स्मृतिको बन्दरगाह : कोपनहेगनको एक सप्तरङ्गी यात्रा
डिल्ली अम्माई
सुख-दुःख नितान्त व्यक्तिगत अनुभूति हुन्। जतिसुकै निकट सम्बन्ध भए पनि एकको मानसिक बोझ अर्काले बेहोर्न सक्दैन। अन्ततः शारीरिक र मानसिक क्लेशकै थिचोमिचोमा प्राण शरीरबाट अलग्गिन्छ। तर, मेरो मानसिक बोझ बिसाउने र अन्तर्मन साट्ने एउटा भरपर्दो छहारी बनेका छन्– डेनमार्क निवासी भाइ सुरेन्द्र।
पेरिसको पाँचदिने अवलोकन लगत्तै यसपालिको बर्खे बिदामा उनै सुरेन्द्र डेनमार्क यात्राको निर्णायक कडी बने। ‘दाई, कहिले आउने?’ भन्ने उनको आत्मीय प्रश्नसँगै भान्जा प्रकाश र भतिजाहरू श्याम एवं शालिकको निम्तोले मलाई कोपनहेगनतर्फ तान्यो। प्रियजनको स्नेहपूर्ण आग्रह स्वीकार्नुअघि मैले कोपनहेगनका प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक वैभवहरूको फेहरिस्त तयार पारें। आफूले अनुभूत गरेका दृश्य र ज्ञानलाई अक्षरमार्फत पाठकलाई बाँड्न पाउनु नै एक लेखकका लागि परम सन्तोषको विषय हो।”
“प्रारम्भिक सूचना र तिर्सनाका पोका बोकी नर्डिक मुलुक डेनमार्कको सुदूर दक्षिणी यात्रा तय भयो।
जुलाई २७ को साँझ ८ बजेका लागि ‘फिलिक्स’ बसको टिकट थियो। जीवनसंगिनी तारा र म बेल्जियमको ‘आन्त्वेर्पेन’ स्थित रोजबेल्ट स्टेसनमा समयपूर्व नै पुग्यौँ। झण्डै आधा घण्टाको प्रतीक्षापछि बस आइपुग्यो। लगेज क्याबिनमा सुताएर हामी सिटमा उक्लियौँ। २० मिनेटको अन्तरालपछि बसले गति लियो। एक्सप्रेस हाइवेमा बायुवेगले हुइँकिरहेको बसबाट बाहिर नियाल्दा बेल्जियमका उत्तर–पूर्वी गाउँका हरियालीले स्वागत गरिरहेका थिए। लहलहाउँदा मकैबारी, आलुका गरा र कृत्रिम नहरमा तैरिएका डुङ्गाहरूलाई ‘बाइ-बाइ’ गर्दै हामी पत्तै नपाई नेदरल्याण्ड्सको आइन्डहोभन पुग्यौँ।
क्षितिजमा प्रकाशको साम्राज्य सकिएसँगै हाम्रा परेलाहरूमा निद्राका काला बेलुनहरू झुन्डिन थाले। जर्मनीको डुसेलडोर्फतर्फ अघि बढ्दै गर्दा रात छिप्पिँदै गयो। घरका आँगनमा बलेका दीपशिखा बाहेक बाहिर सबै अन्धकार थियो। उज्यालोमा दृश्यले बाटो काट्न सघाए झैँ अँध्यारोमा हाम्रा सुक्खा खाजाले सहारा दिए, जुन डुसेलडोर्फ नपुग्दै रित्तिए।
मध्यरात १२:४० मा बसले डुसेलडोर्फमा विश्राम लियो। गन्तव्य त्यहीँसम्म भएकाले कोपनहेगन जाने अर्को बसको प्रतीक्षा अनिवार्य थियो। करिब एक घण्टाको त्यो पर्खाइ, ग्रीष्मको न्यानोपनका कारण पट्यारलाग्दो भएन।”
“डुसेलडोर्फको बस स्टेसनमा एक घण्टाको त्यो अन्तराल मेरा लागि मानव-चरित्र नियाल्ने आँखीझ्याल बन्यो। नयाँ गन्तव्यको हुटहुटीमा दौडिरहेका यात्रु र उनीहरूको सोधपुछबाट आजित ड्राइभरहरूको रुखोपनबीच एउटा विचित्रको कोलाहल थियो। विडम्बना! त्यति ठूलो अन्तर्राष्ट्रिय स्टेसनमा बस तालिकाको कुनै औपचारिक सङ्केत थिएन, केवल अनुमान र सोधखोजको भर।
स्टेसनको एक कुनामा एक मदिरासक्त व्यक्ति यात्रुहरूलाई थर्काउँदै शौचालय जान पैसा मागिरहेको थियो। ताराको कमलो मनले उसलाई सहयोग गर्न मलाई कर गरिरह्यो, तर मेरा स्मृतिमा पेरिसका ती अप्रिय लुटपाटका घटना ताजा थिए। सहरका अँध्यारो गल्लीभन्दा मलाई मान्छेका नियतसँग बढी डर लाग्छ। त्यसैले, मैले उसको आग्रहलाई ‘छल’ ठानेर उपेक्षा गरिदिएँ।
“यात्राको थकानले कतिबेला निद्राको काखमा पुगेछु, पत्तै भएन। बस जर्मनी र डेनमार्कको सीमावर्ती सहर ‘फ्लेन्सबर्ग’ पुगेपछि मात्र मेरो तन्द्रा खुल्यो। हरियालीको घुम्टो ओढेको त्यो सहरमा केही यात्री ओर्लिए त केही नयाँ यात्री थपिए। फ्लेन्सबर्ग पार गरेपछि बस जुटल्याण्डमा पर्ने डेनमार्कको ‘इरित्सो’ सहरमा केहीबेर अडियो। त्यसपछिको विशाल पुल तरेर हामी फुनेन टापुको ‘ओडेन्स’ पुग्दा बिहानको ११ बजिसकेको थियो।
