चिठ्ठीको चिता
प्यारी अनुराधा !
आज तीनसय एकचालिसौँ चिठ्ठी लेखिरहेछु । तिमीसँग संवाद टुटेपछि यो लगभग एक वर्षको दौरानमा तिम्रो जीवनमा केके उतारचढाव आए, कति ऋतु फेरिए, कति पतझड झरे अनि कति मुस्कान फुले त्यो म जान्दिनँ तर यो समयावधिमा म एउटै यामबाट गुज्रिरहेको छु । उही आलस्य बिहान, उदास दिन र बेचैन र व्यग्र रात । यो पालिको वसन्त कसरी आयो र गयो मलाई कुनै हेक्का भएन, कुन कुन चाड कसरी कसरी आएर कसरी फर्के पत्तो भएन । यो वर्ष हिउँ कति पर्यो, जाडो कति बढ्यो, तापक्रम कति घटबढ भयो मलाई कुनै परिवर्तन बोध भएन । मैले सबैथोक बिर्सिएँ साथीभाइ, रसरङ्ग, घुमघाम सबै सबै । कहिल्यै नबिर्सेको एउटा चिज छ भने त्यो हो गेटमा रहेको पत्र-मन्जुषा खोल्नु र तिम्रो चिठ्ठी छ कि भनेर खोलेर हेर्नु। मान्छेमा जब जब आस र पर्खाइ मरणासन्न अवस्थामा पुग्छ तब जिन्दगी मह निचोरेर फालेको मैनको खोस्टोजस्तो स्वादहीन बनिदिँदो रहेछ, जुन पटक्कै लाग्दैन कि कुनैबेला महैमहको रसिलो चाका थियो ।
…अब त चिठ्ठीका खात यति ठूलो भइसक्यो कि मरिहालेँ भने पनि मलाई जलाउन दाउरा खोजिरहन पर्दैन कागजकै चिता तयार हुन्छ। घरिघरि सोच्छु म कति भाग्यमानी ! तिम्रा नाममा लेखिएका हरफहरुबाट जल्नेछु, अक्षरहरु मेरा मलामी जानेछन्, तिम्रो र मेरो निसानी प्रेमले दागबत्ती दिनेछ र तिमी प्रतिको विश्वासले काजकिरिया गर्नेछ र सम्झनाले बरखी बारेर बस्ने छ अनि अवसान हुनेछ एउटा कतै नलेखिएको प्रेमकथा ।
अब त चिठ्ठीका खात यति ठूलो भइसक्यो कि मरिहालेँ भने पनि मलाई जलाउन दाउरा खोजिरहन पर्दैन कागजकै चिता तयार हुन्छ। घरिघरि सोच्छु म कति भाग्यमानी ! तिम्रा नाममा लेखिएका हरफहरुबाट जल्नेछु, अक्षरहरु मेरा मलामी जानेछन्, तिम्रो र मेरो निसानी प्रेमले दागबत्ती दिनेछ र तिमी प्रतिको विश्वासले काजकिरिया गर्नेछ र सम्झनाले बरखी बारेर बस्ने छ अनि अवसान हुनेछ एउटा कतै नलेखिएको प्रेमकथा । त्यतिमात्रै होइन मलाई अर्को खुसी के पनि लाग्छ भने मेरो निधनपछि `यो जीवन त के सात जुनी तिम्रो हुँ´ भन्ने, मेरी हुन नसकेकी मेरी सबैभन्दा प्रिय मान्छे विधवा हुने छैनौ यो जुनिमा। हुन त मैले तिमीलाई पहिल्यै भनिसकेको पनि छु यदि हाम्रो बिहे भयो भने र म तिमीभन्दा पहिल्यै मरेँ भने मेरो नाममा चुरापोते लगाउन नछाड्नू र सेतो कपडा पनि नलगाउनू किनकि जीवनको रँग त मैले तिमीबाट पाएको हुँ, रंग त तिम्रो अनुपस्थितिमा मैले गुमाउछु। तिमीलाई रंगीन बनाउनू र सदाबहार रंगीन देख्नू मेरो एउटै मात्र उद्देश्य र खुसी हो ।
