(संस्मरण)     सान्ताक्लजः एउटा रमाइलो असत्य       #    भारती गौतम ।

सान्ताक्लजः एउटा रमाइलो असत्य

भारती गौतम 

       क्रिसमसको उज्यालो पृथ्वीमा झर्नु अघि, अनि अघिल्लो दिनले पूर्णरुपले विदालिनु अघि क्रिस्मसलाई चाडको रुपमा स्वीकार्ने सवैको घरमा सान्ता क्लज आउने गर्छ। कठालामा र हातका वाउलामा सेतो रंगभएको रातो कोट र रातै सुरुवाल  अनि सेतो हिमालको टुक्रो जस्तो कपाललाई त्यस्तै रातोमा सेतो टुप्पि निस्किएको टोपी लगाउने सान्ताक्लजले गणेशको जस्तो पेटलाई कालो पेटीले कसेको हुन्छ। हाम्रा प्राचीन विश्वामित्र र वाल्मिकीका जस्ता लामा दाह्रि जुंगा ले अनुहारमा कपास फक्रिएको जस्तो देखिन्छ भने गालामा स्याउ रातिएको हुन्छ।

सान्ताक्लजको घर उत्तरी ध्रुवमा पर्छ अनि सान्ताक्लज आफ्नी पत्नी संग एउटा ठूलो खेलाउना उद्योग चलाएर वर्षभरी व्यस्त रहन्छन्। खेलाउना उद्योगमा “आल्फ” भनिने हरियो लुगा लगाएका वाउन्ने जस्ता अनि विचित्रको कान भएका थुप्रै कामदारहरुले समयको परिवर्तन र त्यसै अनुसारको माग अनुरुपका खेलाउना तयार गर्छन्। क्रिसमस आए पछि सान्ताक्लजले संसारभरीका केटाकेटीको वर्षभरीको व्यवहार अनुसार खेलाउना उपहार छुट्ट्याएर आठवटा अनौठा“रेन डियर’ ले तानेको रथमा चढेर क्रिसमसको अघिल्लो रात सवै सुतेको बेला आगो ताप्ने “फायर प्लेस”को वाटो गरेर आफ्नो रातो कुम्लामा रहेका खेलाउना घरै पिच्छेका रुखमुनी राख्दै जान्छन्। आकाश मार्गगरी आएको सान्ताक्लजको रथवाट आउने घन्टीको आवाजले पनि घरका कसैको निद्रा विग्रिदैन। सान्ताक्लज चोर जस्तै सरक्क आएर रुखको छेउको टेवुलमा राखेको गिलासको दुध र प्लेटको कुकी टोकेर अर्को घरको वाटो लाग्छन्। चिमनी नभएको ठाउमा त झ्याल र ढोकाको सानो प्वाल बाट समेत गणेशको जस्तो आफ्नो गजधम्मे शरीर घर भित्र पसाउन सफल हुन्छन्।

संसारको कुनाकुनामा रहेका केटाकेटीको वर्षभरीको व्यवहारको मात्र सान्ताक्लजले हिसाव राख्‌ने हैन, त्यसको साथै ती सवै केटाकेटीको व्यक्तिगत माग र रहर समेत सान्ताक्लजलाई थाहा हुन्छ। त्यसो त वर्षै पिच्छे सान्ताक्लजलाई फोनगर्ने अनि चिठी पठाउने समेत व्यवस्था गरिएको हुन्छ। सवै जसो चिठि पढिन्छन् पनि। आफूलाई चाहिएको र मनपरेको खेलाउना माग्ने यो भन्दा सजिलो माध्यम के हुन सक्छ र?

क्रिसमसको राति र कसैले नदेख्‌नेगरी मात्र हो र सान्ताक्लज त क्रिसमस आउने केहि दिन अगाडी देखिनै चर्चहरुको ढोका वाहिर, मलहरुको झिलिमिलि सजाईएको सिंहासनमा ,दोकानहरुको ढोकामा जताततै नदेखिने त कहां हुन् र? कपासै कपासले निर्मित कृत्रिम हिउको पारगरेर लामो लामा तीनघन्टा कुरेपछि भोक र थकाईले लखतरान केटाकेटीहरु सान्ताको काखमा वसेर सान्ताको कानमा मनपरेका खेलाउनाका नाम साउती गर्दै फोटो खिच्ने क्रम हप्तौं देखि आंखा चिम्लिए पनि देखिने गरि जताततै हुन्छ। अढाई वर्ष देखि करीव सात वर्ष सम्मका केटाकेटी मध्येमा प्रायजसोले सान्तासंग कुनै न कुनै समयमा फोटो खिचेको  हुन्छ। साना साना केटाकेटीहरुमा ज्ञानीहुन होड शुरु हुन्छ।

