चौलागाईंको ‘हतारमा छन् यात्रीहरू’ सार्वजनिक

काठमाडौं । कवि दीपक चौलागाईंको कवितासङ्ग्रह ‘हतारमा छन् यात्रीहरु’ को लोकार्पण भएको छ ।

राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा प्राज्ञ तथा कवि श्रवण मुकारुङ, निवन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’, कवि छविरमण सिलवाल, कवि मणि लोहनी, कवि शकुन्तला जोशी र लेखक दीपक चौलागाईंले उक्त कवितासंग्रह विमोचन गरे ।

कार्यक्रममा प्राज्ञ मुकारुङले प्रमुख अतिथिको मन्तव्य राख्दै सिर्जना कहिल्यै पूर्ण नहुने, जीवन रहेसम्म श्रष्टा आफैले नाघ्दै–नाघ्दै नयाँ–नयाँ पर्वत चढिरहने चिज भएको स्पष्ट पारे । भौतिक विज्ञानको अनेक खोज र ज्ञानलाई कविताको इलिमेन्ट्सका रुपमा गरिएको प्रयोगले कवि चौलागाईंका कविताबाट पाठकले फरक शैलीको स्वाद पाउने बिचार प्राज्ञ मुकारूङले व्यक्त गरे ।

कृतिमाथि समिक्षात्मक मन्तव्य राख्दै कवि मणि लोहनीले चौलागाईँका वर्तमान समयको साक्षी बोल्ने कवितामा मृत्युचेतबारे निकै मिठो बिम्बहरु संगालिएको उल्लेख गरे । ‘हतारमा छन् यात्रीहरु’ एउटा अनुभवी कविको नयां तर शक्तिशाली कवितासंग्रह हो भन्न हिच्किचाउनु नपर्ने कवि लोहनीले खुलाए ।

कवितामाथि टिप्पणी गर्दै कवि शकुन्तला जोशीले ब्रम्हाण्ड र जीवन जगतलाई हेर्ने भिन्न तर समरुपका वैश्विक दार्शनिक क्यान्भासमा कविता लेख्नु कवि चौलागाईँको विशिष्ट काव्यिक क्षमता भएको बताइन् । नेपाली कविताका पाठकमाझ ‘हतारमा छन् यात्रीहरु’ कृतिले इन्द्रिेणी जस्तो सौन्दर्यसहितको नविन शैली पस्केको उनको ठम्याइ थियो ।

कार्यक्रममा निबन्धकार श्रीओम श्रेष्ठ रोदनले जीवनका विभिन्न आयाम र भौतिक विज्ञानलाई समेत सरल शैलीमा कवितामा लेख्नु कविको उत्कृष्ट काव्यशैली भएको बताए । कविताप्रतिको प्रेमकै कारण प्रतिष्ठानले स्थापनाको एक वर्ष नपुग्दै चार ओटा कविता कृति प्रकाशित गरेको संस्थाका अध्यक्ष छविरमण सिलवालले बताए । कवि तथा आफ्ना गुरुसमेत रहेका चौलागाईँका कवितामा सुनकोशी र रोशीको सांस्कृतिक बिम्ब रहेको  निबन्धकार प्रदीप सापकोटाले बताए ।

कार्यक्रममा कवि डा. अनन्त अधिकारी र रुपा रिसालले लोकार्पित संग्रहबाट केही कविता वाचन गरेका थिए । कविका गुरु पूर्व क्याम्पस प्रमुख चूडाप्रसाद चौलागाई, राधेश्याम लेकाली, प्रमोद प्रधान, शंकर भारती, पवन आलोक, वसन्तराज अज्ञात, लक्ष्मी रुम्बा, तुलसीहरि कोइराला लगायतको सहभागितामा सम्पन्न कार्यक्रम प्रदीप सापकोटाले सहजीकरण गरेका थिए भने पूर्णबहादुर श्रेष्ठले स्वागत मनतव्य राखेका थिए ।

६ खण्डमा विभक्त ३८ वटा कविता संग्रहित कृतिलाई सुनकोशी वाङमय प्रतिष्ठानले प्रकाशन गरेको हो ।

प्रतिकृया दिनुहोस्