विज्ञान, दर्शन र कलाको संयोजन : एक अन्तरविधात्मक कवितासङ्ग्रह

विज्ञान, दर्शन र कलाको संयोजन :
एक अन्तरविधात्मक कवितासङ्ग्रह

प्रस्तुत कृतिले प्रकृति, जीवनप्रणाली दर्शन र विज्ञानको समुचित ज्ञान र सदुपयोगतर्फ मानवलाई प्रेरित गर्ने दिशामा नयाँ आयाम दिएको छ ।

प्राध्यापक डा. गोविन्दराज भट्टराई

“ज्ञान मर्दछ हाँसेर रोई विज्ञान मर्दछ”

बालकृष्ण समले ‘प्रह्लाद’ नाटकमा यस्तो दर्शन प्रस्तुत गरेका थिए । दशकौँसम्म यही सत्यलाई स्वीकार गर्दै हामीले नेपाली मनलाई विज्ञानविरोधी बन्ने तालिम दिइरह्यौँ । आज प्रा. गोपी उप्रेतीको प्रकृत्या सह जीवनम् शीर्षक कवितासङ्ग्रह अध्ययन गरेपछि मलाई लाग्यो— त्यो उक्ति ता “बडाले जो गर्यो काम हुन्छ त्यो सर्वसम्मत” भनेजस्तो मात्रै रहेछ । आज धेरै वर्षपछि म बुझ्दैछु— ज्ञानको विपरीतार्थक अस्तित्व विज्ञान होइन, त्यसो ठान्नु अज्ञान मात्र रहेछ किनभने विज्ञान पनि ज्ञान नै होइन र ?

गोपीजीका दर्शन र विज्ञानले निर्मित साहित्य (कविता) पढेपछि मेरो पनि अज्ञान खुल्यो । उनले एक कवितामा भनेका छन्— न्युटनले प्रमाणित गरेको गुरुत्वाकर्षणको सिद्धान्तविपरीत प्राचीन ग्रीसेली मिथकीय पात्र सिसिफसले दण्डस्वरूप एउटा भयङ्कर पहाडमाथि ढुङ्गो उचाल्दै ठेल्दै माथि पुर्याउने फेरि तलै झर्ने कर्मको साक्षी हुनु छ त्यो । विज्ञानको धर्म अर्थात् पृथ्वीको गुरुत्वाकर्षणको विज्ञान नबुझेर सिसिफसले कत्रो भुक्तमान झेल्नुपर्यो । किनभने अज्ञानतावश ऊ विज्ञानको विरुद्ध निरर्थक परिश्रम गरिरहेको थियो ।

सङ्ग्रहका यी कविता विज्ञान र दर्शनका योग हुन् । यसरी साहित्यमा नयाँ विधाको प्रवेशले अन्तरविधात्मक (Inter Disciplinary) ज्ञानको सिर्जना हुन्छ । हालै यूरोलोजिष्ट डा. अर्जुनदेव भट्टले एउटा विज्ञान उपन्यास प्रकाशित गरे । यसमा एक मनोचिकित्सा गराइरहेका पात्रको व्यवहार देख्न पाइन्छ । आजका साहित्यकारहरू राजनीतिशास्त्र, चिकित्सा विज्ञान, भूगर्भजस्ता विविध विधाबाट आउन थालेका छन । डा. गोपी उप्रेती एक लब्धप्रतिष्ठित पर्यावरणविद् र कृषि वैज्ञानिक भएकाले अधिकांश यी कवितामा प्रकृतिका स्वरूपको चिन्ता छ । पञ्चतŒवको निर्माण, तिनको प्रयोजन र कर्मको वैज्ञानिक विश्लेषण छ । स्वार्थवश तिनको अतिउपयोग अर्थात् विनाशमा सक्रिय रहेका मानव जातिको लोभ, दम्भ, अतृप्ति, मूर्खता आदितर्फ कविले बारम्बार सङ्केत गरेका छन् । पर्यावरणीय साहित्यको निर्माणमा यस क्षेत्रका विद्वान् डा. उप्रेतीले अतुलनीय योगदान दिँदैछन् । प्रस्तुत कृतिले प्रकृति, जीवनप्रणाली दर्शन र विज्ञानको समुचित ज्ञान र सदुपयोगतर्फ मानवलाई प्रेरित गर्ने दिशामा नयाँ आयाम दिएको छ ।

