीका रूपमा काठमाडौंमा भएको हो । हाल रातोपुल, ज्ञानेश्वरमा बसोबास गर्ने उनले ग्रामीण विकासमा स्नातकोत्तर गरेको पाइन्छ । वर्तमानमा उनी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल शाखाको सदस्यका रूपमा कार्यरत रहेको पाइन्छ । विगतमा उनले स्थानिय विकास मन्त्रालयको हाम्रो गाउँ हाम्रो शहर कार्यक्रमको सञ्चालक भएर कार्य गरिन् । उनको दक्षता गायन क्षेत्रमा पनि रहेको छ । उनको लेखन एवं गायनमा विभिन्न गीत बजारमा आएका छन् । म्युजिक नेपालबाट पनि उनका गीत क्यासेटका रूपमा बाहिर आएका छ । यस बाहेक उनले जेष्ठ नागरिकको संस्थामा सक्रिय भएर उनीहरूको जीवनसँग सम्बन्धित भएर गीत गाएको पाइन्छ । उनले पञ्चायत रजतजयन्तीको अवसरमा युगल गायनमा स्वर्ण पदक पाएकी छिन् ।
‘अनन्त पीडा’ लघुकथा कृतिमा प्रेम र संवेदनाको मिश्रण पाइन्छ । मानिसले असल बन्नुपर्ने किसिमको भाव पनि व्यक्त हुँदै आएको छ । जेष्ठ नागरिकका अनुभूति र उनीहरूको भोगाइलाई प्रस्तुत गर्ने क्रममा एक्लोपना, निस्सारतालाई विषय बनाइएको पाइन्छ । मानव जीवन विसंगत रहेको र मानिसले विसंगतिका बिचबाट जीवनको सार्थकताको खोजी गर्नु उनको लेखनको विशेष स्वर हो । जीवनप्रतिको निराशाको अभिव्यक्ति आएपनि कतैकतै आशावादी स्वरका साथै नैतिक आदर्शको खोजी पनि आएको छ ।
सहाराको खोज, भय, पुनः एक्लोपना, आत्मनिर्भर लघुकथा प्रौढ अनुभूतिका लघुकथा हुन् । यी लघुकथामा वृद्धावस्थाको एक्लोपना, पछिल्लो पुस्ताको अमानवीय व्यवहार, बिमारीमा पनि साथ नदिने प्रवृत्ति, आफ्नै पीडा लुकाएर बाँच्नुपरेको अवस्थाबोध गरिएको छ ।
लघुकथाकार इन्दिरानका लघुकथामा मानवीय प्रेम अनि संवेदनाको प्रयोग भएका लघुकथामा भाव र झलक, त्याग, सेवा, कर्मशीलता, अनन्त पीडा, इच्छाशक्ति, जीवन सत्य, प्रेरणा, सकारात्मक उर्जा रहेका छन् । यी लघुकथा रचनामा शान्तिको खोज गर्नु, लोभरहित जीवन बाँच्नु, आदर्शको खोजी गर्ने, प्रियजनको सम्झनामा जीवन बिताउनु, धैर्यशील जीवनको खोजी गर्नृ, नचाहिँदो आशाबाट मुक्तिको खोजी गर्नु, प्रेमको आर्दश रूप चाहनु, असल पात्रको प्रशंसा गर्नु जस्ता विषयको प्रस्तुति छ । उनका लघुकथा शान्ति, प्रेम, करुणा, संवेदना, आदर्श जीवनको खोजका लघुकथा हुन् ।
उनका लघुकथामा असल भावको खोजी गरिएको छ । यस कृतिमा मानिसले असल कर्म गर्नुपर्ने, जीवनलाई सही मार्गमा लग्न सके जीवन प्रकाशमय हुने भावका लघुकथा आएका छन् । यस किसिमका लघुकथामा संघर्ष, सच्चा ज्ञान, लुकेको माया, अनुराग, प्रकृति र जीवन, योग र जीवन, नयाँ यात्रा रहेका छन् । उनका रचनामा संघर्षशील जीवनप्रतिको आस्था, ग्रहस्थ जीवनप्रति सकारात्मक चिन्तन, आमा र छोराछोरीका बिचमा हुने आपसी सुमधुर सम्बन्ध, जीवनको सहज, स्वाभाविक गतिशीलताको चिन्तन आएको छ । उनका लघुकथा प्रकृति चिन्तनका लघुकथा हुन् । मानिसले आफूभित्रका संभावनालाई चिनेर अघि बढ्नुपर्ने, योगको आवश्यकताबोध गर्नुपर्ने सोच आएको छ । इन्दिराका लघुकथामा नेपालीहरूको संघर्षशील जीवन, प्रकृति र योगमाथिको आस्था, जीवनप्रतिको सकारात्मक भाव व्यक्त भएको छ । जीवनप्रतिको अनुरागले भरिएका उनका लघुकथामा जीवनलाई सकारात्मक रूपमा लिएर असहजतालाई अनुकुलमा लाग्न मानिसले निरन्तर संघर्षशील हुनुपर्छ भन्ने भाव प्रस्फूटन भएको छ । यी लघुकथा गतिशील जीवनका सकारात्मक उर्जाबोध भएका लघुकथा हुन् ।