नाइबर्गको विशाल पुलमाथि गुड्दै गर्दा ‘ग्रेटवेल्ट’ खाडीको नीलो गहिराइमा सूर्यका किरणहरू नाचिरहेका देखिन्थे। हरियालीमा गुजुमुक्क परेका साना बस्तीहरूको मनमोहक दृश्यपान गर्दै हामी पेडेसबर्ग र कोगे हुँदै दिउँसो २ बजे कोपनहेगनको ‘कार्स्रेन निएबुर्स गाड’ स्थित बस टर्मिनल पुग्यौँ।
बसबाट ओर्लनासाथ मेरा आँखाले भाइ सुरेन्द्र र भान्जा प्रकाशलाई खोज्न थाले। अलि पर दाह्री पालेका एक युवकलाई देखेपछि म नजिकै पुगेर चियाएँ। डेढ दशकको अन्तरालपछि पनि भान्जालाई चिन्न कठिन भएन।
“ए मामा-माइजू! डेनमार्कमा यहाँहरूलाई स्वागत छ,” प्रकाशले हर्षित मुद्रामा भने। हामीले अंकमाल गर्दै आत्मीयता साट्यौँ।
मैले उत्सुकतासाथ सोधेँ, “अनि सुरेन्द्र खै त?”
“मामा पुरानो बसपार्क पुग्नुभएछ, टर्मिनल सरेको पत्तै पाउनुभएछैन। उहाँ यतै आउँदै हुनुहुन्छ, भर्खरै कुरा भयो,” प्रकाशले स्पष्ट पारे।”
“टर्मिनलको भीडभाडबीच केही बेरको भलाकुसारीपछि भाइ सुरेन्द्र र हरि भट्टराई टुप्लुक्क आइपुगे। वर्षौँपछिको त्यो भेटमा हामीले धीत मरुञ्जेल अङ्कमाल गर्यौँ। कोपनहेगनको बहुआयामिक स्थापत्यको पृष्ठभूमिमा केही तस्बिरहरू कैद गर्दै हामी पार्किङतर्फ सोझियौँ।
जिल्याण्ड र अमागर टापुमा फैलिएको डेनमार्कको राजधानी— कोपनहेगन। साइकल यात्रीहरूको सहर, जहाँको हावामा अचम्मको शान्ति र स्वच्छता छ। यहाँको जनजीवन र मानवीय खुसीको रहस्य बुझ्ने उत्कट चाहनाले मेरो मन चङ्गाझैँ उडिरहेको थियो। यहाँ कोपनहेगनमा हाम्रो ‘अम्माई’ वंशका झण्डै दर्जन बढी सदस्यहरू वर्षौँदेखि सङ्घर्षशील छन्। अर्को पुस्तासम्म पुग्दा त यहाँ हाम्रो आफ्नै एउटा सानो टोल नै बन्नेछ। भूगोलले टाढा भए पनि एउटालाई दुख्दा अर्कोको मन रुने आत्मीयता रहिरहे मात्र प्रवासमा दाजुभाइ हुनुको सार्थकता रहन्छ। सबै प्रेमले बाँधिएर रहुन्, मेरो यही कामना छ।
स्मृतिमा हाम्रा बुबाहरूको त्यो अगाध प्रेम अझै ताजा छ। कसैलाई पीडा पर्दा सबै दाजुभाइ एकाकार हुन्थे। हाम्रो बनहुँ गाउँ र अम्माई खलकको त्यो अटुट स्नेह— छुट्टिँदा पनि आँसु पुछ्दै अलग हुने हाम्रा अग्रजहरूको आत्मीयता र हजुरआमाको त्यो समभावपूर्ण वात्सल्य मैले आफ्नै आँखाले भोगेको एउटा सुन्दर यथार्थ हो।
“बाल्टिक सागरको किनारै किनार भावुक स्मृतिको लहरमा पौडिँदै आधा घण्टामा हामी ‘अफलोइन’ स्थित भाइ सुरेन्द्रको निवास पुग्यौँ। आत्मीय अभिवादनपछि बुहारी रमा कार्यक्षेत्रतर्फ लागिन् भने भान्जा प्रकाश आफ्नो गन्तव्यतिर। हामी भने सुरेन्द्रका साथीहरूद्वारा आयोजित ‘बारबिक्यु’ उत्सवमा सामेल हुन नजिकैको पार्क पुग्यौँ। हरि भट्टराई, तारापति, डिल्लीराम र जमुना कँडेल लगायतका स्थानीय नेपालीहरूसँगको त्यो भेट अर्थपूर्ण रह्यो। रातको १० बजेसम्म पोलेका मकै र मासुको स्वादसँगै प्रवासमा नेपालीका जीवन-सङ्घर्षका सुस्केराहरू सुनिरह्यौँ।
भोलिपल्ट बिहानै हामी सुरेन्द्रका छोरा सिद्धान्तको फुटबल तालिम हेर्न खेलमैदान पुग्यौँ। मैदानमा उसको फुर्ती देख्दा लाग्यो— यो हाम्रो कुलको एउटा उदीयमान नक्षत्र हो। उसले डेनमार्कको राष्ट्रिय टोलीबाट खेलेको सुखद कल्पनाले मात्रै पनि मेरो मन रोमाञ्चित बन्यो।
यात्राको दोस्रो दिन हामी कोपनहेगनका ऐतिहासिक र सांस्कृतिक वैभवहरू— टिभोली बगैँचा, अमालियनबोर्ग दरबार, फ्रेडरिक चर्च र रोजेनबोर्ग महलको अवलोकनमा व्यस्त रह्यौँ। नेदरल्याण्ड्सको ‘एफ्टेलिङ’ झैँ मनोरम टिभोलीको सौन्दर्यले मन पुलकित पार्यो। त्यतिबेला मलाई नेपालका ढोरपाटन र सुदूरपश्चिमका विशाल पाटनहरूको याद आयो— यदि त्यहाँ पनि यस्तै व्यवस्थित पार्क हुन्थे त पर्यटनको कस्तो कायापलट हुन्थ्यो होला!