भर्खर थाहा पाएँ प्रा डा उप्रेती अति सम्मानित अन्तर्राष्ट्रिय नोम चोम्स्की आजीवन उपलब्धि पुरस्कार (Noam Chomsky Lifetime Achievement Award) बाट डिसेम्बर १२, २०२४ मा पुरस्कृत तथा सम्मानित हुनुभएको छ । यो पुरस्कार प्रा. उप्रेतीलाई प्रकृति–पर्यावरणको संरक्षणका साथै प्रकृतिका अन्य जीवप्राणीहरूसँग सह जीवनमा मानवले दिगो जीवनयापन गर्न सक्छ भन्ने पर्यावरण समाजकेन्द्रितवादः पृथ्वी प्रथम विश्वदृष्टि स्प्रिनजर नेचरद्वारा प्रकाशित कृति र प्रा. उप्रेतीले अन्तर्राष्ट्रिय मानववादी आन्दोलनमा पु¥याएको योगदान, अन्र्तराष्ट्रिय जर्नलमा प्रकाशित विचारोत्तेजक लेखहरूका साथै उहाँको प्राज्ञिक योगदानको मूल्याङ्कनमा आधारित भएर दिएको रहेछ ।

यो नेपाली जातिको लागि नै उच्च गौरवको कुरा हो किनभने बीसौँ र एक्काईसौँ शताब्दीका महानतम् बौद्धिक चिन्तकको नाम लिँदा उनै चम्स्कीको सम्झना गरिन्छ । डा.उप्रेतीजस्ता भिन्न क्षेत्रका अन्तर्राष्ट्रिय ख्याति आर्जन गरिसकेका दार्शनिक कविकोे नेपाली कविता काव्य क्षेत्रमा आगमनको हामी हार्दिक स्वागत गर्दछौँ ।

स्रष्टाले सङ्गृहीत कवितालाई तीनओटा भावमा विभाजित गरेका छन्—

प्रकृति विज्ञान बुद्धदर्शन, मानव अस्तित्ववादी जीवनदर्शन र समसामयिक विकृति विसङ्गति । यी अन्योन्याश्रित भाव हुन् । प्रकृति भनेको पृथ्वीको स्वरूप, चाल र गतिको स्वाभाविक अर्थात् समग्र रूप हो । मानव हस्तक्षेपले धेरै बिगार्यो त्यसैले पर्यावरण विकृत छ । त्यसैले अवको दर्शन करुणा र शान्तितर्फ मोडियोस् । यो सबैको साझा घरमा मानव हस्तक्षेप अति भो ।

गोपीजीका केही रचना लोक छन्दका पनि छन् तर स्वतन्त्र गद्य कविता नै धेरै शक्तिशाली र आधुनिक लाग्छन् । कविताको शैली र छन्दभन्दा पनि तिनले प्रकाश पारेको बौद्धिक कुरा अनि वैश्विक चेतना नेपाली चिन्तनलाई नवीन ऊर्जा दिने खालका र मूल्यवान् छन् ।

म अध्ययन लेखनसित गोपीजीले प्रस्तुत गरेका केही कुरा टिपी दृष्टान्त दिन चाहन्छु । उत्तरआधुनिक चिन्तक डेरिडाको सिद्धान्त छ— उपस्थितिमा लुकिरहेको अनुपस्थितिको (प्रेजेन्समा एब्सेन्सका कुराको) । ज्ञानभित्र लुकेको अर्को ज्ञानको अज्ञानको । साहित्यको नवीन सिद्धान्तले त्यही भन्छ— नगरेका कुरा गरी हेरौँ, नसोचेको पनि सोचौँ । केही नयाँ आउन सक्छ ।

प्रकृति, पर्यावरण र शान्ति अन्योन्याश्रित अवधारणा र अभ्यास रहेछन् । केवल निरपेक्षतामा सृष्टि अडिदैन, सापेक्षता र सह अस्तित्व नै यसका आधार हुन् भन्ने वैज्ञानिक मन्त्रलाई स्रष्टाले कवितामा भरेका छन् । त्यसैले “जल, जमिन र जैविकतायुक्त जीवात्मा”लाई जीवनका आधार भनेका छन् तर अझ पञ्चतत्व नै भन्नुपथ्र्यो होला ।

