अनेसास बोस्टनद्वारा स्रष्टाहरू सम्मानित
जून ४, २०२६ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोस्टन च्याप्टरले ६ जना स्रष्टाहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।
 
उक्त पुरस्कार तथा सम्मान नवौँ अन्तर्राष्ट्रिय साहित्य सम्मेलनका अवसरमा नेपालबाट भाग लिएका स्रष्टाहरुलाई गरेको हो ।
पुरस्कृत हुनेमा अनेसास महिला समितिका निवर्तमान संयोजक तथा पुरस्कार समितिका सदस्य सन्ध्या पहाडीलाई ‘अनेसास बोस्टन अन्तर्राष्ट्रिय नारी तारा–२०२६’ द्वारा पुरस्कृत तथा सम्मान गरिएको हो ।
त्यसैगरी अनेसास बोस्टन अन्तर्राष्ट्रिय साहित्य–दीप सम्मान, २०२६द्वारा अनेसासका पूर्व अध्यक्ष राधेश्याम लेकाली, गोरखापत्रका पूर्व प्रधान सम्पादक साहित्यकार श्रीओम श्रेष्ठ रोदन, अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसी, लाई गरिएको छ ।
त्यस्तै नेपाली साहित्य समालोचना क्षेत्रमा प्रख्यात शान्तिमाया गिरीलाई अनेसास बोस्टन अन्तर्राष्ट्रिय साहित्य चिन्तक सम्मान, २०२६ र अनेसास संस्कृति समितिका उपसंयोजक शान्ता बस्नेतलाई अनेसास बोस्टन अन्तर्राष्ट्रिय सांस्कृतिक साधना सम्मान, २०२६ द्वारा सम्मान गरिएको छ ।
 
प्याबफोनको पशुपतिनाथ बुद्ध मन्दिरमा फाउन्डेसनको सभाहलमा भएको उक्त कार्यक्रममा  सम्मानित तथा पुरस्कृत स्रष्टाहरू तथा अन्य अतिथिहरूलाई फाउन्डेसनले स्वागत गरेको थियो ।अनेसास संस्कृति समितिका संयोजक महेश्वर पन्तले अनेसास बोस्टन च्याप्टरद्वारा यसअघि पनि यसरी स्रष्टाहरुलाई सम्मान तथा पुरस्कृत गरिएको कुरा बताउँदै यस कार्यलाई च्याप्टरले निरन्तरता दिने कुरा बताए ।
च्याप्टरका अध्यक्ष अबी गजुरेलले नेपाली वाङ्मयका स्वनामधन्य स्रष्टाहरुलाई सम्मान गर्न पाएकोमा अनेसास बोस्टन च्याप्टर स्वर्य सम्मानित हुनु हो भन्ने कुरा आफूलाई महसूस भएको बताए ।
त्यस्तै, अनेसासका निवर्तमान अध्यक्ष गोवर्धन पूजाले ‘अग्रजलाई सम्मान र अनुजलाई प्रोत्साहन’ हाम्रो परम्परा रहेको कुरा बताउँदै च्याप्टरलाई परम्पराको निरन्तरताका लागि शुभकामना र पुरस्कृत तथा सम्मानित हुने स्रष्टालाई बधाई दिएका थिए ।
अनेसास बोस्टन च्याप्टरका महासचिव प्रतीक रावलले सम्मानित तथा पुरस्कृत हुने स्रष्टाहरुलाई बधाई दिँदै यो परम्पराले निरन्तरता पाउने कुरामा विश्वस्त रहन आग्रह गरेका थिए ।
 
त्यसैगरी सम्मानित तथा पुरस्कृत हुने स्रष्टाहरूले प्रवासी भूमिमा आउँदा आफूहरू यसरी सम्मानित हुन पाएकोमा गौरवानुभूति भएको कुरा बताएका थिए ।
प्रतिकृया दिनुहोस्