‘अग्नि’ महाकाव्यमा श्रमको राजनीति र जात व्यवस्थाको चिरफार

देबी कँडेल/भरतपुर
पृष्ठभूमि:नेपाली साहित्यको समकालीन इतिहासमा डा. नवराज लम्सालद्वारा रचित ‘अग्नि’ महाकाव्य (मदन पुरस्कार, २०७८) एउटा युगान्कारी र क्रान्तिकारी कृति हो। यस महाकाव्यले वर्षौँदेखि नेपाली समाजको पिँधमा पारिएका, अपमानित गरिएका र राज्यको मूल प्रवाहबाट किनारा लगाइएका शिल्पी (दलित) समुदायको श्रम, सीप र स्वाभिमानलाई केन्द्रमा राखेर इतिहासको पुनर्लेखन गरेको छ। भूगोलको एकीकरण मात्र देशको वास्तविक एकीकरण होइन, बरु नागरिकको मन, श्रम र पहिचानको सम्मान नै साँचो राष्ट्रियता हो भन्ने सन्देश दिँदै यस कृतिले नेपाली जात व्यवस्था र श्रमको राजनीतिको गहिरो शल्यक्रिया गरेको छ।
महाकाव्यका पात्रहरू केवल काल्पनिक आकृति मात्र नभएर सिङ्गो समाज र कालखण्डका जीवन्त प्रतीक हुन्। ठुले कामी केवल फलाम पिट्ने श्रमिक मात्र होइनन्, उनी इतिहासका त्यस्ता वैज्ञानिक र इन्जिनियर हुन् जसले मकवानपुरका राजा हेमकर्ण सेन र राष्ट्रिय एकीकरणका नायक पृथ्वीनारायण शाहका लागि अचुक हतियार (जेठी तरवार) को निर्माण गरे। उनि मार्फत कविले देश निर्माणमा दलित समुदायको रगत र पसिनाको मूल्य स्थापित गरेका छन्।
छेलाङ्गीले समाजमा दलित महिलाले भोग्नुपरेको दोहोरो उत्पीडन—जातीय विभेद र लैङ्गिक शोषणलाई प्रतिनिधित्व गर्छिन्। उनलाई कविले केवल पीडितका रूपमा मात्र नहेरी श्रममा पुरुष बराबर योगदान दिने र स्वाभिमानका लागि आवाज उठाउने एक विद्रोही चेतनाका रूपमा उभ्याएका छन्।
महाकाव्यमा आउने ऐतिहासिक शासकहरू स्वार्थ र शक्तिका प्रतीक हुन्, जसले शिल्पीहरूको सीपको चरम दोहन गरे तर उनीहरूलाई पहिचान दिएनन्। अर्कातर्फ, उच्च जातीय पृष्ठभूमिबाट आएका कवि पात्र स्वयम् ठुले कामीको चौतारीमा उभिएर आफ्ना पुर्खाले गरेका गल्तीप्रति आत्मग्लानि गर्दै इतिहाससँग कठोर प्रश्न सोध्ने न्यायको संवाहकका रूपमा देखा पर्छन्।
अग्नि’ महाकाव्यको सबैभन्दा बलियो पक्ष यसले उठाएको ‘श्रम र शक्ति’ बीचको द्वन्द्व अर्थात् श्रमको राजनीति हो। मार्क्सवादी तथा सबअल्टर्न सौन्दर्यशास्त्रको जगमा उभिएर यसले निम्न पक्षलाई केलाएको छ:
ज्ञानको अवमूल्यन: परम्परागत नेपाली समाजले बौद्धिक कार्य वा मन्त्रोच्चारणलाई उच्च र शारीरिक श्रम (जस्तै फलाम पगाल्नु, माटो मुछ्नु, जुत्ता सिलाउनु) लाई नीच दर्जा दियो। महाकाव्यले यस संकीर्ण सोचमाथि प्रहार गर्दै आरनलाई ज्ञानको ‘विश्वविद्यालय’ र धातु पगाल्ने कलालाई आधुनिक इन्जिनियरिङको दर्जा दिएको छ।
श्रमको निर्मम दोहन: इतिहासमा युद्ध जित्ने राजाहरूको नाम स्वर्णिम अक्षरले लेखियो, तर ती राजाहरूलाई विजयी बनाउने हतियार निर्माण गर्ने ठुले कामीहरू इतिहासको पानाबाट गायब गरिए। श्रम गर्नेहरू सधैँ गरिब र श्रमको जगमा शासन गर्नेहरू सधैँ पूजित हुने यो क्रूर राजनीतिक व्यवस्थामाथि महाकाव्यले ठाडो प्रश्न उठाएको छ।
