नियतिको क्रूर प्रहार- सुन्य भयो गैंडाकोट ! (एक मनो-सम्बाद/माइली आमाको सम्झना)

डिल्ली अम्माई /बेल्जियम

जीवन भनेको सम्बन्धहरूको एउटा यस्तो सुन्दर धागो हो, जहाँ कतिपय मानिसहरू हाम्रो जीवनको जग बनेर उभिएका हुन्छन्। मेरो जीवनको त्यो जग, मेरो वंशको इतिहास र मेरो हरेक सुख दुखका साक्षी अरू कोही नभएर मेरा आदरणीय माइला बा र माइली आमा हुनुहुन्थ्यो। किशोर कालमा उहाँहरूको सामीप्यता,आशिर्वाद र स्नेह त्यस्तो धरोहर बन्यो, जसलाई समयको कुनै पनि आँधीले कहिल्यै मेटाउन सकेन। समयको पाना पल्टाउँदै जाँदा २०४३ सालको रिता बहिनीको बिबाहको चित्रमा माइली आमा,बा दुवैले देखाएको वात्सल्यको झल्झली सम्झना आउँछ। बहिनीको कन्यादानदेखि सबै ब्याबस्थापनको जिम्मेवारी पनि माइला बा-आमाले नै सम्हालेको सम्झना उस्तै ताजा छ। त्यसमा देवी दाई,गोबिन्द दाई,नारायण दाई र भाउजुहरुको भूमिका पनि महत्वपुर्ण रह्यो।
समयको चक्र आफ्नै गतिमा अघि पछि घुमिरह्यो। पैचालिस सालतिरको कुरा हो, हामी र हाम्रो हजुरआमा पार्वती गिदाहाको घरमा बस्थ्यौँ। हजुर आमा असीको हाराहारीमा पुग्दै हुनुहुन्थ्यो। अब उमेरले नेटो काट्यो बा,यो उमेरमा छोरा छोड्नु हुन्न भन्छन् भन्दै उहाँले कान्छाबालाई बोलाउन भन्नु भएछ। खबर पुगेपछि बनहुँबाट हाम्रा कान्छाबा, हजुरआमालाई लिन आएको दृश्य हिंजो जस्तै लाग्छ। उनासी बर्षकी हजुरआमा रुँदै दमेक फर्कनुभयो। त्यो बिदाइमा म भित्र एउटा गहिरो शून्यता छाएको थियो। दमेक फर्केका केहि बर्षपछि हजुरआमा लामो समयसम्म ओछ्यान पर्नुभयो। रोगले थलिएको उहाँको त्यो कमजोर शरीर देख्दा लाग्थ्यो, जीवन कति कमजोर र नश्वर छ! अन्ततः, ५१ सालतिर उहाँले यो संसारबाट बिदा लिनुभयो।
त्यसपछि बि.सं. २०४६ सालको त्यो अविष्मरणीय पल चलचित्र झैँ आँखा अगाडि झल्झली आउँछ। फाल्गुन होलीको दिन मेरो विवाह भएको थियो। खुसीको त्यो उत्सवमा उमङ्ग भर्न गैंडाकोटको आफ्नो थातथलो छोडेर माइला बा र माइली आमा केहि दिन अगावै हाम्रो आँगनमा आउनु भएको थियो। गिदाहा(अमरापुरी)को त्यो नलले छाएको काठे घरमा उहाँहरू एक हप्तासम्म बस्नुभयो। विवाहका हरेक रीतिथिति, मङ्गल धून र यज्ञको धुवाँबीच माइला बा-आमाको अभिभावकत्व एउटा शीतल छहारी झैं हामीमाथि परिरह्यो। त्यति बेला उहाँको उपस्थितिले मलाई महसुस गराएको थियो कि, संसारमा आफ्ना अभिभावकहरू साथमा हुँदा कति फुक्काफाल महसुस हुन्छ।
सबै कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेर जब उहाँहरू आफ्नै घर फर्कनुहुँदा गिदाहाको त्यो आँगन केही समयका लागि एकदमै सुनसान र रित्तो महसुस भएको थियो।
