बालस्वरमा गुञ्जियो ‘कृष्ण कन्हैया’, अविक अधिकारीको सुमधुर प्रस्तुति

राजु परियारको शब्द–संगीतमा तयार बालभजनले बालमनलाई भक्ति, संस्कार र संगीतसँग जोड्ने अपेक्षा

कोलोराडो, अमेरिका । बालमनमा भक्ति, संस्कार र आध्यात्मिक चेतनाको विकास गर्ने उद्देश्यले तयार पारिएको नयाँ नेपाली बालभजन ‘कृष्ण कन्हैया’ सार्वजनिक भएको छ।

बालगायक अविक अधिकारीको सुमधुर स्वरमा सजिएको यस भजनमा भगवान् श्रीकृष्णप्रतिको श्रद्धा र भक्तिलाई बालबालिकाले सहज रूपमा आत्मसात् गर्न सक्ने शैलीमा प्रस्तुत गरिएको छ।

चर्चित सर्जक राजु परियारको शब्द तथा संगीतमा तयार भएको ‘कृष्ण कन्हैया’मा बालगायक अविक अधिकारीले भावपूर्ण स्वर दिएका छन्। बालस्वरको मिठास र भक्तिमय भावको संयोजनले भजनलाई विशेष बनाएको छ।

भजनमा नारायण दंगालको संगीत संयोजन रहेको छ भने म्युजिक प्लस एमएफमा अडियो रेकर्डिङ गरिएको हो। गोपाल दयालले अडियो रेकर्डिङ, मनोज परियारले मिक्सिङ तथा मास्टरिङ र किरण अधिकारीले अडियो तथा भिडियोको जिम्मेवारी सम्हालेका छन्।

भिडियोलाई मिलन श्रेष्ठले निर्देशन गरेका छन् भने दिनेश खनालले छायांकन गरेका हुन्। भिडियोमा बालगायक अविक अधिकारीसँगै अञ्जु अधिकारी, अरिका अधिकारी, विशेष रोका, त्रियान श्रेष्ठ, प्रजिव श्रेष्ठ, कर्मा कुमारी श्रेष्ठ, इशिका दयालश्रेया दंगालको अभिनय रहेको छ। भिडियोको सम्पादन तथा कलरको जिम्मेवारी रोशन धितालले सम्हालेका छन्।

बालबालिकालाई केन्द्रमा राखेर निर्माण गरिएको ‘कृष्ण कन्हैया’मा मनोरञ्जनसँगै धार्मिक आस्था, संस्कार र मौलिक सांस्कृतिक भावनालाई समेत प्रस्तुत गर्ने प्रयास गरिएको छ। पछिल्लो समय बालबालिकाका लागि मौलिक नेपाली भजनको आवश्यकता महसुस भइरहेका बेला आएको यस प्रस्तुतिले बालसंगीतको क्षेत्रमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

विशेषगरी बालगायक अविक अधिकारीको स्वर यस भजनको प्रमुख आकर्षण बनेको छ। बालस्वरमै भक्तिसंगीत प्रस्तुत गर्ने प्रयासले नयाँ पुस्ताका श्रोतालाई नेपाली भजन संगीततर्फ आकर्षित गर्न सक्ने विश्वास निर्माण टोलीले लिएको छ।

शब्द र संगीतदेखि गायन, अभिनय, निर्देशन, छायांकन, सम्पादन तथा प्राविधिक पक्षसम्म विभिन्न स्रष्टा र कलाकारको सामूहिक मेहनतमा तयार भएको ‘कृष्ण कन्हैया’ बालभजनले बालमनमा भक्ति र संस्कारको मिठो धुन गुन्जाउने अपेक्षा गरिएको छ।

गीत सुन्न यो लिंकमा क्लिक गर्नुहोस् 

 

 

 

प्रतिकृया दिनुहोस्