हिन्दू वर्णाश्रम व्यवस्थाले सिर्जना गरेको जात ब्याबस्था कसरी अमानवीय र कृत्रिम छ भन्ने कुरालाई महाकाव्यले दार्शनिक रूपमा प्रस्तुत गरेको छ। देशलाई संकट पर्दा अग्रपंक्तिमा उभिने शिल्पी समुदायलाई देश बनेपछि ‘अछुत’ भन्दै गाउँको कुनामा धकेलियो। जसले सभ्यताको निर्माण गर्‍यो, उसैलाई मन्दिर, पँधेरो र सामाजिक उत्सवहरूबाट विमुख गराइयो। सीप र कला हुँदाहुँदै पनि जातीय विभेद र सामाजिक असुरक्षाकै कारण यो सिर्जनशील समुदाय कसरी आफ्नो थातथलो र पेसाबाट विस्थापित हुन बाध्य भयो भन्ने कुरालाई महाकाव्यले मर्मस्पर्शी रूपमा देखाएको छ।
महाकाव्यको शीर्षक ‘अग्नि’ (आगो) आफैँमा एउटा शक्तिशाली प्रतीक हो। आगो केवल भोजन पकाउने वा वैदिक यज्ञ गर्ने माध्यम मात्र होइन; यो त मानव सभ्यता, प्रविधि र आविष्कारको जननी हो। कवि लम्सालको तर्क छ कि आरनमा आगोसँग खेलेर नयाँ वस्तुको आविष्कार गर्ने शिल्पीहरू भगवान् विश्वकर्मा जस्तै पवित्र साधक हुन्। आगोले पुराना, काम नलाग्ने धातुलाई पगालेर नयाँ रूप दिएझैँ, समाजमा व्याप्त जात व्यवस्थाको कुरुपतालाई पनि चेतनाको आगोले पगालेर नयाँ, समतामूलक समाजको निर्माण गर्नुपर्छ भन्ने महाकाव्यको मूल अभिप्राय हो।
‘अग्नि’ महाकाव्यमा प्रस्तुत ठुले कामीको जीवन र उसको शिल्पको मूल्यबोध जीवित छँदाभन्दा उसको मृत्युपछि बढी देखाइनुले श्रमको राजनीतिको एउटा क्रूर सत्यलाई उजागर गर्दछ। जीवित श्रमिक सधैँ आफ्नो अधिकार, सामाजिक प्रतिष्ठा र राज्यमा हिस्सेदारीको हकदार हुन्छ, जुन तत्कालीन सामन्ती शासक हेमकर्ण सेन वा पृथ्वीनारायण शाहको राज्यव्यवस्थालाई स्वीकार्य थिएन। त्यसैले शासक वर्गले श्रमिकको कलालाई उसको जीवनकालमा बेवास्ता गर्छ र मृत्युपछि मात्र त्यसलाई ‘ऐतिहासिक सम्पदा’ बनाएर सङ्ग्रहालयमा सजाउँछ। ठुले कामीको मृत्युपछि ‘जेठी तरवार’ को महिमा गाउनु वास्तवमा उसको श्रमको सच्चा सम्मान होइन, बल्कि शासकले आफ्नो विजय र शक्तिको इतिहासलाई चम्काउन गरेको श्रमको रणनीतिक दोहन मात्र हो।
यस काव्यमा कतैकतै कविले दलित समुदायको पीडालाई यति धेरै कारुणिक र क्रन्दनमय बनाएका छन् कि पाठकमा संरचनात्मक व्यवस्था बदल्ने ‘क्रान्ति वा न्यायको चेत’ भन्दा बढी ‘दया र सहानुभूति’ जागृत हुन पुग्छ। प्रगतिवादी सौन्दर्यशास्त्रको नजरबाट हेर्दा, करुणाको यस्तो सस्तो लौरो टेक्नु काव्यको एउटा सीमा वा दोषका रूपमा देखिन्छ। अर्कातर्फ, शिल्पीहरूलाई ‘विश्वकर्मा’ वा ‘देवता जस्तै पवित्र साधक’ दाबी गर्ने कविको अतिरिक्त धुनले अर्को विरोधाभास निम्त्याउँछ। सत्य के हो भने, उत्पीडित शिल्पीहरूलाई देवता होइन, सर्वप्रथम मान्छे र नागरिक बन्नु छ। उनीहरूलाई मन्दिरमा राखेर पूज्ने यस्तो अमूर्त रोमान्टिक प्रवृत्तिका कारण उनीहरूको धरातलीय, कानुनी र वास्तविक राजनीतिक अधिकारको लडाइँ ओझेलमा पर्ने खतरा रहन्छ।
आरनको रापमा पसिना बगाएर जुनीमायाले मस्काएको ढिँडोको तागत र उनीहरूको चुल्होमा पाक्ने दुःखको मानो (अभाव) बीचको तीतो विरोधाभासमा कविको स्थान एउटा सहानुभूतिशील मध्यमार्गी द्रष्टाका रूपमा मात्र सुरक्षित देखिन्छ। कवि नवराज लम्साल जुनीमायाको श्रमको सौन्दर्य र तागतको प्रशंसा त गर्छन् र उनको थालको अभाव देखेर भावुक आत्मग्लानि पनि प्रकट गर्छन्, तर उनी त्यो आर्थिक र वर्गीय संरचनालाई भत्काउने कुनै ठोस राजनीतिक वा क्रान्तिकारी मार्गचित्र कोर्न सक्दैनन्। कवि यहाँ व्यवस्था बदल्ने भौतिकवादी विद्रोहको वकालत गर्नुभन्दा बढी शासक वर्ग र उच्च जातिको ‘हृदय परिवर्तन’ र ‘सांस्कृतिक समन्वय’ को भावुक बाटो रोज्न पुग्छन्।