“यसपाली मेरी छोरी रेचलले सान्तासंग वार्वी(पुतली)को घर मागेकी छ, किन्ने पैसा छैन के गर्ने के मलाई सारै चिन्ता लागेको छ”। अर्की छोरी सेराले त सान्तासंग झन् रोलरव्लेड मागेकि छ, सारै महंगो पर्छ’।

दुईदशक भन्दा पनि अगाडी टेक्ससको ड्यालसमा टेकेको लगत्तै  आफू वसेको एपार्टमेन्टको  छेउको एपार्टमेन्टमा वस्ने डार्लिङवाट सुनेको उपरोक्त वाक्यांश दिनभरी गर्दा पनि नमिलेको अलजेव्राको  हिसाव जस्तो लागेको थियो। फेरि यो कुरो क्रेडिटकार्डरुपी प्लास्टिकका साहुहरुको आविष्कारहुनु अघिको कुरो पनि हो। पैसा हातमा भए मात्र सामान किन्न सकिने, कति सत्य र व्यवहारिक लाग्ने यो वाक्य हास्यास्पद र असंभव लाग्नु अगाडीको कुरो हो।

पहिलो त आफूले सान्ताक्लज को नाम सुनेको नै झन्डै झन्डै पहिलो पटक( कुनै कुनै पुराना हिन्दी गीतमा बाहेक) थियो, त्यसपछि सान्ता संग मागेको खेलाउनालाई किन डारलिनले टाउको दुखाउनु पर्यो होला, भन्ने अलमल्ल शायद उसले मेरो अनुहारमा प्रष्टै देखि होला। मेरो अनभिज्ञतालाई हांसोमा नउडाई उसले मलाई “सान्ताक्लज”  को मीठो  दन्त्यकथा र यसको पत्यारिलो असत्य वारे थाहा दिईन्।

 त्यसवेला मेरा छोराछोरी निकै साना थिए, मैले त्यो सम्बन्धी केहि पनि सोच्नु पर्ने वेला भैसकेको थिएन। आमावावुले छोराछोरीलाई मनपर्ने खेलाउनाको सूची वनाउन लगाएर त्यसमध्येका मुख्य मुख्य खेलाउना किन्न महिनौ देखि पैसा साचेर , सकेसम्म उनीहरुको सूचीमा भएका खेलाउनाहरु किन्ने गर्दा रहेछन् अनि केटाकेटीले थाहा नपाउने गरी कतै लुकाएर क्रिसमसको राति केटाकेटी सुत्न गईसकेपछि कागजले वेरेर चोरले जस्तै सरक्क  गएर  झपक्क सजाएको रुखमुनी राखिदिदा रहेछन्। झिसमिसेमा केटाकेटी उठ्ता राति सान्ताक्लजले खेलाउना राखेछ भन्दै खुशीले हतार हतार खेलाउना  खोल्दा रहेछन्। कागजमा वेह्रिएका खेलाउनाको कुनामा सान्ताक्लजवाट रेचललाई, या अस्टिनलाई आदी लेखिने हुदा यसभित्रको वावुआमाको रहस्यमय भूमिका थाहा पाउन केटाकेटि झन्डै सात या आठ वर्ष लाग्दो रहेछ। आफूले भनेजति खेलाउना पाईयो भने  वर्षभरी आफू ज्ञानी भएछु, अनि भने भन्दा कम पाईयो भने आफू हुनु पर्ने भन्दा ज्ञानी हुन नसकेको विश्वासमा केटाकेटीहरु संतुष्ट हुने गर्दा रहेछन्।

“झगडा गर्यो भने झाक्रीले लान्छ”

“भनेको मानेन भने बनमान्छे आउछ, अनि आफूसंग राखेर तंलाई पनि बनमान्छे नै बनाउछ”

“त्यो सानो भाईलाई दुख दियो भने पराई आएर भाई चोर्छ”