अन्ततः हामी विश्वकै पुरानो राजतन्त्रको प्रतीक ‘अमालियनबोर्ग’ दरबार पुग्यौँ। त्यहाँको राजगद्दी र वैभव देख्दा म झसंग भएँ। मेरो स्मृतिमा नारायणहिटीको राजसिंहासन र वंशनाश गरिएका राजा वीरेन्द्रको त्यो त्रासदीपूर्ण अन्तको चित्र नाचिरह्यो।”
अमालियनबोर्ग दरबारको त्यो शाही परिवेशले मलाई केहीबेर भावुक तुल्यायो। इतिहासको जीवन्त साक्ष्य बनेको त्यस दरबार र त्यसको भव्य स्क्वायरले डेनमार्कको विशाल साम्राज्यको गौरवगाथा अझै गाइरहेको भान हुन्छ। इतिहास र सभ्यताका पारखीका लागि यो दरबार एक अनिवार्य गन्तव्य रहेछ।
दरबारको पश्चिममा अवस्थित छ— सन् १७४० मा निर्मित भव्य ‘मार्बल चर्च’ अर्थात् फ्रेडरिक चर्च। यसको गर्भभित्र पस्दा त्यहाँको मिहिन र अद्वितीय वास्तुकलाले जोकोहीलाई मुग्ध पार्छ। भवनको प्रत्येक कुनामा कुँदिएका सौन्दर्य र कलाका ती मर्मस्पर्शी नमूनाहरू देख्दा मेरो मन हर्षले विभोर भयो। कोपनहेगनको हृदयमा उभिएको यो चर्च केवल एउटा धार्मिक स्थल मात्र नभई मानव निर्मित कलाको एक उत्कृष्ट पराकाष्ठा रहेछ।”
अर्को दिनको यात्रा भान्जा प्रकाशको निवास ‘रोडोभर’ बाट रेलको सुमधुर गतिसँगै सुरु भयो। प्रकाश, अनिता र सानी नातिनीको साथमा हामी ‘वेद स्ट्रान्डेन’ (समुद्र तट) पुग्यौँ। स्लोशोलमेन नहरको किनारै किनार रंगीन भवन र ऐतिहासिक चर्चहरू नियाल्दै गर्दा कोपनहेगनको प्राचीन वैभव आँखाअघि जीवन्त भयो। नहरको नीलो पानीमा डुङ्गा सयर गर्दै सहरको तटीय सौन्दर्य चुम्नुको आनन्द नै बेग्लै थियो।
त्यहीँ तटमा अवस्थित ‘द लिटिल मर्मेड’ (जलपरी) को प्रतिमाले एउटा चिसो ढुङ्गालाई पनि प्रेम र करुणाको प्रतीक बनाइदिएको रहेछ। ह्यान क्रिश्चियन एन्डरसनको कालजयी कथाबाट प्रेरित यो प्रतिमाले वाल्ट डिज्नीको एनिमेटेड संसार र मानवीय कल्पनाको गहिराइलाई स्मरण गराउँछ।
यात्राको अर्को महत्त्वपूर्ण बिसौनी थियो— रोजेनबोर्ग महल। सन् १६०६ देखि १६३४ को बीचमा राजा क्रिश्चियन चतुर्थद्वारा ग्रीष्मकालीन निवासका रूपमा निर्मित यो दरबार आज डेनमार्कको सांस्कृतिक खजानाको संरक्षक बनेको छ। पुनर्जागरणकालीन वास्तुकलाको यो नमुनाभित्र छिर्दा समय एकाएक रोकिएझैँ भान हुन्छ, जहाँ इतिहासका प्रत्येक इँटाले आफ्नै शाही संकथन सुनाइरहेका भेटिन्छन्।”
कोपनहेगनको हृदयमा अवस्थित ‘स्लोटशोलमेन’ टापु र त्यहाँको भव्य ‘क्रिश्चियनबोर्ग दरबार’ सत्ता र शक्तिको सजीव सङ्गम हुन्, जहाँ अहिले डेनिस संसद् सञ्चालित छ। यात्राकै क्रममा हामी ‘इनर ओस्टरब्रो’ क्षेत्रमा रहेको डेनमार्कको विशाल राष्ट्रिय रङ्गशाला पुग्यौँ। सन् १९९० को दशकमा निर्मित, खुम्चिने (फोल्डिङ) छाना भएको यो आधुनिक रङ्गशाला खेलका लागि मात्र नभई भव्य साङ्गीतिक कन्सर्टका लागि पनि प्रख्यात रहेछ। ३८ हजारभन्दा बढी दर्शक अट्ने यो मैदान डेनिस खेलप्रेमको एउटा बलियो स्तम्भ देखियो।
