(कविता) नारी – पद्मा लिंखा मगर
(कविता)
नारी
– पद्मा लिंखा मगर
समुद्र हुन् नारी
जति डुबे पनि हुन्छ
उत्रिए पनि हुन्छ,
धर्ती हुन् नारी
जति टेके पनि हुन्छ
उफ्रिए पनि हुन्छ
आमा हुन् नारी
जति चुसे पनि हुन्छ ।
अनमोल छ
दुई अक्षरको ‘आमा’ शब्द
तर कहिल्यै बन्न सकेन अनमोल
उही दुई अक्षरको
‘नारी’ शब्द
किनकि नारी शब्द एकाएक
चार अक्षर ‘आइमाई’मा रुपान्तरण भयो !
उखान धेरै बने–
पँधेरे आइमाई गफ
आइमाईको किल्किने
अबदेखि गुन्यू लगाएर हिँड
आदि आदि.. !
तर कहिल्यै सोचिएन
जन्मिनसाथ नव–शिशुलाई
आमाकै गुन्यूको एक टुक्रामा पोको पारेर
छातीमा टाँस्दै मातृ वात्सल्य पोखेको
सोचिएन त्यही गुन्यूले
आफ्नी आमाको इज्जत राखेको !
आमाले लगाउने गुन्यू
कहिले सिंहदरबार पुग्छ
व्यङ्ग्यको साधन बनेर,
आमाले लगाउने भित्री वस्त्र
यत्रतत्र उपहासमा छरिन्छन्
गाईजात्रा बनेर,
आखिर आमामा सम्मान छ भने
आमाको इज्जत ढाक्ने वस्त्रमा
किन यति धेरै उपहास !
खबरदार बलात्कारीहरू !
तिमीले बलात्कार गर्ने शिकार
तिम्रै आमाको वर्गमा पर्छिन्
श्रीमतीलाई कमजोर ठानी
पुरुषत्व देखाउने श्रीमानहरू !
श्रीमती आमाजस्तै हुन् |
साँच्चै मन उघारौँ–
देवताका ठाउँ ओगटेका
सासूआमाहरू !
यो नभुलौँ
बुहारी आफ्नै वर्गमा पर्छिन्,
लक्ष्मीको ठाउँ ओगटेका
नन्दआमाजूहरू !
आफूलाई उही ठाउँमा राखेर हेरौँ,
पुरुषले मात्र होइन
नारीको सम्मान पहिले
नारीले नै गर्न सिकौँ
बल्ल पुरुषलाई औँल्याउन थालौँ
आत्मासम्मान नै महासम्मान हो
यसैमा नारीको पूर्णता भेटिन्छ !
न्यूयोर्क