प्रिय अनु,
जब तिम्रा नाममा रजिष्टरी गरी पठाएका दर्जनौँ चिठ्ठीहरू प्रापक नभेटिएको भनेर फिर्ता आए तब प्रत्येक रात सोच्छु अब किन लेखूँ म ? कसलाई सम्बोधन गरेर लेखूँ ? के सम्बोधन गरेर लेखूँ ? औचित्य के ? लेखक र पाठक स्वयं आफू हुनलाई किन लेखिरहनु पर्यो ? यो भन्दा अगाडिका तीनसय चालिसवटा चिठ्ठी यसै खाटमुनि जम्मा गरेर राखेको छु । रीसमा च्यातचुत पारौँ झैँ नभएको पनि होइन, ठिहिर्याउने रातमा आगो सल्काएर वियोगको चिसोले कठ्याङ्रिएको मुटु सेकाऊँ र जमेको रगतलाई संचार गरूँ जस्तो नभएको पनि होइन तर पछि सोचेँ यस्तै चिठी लेख्दालेख्दै कुनै रात हठात मरेँ भने यो परदेशमा मेरा साथीभाइ र आफन्तलाई झन्झट त नहोस् । मेरो मृत्युको कारण मेरो आफ्नै प्रेम हो र आज पनि तिम्रो हातमा पर्दैन भन्ने जान्दाजान्दै पनि लेख्दैछु किनकि यो लेख्नु तिमीसँगको संवाद हो । तिमीलाई थाहा थियो त प्रिय, म त लाटो थिएँ तिमीले मायाँले बोलाई बोलाई बाचाल बनाएकी हौ, म बहिरो थिएँ, तिम्रो मृदुल वाणीले श्रवणियता ग्रहण गरेको हूँ , म त अन्धो थिएँ तिमीले `संसार कति सुन्दर छ एकचोटि हेर त´ भनेपछि मात्र देख्न सक्ने भएको हूँ र मेरो सुन्दर संसारको ढोका खोल्ने तिमी एकमात्र साँचो थियौ, तिमी हरायौ मेरो सन्सार बन्द भयो। म त आफ्नै बन्द जिन्दगीको मूलढोका बाहिर फकिरझैँ अलक मागिरहेछु।
जब तिमी र म सम्वादहीनताको सिकार भयौँ तब अक्षरहरुको ढुङ्गामा चढेर निर्जन र असिमित सागरमा एक्लो नाउझैँ तिमीलाई खोज्न भौँतारिनु नियति बनेको छ । आखिर को सँग बोलूँ म ? कसले बुझ्छ मेरो भाषा ? अझ मनको भाषा बुझ्ने त झन् तिमीबाहेक को छ र अर्को ? यो मरुभूमितुल्य ठाउँमा बिहान तिम्रो याद आउथ्यो र मलाई आलारामको जरुरत पर्थेन, दिनको एकचोटि तिम्रो तस्वीर हेरेर तिम्रा आँखाका दर्पणमा आफूलाई हेर्थेँ र मलाई ऐनाको जरुरत पर्थेन र तिम्रा सुमधुर स्वरको गुन्जन कानमा प्रतिध्वनित भएपछि दिनभर कानमा त्यही गुन्जिरहन्थ्यो र मलाई कुनै संगीतको जरुरत हुन्थेन तर यो सब सिलसिला तोडिएको छ मानौँ तिमीलाई मसँग जोड्ने तार छुटेको छ, तिम्रो र मेरो मनको धरातल जोड्ने पुल भाँचिएको छ। सँगै काम गर्ने साथीहरु म एक्लै मुस्कुराएको देखेर सोध्थे मलाई `ओए पागल भइस् कि क्या हो एक्लै हाँस्छस् त !’