बाल्टिक सागरको काखमा फैलिएको कोपनहेगन बन्दरगाह आफैँमा एउटा विशाल जल-साम्राज्य हो। उत्तरको स्वानेमोले तटदेखि दक्षिणको ह्विडोभ्रेसम्म विस्तारित यो बन्दरगाह युरोपकै व्यस्त र सुन्दर बन्दरगाहमध्ये पर्छ। सहरलाई नियाल्ने सबैभन्दा सौम्य माध्यम पानीमा झल्किएको कोपनहेगनको बिम्ब नै हो। आम्स्टर्डमको झल्को दिने यहाँका नहरहरूमा क्रुज वा रोमान्टिक गोन्डोलाको सयरले मनलाई स्वप्निल बनाउँछ। अझ, आफैँ डुङ्गाको सारथि बनेर जलविहार गर्ने वा शान्त किनारामा बसेर बल्छी थाप्ने शौखिनहरूका लागि यो ठाउँ एउटा अनुपम गन्तव्य रहेछ।”
बाल्टिक सागरबाट निर्मित नहरहरू कोपनहेगन नियाल्ने भिन्न आँखिझ्याल हुन्। जल-सतहबाट देखिने सहरको बिम्ब साच्चै अद्वितीय हुन्छ। स्थानीयहरूको भनाइमा जल-यात्राको प्रत्येक फेरोले सहरको नयाँ र पृथक् चरित्र अनावरण गर्छ। भान्जा प्रकाश, भान्जी अनिता र नातिनीसँग जलविहार गर्दै हामीले पनि कोपनहेगनको त्यो जलीय सौन्दर्यलाई मनग्य साट्यौँ। समयको पावन्दीले ‘द ट्युब’ संग्रहालयको कौतुकपूर्ण संसारमा हराउने अवसर भने यसपालि जुरेन।
राष्ट्रिय सङ्ग्रहालयको भ्रमणले डेनमार्कको ऐतिहासिक स्वतन्त्रता सङ्ग्राममा कम्युनिष्ट पार्टीको निर्णायक भूमिका उजागर गर्यो। सन् १९४० मा जर्मनीले डेनमार्कमाथि गरेको आक्रमणका कारुणिक तस्बिरहरू त्यहाँ सुरक्षित छन्। नाजी कब्जाको सुरुवाती १४ महिनासम्म कम्युनिष्टहरूलाई राजनीतिक स्वतन्त्रता भए पनि सोभियत सङ्घमाथिको जर्मन आक्रमणपछि भने दमनको चक्र सुरु भएको रहेछ। सन् १९४१ जुन २२ मा संसद् सदस्यसहित ३०० भन्दा बढी कम्युनिष्टहरूलाई नजरबन्द गरिनु र त्यसको दुई महिनापछि पार्टीलाई गैरकानुनी घोषणा गरिनुले डेनिस राजनीतिको त्यो कठिन कालखण्डको स्मरण गराउँछ।”
५ मे १९४५ मा डेनमार्कको मुक्तिसँगै गठन भएको नयाँ सरकारमा अल्फ्रेड जेन्सेन र अक्सेल लार्सनको रूपमा पहिलो पटक कम्युनिष्ट मन्त्रीहरूको प्रवेश भयो। स्वतन्त्रता पछिको पहिलो निर्वाचनमा १८ सिटसहित १२.५ प्रतिशत मत प्राप्त गरे पनि ‘नेटो’ मा सहभागिता र हवाई अड्डा निर्माणको प्रखर विरोध गरेकै कारण यो शक्ति विस्तारै सत्ता र मूलधारबाट किनारा लगाइयो।
सीमित जनसंख्या (करिब ६० लाख) ले बोल्ने डेनिस भाषाको साहित्यले अङ्ग्रेजी अनुवादको पखेटा पाएपछि मात्र विश्वव्यापी उडान भर्न सक्यो। आज डेनिस साहित्यका अनुवादित संस्करणहरू विश्वभर फैलिएका छन्। ‘द लिटिल मर्मेड’ र ‘द अग्ली डकलिङ’ जस्ता कालजयी परी कथाका सर्जक हान्स क्रिश्चियन एन्डरसन डेनमार्कका मात्र नभई विश्वकै प्रिय साहित्यकार हुन्, जसका कृतिहरू १२५ भन्दा बढी भाषामा अनुदित छन्। यात्राकै क्रममा हामी प्रसिद्ध साहित्यकार करेनको प्रतिमामा श्रद्धा अर्पण गर्न ‘रंगस्टेट’ त पुग्यौँ, तर समयको पावन्दीले गर्दा एन्डरसनको संग्रहालय पुग्ने धोको भने यसपालि अधुरै रह्यो।
बीसौँ शताब्दीकी महान् डेनिस लेखिका करेन ब्लिक्सन (१८८५-१९६२) को व्यक्तित्व र कृतित्व आफैँमा एउटा महाकाव्य हो। ‘अफ्रिका बाहिर’ (Out of Africa) उपन्यासकी यी सर्जिकाले आफ्नो जीवनको १७ वर्ष अफ्रिकाको कफी बगान र त्यहाँका मानिसहरूसँगको सामीप्यमा बिताइन्। सन् १९३७ मा ‘इसाक डाइनसेन’ छद्म नाममा प्रकाशित उनको यो कृति यति प्रभावशाली बन्यो कि पछि यसैमा आधारित चलचित्रले विश्वप्रसिद्ध ओस्कर अवार्डसमेत चुम्यो। कोपनहेगनको उत्तरी तट ‘रङस्टेड कोस्ट’ मा अवस्थित उनको निवास अहिले एउटा जीवन्त सङ्ग्रहालय बनेको छ, जहाँ उनले अफ्रिकी भूमिप्रति पोखेको अगाध प्रेमका पदचापहरू अझै महसुस गर्न सकिन्छ।