मानव इतिहासमा ढुङ्गे युगबाट धातु युगमा प्रवेश गर्नु नै सभ्यताको सबैभन्दा ठुलो छलाङ थियो, र आरन त्यही धातु युगको पहिलो वैज्ञानिक प्रयोगशाला हो। आरनले हँसिया, कोदालो र हतियार बनाएर मानवलाई सिकारी युगबाट कृषि र औद्योगिक युगमा पुर्‍यायो, त्यसैले सभ्यता र विज्ञानको आँखामा यसको स्थान सर्वोच्च छ। तर विडम्बना, धर्म र संस्कृतिको कुरुप आँखाले यसलाई सधैँ ‘अपवित्र र अछुतको अखडा’ का रूपमा मात्र देख्यो। जसको सीप बिना मानव समाज एक कदम पनि अघि बढ्न सक्दैनथ्यो, उसैलाई सामाजिक बहिष्करणको केन्द्र बनाउनु मानव इतिहासकै सबैभन्दा ठुलो र कुरुप दृष्टिदोष हो।
अग्नि’ महाकाव्यको त्यो अन्तरकुन्तरलाई स्पर्श गरेका छन्, जहाँ कविको वैचारिक सीमा, आक्रोश, विद्रोह र परम्परावादी चेतबीच भीषण टक्कर परेको छ। यी हरफहरू केवल कविताका हरफ होइनन्, बरु नेपाली समाजको नश्लीय चिन्तन र आधुनिक ढोंगमाथि प्रहार गरिएका वैचारिक क्षेप्यास्त्र हुन्।
गम्भीर र बौद्धिक जिज्ञासालाई केन्द्रमा राखेर अग्निको दार्शनिक तथा चैतन्य दिशाको कटु समीक्षा यहाँ केही गहन अनुच्छेदहरूमा प्रस्तुत छ:
१. दासताको साङ्लो चुँडाल्ने कि संन्यास लिने? कविको विरोधाभासपूर्ण चेतावनी”
समाज बदल्छु भन्नेको धेरैको बास उठेको छ समाजबाट” भन्नु कविको पराजयवादी वा आत्मसमर्पणकारी सोच होइन, बल्कि परिवर्तनको नारा बेचेर हिँड्नेहरूका लागि एउटा कठोर र कुरुप यथार्थको ऐना हो। इतिहास साक्षी छ कि जसले संरचनात्मक जात व्यवस्था र सत्तालाई हल्लाउन खोज्यो, उसलाई कि त मारियो, कि त समाजबाटै देश निकाला गरियो। कविले यहाँ सिधै हतियार उठाएर वा भौतिक रूपमा आगोको झिल्को बनेर विद्रोह गर्ने ‘सशस्त्र सल्लाह’ नदिनुका पछाडि उनको उदारवादी मानवतावादी (Liberal Humanist) चिन्तनले काम गरेको छ। उनी ध्वंसभन्दा बढी रूपान्तरण र रगतको खोला भन्दा बढी चेतनाको आँधी ल्याउन चाहन्छन्। तर यहीँनिर कविको वैचारिक सीमा देखिन्छ; क्रान्ति बिना संरचना भत्किँदैन भन्ने भौतिकवादी सत्यलाई बुझेर पनि कवि ‘वास उठ्ने’ डर देखाउँदै कतै पाठकलाई यथास्थितिवादको सुरुङतिर त धकेलिरहेका छैनन् भन्ने संशय पैदा हुन्छ।
२. एकलव्यको प्रशस्ति र दुईटा जिब्रोको सामूहिक भण्डाफोर
“एकलव्यको प्रशस्तिमा के अर्थ छ रूपान्तरणको” भन्ने भनाइले नेपाली समाजमा जात व्यवस्था कति मजबुत र क्रूर जरा गाडेर बसेको छ भन्ने अकाट्य सङ्केत गर्छ। द्रोणाचार्यहरूले आज पनि एकलव्यहरूको बुढीऔँला (सीप, श्रम र पहिचान) दक्षिणाका रूपमा मागिरहेकै छन् र राज्यले तिनै द्रोणाचार्यहरूको स्तुतिगान गाइरहेको छ। यो विसङ्गतिलाई कविले “एउटै मान्छे दुइटा जिब्रो लिएर बाँच्छ प्रयोग गर्न र प्रचार गर्न” भन्दै आधुनिक बौद्धिक वर्गको सामूहिक भण्डाफोर गरेका छन्। आजको गैर-दलित र संभ्रान्त वर्ग ‘प्रचार’ गर्दा क्रान्तिकारी, गैर-विभेदी र प्रगतिशील देखिन्छ, तर शक्तिको ‘प्रयोग’ गर्ने ठाउँमा पुग्दा वा आफ्नै भान्सा र विवाहबारीको कुरा आउँदा उही कुरुप मनुवादी चिन्तन बोकेर प्रकट हुन्छ। यो आधुनिक सहरिया र कथित शिक्षित वर्गको प्रवृत्तिको सबैभन्दा ठुलो र नाङ्गो शल्यक्रिया हो।
