(संस्मरण) डलरलाई रुपैयाँ भन्दा – पासाङ शेर्पा
डलरलाई रुपैयाँ भन्दा
– पासाङ शेर्पा
मौसम खुलेको दिन थियो । न्युयोर्कमा चहलपहल निकै बढ्दै गइरहेछ । ज्याक्सन हाइटमा हिजोआज धेरै मान्छे घुम्न, डुल्न, मार्केटिङ र भेटघाट गर्न थालिरहेका छन् । कोरोनालाई मान्छेले जित्न थालेको अनुभव हुन थालेको छ ।
‘ल बाबु, बाल मिलाइदिनु पर्यो’ भन्दै बाजे मेरो पसलमा आउनु भयो ।
उमेरले सत्तरी काटेको भन्नुहुन्छ तर उहाँको जिउको फुर्ती देख्दा साठी हाराहारीको जस्तो देखिन्थ्यो । निकै मीठो गफगाफ गर्ने, शिष्ट बानी व्यहोरा जस्तो हुनुभएको बाजे रमाइलो खालका हुनुहुन्छ । उहाँ यो ठाउँका लागि नितान्त नयाँ भए पनि पुरानै जस्तो लाग्छ– चाँडै घुलमिल गर्ने स्वभावका कारण ।
‘हुन्छ नि बाजे भइहाल्छ नि, बस्नुस् ।’ कुर्सीमा बसालेँ अत्यन्तै स्नेह र सम्मानका साथ ।
मैले परदेशमा आएर अँगालेको पेशा देखेर उहाँले मेरो साहसको खुब प्रशंसा गर्नु भएको थियो । मलाई शुभेच्छा र उत्प्रेरणा पनि दिइरहनु भयो बाजेले । त्यसपछि हाम्रो कपाल मिलाउने कार्यसँगै गफगाफ सुरु भयो ।
आफन्त, इष्टमित्र, व्यापार, कमाइ–धमाइका कुराहरु भए । बसाइ, घरपरिवार र न्युयोर्क सहरमा कोरोनाले पारेको असरका बारेमा निकै गफगाफहरु भए ।
हामीले देशको जल्दाबल्दा राजनीतिक विषयमा धेरै गफ गर्यौँ। परिवारका बारेमा पनि धेरै कुरा गर्यौँ। हुर्किरहेका नयाँ पुस्ता र पुरानो पुस्ताका कुराहरु गर्यौँ।
न्युयोर्कमा नेपाली समाजको उपस्थिति र कोभिडमा उनीहरुले पुर्याएको योगदानको चर्चा पनि हामीले गर्यौँ। बाजेले अमेरिकी खानपान र आफ्नो पूजापाठमा परेको असरबारे पनि बताउनु भयो ।
मेरो यो पेशामा हरेक किसिमका मान्छेहरु आउँछन् । साना नानीदेखि बूढासम्म, सज्जनदेखि फटाहासम्म, अनपढदेखि पढेका विद्वान्सम्मका हरेक–हरेक मान्छेहरुसँग संगत गर्नु पर्ने हुन्छ । उनीहरु के कुरामा इच्छा राख्छन् त्यो हामीले बुझेर हामीलाई त्यसैरुपमा प्रस्तुत गर्न सक्नु पर्छ, गफ मिलाउन सक्नु पर्छ ।
उनीहरुसँग जोडिएर बोल्दा दिन पनि कट्छ । उनीहरुको भावना अनुसार चल्दा मित्रता पनि टुट्दैन । पछि आउने बाटो पनि मेरै व्यवहारले राखिदिनुपर्छ ।
अनि ग्राहकहरुको इच्छालाई बुझेर हाँ मा हाँ मिलाउनु सक्नु पर्छ । विगत लामो समयको अनुभवबाट म यस्ता कुराहरुबारे राम्रै जानकार छु ।
ग्राहककै बोली र भावनाअनुसार सहमति गरिदिँदा वातावरण शान्त, सुखद र सप्रेम हुन्छ । थोरै मात्र प्रतिक्रिया दियो वा प्रतिकार गर्यौँ– ग्राहकहरु भड्किने डर हुन्छ । त्यसैले म त उनीहरुको भावनाकै कदर गरिदिन्छु ।
अब त बानी नै परिसक्यो । बाजेसँगको आधा घण्टाको समय पनि त्यसरी नै बित्यो ।
बाजे अनेक कुरा गरिरहनु भएथ्यो । अमेरिकासँग नेपाल तुलना गरिरहनु भएथ्यो । यहाँको विकास र प्रगतिबारे चर्चा गरिरहनुभएको थियो ।
नेपालबाट आएदेखि नै मज्जाले कुरा मिल्नेसँग नेपालीमा गफ गर्न पाएको भनेर एकदम खुशी पनि हुनु भो । म त यसै पनि खुशी थिएँ । पसलमा आएको ग्राहकको खुशी नै मेरो खुशी थियो ।
‘म त निस्सासिएको थिएँ बाबु । नेपाली पनि दिल खोलेर बोल्न नपाउँदा । आज ज्यादै आनन्द आयो ।’ बाजेले निकै खुसी र प्रसन्न भएर भन्नुभयो ।
सबै काम सकेर निस्किने बेला बाजेले सोध्नु भयो–‘बाबू बाल काटेको दाम चाहिँ कति पो हो नि ?’
