२०८२को ‘वसुन्धराश्री’ तुलसी दिवसलाई र ‘मानश्री’ तोया गुरूङलाई

काठमाडौँ । वसुन्धरा – मान प्रज्ञा प्रतिष्ठानले वि.सं. २०८२ सालको वसुन्धराश्री पुरस्कार वरिष्ठ साहित्यकार तुलसी दिवसलाई र मानश्री पुरस्कार चर्चित साहित्यकार तोया गुरुङलाई प्रदान गर्ने निर्णय गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष डा. दुबसु क्षेत्रीको अध्यक्षतामा यही वैशाख ६ गते बसेको विशेष बैठकले सो निर्णय गरेको कुरा प्रतिष्ठानका सचिव कृसु क्षेत्रीद्वारा बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।
वि.सं. १९९८ असारमा धनकुटामा जन्मिनु भएका विशिष्ट साहित्यकार तुलसी दिवसले आधुनिक नेपाली कविताहरूको सिर्जना एवं नेपाली लोक संस्कृतिको अध्ययन, अनुसन्धान र उन्नयनमार्फत नेपाली साहित्य र संस्कृतिलाई सार्थक, समृद्ध र समुन्नत बनाई नेपाली वाङ्मयलाई वैभवशाली र गरिमामय बनाउन विशिष्ट योगदान गर्दै विश्व समुदायमा नेपाली भाषा, साहित्य र संस्कृतिको स्थान र पहिचान उच्च र अक्षुण्ण राख्न विशिष्ट योगदान गरे बापत उहाँलाई वसुन्धराश्री पुरस्कार प्रदान गर्न लागिएको जनाइएको छ । उहाँका तुलसी दिवसका कविता, नेपाली लोककथा, धिमाल लोकधर्म संस्कृति लगायत कृतिहरू प्रकाशित छन् । वसुन्धराश्री पुरस्कारको राशि नगद रू. ७५ हजार र सम्मानपत्र रहेको छ ।
विज्ञप्तिअनुसार आधुनिक नेपाली कविता, मुक्तक र कथाहरूको सिर्जनाद्वारा नेपाली साहित्यलाई स्तरीय, शालीन र समृद्ध बनाई नेपाली वाङ्मयको विकास र विस्तारमा महत्वपूर्ण योगदान गर्दै नेपाली साहित्यमा आफ्नो अलग र विशिष्ट स्थान, पहिचान र वैशिष्ट्य कायम गरेबापत अर्का विशिष्ट साहित्यकार तोया गुरुङलाई मानश्री पुरस्कार प्रदान गर्न लागिएको हो । वि.सं. २००४ साल चैतमा सिन्धुपाल्चोकमा जन्मिनु भएका उहाँका सूर्यदह, धूपी, देवल घुमेपछि, तोया गुरुङका लामा कविता, पुनरावती, कुसुम र अस्पृश्य लगायत कृतिहरू प्रकाशित छन् । मानश्री पुरस्कारको राशि नगद रू. ५० हजार र सम्मानपत्र रहेको छ ।
नेपाली साहित्यमा विशेष योगदान पुर्याउने व्यक्तित्वहरूलाई सो प्रतिष्ठानले वि.सं. २०५७ सालदेखि नै ती पुरस्कारहरु प्रदान गर्दै आइरहेको छ ।