मानिसले “आफ्नो बाँच्ने प्रणाली” नै भत्काउन थालेकाले बुद्धको “करुणा र प्रज्ञाबाट नयाँ मार्ग” खोजौँ— कविको हार्दिक आग्रह छ । मानव अति स्वार्थी, व्यक्तिवादी भयो, अब उसले “सह जीवनको” सह–अस्तित्वको महत्व बोध गरोस् ।

यहाँ बौद्धदर्शनअन्तर्गतका ‘सम्यक’ चेतना, भाव र जीवन दृष्टिमाथि अत्यन्तै सूक्ष्म विचार पढ्न पाइन्छ जसको लागि कविको आह्वान छ— “विसर्जन गर दम्भ र लोभ” । “बुद्ध चेत” ले जीवन परिवर्तित गरौँ । बुद्धदर्शनका अध्यताहरूका लागि पनि यो कृति पठनीय छ । ब्रह्माण्डको सृष्टि, पदार्थ, चेतना, ईश्वर, अनिश्वर अनेक सूक्ष्म भावका वैचारिक जगत्मा कवि विचरण गर्दछन् यसरी—

हरेक धक्काको तानमा,
हरेक आरोह–अवरोहमा,
समयचक्रको घुम्तीमा,
बन्दै गयो पदार्थ र ऊर्जाबाट नयाँँ सृष्टि,
तŒवबाट तत्वयौगिक,
अराजकताबाट क्रम विकास, (चेतनाकृत ब्रह्माण्डीय सृष्टिलीला)

वास्तवमा यो दृष्टान्त विज्ञानको हो तर गहिरो गरी सोच्ता साहित्यको पनि गति नित्य नवीनता नै हो । उनले हेगेलिअन् दर्शनका सूत्रलाई साहित्यमा अवतरण गराएका छन्—

थेसिस— अस्तित्वको जन्म
एन्टिथेसिस— विघटनको पीडा
सिन्थेसिस नयाँ जन्म (पूर्ववत्)

समाज विज्ञान र दर्शनको हेगेलियन यो सूत्रको यति वर्षपछि मैले अर्को अर्थ पत्ता लगाएँ । समाज विज्ञान तथा दर्शनादिमा लाग्ने सूत्र साहित्यमा पनि यही लाग्दोरहेछ । आदर्शवादको एन्टिथेसिस् यथार्थवाद, त्यसको विरोधमा मनोविश्लेषण, त्यसको विरोधमा अस्तित्व र उत्तरआधुनिक काल छ । प्रत्येक पुराना दर्शन वा दृष्टिकोण आफ्ना समयमा ठीक थिए, ती एकपछि अर्को खारिज हुँदै आए । आज पनि यस यात्राको अन्त्य भएको होइन, सृष्टि भरि यो निरन्तर रहन्छन्, नवीनताहरू आइरहन्छन् । नवीन समस्या, चिन्तन, सिद्धान्त समाधान आदि तर जगको प्रकृति अस्थिर छ, हरेक तत्व बदलिरहन्छन् ।

मैले उत्तरआधुनिक ऐना र विमर्शजस्ता ग्रन्थ लेखेर नेपालीमा नवीनतम विचार ल्याएँ । जडसूत्रवादीहरूले धेरै खेदे, यथास्थितिवादीहरूले धेरै अस्वीकारे । आज समयले त्यस्ता पात्रहरूलाई खारिज गरिसक्यो ।

यो क्वान्टम संसारको युगमा,
न्युरल जालको भुलभुलैयामा,
मस्तिष्क र मेशिनको मिलनमा,
सर्वशक्तिमान बन्ने सपनाको जन्म ।
विपरीत शक्तिहरू लड्छन्, मिल्छन,
अराजकताबाट क्रमबद्धताको विकास,
पुरानाको मृत्युबाट,
नयाँको अकल्पनीयको जन्म ।

कविले सह–अस्तित्वको भावलाई बारम्बार बुझाएका छन् । “परस्परनिर्भर उत्पति सह–जीवन” कवितामा यसरी यो भाव प्रस्तुत छ—

