श्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ लोकार्पित
काठमाडौँ । नेपाल स्रष्टा समाजको अर्धवार्षिक साहित्यिक पत्रिका स्रष्टा दर्पणको ३३ औँ अङ्क लोकार्पित भएको छ ।
राजधानीमा मंगलवार आयोजित एक कार्यक्रममा प्रा. डा. गोविन्दराज भट्टराई, प्रा. डा. लक्ष्मणप्रसाद गौतम, पवन आलोक, श्रीओम श्रेष्ठ रोदन, राधेश्याम लेकाली, प्रकाश घायल, शंकर भारती लगायतले उक्त पत्रिका लोकार्पित गरे ।
कृति लोकार्पण गर्दै प्रा. डा. भट्टराईले भने, ‘संस्कृति सभ्यतासङ्गै बदलिने बताउँदै संस्कृतिमा आफ्नोपन भने हुनुपर्ने उल्लेख गरे ।
अर्का बक्ता प्रा. डा. गौतमले स्रष्टा दर्पणमा संस्कृतिको बारेमा अहिलेसम्म नआएका विषयवस्तु पनि आएकाले अङ्क पठनीय र संग्रहणीय भएको बताए ।
समाजका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले स्रष्टा दर्पण समाजको ऐनाको रुपमा आएको बताए । गत वर्ष ३४ वटा विभिन्न साहित्यिक गतिविधिहरु समाजले गरेको पनि उनले जानकारी दिए । उनले यो अङ्कमा लुकेका संस्कृतिहरुलाई खोज गरी तयार पारिएका लेखहरु समेत समावेश गरिएको बताए ।
कार्यक्रममा समाजका संरक्षक पवन आलोक, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, समाजका महासचिव प्रकाश घायल लगायतले समाजका गतिविधिहरुबारे आफ्नो मन्तव्य राखे ।
समाजको बागमती प्रदेश शाखाको आयोजनामा भएको उक्त कार्यक्रमको अध्यक्षता नेपाल स्रष्टा समाजका केन्द्रीय सदस्य तथा बागमती प्रदेश संयोजक शंकर भारतीले गरेका थिए । सदस्य एलिसा ढुंगानाद्वारा सञ्चालित कार्यक्रममा सदस्य सुशील रिजालले स्वागत मन्तव्य राखेका थिए ।
साहित्य र संस्कृति विशेष अङ्कको रुपमा प्रकाशित उक्त पत्रिकाभित्र साहित्य र संस्कृतिसङ्ग सम्बन्धित खोजमूलक लेख, अन्तरवार्ता, निबन्ध, कविता आदि ३१ थान रचनाहरु समावेश छन् । साहित्य र संस्कृतिका अध्येता, अनुसन्धानकर्ता र पाठक सबैका लागि उपयोगी सो अङ्क निकै महत्वपूर्ण भएको आयोजकले बताए ।