यस्ता यस्ता त्रासको भरमा ज्ञानी हुन वाध्य वनाईएको समाजमा हुर्किएर आएको भएर हो या किन हो ज्ञानी भएन भने—– का त्रासका अनेका कथाहरु जति स्वाभाविक र सुनेका लाग्थे ज्ञानी भयो भने —- का सकारात्मक कथाहरु त्यतिनै पराई र नौला लाग्थे। ज्ञानी भएन भनेका सजाय सवैकेटाकेटीलाई कण्ठ हुने गर्थ्यो तर ज्ञानी भयो भनेका स्यावासीहरु या पुरस्कारहरुको चर्चा शायदै हुने भएर होला कसैलाई थाहा समेत नभएको।

अलिक ठूली हुदा सम्म पनि औंला चुस्ने वानी हटेन भनेर मलाई आमाले तल्लो गाउंका सन्तमान नाम गरेका विश्वकर्मा जातिका एकजना मोट्टा हट्टा कट्टा काला काला रंग भएका महानुभावको नाम लिने गरेर “फेरी पनि औंला चुसेको थाहा पाए भने तलका सन्तमानले ती औंला कर्दले काटि दिन्छन्” भन्ने गर्नु हुन्थ्यो। म त्यो तल्लो गांउको नाम संग समेत डराउथें। पछि सम्म साच्चै भनौ भने त अहिले सम्म पनि ती सन्तमानको नाम सुन्दा मेरो जीउका रौं भयले ठाडिन्छन्। त्यस्तै भोजपुरका एकजना कुम्हाले थरका मान्छे मेरी हजुरआमाको घरमा खै के कामले हो आउने गर्थे, उनले ठुलो झोला कुम्लो पारेर बोक्ने गरेको हुन्थ्यो। मैले रोएर झगडा गरेको बेला हजुर आमाले “ धेरै झगडा गर्यो भने ती कुम्हालेले सानो भाई त्यहि कुम्लो मा हालेर लान्छ’ भन्ने गर्नु हुन्थ्यो। ती कुम्हालेदाई त हैन पछि सम्म पनि जस्को त्यस्तो ठूलो कुम्लो देख्यो कि कसको सानो भाई त्यसमा होला जस्तो लाग्थ्यो।

अज्ञानी हुदा आईपर्ने सक्ने यस्ता त्रासका संस्मरणहरु पक्कै पनि मेरा मात्र नहोलान्,त्यस्तै ज्ञानी भयो भने के पाईन्छका संस्मरणको अभाव पनि शायद मेरो मात्र नहोला। राम्रोको कदर र नराम्रो को सजायमा राम्रोलाई स्वाभाविकरुपमा स्वीकारगरेर नराम्रोको मात्र पछि लाग्ने संस्कारमा हुर्किएका धेरैजसो हामीलाई कहिले काहि त आफ्नो वालकपन प्रति सारै दया लागेर आउछ, माया लागेर आउछ। असत्य झांक्रिको कुरो भन्दा असत्य सान्ताक्लज को कुरोवाट उपहारको लोभले सहि, ज्ञानी वन्ने हौसला अरु वढ्ने थियो कि, अहिले आएर  असल मान्छे बन्नमा सहयोग पुग्थ्यो कि जस्तो पनि बेला वेला नलाग्ने हैन। असत्य त्रासका परिक्षेद भयले स्विकारेजस्ते, वुझपचाएर सान्ताक्लजको कथालाई खुशीले स्वीकारीदिन्थें।

जे सुकै नाम दिए पनि सान्ताक्लजलाई कतै सेन्ट निकोलोस, कतै फादर अफ क्रिसमस, कतै क्रिसमस स्पिरिट जे भने पनि, अनि सान्ताक्लजको थालनी जसरी भए  पनि , सान्ताक्लज वारेको सारा विश्वासहरु, अविश्वास या अन्ध विश्चास जे भने पनि हरेक क्रिसमसको राती घर घरमा सजाएर उज्यालिएका रुखहरुमुनि कागजले बेरेर राखिएका खातका खात खेलाउना र अन्य उपहार खोलेर आफूले चिताएको र चाहेको खेलाउना पाउदा उज्यालिएको केटाकेटीको अनुहारमा चम्किएको संतुष्टीको मूल्य सान्ताक्लजको रमाईलो असत्य नै हो भने यस्तो अमूल्य असत्य सधैं रहिरहोस्।

 

# फ्लोरिडा, अमेरिका

प्रतिकृया दिनुहोस्