कुनै जीव जीवात्मा छैन एक्लो, हेर यो ब्रह्माण्डमा,
हरेक क्षण जन्मन्छ र बाँधिन्छ नयाँ सम्बन्धमा,
कार्य–कारणको सञ्जालले, बाँधेको छ एउटै घरमा,
घर हो हामी सबैको, बस्नुपर्छ मिलेर सबै प्रकृतिमा ।

जीवन अदृश्य र अज्ञात छ, ज्ञान सीमाभन्दा परको सृष्टिमा । यी कविताले माथिका अगम्य कुरा कोट्याउँछन् । सतहभन्दा माथिको, भित्रको, त्योभन्दा माथ्लो, अनन्तताको चिन्तनको भाव छ—
त्यही सत्य “सिसिफस र हाम्रो जीवन कथा” शीर्षक कवितामा पनि यस्तो भाव प्रकट छ—

यो यात्राको अन्त्य कहीँ छैन
गन्तव्य प्राप्तिको
कुनै ध्वनि र सङ्केत छैन ।

जीवन सदा अदृश्य, अज्ञात छ, जगत सदा अज्ञेय । यी कुरालाई कत्रो कलात्मक विम्ब कल्पी परम–सूत्रमा प्रस्तुत गरेका छन्—

जीवन मृत्युको हावामा,
जलिरहेको बत्तीजस्तै हो,
दम्भ र स्वार्थको आगोमा,
भड्किइरहने प्रेतात्माजस्तै हो,
जीवन त रहस्य र मिथकमा,
बाँच्न पाउँदा मात्र खुशी हुन्छ,
मिथकमा अस्तित्वको अर्थहीनतालाई,
आकार दिन सधैँ तल्लिन हुन्छ,
जसरी सिसिफस पहाडको टुप्पोमा,
ढुङ्गा अड्याएर राख्न अभिशप्त छ,
सिसिफसजस्तै,
अस्तित्वको अर्थ र अर्थहीनतामा बाँच्न
मानव जीवन पनि अभिशप्त छ ।

“निकार जिन्दगी” कवितामा जीवनको मार्ग देखाएका छन्—

चुँडाल सबै बन्धनमा, बाँध्ने साङ्लाहरू
तोड सबै आकारमा, बाँध्ने विवशताहरू
उड डाँफेझैँ आनन्दित स्वच्छन्द भएर
नबाँध जीवनलाई कर्ममा, धेरै कर्मयोगी भएर ।

“नभन मलाई ईश्वर छ भनेर” शीर्षक कवितामा ईश्वर अस्तित्वको दर्शनलाई कति शक्तिशाली पाराले प्रस्तुत गरेका छन्—

नभन मलाई ईश्वर मन्दिरमा छन् भनेर
नतान मलाई मन्दिरतिर ईश्वर पाइन्छ भनेर
नडराऊ मलाई ईश्वर रिसाउँछन् भनेर
नभन यो संसार ईश्वरको सृष्टि भनेर ।

जीवन आफैँमा एउटा सृष्टि हो भन्ने कवि उप्रेतीका दार्शनिक कविता साँच्चै उच्चकोटिका दार्शनिक चिन्तनका सिर्जना हुन् ।
नेपाली कवि स्रष्टामा उच्च बौद्धिक र दार्शनिक दृष्टिकोणको अभाव छ । यसको उन्नतिको लागि विश्वचेतना र नवीन दृष्टिकोणहरूको अध्ययनको आवश्यकता पर्दछ । यसको उन्नतिको लागि विज्ञान र दर्शनको अध्ययन आवश्यक छ । प्रा. उप्रेतीका कविताले त्यसतर्फको एउटा ठूलो रिक्तता पूर्ति गर्नेछन् र साहसी स्रष्टालाई यथास्थितिबाट उफ्रेर बाहिर निस्कन प्रेरित गर्नेछन् । आजको यो अनुपस्थितिबाट उपस्थितितर्फ डोर्याउने छन् । वैज्ञानिक अध्ययन चिन्तन, दर्शनले अभिभूत यस्तो साहित्यको आगमनलाई म हार्दिक स्वागत गर्दछु ।

सुकर्मटोल, कीर्तिपुर, काठमाडौँ, नेपाल

प्रतिकृया दिनुहोस्