३. साहित्यिक विद्रोहको आह्वान र नपिटिएको स्वाभिमान
“मन्दिरमा आशीर्वाद हैन, अपमान मिल्छ निरन्तर, लेख्नुस् !” र “फलाम पिट्दा पिट्दा नपिटिएको स्वाभिमान छ लेख्नुस् !” जस्ता हरफहरूले कवि नवराज लम्साललाई एउटा जबर्दस्त साहित्यिक विद्रोहीका रूपमा स्थापित गर्छन्। यहाँ कवि केवल दुःखको रुञ्चे गीत गाइरहेका छैनन्, बरु इतिहास र साहित्यका लेखकहरूलाई नयाँ भाष्य निर्माण गर्न कडा निर्देशन दिइरहेका छन्। फलाम पग्लिएर अनेकौँ आकारमा ढल्कियो, समाजको कोर्रा र छुत-अछुतको अपमानले ठुले कामीको शरीर र बस्ती पटक-पटक पिटियो, तर उसको ‘स्वाभिमान’ कहिल्यै पिटिएन र झुकेन। यो हरफ वास्तवमा जात व्यवस्थाको जग हल्लाउने चेतनाको आगो हो। जसले मन्दिरको पाखण्डी आवरणलाई च्यातेर त्यहाँभित्रको अपमानको कारखाना देखाइदिन्छ, त्यो साहित्यिक चेत आफैँमा एउटा क्रान्तिकारी कदम हो।
४. नालापानीको कथा र इतिहासको कङ्गालीकरण
“इतिहास सच्याउनुको अर्थ लेखिएको इतिहास गलत छ भन्ने सङ्केत हो” भन्ने तथ्यलाई महाकाव्यले नालापानी र एकीकरणको प्रसङ्गबाट पुष्टि गरेको छ। हामीले नालापानीमा बलभद्र कुँवरको वीरता त पढ्यौँ, तर त्यो युद्धमा प्रयोग भएका खुकुरी र तोपका गोला कुन आरनमा, कुन शिल्पीको पसिनाले बनेका थिए भन्ने इतिहास कहिल्यै लेखिएन। हाम्रा इतिहासकारहरूले इतिहासलाई केवल राजाहरूको वंशावली र लडाइँको मैदानमा सीमित गरेर यसलाई कङ्गाल, एकाङ्गी र सौन्दर्यविहीन बनाए। इतिहासको यो कङ्गालीकरणले गर्दा नै हाम्रो आदिम सभ्यताको वास्तविक नासो अर्थात् ‘कर्म युग’ गुमनाम भयो। जब सीप र श्रम गर्नेहरूलाई पाखा लगाइयो, तब समाजमा सिर्जनात्मकता मर्यो र केवल परजीवी चिन्तनको विकास भयो। कर्म युगको यही अन्त्य नै वास्तवमा हाम्रो समग्र राष्ट्रिय र सांस्कृतिक पतनको मुख्य कारण हो।
५. अग्निको दार्शनिक र चैतन्य दिशाको कटु समीक्षा

 ‘अग्निको चैतन्य दिशा’ लाई गहिरिएर हेर्दा यसमा एउटा गम्भीर वैचारिक अन्योल र द्वन्द्व देखिन्छ। दैविक रूपमा, चेतनाको उत्कृष्टतामा र मानवीय आदर्शको धरातलमा ठुले कामीहरूको योगदान र त्याग शासक वर्गको भन्दा कता हो कता बढी र उच्च छ। तर, कविको चैतन्य दिशा यहाँनेर अलमलिन्छ—उनी इतिहासको गल्ती सच्याउन त खोज्छन्, तर त्यसका लागि उनी पुनः उही पौराणिक ‘विश्वकर्मा’ र ‘वैदिक’ भाष्यको सहारा लिन्छन्। जुन दर्शन र संस्कृतिले शिल्पीहरूलाई अछुत बनायो, कवि उनीहरूलाई न्याय दिन पुनः त्यही संस्कृतिको शरणमा पुग्नु अग्निको सबैभन्दा ठुलो वैचारिक स्खलन हो। संक्षेपमा भन्नुपर्दा, ‘अग्नि’ महाकाव्यले जात व्यवस्थाको कुरुपताको सामूहिक भण्डाफोर र दविएको स्वाभिमान उकास्ने विद्रोहको आह्वान त गर्छ, तर यसको दार्शनिक दिशा क्रान्तिकारी भौतिकवादतर्फ नगई भावुक आध्यात्मिक सुधारवादतर्फ मोडिँदा, यो व्यवस्था भत्काउने हतियारभन्दा बढी व्यवस्थालाई संसोधन गर्ने एउटा सुन्दर साहित्यिक समझदारी हो जस्तो लागेपनि पाठकलाई इतिहाँस र बर्तमान खगाल्न प्रेरित भने गरेको छ। ।
