कोशकार ढुङ्गानालाई साझा पुरस्कार प्रदान

साझा प्रकाशनले आफ्नो स्थापना दिवसको अवसर पारेर कोशकार प्रा. नीलमणि ढुङ्गानालाई २०७८ सालको ‘साझा पुरस्कार’ अर्पण गरेको छ ।

कोशकार प्राध्यापक ढुङ्गानालाई ‘व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश’का लागि ५१ हजार रुपैयाँ नगद राशिसहित प्रमाणपत्र समर्पण गरिएको हो ।

कार्यक्रमका विशेष अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले कोशकार ढुङ्गानालाई पुरस्कार प्रदान गर्दै साझा प्रकाशनको निरन्तरता र विकासका लागि मन्त्रालयले पूरापूर सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे । प्रकाशनलाई अझै जीवन्त र क्रियाशील बनाउँदै साझाको साख गुम्न नदिन आफूले हरसम्भव सहयोग गर्ने उनले बताए ।

कार्यक्रममा डा. दामोदर पुडासैनी किशोरको नियात्रासङ्ग्रह ‘डोल्पा ओ डोल्पा’ र श्रीबाबु कार्कीको निबन्धसङ्ग्रह ‘सन्दिग्ध शताब्दी’को लोकार्पण गरियो । उक्त दुवै कृति साझा प्रकाशनले प्रकाशनमा ल्याएको हो ।
साझा प्रकाशनका महाप्रबन्धक प्रह्लाद पोखरेलले साझाले साहित्यिक उन्नयनका लागि जे जस्तो अवस्था भए पनि काम गर्दै आएको बताए ।
कार्यक्रममा कोशकार ढुङ्गानाका बारेमा प्रा.डा. माधवप्रसाद पोखरेलले बोलेका थिए भने पुडासैनी र कार्कीको पुस्तकमाथि प्रा.डा. रमेश भट्टराई र प्रमोद प्रधानले बोलेका थिए ।
कार्यक्रममा साझाका अध्यक्ष डा. विजय सुब्बा, प्रा. नीलमणि ढुङ्गाना, डा. दामोदर पुडासैनी किशोर र श्रीबाबु कार्कीले पनि बोलेका थिए ।

प्रतिकृया दिनुहोस्