कल्पना तामाङ
मन्थली -४ रामेछाप
 
हाल: कन्सास सिटी मिजाैरी अमेरिका
सम्पर्क: 18168889853

केही प्रश्नहरू बोकेर
म यतिबेला छु
नीलै नीलो बग्ने पवित्र पानीको आँगनमा ।

कसलाई सोधुँ ?
आकाशको नीलो रङमा कसले सल्कायो आगो  ?
र प्रेम बहनुपर्ने हावामा
किन क्रोधको फिलुङ्गाहरू बहन्छन ?

अगेनोको एउटै कोखबाट जन्मिएर पनि
खरानीको फूल किन फुल्छ सेतो सधैँ
र किन कालै रहन्छ अंगारको आकार?

असत्यको आडमा उभिएर किन सत्य ढलपल छ  ?
र किन वास्विकता बगाएर चुपचाप छ,
भेरीको रङ्गहीन पानी  ?

एउटा आगो
जो स्वयम् जलेर पनि, जलाउनुपर्ने थियो बेथिती
खरानी पार्नुपर्ने थियो असमानताको ढोड
र उज्यालो पार्नुपर्ने थियो घर ।

तर किन गरि रहेछन् आफ्नै शीर छेदन
र किन गरिरहेछन् घमण्डको यज्ञमा बलि  ?
भातृत्वलाई किन
दिइरहेछन् आवेगको  आगोमा आहुति  ?

घृणाको गर्भबाट पक्कै जन्मदैन प्रेम

थाहा छ छैन् ?
आवेगले उम्लिरहेको पानीको ऐनामा
देखिँदैन आफूलाई ।

खासमा
कतै टाढा लगेर फ्याँक्नुपर्छ क्रोध
र प्रश्न गर्नुपर्छ आफैँलाई
मैले बाँचेको समय कुन शताब्दीको  हो ?

बुद्ध जन्मिएको माटोमा उभिएर
म सबैलाई भन्छु,
बगैँचामा लाहुरे फूल रोपेर
जबसम्म टाँकीको फूललाई घाँस भनिरहन्छौँ
तबसम्म विभेदको पानी बोकेर
बगिरहन्छ भेरी ।

प्रतिकृया दिनुहोस्