मानवीय जीवनका विसंगत पलक्षणलाई विषयसन्दर्भको रूपमा प्रस्तुत गरिएका रचनामा फरक सिकाइ, आफन्त, अपजस, नक्कली आँसु, मुक्ति यात्रा, सहाराको खोज आदि हुन् । यी लघुकथामा शिक्षण विधिलाई प्रस्तुत गर्ने क्रममा अध्यापन कार्यमा नयाँ विधिको खोज गर्नुपर्ने भाव आएको छ । उनका लघुकथा हाम्रो पारिवारिक परिवेशभित्र विधवा बुहारामाथि हुने उपेक्षा, बुढा आमाबाबुलाई गरिने अपहेलना, बच्चा जन्माउन नसक्दा महिलाले भोग्नुपर्ने सास्ती, वृद्धावस्थामा मानिसले भोग्नुपरेको सास्ती आदि घटनाक्रम आएका छन् । समाजमा बलियाले कमजोरमाथि शासन गर्ने, विसंगतिलाई मलजल गर्ने, आफ्नै परिवारभित्र उत्पीडन गर्ने जस्ता कार्यले सामाजिक अन्तरविरोध सिर्जना गर्छ । आफूलाई बलियो, साधनसम्पन्न देखाउने क्रममा मानिसले आफ्नै घरपरिवारमा उत्पीडकको भूमिका खेल्दछ । बाहिर समाजमा आदर्शको खोल ओढेर असल देखिनुपर्ने मानिस आफ्नै निकटतम घरपरिवारका सदस्यप्रति क्रुर, हिंस्रक र अमानवीय बन्न पुगेको हुन्छ । उनका लघुकथामा मानिसका यही दोहरो चरित्र, विसंगत जीवनशैलीलाई सजीवता प्रदान गरिएको छ ।
लघुकथा सर्जक ढकालका लघुकथामा प्रौढ एवं वृद्धावस्थामा हुने एक्लोपना, निस्सारता अनि शून्यताबोध आएको छ । सहाराको खोज, भय, पुनः एक्लोपना, आत्मनिर्भर लघुकथा प्रौढ अनुभूतिका लघुकथा हुन् । यी लघुकथामा वृद्धावस्थाको एक्लोपना, पछिल्लो पुस्ताको अमानवीय व्यवहार, बिमारीमा पनि साथ नदिने प्रवृत्ति, आफ्नै पीडा लुकाएर बाँच्नुपरेको अवस्थाबोध गरिएको छ । नेपाल जस्ता देशमा बाबुआमाले आफ्ना छोराछोरीको लालनपालन, शिक्षाजस्ता कुरामा आफ्नो सम्पूर्ण जीवन लगाएपनि जीवनको उत्तरार्धमा पछिल्लो पुस्ताले उपेक्षापूर्व अमानवीय व्यवहार गरेको छ । पारिवारिक विघटनका कारण बाबुआमालाई बोझ ठान्नु, बाबुआमाको हेरचाह नगर्नु, एक्लै बाँच्न विवश बनाइएको पाइन्छ । उनका लघुकथा प्रौढ एवं वृद्ध जीवनका अनुभूतिलाई कथात्मक रूप दिइएका लघुकथा हुन् । स्थानिय परिवेशको चित्रण गर्नु, सहरी परिवेशका घटना आउनुु, मध्यमवर्गीय जीवनका उतारचढाव आउनु उनको लेखनको खास पक्ष हो । प्रायः तृतीय पुरुष दृष्टिबिन्दुको प्रयोग, सम्वादको प्रयोग पाइन्छ । उपदेशपरक चिन्तनले प्रधानता पाएको छ । घटनासँगै पात्रको अनुभूतिलाई कुशलताका साथ प्रस्तुत गर्न अझै मेहनतको आवश्यकता छ ।
नेपाली लघुकथाका क्षेत्रमा सत्तरीको दशकको मध्यदेखि आफ्नो उपस्थिति जनाएकी इन्दिरा सापकोटा (ढकाल) का लघुकथामा मानवीय संवेदनाका साथै मानिसको सकारात्मकताको खोजीको विचार आएको छ । आफ्ना सिर्जनालाई परिमार्जित, परिस्कृत पारेर लघुकथा लेखनमा सिद्धता प्राप्त गर्न अझै मेहनत गर्नुपर्ने देखिन्छ । ।
सहयोगीनगर (कोटेश्वर) काठमाडौं
प्रतिकृया दिनुहोस्