हो तिमीले दिएको अनुपम उपहारले एक्लै हाँस्ने भएको छु । के गर्नु ? जति ठूलो पीरमा पनि मान्छे लामो समयसम्म रोइरहन सक्दो रहेनछ। रुनु त एउटा आवेग न हो, आवेग स्खलित भइसकेपछि बारबार रोइरहन सक्दैन रहेछ मान्छे । त्यसैले रुन छाडेको त धेरै भयो । जब मान्छे आँसु बगाउन असमर्थ हुन्छ नि तब एक्लै हाँस्न थाल्दोरहेछ। तर याद राख्नू यसरी हाँस्नु एकान्तमा रुनुभन्दा हजारौं गुणा भयानक हुन्छ। हाँसोभित्रको वेदनाको मापन सायदै आँसुको आयतनसँग दाँज्न सकिएला । जब आँत जलेर खरानी हुन्छ, सीमसारजस्ता लाग्ने आँखाहरू मरुभूमिमा परिणत हुन्छन्, जब शरीरले कुनै दुखाइ महसुस गर्ने चेत गुमाइसकेको हुन्छ, जब संवेदनाले संवेदनालाई छुन सक्दैन तब मान्छे रुन छाडेर हाँस्ने हुन्छ । कहिलेकाहीँ त म एकाङ्किपनको गहिरो र अँध्यारो इनारभित्र खसेको छुजस्तो लाग्छ र तिमी बचाउन आउछ्यौ भन्ने आसको त्यान्द्रोमा सिङ्गुरी खेल्दै यी कठिनतम घडीहरू व्यतीत गर्दै छु । अरु म सँग के नै उपाय छ र ?
जब अक्षरहरु मतिर फर्केर मुस्कुराउछन् ती दुरुस्त तिमी जस्तै सुन्दर देखिन्छन् । यही कापीको पानालाई तिम्रो अनुहार सम्झेर हजार चोटि चुमेको छु। कति चोटि लेखिसकेको चिठ्ठी छातीमा टाँसेर आँसु बगाउँदा कागज भिजेर डल्लो परेको छ । कास कुनै यन्त्र हुँदो हो त पीडा नाप्ने, कुनै माध्यम हुँदो हो सम्झनाको डेन्सिटी नाप्ने, एक्सरे र इसिजिमा जस्तै देखिँदो हो त क्षतविक्षत मुटु, पठाइदिने थिएँ पार्सल बनाएर यिनै चिठ्ठीहरूसँग र पत्याउँदी हौ म कुन हालतमा छु, कति सङ्क्रमित छु तिम्रो प्रेमबाट भनेर ।
म जब पानामा केही लेख्न खोजिरहेको हुन्छु तब मेरा मानसपटलमा तिम्रो तस्बिर मुस्कुराइरहेको हुन्छ । हुन त मैले लेखेका या मैले महसुस गरेका कुनै पनि कुरा तिमीसँग सम्प्रेषित हुँदैनन् तर पनि कमसेकम यो लेख्ने क्षणमा मलाई यति कुराको भ्रमले नै सही सकुन मिल्छ कि तिमीले मलाई पढिरहेको छ्यौ, सुनिरहेकी छ्यौ र जब मेरो कलमको निव कापीका पानामा दौडिरहेको हुन्छ तब लाग्छ तिमीले मेरो टाउको सुम्सुमाइरहेकी छ्यौ ।
जब अक्षरहरु मतिर फर्केर मुस्कुराउछन् ती दुरुस्त तिमी जस्तै सुन्दर देखिन्छन् । यही कापीको पानालाई तिम्रो अनुहार सम्झेर हजार चोटि चुमेको छु। कति चोटि लेखिसकेको चिठ्ठी छातीमा टाँसेर आँसु बगाउँदा कागज भिजेर डल्लो परेको छ । कास कुनै यन्त्र हुँदो हो त पीडा नाप्ने, कुनै माध्यम हुँदो हो सम्झनाको डेन्सिटी नाप्ने, एक्सरे र इसिजिमा जस्तै देखिँदो हो त क्षतविक्षत मुटु, पठाइदिने थिएँ पार्सल बनाएर यिनै चिठ्ठीहरूसँग र पत्याउँदी हौ म कुन हालतमा छु, कति सङ्क्रमित छु तिम्रो प्रेमबाट भनेर ।
