(कविता) आज म जागेको छु … सानुराजा श्रेष्ठ अन्जान

(कविता)

आज म जागेको छु …

सानुराजा श्रेष्ठ अन्जान

हिंड्न जानेपछिको जीवन
दौडिनु रहेछ,
केही सोच्न नपाउँदै
कुनै कुरा बुझ्न नपाउँदै
दौडिहाल्नु पर्ने रहेछ,
समस्याग्रस्त जीवनबाट भाग्नु पर्ने रहेछ ।

किशोर भएर दौडिरहेँ,
युवक भएर भागिरहेँ,
कहिले आफ्नो यौवन लुटाउन लागिरहेँ,
कहिले कसैको यौन लुट्न दौडिरहेँ,
दौडिनु र भाग्नुको अर्थ के रहेछ ?
समस्याग्रस्त जीवनबाट भाग्नु रहेछ ।

(२)
जीवन खै के जीवन… ?
जीवन बाँच्ने क्रममा दौडिरहेछु,
हिजै आँखा खुलेको थियो,
तर आज म जागेको छु,
आफ्ना सृष्टिहरुमा आफैलाई खोजिरहेछु,
सप्तरंगी, म इन्द्रेणी झुलेको छु,
आँखाहरुमा, म आँशु जमेको छु,
उद्यानमा, म फूल फुलेको छु,
खै, जीवनलाई कसरी बुझ्दैछु ?
जीवन बुझ्ने रहरमा भागिरहेछु,
तर आज म जागेको छु ।

विषादका भाग्यरेखाहरुलाई
अद्वितीय भावीरेखामा बद्लिरहेछु,
अन्धकार दिनरातलाई
पीडा–खहरेमा बगाउँदैछु,
स्वयम् आत्मालाई परमात्मामा बदल्दैछु,
उदीप्त आफैमा यो जीवनलाई
उजेलो कोशेढुंगामा कोर्दैछु
आज म जागेको छु ।

# पशुपति देउपाटन, पाचाटोल
वडा नं.८, काठमाण्डौ ।

प्रतिकृया दिनुहोस्