यात्राको उत्तरार्ध पारिवारिक मिलनको न्यानोपनमा बित्यो। लामो अन्तरालपछिको यो भेटमा मेरा छिमेकी राधाकृष्ण सापकोटासँग सुरेन्द्र भाइकै निवासमा भलाकुसारी भयो। अर्को दिनको सन्ध्यामा हामी शालिक बाबुको परिवारलाई भेट्न ‘भेस्कोभाई’ पुग्यौँ। भगवती र सानी नातिनीको आत्मीयता साटेपछि त्यो रातको विश्राम भने श्याम बाबुको निवासमा तय भयो। प्रवासको यो व्यस्तता बीच पनि पारिवारिक स्नेहको यो तन्तुले मनलाई निकै आनन्दित तुल्यायो।”
“जुलाई ३० का दिन भाइ राधाकृष्णको साथ लागेर हामी ‘इसोए’ स्थित अनेसासकी पूर्व केन्द्रीय उपाध्यक्ष सीता बरालको निवास पुग्यौँ। सीता बहिनीको परिवारसँगको आत्मीय भलाकुसारी र सहभोजमा त्यो दिन बितेको पत्तै भएन। त्यही क्रममा अनेसास डेनमार्कका वरिष्ठ उपाध्यक्ष रमेश घिमिरेसँग पनि भेट भयो। पहिलो भेट भए तापनि हाम्रो संवादमा एउटा पुरानो पारिवारिक मिठास थियो। सोही अवसरमा मेरो कविता सङ्ग्रह ‘निरपेक्ष अस्तित्वको खोज’ र अनेसासको क्यालेन्डर उहाँहरूलाई हस्तान्तरण गरेँ। ‘इसोए’ को त्यो बसाइ मेरा लागि एउटा उर्जाशील साहित्यिक मञ्च नै सावित भयो, जसका लागि म सीता बहिनीप्रति आभारी छु।
यद्यपि, प्रयासका बाबजुद अनेसास डेनमार्कका अध्यक्ष पूर्ण बस्नेत र प्रकाश सापकोटासँगको भेट भने जुरेन। सन्ध्याकालमा रमेशजीको साथमा ‘स्ट्रेन्ड पार्क’ को सुमधुर सयरपछि हामी पुनः सुरेन्द्र भाइको ‘अफलोइन’ निवास फर्कियौँ। रातको भोजन र अबेलासम्मको घरायसी संवाद पूज्य खगेश्वर दाजुका सुपुत्र श्याम बाबुको आँगनमा भयो। प्रवासको त्यो रात पारिवारिक आत्मीयताको न्यानोपनमा गुजुमुक्क थियो।”
जुलाई ३१ को सूर्योदयसँगै छिमेकी नवराज लामिछानेको निमन्त्रणामा हाम्रो पाइला उनीतिरै मोडियो। उनीहरूको १७ औँ तलाको निवासबाट कोपनहेगनको विहङ्गम दृश्य नियाल्दै सुनिता बहिनीले पस्किएको नेपाली स्वादमा रमायौँ। भोजनपछि ‘गोलोस्टफ’ पुगेर माधव भाइ र मधुजीको परिवारसँग आत्मीय क्षणहरू साट्यौँ। साँझ नवराजको परिवारसँगै स्थानीय पार्कको सयरमा बित्यो। प्रवासमा आफ्नै गाउँले परिवेश भेटिँदा लाग्थ्यो– भूगोल बदलिए पनि नेपालीपनको सुवास उस्तै रहेछ।
ध्रुवीय जीवजन्तुका लागि प्रख्यात ‘फ्रेडेरिक्बर्ग हावे’ चिडियाखाना जाने धोको भने प्रतिकूल मौसमले यसपालि अधुरै राखिदियो। वर्षा थामिएपछि हामी ‘गेन्तोप्ते’ तर्फ लाग्यौँ, जहाँ जनसम्पर्क समितिका नवीनराज पौडेल र बुद्धिप्रसाद सापकोटाको स्नेहपूर्ण निमन्त्रणा थियो। मार्गमा भेटिएका जङ्गली आरुबखडाको अमिलो-कसिलो स्वादले बाल्यकालको स्मृति ब्युँताइदियो। ‘स्टेन एण्ड कूल’ पिजेरियामा पिज्जाको स्वादसँगै संस्थागत र सामाजिक विषयमा गहन विमर्श भयो। फिचर समाचारका लागि केही मुख्य बुँदाहरू सङ्ग्र्रह गरी फर्कँदा फुपुका छोरा बुद्धिप्रसाद र बुहारीसँगको छोटो भेटले पारिवारिक आत्मीयतालाई अझ प्रगाढ बनायो। सुरेन्द्र भाइको घर पुग्दा रातले निकै काँचुली फेरिसकेको थियो।