दुःख र सुख जीवनका दोहोरो पाङ्ग्रा हुन्। हजुरआमाको वियोग र मेरो बिबाहको केही समयपछि फेरि घरमा मङ्गल कार्यको साइत जुर्यो-कान्छी बहिनी सीताको विवाह। यसपटक पनि हाम्रो सुखको सारथी बन्न गैंडाकोटबाट तिनै आत्मीय माइला बा र माइली आमा आउनुभयो। विवाहको त्यो पवित्र मण्डपमा जब कान्छी बहिनीको कन्यादान गर्ने समय आयो, माइला बा अघि सर्नुभयो। उहाँले आफ्नो काँधमा अभिभावकको त्यो गह्रौँ र पवित्र जिम्मेवारी लिनुभयो। माइला बाले आफ्ना ती निष्कपट हातहरूले सीता बहिनीको कन्यादान दिँदै गर्दा, उहाँको आँखामा करुणा र वात्सल्यका आँसु टल्किएका थिए। त्यो केवल एउटा संस्कार मात्र नभएर एउटा अगाध प्रेमको पराकाष्ठा थियो।
मेरो जीवनका पानाहरू पल्टाएर हेर्दा, मेरा हरेक कर्म र कार्यक्रममा माइला बा र माइली आमा नजोडिएको कुनै त्यस्तो क्षण नै रहेनछ। उहाँहरु हाम्रो वंशको इतिहास जीवित राख्ने एउटा जिउँदो पुस्तकालय जस्तै हुनुहुन्थ्यो। मलाई चासो लागेका कुराहरू म माइला बासँग निर्धक्क सोध्ने गर्थें। म अझै सम्झिन्छु, एकदिन मैले सोधेको थिएँ, “बा, सिरानका साहु दाईहरू कसरी हाम्रा आफ्ना हुन् र! उनकी आमालाई हामीले कुन नातोले माइली आमा भन्छौँ !” माइला बाले आफ्नो अनुभवको मुस्कुराउँदो ओठ खोल्दै भन्नुभएको थियो, “हेर बा! उनीहरू हाम्रा बाका फुपूका नाति हुन्। गङ्गे साहुका बालाई हाम्रा हजुरबाकी बहिनी दिएको। हजुरबाका भान्जा गङ्गे साहुले तीन बिहे गरे। त्यसैले भान्दाईको छोरो हो नि साहु दाई। हाम्रो बिहे बरितो हुन्न, रगतको नातो छ।” हो, इतिहासका र बंस नाताका यस्ता जटिल गाँठोहरू माइला बाले कति सहजै फुकाइदिनुहुन्थ्यो।
हाम्रा हरेक संस्कारी कार्यक्रममा माइला बा,आमाले भन्नु हुन्थ्यो,’केटा बेल्डिहा गएर काहुलेका बाहुन बालाई लिएर आइज; हामी छउन्जेल बाका भान्जा पुज्नु पर्छ।’ बाका फुपुहरु ३ बहिनी रहेछन्। जेठी तल्लाथोक,सुन्तालाचौर तल्तिर , माहिली रौदी र अर्की काहुले। मैले हाम्रो नजिक भएका बाहुनबालाई माइलाबा-आमाले भने अनुशार संस्कारगत र धार्मिक कार्यहरुमा बोलाउथें।
तर समय कति क्रूर छ! पछिल्लो चरणमा तिनै इतिहासका ज्ञाता र मेरा आश्रय, माइला बा पनि हामीलाई छोडेर बितेर जानुभयो। दुःखको पहाड त्यतिमा मात्र रोकिएन, २०६६ सालमा मेरी आफ्नै आमा पनि खस्नुभयो। आमा र माइला बा जस्ता बलिया खम्बाहरू ढलेपछि हाम्रो त्यो निम्न वर्गीय परिवारको घर कस्तो-कस्तो, ओइलाएको फूलजस्तो, एकदमै अभिभावकविहीन भयो। छानो बिनाको घर जस्तै भयौँ हामी। त्यसपछि, मेरो मनमा लागेका कुरा र न्यास्रो मेट्न निर्धक्क सोध्ने एउटै मात्र चौतारी बाँकी हुनुहुन्थ्यो- माइली आमा। साँचो भन्नुपर्दा, उहाँहरूकै कारण मेरो लागि बेल्जियमबाट नेपाल जानुको एउटा छुट्टै स्वाद र सुगन्ध थियो। त्यसैले प्रत्येक पटक गएको एक दुइ दिनमा म माइली आमा भेट्न पुगी हाल्थें।
उहाँहरुले भनेको अझै सम्झना छ,’बाबु कतै जाँदा पहिला उमेरले पाकेका आफन्त भेट्नु पर्छ,नत्र धोको रहन सक्छ।’ हो उमेरकालाई त जहिले भेटेपनि हुन्छ तर उमेर पाकेका बुढाबुढीहरु अस्ताउन लागेका चन्द्रमा जस्तै हुन्। त्यसैले मैले पहिलो प्रार्थमिकता त्यस्तै आफन्तलाई दिने गरेको छु। यो थियो हाम्रा बा-आमाहरुको कालजयी आदेश।
