अनेसास डीसी च्याप्टरले मनायो देवकोटा जयन्ती

अनेसास डीसी च्याप्टरले मनायो देवकोटा जयन्ती

 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डीसी च्याप्टरले देवकोटा जयन्ती मनाएको छ । अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा देवकोटामा समर्पित कवितावाचन तथा देवकोटाको जीवनी र काव्ययात्राको परिचर्चा भएको आयोजक संस्थाका महासचिव नीलकण्ठ सुवेदीले बताएका छन् ।आर्लिङ्टन, भर्जिनियामा रहेको केन्द्रीय पुस्तकालयको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा नेपाली अमेरिकन सामुदायिक केन्द्र, महिला समिति र जुनियरसमिति सहयोगी संस्थाका रूपमा रहेका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि होमनाथ सुवेदीले अब नयाँ पुस्ताले संस्थालाई गति दिनुपर्ने, अनेसासको नयाँ भवन निर्माण गर्नुपर्ने धारणा राख्दै उनले भने, डायस्पोराहरूले नेपाली संस्कृतिको समृध्दि हुने मूर्तिकला तथा चित्रकलासम्बन्धी व्यवसाय संचालन गर्न सकिन्छ । डायस्पोरा जन्मदेखि नै प्रारभ्भ हुने भएकाले यसको विस्तृत व्याख्या हुन जरुरी छ ।

कार्यक्रममा डा. विष्णु घिमिरेले देवकोटाको जीवनी तथा साहित्यिक प्रवृत्ति र योगदानको समीक्षा गरेका थिए । कार्यक्रममा बोल्दै विशिष्ट साहित्यकार कृष्ण धरावासीले देवकोटाको शाकुन्तल महाकाव्यको तुलनामा अहिलेसम्म अरू कुनै काव्य आउन नसकेको धारणा राखे भने अनेसासका पूर्व केन्द्रीय अध्यक्ष भीम रेग्मी पुरस्कार समितिका अध्यक्ष प्रा डा गोपी उप्रेती अनेसास बिओटीका उपाध्यक्ष पुरु सुवेदी लगायत व्यक्तित्वहरूले देवकोटाको साहित्यिक योगदानको चर्चा गर्दै कवितावाचन गरे ।

अनेसासका केन्द्रीय अध्यक्ष गोवर्ध्दन पूजाले पठाएको देवकोटाप्रति श्रध्दाञ्जलि एवं कार्यक्रमको सफलताको शुभका

मना पत्र विओटीका उपाध्यक्ष पुरू सुवेदीले पढेर सुनाएका थिए ।

साहित्यकार सुदीपभद्र खनालले कार्यक्रममा प्रस्तुत कविताहरूमाथि समीक्षा गर्नुका साथै कवितालेखनकला र नियमबारे समीक्षा गरेका थिए । कार्यक्रमको अन्तमा बोल्दै कावा अध्यक्ष कवीन्द्र सिटौलाले सम्पूर्ण सहभागी व्यक्ति र संस्थाहरूलाई धन्यवाद ज्ञापन गरेका थिए भने संस्थाका महासचिव नीलकण्ठ सुवेदीले कार्यक्रम संचालन गरेका थिए ।

सुनिता खत्रीले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा समाजसेवी चन्द्र लामाले देवकोटाप्रति श्रध्दाञ्जलि व्यक्त गर्दै अमेरिकन आइडलमा भाग लिएर जोडदार प्रस्तुति गरिरहेकी परिजिता वास्तोलालाई सबैले भोट दिएर जिताउन आग्रहसमेत गरे भने नेपाली अमेरिकन सामुदायिक केन्द्र बिओटीका अध्यक्ष एवम् अनेसास डीसी च्याप्टरका सल्लाहकार अरुण रूपाखेतीले मन्तव्यसहित कवितावाचन गरे । कवितावाचन गर्ने कवि तथा कवयित्रीहरूमा ए. एन.एसका पूर्व अध्यक्ष प्रेम सङ्ग्रौला, पुष्पा खनाल, शकुन्तला अधिकारी, आरती सिग्देल पराजुली ,सुनिता खत्री, शान्ता पौडेल सुवेदी, जगन्नाथ पौडेल लगायत थिए भने नेपाली अमेरिकन सामुदायिक केन्द्र जुनियरका संस्कृति लामा, दिलासा मिश्र, कार्लिसा प्रधान, विनायक भुसाल, गगन प्रधान र वर्षा पराजुली थिए । कार्यक्रमलाई इनेप्लिज डट कम र डीसी नेपाल डट कमले प्रत्यक्ष प्रसारण गरेका थिए ।
यस लक्ष्मीजयन्ती तथा कवितावाचन कार्यक्रममा न्याकमा रहेका जुनियर भाइबहिनीहरूलाई कविता वा अन्य सृजना प्रस्तुत गर्ने विशेष अवसर दिइएको आयोजक संस्थाका कावा अध्यक्ष कवीन्द्र सिटौलाले बताए । नेपाली साहित्यको समुत्थानका लागि विविध सृजनात्मक कार्यक्रम गर्दै आइरहेको अनेसास मेट्रो च्याप्टरले अन्य सृजनात्मक कार्यक्रमहरू आयोजना गर्दै जाने कुरा बताइएको छ । लक्ष्मीजयन्तीको बेला अधिकांश नेपालीहरू नेपाल प्रस्थान गर्ने हुनाले कार्यक्रमा उल्लेख्य सहभागिता गराउन समस्या हुनसक्ने भएकाले सो कार्यक्रमलाई अनुकूलता हेरी आयोजना गरिएको बताइएको छ । कार्यक्रममा डीसी मेट्रो क्षेत्रमा रहनुहुने अधिकांश स्रष्टा र साहित्यप्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्