यसरि,’अग्नि’ महाकाव्यको जगलाई मात्र हल्लाएका छैनन्, बरु सिङ्गो दक्षिण एसियाली सभ्यता, इतिहास लेखन र हिन्दु वर्णाश्रम व्यवस्थाको सबैभन्दा कुरुप र कपटी राजनीतिमाथि सिधा हस्तक्षेप गरेका छन्। कविका केहि आशंकाहरूले ज्ञान, सत्ता र विभेदको त्यो त्रिकोणलाई उदाङ्गो पारेका छन् जसले युगौँदेखि मानिसलाई दास बनाइराख्यो।
६.स्रष्टाको इतिहास र शासकको रणनीतिक दमन
“विश्वकर्माका पाँच सन्तान मनु, मय, त्वष्टा, शिल्पी र दैवज्ञ, स्रष्टा भए पाँच जना शासक भएनन्” भन्नुको अर्थ उनीहरू इतिहासमा केवल नलेखिएका मात्र होइनन्, बरु शासक र पुरोहित वर्गको मिलेमतोमा उनीहरूको इतिहासलाई योजनाबद्ध रूपमा नामेट पारिएको हो। प्राचीन कालखण्डदेखि नै ‘श्रम’ र ‘सत्ता’ को सम्बन्ध दुश्मनीपूर्ण रह्यो। धातु गाल्ने (मनु), भवन र नगर निर्माण गर्ने (मय), हतियार र मेसिन बनाउने (त्वष्टा), कला भर्ने (शिल्पी) र खगोल तथा प्रविधिको हिसाब राख्ने (दैवज्ञ) हरू नै वास्तवमा सभ्यताका वास्तविक निर्माता र वैज्ञानिक थिए。 तर, श्रम नगरेर केवल विलासिताको जीवन बाँच्ने ‘शासक वर्ग’ र उनकै स्तुति गाउने ‘पुरोहित वर्ग’ ले हतियार र शास्त्रको बलमा ज्ञान र प्रविधिको इतिहासलाई आफ्नो कब्जामा लिए। हामीले आजसम्म जुन इतिहास पढिरहेका छौँ, त्यो विजेता र शासकहरूको आत्मप्रशंसाको दस्तावेज मात्र हो। हामी दास जस्तै शासकका हर आदेश मान्न अभिशप्त हुनुको कारण हाम्रो शिक्षा प्रणालीले कहिल्यै ‘सङ्शय र प्रश्न’ गर्न सिकाएन, केवल ‘आज्ञापालन र भक्ति’ सिकाएर बौद्धिक दासहरूको उत्पादन गरिरह्यो।
७.ऋषि परम्पराको अवसान र ब्राह्मणवादी बलमिच्याइँ

प्राचीन वैदिक कालमा ऋषि परम्परा र शिल्पी परम्परा अलग थिएनन्। ठुला-ठुला ऋषिहरू आफैँ आरन चलाउँथे, हलो जोत्थे, र विभिन्न धातुका प्रविधि आविष्कार गर्थे। ती ऋषिका छोरीहरूसँग शिल्पीहरूको वैवाहिक सम्बन्ध हुनुले तत्कालीन समाजमा सीप र ज्ञानको अद्वितीय समन्वय रहेको पुष्टि गर्छ। तर, उत्तर-वैदिक कालमा आइपुग्दा ब्राह्मणवादले आफ्नो वर्चस्व र विशेषाधिकार (Privilege) सुरक्षित राख्न यो गतिशील परम्परालाई जबर्जस्ती तोडिदियो। शारीरिक श्रम गर्नेहरूलाई ‘नीच’ र श्रम नगरी केवल मन्त्र पढ्नेहरूलाई ‘उच्च’ घोषणा गरियो। संस्कृत ग्रन्थहरूको पाठ गर्ने तर त्यसको वास्तविक अर्थ नलगाउने र दलितहरूलाई पढ्नबाट वञ्चित गर्नुको मुख्य कारण नै यही जालसाजी लुकाउनु थियो। यदि दलित र शिल्पीहरूले शास्त्रको वास्तविक अर्थ बुझेको भए, उनीहरूले आफूमाथि भइरहेको यो ऐतिहासिक ठगीलाई उहिल्यै चिनिसक्ने थिए र विद्रोह गर्ने थिए। त्यसैले, ज्ञान र शिक्षामाथि प्रतिबन्ध लगाउनु वास्तवमा उत्पीडित वर्गलाई सधैँभरि अन्धकारमा राखेर शासन गर्ने एउटा अचुक राजनीतिक हतियार थियो।
८.वास्तविक अग्निहोत्री: ब्राह्मण कि धातु वैज्ञानिक ठुले कामी?