यसपटक जब म नेपाल गएँ, माइली आमा बिरामी भएको खवरले मन त्यसै त्यसै भारी भएको थियो। खप्न सकिन -त्यो कुरा मैले खगी दिदीलाई पनि उहाँको घर पुगेर भनेँ। कृष्ण भिनाजु र म भेट्न गयौँ। यसपाली पुराना दिनहरूको न्यास्रो लागेर म माइली आमालाई भेट्न तीन पटक उहाँको घर पुगेँ। पहिलो पटक देविलाल ज्वाइसंग। ‘बाबु नाती र बुहारी सन्चै छन् नि !’ मैले उनीहरु बेल्जियम पुगी सकेको आमालाई जानकारी गराएको थिएँ ।’नाति मलाइ भेट्न आइ रहन्थ्यो ‘ माइली आमाले चिन्ता र प्रेम एकै फेरी टक्र्याउनु भएको थियो।
मेरो मनको एउटा कुनामा यिनै बिरामी आमालाई आँखाभरि देख्ने एउटा सानो टुक्रा कामना लुकेको थियो। त्यो कामना पूरा भयो कि भएन, म आज कल्पनामा पनि ल्याउन चाहन्नँ; किनकि हरेक छोराछोरीको लागि आमा जस्तै सुकेको पात भएर ओछ्यानमा परे पनि, उनी संधै धर्तीमा भइरहुन् र आमा भनेर घरभित्र पस्न पाइयोस् भन्ने नै एकमात्र चाहना हुन्छ।
विगतमा म पुग्ने बित्तिकै संसारकै सबैभन्दा न्यानो मुस्कानले स्वागत गर्ने मेरी माइली आमा, यसपटक भने शारीरिक पीडा र रोगको चिसो पिडाले होला, उहाँको ओठमा त्यो परिचित मुस्कान झल्कन सकेन। तर अचम्म! उहाँले आफ्नो त्यो असह्य दुखाइ र पीडाको बारेमा एक शब्द पनि गुनासो गर्नुभएन। उहाँको त्यो शान्त, मौन र स्थिर अनुहार हेरिरहँदा मलाई एउटा गहिरो जीवन-दर्शन बोध भयो-लाग्यो, अब आमाले यो नश्वर संसार छोडेर जाने आफ्नो आन्तरिक तयारी गरिसक्नुभएको छ।
दोस्रो पटकको भेटमा आमाले आफ्नो असीम शारीरिक पीडालाई बिर्सेर, टिल्पिलाएका आँखाहरू मतिर सोझ्याउँदै मधुरो स्वरमा सोध्नुभएको थियो-“बाबु, सीता सन्चै छ नि!”
त्यो प्रश्न सुन्दा मेरो छाती भरिएर आयो। मैले त्यसको उत्तर दिएँ कि दिन सकिन,सम्झना छैन।आफैं जीवन र मृत्युको सङ्घारमा उभिएकी आमालाई आफ्नो शरीरको भन्दा बढी चिन्ता सिता छोरीको भएरै त्यो प्रश्न सोध्नु भएको थियो। साँच्चै, सन्तानप्रतिको आमाको यो चिन्ता र प्रेम अपरम्पार हुँदोरहेछ, जसको अगाडि संसारका सारा दर्शन र सिद्धान्तहरू फिका साबित हुन्छन्।
मलाई अझै सम्झना छ, जब माइला बा र माइली आमाले मेरा दुवै बहिनीको बैबाहिक कर्म उतार्नु भएको थियो, त्यो बेला उहाँहरुले मेरो काँधमा हात राखेर भन्नुभएको थियो-“केही परे आउनु बाबु, दाईहरू छन्, हामी छौँ।” उहाँको त्यो एउटा वाक्य मेरो जीवनको सबैभन्दा ठूलो सान्त्वना थियो, जसले मलाई संसारको जुनसुकै कुनामा रहे पनि कहिल्यै एक्लो हुन दिएन।
तर हिजो अर्थात सेप्टेम्बर ६ दिउसोको कुरा,… बेल्जियमको घरबाट मैले गैंडाकोटमा रहेकी मेरी धर्मपत्नी तारालाई फोन गरें। फोन उठ्ने बित्तिकै ताराको स्वरमा एउटा गम्भीर शून्यता थियो। उनले अचानक भनिन्-“थाहा पाउनुभयो कि भएन!”