“कोपनहेगनका सङ्ग्रहालय र गल्लीहरू चहार्दा मैले यस सहरको मात्र नभई समग्र डेनमार्ककै प्राकृतिक, ऐतिहासिक र बौद्धिक वैभवलाई नजिकबाट चिन्ने अवसर पाएँ। मेरा अनुभूतिका केही त्यान्द्रा र सङ्ग्रहित तथ्यहरू अन्य जिज्ञासु यात्रीका लागि यहाँ सङ्क्षेपमा प्रस्तुत गर्दछु:
ऐतिहासिक पृष्ठभूमिका रेखाहरू:
कोपनहेगनको जग सन् १००० मा स्वेन फोर्कबर्ड प्रथम (स्वेन्ड त्भेस्केग) ले बसालेका थिए। रोचक तथ्य के छ भने, १२ औँ शताब्दीको मध्यसम्म यो सहर केवल ‘ह्वान’ नामक एउटा गुमनाम माछा मार्ने गाउँका रूपमा परिचित थियो। तर, सन् ११६७ मा विशप अब्सालोनको नेतृत्वमा आएपछि यसले काँचुली फेर्न थाल्यो।
आफ्नो सामरिक र उत्कृष्ट बन्दरगाहकै कारण यो सहर बिस्तारै उत्तरी युरोपको वाणिज्य र व्यापारको केन्द्रबिन्दु बन्यो। त्यसैले त यसको नाम ‘कोपनहेगन’ रहन गयो, जसको डेनिस भाषामा अर्थ हुन्छ— ‘व्यापारीहरूको बन्दरगाह’। यसरी एउटा सानो माछा मार्ने गाउँ आज विश्वकै समृद्ध र कलात्मक राजधानीका रूपमा उभिएको देख्दा समयको गति र विकासको भेलप्रति अचम्मित हुन पुगिन्छ।”
राष्ट्रिय सङ्ग्रहालयका अनुसार, सन् १२५४ देखि सहरको आकार ग्रहण गरेको कोपनहेगनलाई राजा क्रिस्टोफर तृतीयले राजधानी बनाएपछि यसको वास्तविक उत्थान सुरु भयो। इतिहासको कालखण्डमा यस सहरले सन् १७०० को बमबारी, १७२८ र १७९५ का भीषण आगलागी, एवं १८०७ को बेलायती आक्रमण जस्ता अनेकौँ बज्रपातहरू बेहोरेको रहेछ। १९ औँ शताब्दीको मध्यतिर सुस्ताएको यहाँको व्यापारले सन् १८९४ मा ‘करमुक्त बन्दरगाह’ को अवधारणासँगै पुनर्जीवन पायो। हाल मेयर लार्स विसको कुशल नेतृत्वमा यो सहर आधुनिकता र इतिहासको सङ्गम बनेको छ।
कोपनहेगन प्राकृतिक र मानव-निर्मित बन्दरगाहहरूको अनुपम स्वरूप हो। डेनमार्कले मासु, दुग्धजन्य पदार्थ, मेसिनरीदेखि मदिरा र चकलेटसम्मका विविध उत्पादनमार्फत विश्व बजारमा आफ्नो प्रभाव जमाएको छ। करिब ६० लाख जनसंख्या भएको यस देशमा वार्षिक लाखौँ पर्यटकहरूको पदचाप सुनिन्छ। यहाँ पहाडका टाकुरा त छैनन्, तर ग्रेटवेल्टको समुद्री किनारा, ऐतिहासिक दरबार, कलात्मक स्मारक र जीवन्त वास्तुकलाले त्यो अभावलाई पूर्ति गरिदिएका छन्। पहाड नभए पनि उन्नतिको शिखर चुमेको यो मुलुक ‘खुसी मानिसहरूको देश’ हो भन्ने कुरा यहाँका नागरिकको अनुहारमा देखिने चमकले पुष्टि गर्छ।
जीवन्त राजतन्त्रको ऐश्वर्य:
“सन् २०२४ मा महारानी मार्गरेथ द्वितीयाको गद्दी त्यागपछि फ्रेडरिक दशम (X) डेनमार्कको सिंहासनमा आरुढ भएका छन्। कोपनहेगनको मुटुमा अवस्थित ‘अमालियनबोर्ग’ दरबार नै उनको शाही निवास हो। अष्टकोणीय चौराहालाई घेरेर ठडिएका चार भव्य दरबारहरूले डेनिस साम्राज्यको ऐतिहासिक गरिमा र वास्तुकलाको उत्कर्षलाई मौन रूपमा प्रदर्शन गरिरहेका छन्। राजपरिवारको सचिवालय र निवाससमेत यही परिसरभित्र समेटिएको छ।