दर्शनको कडीबाट हेर्ने हो भने, वास्तविक ‘अग्निहोत्री’ (आगोको साधक) ती कर्मकाण्डी ब्राह्मण होइनन् जसले घिउ र जौ तिल हालेर मन्दिर वा यज्ञशालामा आगो बाल्छन्। साँचो अर्थमा अग्निहोत्री त ठुले कामी र उनको आरन परम्परा धान्ने धातु वैज्ञानिकहरू हुन्। ब्राह्मणले बाल्ने आगोले केवल धुवाँ र खरानी उत्पादन गर्छ, जसले समाजलाई काल्पनिक स्वर्ग र नर्कको भय देखाएर अन्धविश्वासमा बाँध्छ। तर, ठुले कामीले आरनमा बाल्ने आगोले फलामलाई पगालेर हँसिया, कोदालो, करुवा र देश रक्षा गर्ने हतियार जन्माउँछ। शिल्पीको आगो ‘उत्पादन, आविष्कार र सभ्यता’ को आगो हो। जसले २४ सै घण्टा आगोको रापमा बसेर ढुङ्गा र फलामलाई सभ्यताको स्वरूप दियो, उही वास्तविक अग्निहोत्री र ऋषि हो। तर विडम्बना, खरानी धस्नेहरू पूजित भए र सभ्यता बनाउनेहरू अछुत र बहिष्कृत भए।
९.यी तमाम प्रश्नको जवाफ कससँग खोज्ने?

यी गम्भीर र रक्ताम्मे प्रश्नहरूको जवाफ हामीले कवि नवराज लम्सालसँग मात्र खोजेर पुग्दैन। कवि त केवल इतिहासको त्यो अन्यायलाई शब्दमा उतार्ने एउटा निमित्त विम्ब वा माध्यम मात्र हुन्। यो प्रश्नको जवाफ हामीले इतिहासका ती सामन्ती शासकहरू, वर्तमानका राजनीतिक दलहरू र कथित जात व्यवस्थाका आधुनिक हिमायतीहरूसँग खोज्नुपर्छ। हामीले यो प्रश्न आफैँसँग पनि सोध्नुपर्छ कि किन हामी अझै पनि त्यही गलत इतिहासलाई अकाट्य सत्य मानेर शिरोधार्य गरिरहेका छौँ? कविको ‘अग्नि’ ले प्रश्नको ढोका त खोलिदिएको छ, तर त्यो ढोकाबाट भित्र छिरेर सत्ता र व्यवस्थाको आसन हल्लाई आफ्नो अधिकार खोसेर लिने काम अब सिङ्गो शिल्पी समुदाय र सचेत नागरिकहरूको काँधमा आएको छ।
‘जेठी तरवार’ केवल एउटा हतियार मात्र होइन, त्यो मानव विकासको एउटा सिङ्गो ऐतिहासिक कालखण्डको प्रतीक हो।
१०. जेठी तरवार: धातु युगका वास्तविक ‘नायक’ हरूको पहिचान
“जेठी तरवार” केवल हतियार उत्पादनमा शिल्पको नयाँ आविष्कार मात्र होइन, यो मानव इतिहासका विभिन्न युगका वैज्ञानिकहरूको सामूहिक गौरवको विम्ब हो। इतिहास साक्षी छ—मानव सभ्यता जङ्गली अवस्थाबाट कृषि र औद्योगिक युगमा प्रवेश गर्दा तामा (ताम्र युग), काँस (कास्य युग), फलाम (लोह युग) र सुन (सोर्ण युग) को खोज र परिष्कार गर्नेहरू नै वास्तवमा विकासका प्रत्येक युगका सच्चा नायक थिए।
कपडा बुनेर मानिसलाई बर्बरताबाट संस्कृति सिकाउने परियार, प्रकृति र जमिनसँग लड्न जुत्ता सिलाउने चर्मकार, र धातुलाई आकार दिने सुनार तथा कामीहरू नै इतिहासका इन्जिनियर हुन्। यो महाकाव्यले के तर्क गर्न मद्दत गर्छ भने, उत्पादनका साधन र प्रविधिको विकास गर्ने यी शिल्पीहरू ‘नायक’ थिए भने, श्रम नगरी केवल त्यसको उपभोग गर्ने र श्रमको जगमा विभेदको किल्ला ठड्याउने कथित उच्च जाति र शासक वर्ग इतिहासका ‘खलनायक’ हुन्। महाकाव्यले यो सत्यलाई काव्यिक रूपमा स्थापित गरेर शोषित वर्गलाई इतिहासको मुख्य मञ्चमा ल्याएको छ।
११. युग निर्माताहरू आज किन हेलित र उत्पीडित छन्?:
