बगेको चिनारी -प्रज्ञा ढुङ्गाना

बगेको चिनारी

                                           – प्रज्ञा ढुङ्गाना

म जन्मिएको घर बग्यो, पढेको विद्यालय,
खेलेको आँगन र हुर्केको गाउँ मात्र हैन,
सँगसँगै बग्यो मेरो बाल्यकाल,
जुन त्रिभुवन माविको कालो पाटीमा मेरा अक्षरका प्रारम्भ थिए,
सखीहरूसँग हातेमालो गरेका मिठा सम्झनाहरू,
साथै तिनै कयौँ बालसखाहरूका सुन्दर जीवनगाथा बगे।

पुस्तौँदेखि जोगाएर राखेको
मेरो जन्मथलो वा माइतीको
निमेषभरमै बग्यो सबैथोक।

त्यही ढुङ्गेको आँगन, जहाँ आमाको काखमा
मेरो पहिलो हाँसो गुञ्जिएको थियो,
त्यही कालिकास्थानको पिँढी,
जहाँ मेरा मास्टर बुबाका थाकेका पाइला
चेतना बाँडेर हरेक साँझ घर फर्किन्थे।

त्रिशूली बजार, ढुङ्गे र बिदुर नै मेरो प्रिय आँगन,
देवीघाट, मैलुङ, धुन्चे, स्याफ्रुबेँसी, रसुवागढी र बेत्रावती—
छरिएर बस्थे आफ्ना,
तर बगे भेलसँगै प्रिय कति सपनाहरू।

त्यही त्रिशूलीको पुल वारि र पारि गर्दै
हामी तीन दिदीबहिनी आफ्ना प्रिय साथीहरूसँग
फूलझैँ हाँस्थ्यौँ र
सधैँ खुसीले जून बन्थ्यौँ।
तर आज त्यस जमिनमा बगर बनेर
ती कठोर बालुवाका हुलले
हामीलाई हेरिरहेका छन्—एकनास।

आज त्यहाँ घर छैन, आँगन छैन, चुलोको धुवाँ छैन,
नागको तस्बिरजस्तै ढोकामा दह्रो गरी टाँसिएको
बुढी आमाको आशा छैन,

यतिबेला त आफ्नै दृष्टिमा समेत भरोसा छैन।

बाढीले माटो, बाटो र घरगोठ मात्र लगेन,
उसले हाम्रो वर्षौँको लगन, पसिना लग्यो,
हाम्रा सपना र कल्पना लग्यो,
हाम्रा पुर्खाका तस्बिर लग्यो,
हजुरबुबाले सुनाएका कथा लग्यो,
र आमाले जतन गरेर राखेका
ती पुराना सम्झनाहरू—सबैथोक लग्यो।

मेरो गाउँ बग्दा नदीको भेलसँगै बगेको
आफ्नो मुटुको एउटा टुक्रा गुमाएर
अपूर्ण बनिरहेको छु अहिले।

अब म कसरी फर्काऊँ त्यो घर?
कहाँ खोजूँ त्यो बाटो, बजार र स्कुल,
जुन नदीले नक्साबाटै मेटिदियो?
कहाँ भेटूँ विद्यालयको कक्षाकोठा र खाजाघर,
अनि ती बालसखाहरू?

मसँग अब घरको ठेगाना छैन,
तर यादहरूको खात छ।
मसँग गाउँको माटो छैन,
तर आँखाभरि गाउँको तस्बिर छ।

हे त्रिशूली!
भगवान्को दिव्य धाम गोसाइँकुण्डलाई साक्षी राखेर
तिमीले मेरो घर बगायौ,
मेरो गाउँबस्ती अनि आफन्त सबै बगायौ,
मेरो इतिहास नै बगायौ।

तर
मेरो मनभित्र बाँचेको मेरो गाउँ
कहिल्यै बग्ने छैन।

जब-जब आँखा बन्द गर्छु,
म त्यही आँगनमा पुग्छु,
आमाको आवाज सुन्छु,
बुबाको हात समाउँछु,
विद्यालयको सेरोफेरोमा
गुरुजन र साथीहरूसँग हुन्छु।

मेरो घर बग्यो, गाउँ बग्यो
अनि सिङ्गो इतिहास बग्यो,
तर म अझै कठोर भएर उभिएको छु—
आफ्नै जीवनको चिनारी लिएर।

यहाँ इँटा र ढुङ्गाभन्दा बलियो
सम्झना र माया छ, आफ्नोपन छ।
माटो र बस्ती बगे पनि
विश्वास बगेको छैन,
र कदापि बग्न दिने छैनौँ।

आँखामा आँसु बोकेर,
छातीमा गाउँ बोकेर,
गुञ्जाउने छौँ बुलन्द आवाज—
एउटा नयाँ घर बनाउने,
नयाँ बस्तीको सिर्जना गर्ने,
प्रिय ढुङ्गे र त्रिशूली,
अनि नुवाकोट र रसुवालाई हराभरा पार्ने
अठोट लिएर।

पन्छाउँदै बगेको चिनारी,
ल्याउने छौँ—
एक नयाँ बिहानी!!

ढुङ्गे, नुवाकोट हाल : काठमाडौँ

प्रतिकृया दिनुहोस्