‘जिल्यान्ड’ र ‘अमागर’ टापुहरूमा फैलिएको यो सुन्दर नगरी कोपनहेगनको स्वच्छता यति पारदर्शी छ कि यहाँका नहरका पानीमा पनि मानिसहरू निसङ्कोच पौडी खेल्न सक्छन्। प्रकृतिको काख र सभ्यताको सङ्गममा उभिएको यो सहर साच्चै ईर्ष्यालाग्दो देखिन्छ।”
आस्था, संस्कृति र सामीप्यता:
“स्क्यान्डिनेभियाली वैभव र युरोपेली युनियनको महत्त्वपूर्ण हिस्सा, डेनमार्क— जहाँ ‘डेनिस क्रोनर’ को विनिमयसँगै आधुनिकताको ढुकढुकी चल्छ। रोचक पक्ष त के छ भने, यहाँका ८० प्रतिशत नागरिक धर्मप्रति असंलग्न (निरपेक्ष) छन्, तर डेनिस ग्रामीण भेगमा ठडिएका प्राचीन चर्चहरूले अझै पनि इसाई सभ्यताको सांस्कृतिक विरासतलाई जीवितै राखेका छन्। ११ औँ शताब्दीका लिखित दस्तावेजहरूबाट सुरु भएको यहाँको इतिहास १५ औँ शताब्दीमा राजा क्रिश्चियन चतुर्थको शासनकालमा कोपनहेगनलाई राजधानी घोषणा गरेसँगै स्वर्णकालमा प्रवेश गरेको देखिन्छ।
भौतिक पूर्वाधारको उत्कर्ष मानिने विशाल ‘ओरेसुन्ड पुल’ (सन् २०००) को निर्माणले डेनमार्कको राजधानी कोपनहेगन र स्विडेनको सहर माल्मोलाई एउटै सूत्रमा उनिदिएको छ। दुई देशका सहरहरू मिलेर एउटै महानगर बन्ने यो प्रक्रिया युरोपकै पहिलो र अनौठो प्रयोग हो। ५० किलोमिटरको साँघुरो घेराभित्र झन्डै २७ लाख मानिसको बसोबास रहेको यो क्षेत्र उत्तरी युरोपकै सबैभन्दा सघन र गतिशील मानव बस्तीका रूपमा परिचित छ।”
पर्यावरण र प्रगतिको सङ्गम:
“उत्कृष्ट जीवनशैलीको मानक बनेको कोपनहेगन विश्वकै अग्रणी वातावरणमैत्री सहर हो। यहाँका बासिन्दा दैनिक ११ लाख किलोमिटरको दूरी साइकलबाटै तय गर्छन्, जसले गर्दा सहरको भित्री बन्दरगाहको पानी पनि पौडी खेल्न मिल्ने गरी कञ्चन छ। विश्वविद्यालय, सैद्धान्तिक भौतिकशास्त्र संस्थान र करिब १५ लाख पुस्तक सङ्ग्रहित ‘रोयल पुस्तकालय’ जस्ता प्राज्ञिक धरोहरले यो सहरलाई बौद्धिक गन्तव्यको रूपमा उभ्याएका छन्।
सहरको सौन्दर्यमा क्रिश्चियन चतुर्थ र फ्रेडरिक पाँचौँको शासनकालमा निर्मित भव्य उद्यान, ताल र वास्तुकलाको ठूलो योगदान छ। विशेषगरी, क्रिश्चियन चतुर्थलाई कला र इतिहास दुवैका दृष्टिले डेनमार्कका ‘राष्ट्रपिता’ मानिन्छ। ऐतिहासिक रूपमा हेर्दा, १० औँ शताब्दीमा भाइकिङ राजाहरू ‘गोर्म द ओल्ड’ र ‘हाराल्ड ब्लुटुथ’ ले नै आधुनिक एकीकृत डेनमार्कको जग बसालेका थिए।
जुन ५ डेनमार्कका लागि गौरवमय ‘संविधान दिवस’ हो। रोचक त के छ भने, सन् १८४९ को पहिलो संविधान र १९५३ को वर्तमान संविधान दुवै एउटै मितिमा हस्ताक्षरित भएका थिए, जसलाई डेनिसहरू आज पनि उत्सवका रूपमा मनाउँछन्।”
स्वाद, प्रतीक र समृद्धि:
“डेनिस भान्साको शताब्दीऔँ पुरानो सान हो— ‘स्टेग्त फ्लेस्क’ (stegt flæsk)। अजमोदा (persille) को सस र आलुसँग पस्किइने यो कुरकुरे सुँगुरको मासु यहाँको राष्ट्रिय परिकार हो। त्यस्तै, आलु र जडीबुटीको मिश्रणबाट निर्मित ‘अक्वाभिट’ (Aquavit) अर्थात् ‘जीवन-जल’ यहाँको प्रिय राष्ट्रिय पेय हो, जसले हरेक उत्सवमा आत्मीयता भर्ने गर्छ।