सभ्यता र प्रविधिका यति ठुला निर्माताहरू आज पनि समाजको पिँधमा हेलित हुनुको पछाडि ‘ज्ञान र सत्ताको कुरुप गठजोड’ (Gilded Alliance of Power and Knowledge) ले काम गरेको छ। जब समाजमा निजी सम्पत्ति र वर्णाश्रम व्यवस्थाको उदय भयो, तब श्रम र चिन्तनलाई जबर्जस्ती अलग गरियो।शासक र पुरोहित वर्गले शारीरिक श्रमलाई ‘पाप, नीच र अपवित्र’ घोषित गरिदिए, ताकि उनीहरूले श्रमिकको श्रममाथि बिनाकुनै अवरोध रजाइँ गर्न सकून्। सीप र प्रविधिलाई संस्थागत विकास र पेटेन्ट (Ownership) दिनुको साटो त्यसलाई ‘जातको पेसा’ बनाएर एउटा सानो घेराभित्र थुनिदियो। राज्यसत्ता र कानुन (जस्तै जंगबहादुरको मुलुकी ऐन १९१०) ले नै जातीय विभेदलाई कानुनी रूप दिएर यी युग निर्माताहरूलाई दास र अछुत बनायो। उनीहरूको आर्थिक र सामाजिक विकासका सबै बाटोहरू बन्द गरिएकाले नै उनीहरू आजसम्म हेलित अवस्थामा बाँच्न बाध्य छन्।
१२.कविको उत्तर यथेष्ट छ कि युग मानवले खोज्दै जानुपर्छ?

यस प्रश्नको उत्तरमा कवि नवराज लम्सालका उत्तरहरू महाकाव्यमा वैचारिक रूपले त शक्तिशाली छन्, तर व्यावहारिक रूपले यथेष्ट छैनन्। कविले समस्याको पहिचान अत्यन्तै गहिराइमा पुगेर गरेका छन्। उनले इतिहासको गल्ती देखाएका छन्, ठुले कामीको स्वाभिमानलाई आकाश जत्तिकै उच्च बनाएका छन्, र समाजको दुईधारे चरित्रको भण्डाफोर पनि गरेका छन्। यहाँसम्म कविको योगदान अतुलनीय छ।तर, जब मुक्ति र समाधानको कुरा आउँछ, तब महाकाव्यमा कविका उत्तरहरू अपूर्ण लाग्छन्। कविले यो संरचना भत्काउनका लागि कुनै राजनीतिक, आर्थिक वा कानुनी क्रान्तिको बाटो देखाउँदैनन्। उनी केवल ‘भावुक हृदय परिवर्तन’, ‘सांस्कृतिक समन्वय’ र ‘आध्यात्मिक विश्वकर्मा परम्परा’ को पुनरुत्थानमा अल्मलिन्छन्। जुन आध्यात्मिक चिन्तनले यो विभेद जन्मायो, त्यसैबाट मुक्तिको अपेक्षा गर्नु कविको वैचारिक सीमा हो।

दार्शनिक समिक्षा र निष्कर्ष :
यस महाकाव्यले उत्तर दिने भन्दा बढी प्रश्नहरूको आँधी सिर्जना गरिदिएको छ। अबको ‘युग मानव’ अर्थात् समकालीन सचेत समाज र शिल्पी समुदाय आफैँले ती प्रश्नहरूको उत्तर खोज्दै जानुपर्ने हुन्छ। यो दासता र विभेदको साङ्लो चुँडाल्न अब केवल साहित्यिक रोदन वा करुणाले पुग्दैन; अब त प्रविधिमाथि श्रमिकको स्वामित्व, राज्यसत्तामा समान हिस्सेदारी र सांस्कृतिक रूपान्तरणको नयाँ आन्दोलन युग मानव आफैँले निर्माण गर्नुपर्छ। ‘अग्नि’ ले बालेको आगोको झिल्कोलाई राँको बनाएर अघि बढ्ने जिम्मेवारी अब इतिहासले आजको पुस्तालाई सुम्पिएको छ।