उनको त्यो एउटै वाक्यले मेरो मुटु ढुकढुक भयो। मैले केही समयअघि मात्र नेपालमा देखेको माइली आमाको त्यो मौन अनुहार सम्झिएँ। मनले नचाहँदा नचाहँदै पनि मेरो ओठबाट अन्दाज निस्कियो-“भन न भन, कि माइली आमा हुनुहुन्न र ?”
ताराले सुस्केरा हाल्दै भनिन्-“हो, म मलाम गएर भर्खरै आउँदैछु…” त्यसपछि मेरा कानहरू सुन्न भए। मैले अगाडि केही सुन्न सकिनँ र फोन काटिदिएँ।
फोन काटिएपछि बेल्जियमको त्यो कोठा अचानक निकै चिसो र सुनसान भयो। मेरो मनको पहिलो लहरीमा तिनै माइला बा र माइली आमाले मलाई बाल्यकालदेखि आजसम्म दिएका वात्सल्यका प्रत्येक टुक्राहरू एक-एक गर्दै माला झैँ उनिएर मनभित्र फैलिए। ठुली बहिनि र मेरो विवाहमा उहाँहरू गिदाहा बस्नुभएको त्यो एक हप्ता, बहिनी सीताको कन्यादान दिँदा माइला बाको आँखामा झल्किएको करुणा, माइली आमाले हरेक पटक म जाँदा मुस्कुराएर स्वागत गर्ने गरेको त्यो न्यानोपन,कलेज पढ्दा त्यहिँ बसेर पढेका दिनहरु-सबैथोक आँखा अगाडि एउटा चलचित्र झैँ घुम्न थाल्यो। दिमागले मनलाई सम्हाल्न खोज्दै थियो, तर त्यो दुःखको सागर यति विशाल थियो कि दिमागको केही सीप लागेन। मेरो चेतना बिस्तारै हराउँदै गयो र म एउटा अँध्यारो, अनन्त र चिसो गहिराइमा प्रवेश गरें।
अहिले बेल्जियमको यो चिसो कोठामा टोलाएर बसिरहँदा मनभित्र एउटा अनौठो तन्द्रा पो आउँछ-“अब कसरी नेपाल जानु र खै! वात्सल्य खन्याउने ती आमा नै सधैंका लागि अस्ताइन् भने अब नेपाल जानुको के स्वाद होला र!” देश त केवल भूगोल मात्र होइन, देश त त्यहाँ बस्ने प्रिय मानिसहरूको आत्मीयता पो हो। जब त्यो आत्मीयताको छहारी नै ढल्यो, तब त्यो भूगोल मेरो लागि एउटा रित्तो मरुभूमि जस्तै भएको छ। नियतिको कस्तो क्रूर संयोग! यतिबेला नेपाल देश आफैं बाढी, पहिरो र प्राकृतिक विपत्तिको पीडाले छटपटाइरहेको छ। बाढीको भेलले बगाएका सपनाहरू र पीडितहरूको आँसुले नेपाल आमाको आँचल भिजिरहेको यो कालो समयमा, हाम्री करुणाकी सागर माइली आमाले पनि हामीलाई छोडेर महाप्रस्थान गर्नुभयो। लाग्छ, धर्तीको यो रोदन सहन नसकेर उहाँले शान्तिको खोजीमा आफ्ना आँखाहरू सधैंका लागि बन्द गर्नुभयो।
माइला बा र माइली आमा! तपाईंहरू दुवैजना आज यो भौतिक संसारमा हुनुहुन्न। मलाई निर्धक्क सोध्ने, मेरो न्यास्रो मेट्ने र मलाई “बाबु” भनेर बोलाउने त्यो रैथाने इतिहासको पुस्ता नै अब सकिन लाग्यो। तर तपाईंहरूले मलाई दिनुभएको त्यो निश्छल वात्सल्य, त्यो रगतको नातो र मार्गदर्शन मेरो जीवनको अन्तिम साससम्म मेरो मुटुको धड्कन बनेर बाँचिरहनेछ। दूरदेशको यो अँध्यारो कुनाबाट तपाईंहरूको पवित्र आत्माको चीर शान्तिको कामना गर्दै म आफ्ना आँसुका अञ्जलीहरू अर्पण गर्दछु। आमा! बिदा-हार्दिक श्रद्धान्जली !
(दाहिने तिर पछाडी पहिलो बच्चा काखमा लिनु भएको माइली आमा हुनुहुन्छ)

 

प्रतिकृया दिनुहोस्