प्रकृतिको प्रतिनिधित्व गर्दै ‘मार्गेराइट डेजी’ ले राष्ट्रिय फूलको रन्को छरेको छ भने, धवल र शान्त ‘मौन हंस’ (Mute Swan) राष्ट्रिय पक्षीका रूपमा सुशोभित छ। प्रसिद्ध कथाकार एन्डरसनको ‘द अग्ली डकलिङ’ को मुख्य पात्र यही हंस नै हो।
आर्थिक क्षितिजमा डेनमार्क एउटा बलियो खम्बाका रूपमा ठडिएको छ। विश्व बैंक (२०२४) को तथ्याङ्क अनुसार यहाँको प्रतिव्यक्ति आय करिब ७१,८५१ अमेरिकी डलर छ। सन् २०२५ को सुरुवाती त्रैमासिकमा केही उतारचढाव देखिए तापनि १०३,५१५ मिलियन युरोको राष्ट्रिय आय र ३.७ प्रतिशतको आर्थिक वृद्धिदरले डेनिस अर्थतन्त्रको मजबुत आधार र यहाँको उच्च जीवनस्तरलाई नै पुष्टि गर्छन्।”
कोपनहेगन केवल एउटा सहर होइन, यो त इतिहास र आधुनिकताको विशाल सङ्ग्रहालय हो। यहाँका टिभोली बगैँचा, ‘द लिटिल मर्मेड’ को सालिक, अमालियनबोर्ग र क्रिश्चियनबोर्ग दरबारका वैभवहरूले यात्रीलाई मुग्ध पार्छन्। रोसेनबोर्ग महल, ‘ब्ल्याक डायमण्ड’ पुस्तकालय, ओपेरा हाउस र न्याहभनका रङ्गीन किनारहरूले सहरलाई कलात्मक आभा दिएका छन्। फ्रेडरिक्सबर्ग दरबार, गेफियन फाउन्टेन र अनेकौँ प्राचीन चर्चदेखि ‘फ्रिटाउन क्रिश्चियानिया’ को स्वतन्त्र ओजसम्म यहाँ अनगिन्ती हेर्नलायक सम्पदाहरू छन्।
यसपालि डेनमार्क र स्विडेन जोड्ने विश्वकै लामोमध्येको एक ‘ओरेसुन्ड पुल’ लाई नजिकबाट नियाल्ने इच्छा भने अधुरै रह्यो। सडक र रेलमार्गलाई कृत्रिम टापुमार्फत जोड्ने यो इन्जिनियरिङको अद्भुत नमुना हेर्ने धोको बाँकी राख्दै हामी बिदाइको संघारमा उभियौँ। कोपनहेगनका यी अनगिन्ती सांस्कृतिक र प्राकृतिक खजानाहरूलाई पूर्ण रूपमा आँखामा सजाउन त समयको एउटा सानो टुक्रा पर्याप्त नहुने रहेछ। समयको पावन्दीले हामीलाई रोकेपछि, यो रागरञ्जित र जीवन्त सहरलाई मुटुभरि साचेर हामीले ओझेल पर्ने तरखर गर्यौँ।
अन्ततः, अगस्ट ३ को त्यो बिहान आइपुग्यो, जसले बिदाइको करुण धुन बोकेको थियो। भाइ, बुहारी र प्रियजनहरूसँग ओझेल पर्दा नयनका डिलहरू स्वतः रसाए। भाइ सुरेन्द्र र श्याम बाबुले बस स्टेसनसम्म पुर्याएर बिदा त गरे, तर हाम्रा आँखामा पुनः भेट हुने उत्कट ‘दिदृक्षा’ (हेर्ने इच्छा) र आत्मीयताको ‘तितीक्षा’ (धैर्य) स्पष्ट झल्किन्थ्यो। प्रेम, स्नेह र करुणाका अगाडि भूगोलका सिमारेखाहरू साच्चै अर्थहीन लाग्ने रहेछन्।
हाम्रो बसले बाल्टिक सागरको सुगठित किनारलाई छिचोल्दै गति लियो। ‘रोडवि हावन’ बाट ४५ मिनेटको जल-यात्रा (फेरी) पछि हामी जर्मनीको ‘हेइलिगन हावन’ अवतरण गर्यौँ। सन् १९६३ देखि नै ‘फेहमार्न साउन्ड ब्रिज’ ले यी टापुहरूलाई जोडेर यात्रालाई सुगम बनाएको रहेछ। रात्रिकालीन लुवेकको दृश्यपान गर्दै बिहानको झुल्के घामसँगै हामी ह्याम्बर्ग आइपुग्यौँ। ब्रेमेनमा अल्पाहार लिई, मुन्स्टर र आइन्डहोभन हुँदै हाम्रो यात्रा ‘आन्त्वेर्पेन’ मा आएर टुङ्गियो।
भौतिक रूपमा म अहिले बेल्जियममै छु, तर मन भने अझै कोपनहेगनका ती आत्मीय गल्लीहरूमा डुलिरहेको छ। भ्रातृत्वको त्यो कसिलो प्रेम-बन्धनले गर्दा आफूलाई बुद्धको देशनापछि निस्किएको कुनै परिब्राजक भिक्षु झैँ अनुभव गरिरहेको छु, जो यात्राबाट फर्किएर पनि सम्झनाको बन्धनबाट मुक्त हुन सकेको छैन।