ऐतिहासिक कालखण्डदेखि नै चिन्तन, दर्शन र साहित्यको नेतृत्व शारीरिक श्रम नगर्ने अभिजात वर्गको हातमा रहेकाले शिल्पी परम्पराले कहिल्यै बौद्धिक क्षेत्रमा केन्द्रीय भूमिका पाउन सकेन। समाजमा शारीरिक श्रमलाई नीच र बौद्धिक विलासितालाई उच्च घोषित गरिएकाले महाकाव्यहरूमा सधैँ राजाहरूका युद्ध, रानीहरूका रूप र देवताका लीला मात्र अटाए। हलो जोत्ने वा फलाम गाल्ने,कपडाको डिजाइन गर्ने,सिउने,जुत्ता निर्माण गर्ने,मुर्तिको निर्माण गर्ने,गहना बनाउने,ताजमहल जस्ता भब्य महलको डिजाइन गरि निर्माण गर्ने शिल्पीहरूको पसिनालाई कहिल्यै साहित्यको लायक मानिएन। ठुले कामीको जीवन दर्शन केवल एउटा जातको परम्परागत सीप मात्र होइन, यो त सिङ्गो मानव सभ्यता र आविष्कारको नित्य निरन्तरता र मुख्य जग हो। कवि लम्सालले ठुले कामीलाई ब्रह्माण्डीय सभ्यताको इन्जिनियरका रूपमा व्याख्या गरेर दलित पहिचानलाई विश्वव्यापी मानवीय गरिमाको उचाइ त दिएका छन्, तर अन्त्यमा उनलाई पुनः परम्परागत धार्मिक भाँचा (विश्वकर्मा) भित्रै कैद गर्न पुग्नु कविको आफ्नै वैचारिक सीमा हो।
“जीवन हो चलिरहन्छ; तर चल्नुको पनि किसिम छ, चल्नुको पनि परिभाषा छ, अब त परिभाषाकै परिभाषा फेर्ने नयाँ समय आएजस्तो लाग्दैन र!” ‘अग्नि’ महाकाव्यभित्र लुकेको यो गहन आत्ममन्थन केवल एउटा निष्क्रिय साहित्यिक निष्कर्ष मात्र होइन, बल्कि यो त युगौँदेखिको दासता र कुरुप व्यवस्थाको जगै भत्काउन सल्किएको एउटा जीवन्त विद्रोहको अग्निकुण्ड हो। महाकाव्यमा देखिने छेलाङ्गी र जुनीमायाका लक्ष्य-केन्द्रित आँखाहरूमा विवशताको आँसु होइन, बरु आक्रोश र चेतनाको त्यो दन्किँदो भुङ्ग्रो छ जसले पुराना र विभेदकारी परिभाषाहरूलाई जलाएर खरानी बनाउने सामर्थ्य राख्छ। तिनीहरू ठुले कामीको जस्तो मौन, कारुणिक र निराश मरणको अपेक्षा गर्दैनन्; बरु इतिहासले थुपारेको अपमानको भारीलाई बिसाएर आफ्नो सीप, श्रम र अस्तित्वको नयाँ क्षितिज उघार्न कटिबद्ध छन्। ती आँखाहरूको आगोले शासक वर्गको संकीर्ण चेतना र संभ्रान्त वर्गको दुईधारे चरित्र दुवैलाई एकैसाथ चुनौती दिँदै नयाँ युग निर्माणको शङ्खघोष गरिरहेको छ।
तसर्थ, यस महाकाव्यको समीक्षात्मक अन्त्यलाई कविको सुधारवादी भावुकतामा मात्र सीमित राख्न सकिँदैन, बरु यसलाई युग मानवले तय गर्नुपर्ने क्रान्तिकारी मार्गचित्रका रूपमा बुझ्नुपर्छ। डा. नवराज लम्सालले ‘अग्नि’ मार्फत इतिहासको एउटा बलियो र बिर्सिएको पाना पल्टाएर समाजको चेतनामा जुन प्रश्नको आगो सल्काइदिएका छन्, त्यसको वास्तविक विसर्जन ठुले कामीको मृत्यु वा कविको आत्मग्लानिमा हुँदैन। यसको वास्तविक अन्त्य त तब मात्र सम्भव छ, जब समाजले शिल्पी वर्गलाई दया वा आशीर्वादको पात्र होइन, बरु सभ्यताको वास्तविक नायक र पूजित पात्रका रूपमा स्वीकार गर्छ। आरनको संस्कृतिलाई विज्ञानको सर्वोच्च विश्वविद्यालय मान्दै, सीप र प्रविधिमाथि श्रमिकको पूर्ण स्वामित्व र राज्यसत्तामा समान हिस्सेदारी स्थापित गर्नु नै यो अग्निकुण्डको वास्तविक गन्तव्य हो। जबसम्म पुराना परिभाषाहरू फेरिँदैनन् र श्रमको राजनीतिले न्याय पाउँदैन, तबसम्म छेलाङ्गी र जुनीमायाका आँखाहरूमा बलेको यो रूपान्तरणकारी आगो निभ्ने छैन, बरु आधुनिक नेपाली सभ्यताको वास्तविक विजयका लागि निरन्तर बलिरहनेछ।

 

 

प्रतिकृया दिनुहोस्