मैले भनेँ– ‘पन्ध्र रुपैयाँ !’
‘हुन्छ, बाबु हुन्छ । गफ गर्न पाएर कस्तो रमाइलो पनि भयो । म अमेरिका बसुन्जेलसम्म फेरि–फेरि आउँछु है ।’ भनेर पैसाको पर्सबाट एक डलरको नोट निकालेर मलाई दिदै भन्नुभयो– ‘बाबु, मसँग रुपैयाँ त छैन । डलर मात्रै छ । यो एक डलर राख्नुस् । बाँकी रुपैयाँ फिर्ता पर्दैन है बाबू । तपाईं चिया पिउनुस् ।’
बाजेले खुद्राखुद्री त्यतै छोडेर जाने मन देखाउनु भयो ।
म झसङ्ग भएँ– ‘के भन्छ यो बाजे ?’
म अत्यन्तै नराम्रोसँग तरङ्गित हुन पुगेँ ।
तर गल्ती मेलै नै गरेको रहेछु । अक्सर नेपालीहरुसँग डलरलाई पनि रुपैयाँ नै भनेर जिस्किने पाराले भन्ने गरेको हुन्छौँ । तर पनि डलर हुन्थ्यो ।
बिचरा, ती बाजे त भर्खर–भर्खरै छोराको निमन्त्रणामा अमेरिका घुम्न आउनु भएको, उहाँले रुपैयाँ नै ठान्नु भएको रहेछ ।
हाम्रो यहाँको स्थानीय प्रचलन उहाँले बुझ्नु भएन । डलरलाई रुपैयाँसँग परिवर्तन गर्न उहाँ पुगिसक्नु भएको रहेछ । एक डलरको एक सय उन्नाइसको दरले पो हिसाब गरेर पो दिनु भएको रहेछ । त्यति बेला डलरको रेट नेपाली रुपैयाँमा एक सय उन्नाइस थियो ।
उहाँको आफ्नो बुझाइ स्वयम्मा खराब थिएन । गल्ती उहाँबाट भएको थिएन । मैले सजिलै उहाँले डलरलाई रुपियाँ भनेर भनिदिँदा गल्ती भएको थियो ।
उहाँको हिसाबमा त मलाई टिप्स मात्रै एक सय चार दिइएको रहेछ । यो मेरा लागि ठूलो टिप्स थियो । यति धेरै टिप्स यहीँको अमेरिकी नागरिकबाट पनि पाइन्न ।
गल्ती मेरै भएकोले मलाई मनमनै धेरै हाँसो उठ्यो । तर पनि देखिने गरेर कुनै प्रतिक्रिया देखाइनँ । सबै नर्मल जस्तो गरेँ ।
आफ्नो मूर्खतामा भित्रैदेखि आफुलाई सतर्क पारेर हाँसेँ । आफ्नो बोली र व्यवहार चिप्लेकोमा एकैछिन त खिन्न पनि भएँ । तर भर्खर अमेरिका आएका बाजेसँग धेरै तर्क र छलफल गरिरहने विचार गरिनँ ।
अनि भनेँ– ‘यो पैसा तपाईंको आशीर्वाद सम्झेर राख्छु । धेरै–धेरै धन्यवाद हजुरलाई ।’
यसो भन्दै त्यो एक डलरको नोटलाई लिएँ । अनि उहाँ त्यहाँबाट निस्किनु भयो । उहाँ आफ्नै तालमा फटाफट ज्याक्सन हाइटको भीडमा हराउनु भयो । बाजे गएपछि म फेरि त्यो डलर ओर्काईफर्काई गरेर हेर्न थालेँ । अनि उहाँले जाने बेलामा दिएको टिप्स र अरु कामको पारिश्रमिक सम्झिरहेँ ।
त्यसपछि म मज्जाले हाँसे । एक किसिमको रमाइलो पनि भयो– हा हा हा !!!
अमेरिकामा डलर हैन नेपाली रुपैयाँले काम गराउने बाजेको क्षमता सम्झेर फेरि एकपटक मज्जाले हासेँ– हाहाहा… हाहाहा… !