विश्वास गर, यो कलमले यी कापीका पानालाई स्पर्श गर्न छाड्दाको दिन तिमी मलाई स्पर्श गर्न छाड्नेछ्यौ तब म आफूलाई लासमा रूपान्तरण गरिसकेको हुनेछु । जब मैले पठाएका चिठ्ठी तिमीसम्म पुग्न छाडे, जब हाम्रो संचारको माध्यम टुट्यो तब कतिचोटि लागिरह्यो जूनसँग सोधौँ तिम्रो ठेगाना र हावाको पटुकीमा घुसारेर पठाइदिउँ तिम्रो शहरतिर । जब सलल्ल बगेको समुद्र देख्छु यस्तो लाग्छ यो समुद्रले त संसारलाई घेरेको छ नि यसमै डुङ्गा बनाएर ! त्यसमै तिमीले दिएको औँठी चिनो राखेर पठाउँ जुन कुनै न कुनै दिन पुग्नेछ तिम्रो आँगन तर जब वास्तविकतामा ओर्लन्छु तब मेरा खोक्रा कल्पना घाइते घाइते भएर भुईंमा पछारिन्छन् र म तिनलाई सान्त्वनाको मलमपट्टी लगाउँदै आफ्नो डाक्टर आफैँ हुन्छु र आशाको डेथ बेडमा आफैँ कुरुवा बस्छु आफ्नै ।
…सायद त्यही कालो टिकाको जादु हुनुपर्छ ममाथि अहिलेसम्म कसैको नजर परेको छैन तर तिमीले गाजलको टीका लगाइदिँदा मैले पनि रातो सिन्दुर तिम्रो सिउँदोमा लगाइदिँदै त्यसै भन्न पाएको भए सायद तिमीमाथि पनि कसैको नजर पर्थेन कि ?
प्यारी अनुराधा,
तिमी त म एकछिन नबोली बसेँ भने अत्तालिने मान्छे, छटपटिने मान्छे ! आफू एकछिन रिसाउँदा एकछिन म नबोली बसेँ भने आफैँ माफी माग्दै बोलाउन आउने मान्छे, दुई दिन बोली सुन्न नपाए संसार आवाजहीन भयो कि म बहिरी भएँ भन्ने मान्छे, एकदिन मैले नबोलाए-नहँसाए मैले मुस्कुराउन बिर्सें भन्दै आँखा भिजाउने मान्छे कसरी सकिरहेकी छौ यतिका लामो समय मलाई नसुनी बसिरहन ? तिम्रा कान सद्दे त छन् ? आँखा सद्दे त छन् ? तिम्रो मुटु र मस्तिष्कले काम त गरिरहेको छ ? के तिमी उस्तै छ्यौ, जस्तो तिमीसँग छुट्टिने साँझ एयरपोर्टमा अन्तिम चोटि देखेको थिएँ ? एयरपोर्टको आँखा तिरमिराउने उज्यालोमा तिमीलाई चुक घोप्टाएजस्तो अँध्यारो अनुहारमा देख्दा मेरो मन कति छटपटिएको थियो तिमीलाई के थाहा ? डिपार्चर कक्षको अघिल्तिर आफूलाई मेरो अँगालोबाट छुटाउँदै आफ्नो आँखाको गाजलको कालो टीका लगाइदिँदै भनेकी थियौ `तिमीमाथि कसैको नजर नपरोस्´ । सायद त्यही कालो टिकाको जादु हुनुपर्छ ममाथि अहिलेसम्म कसैको नजर परेको छैन तर तिमीले गाजलको टीका लगाइदिँदा मैले पनि रातो सिन्दुर तिम्रो सिउँदोमा लगाइदिँदै त्यसै भन्न पाएको भए सायद तिमीमाथि पनि कसैको नजर पर्थेन कि ?
…तिमीलाई नसुनी रात पर्दैन, निद्रा लाग्दैन भन्ने मेरी प्रियतमा तिम्रो रात कस्तो भएको छ ? यसको मतलव तिम्रो रात नै भएको छैन ? सुतेकी पनि छैनौ ? यसको मतलव मलाई सपनामासमेत भेट्न छाडिसक्यौ ?
भन न अनु ! तिम्रो मुस्कान मुर्झाएको त छैन नि ? मलाई यत्ति मात्र विश्वास दिलाउ कि तिमी उस्तै छ्यौ, सकुशल र खुसी छ्यौ। बिहान सूर्यतिर फर्केर मुस्कुराउने सूर्यमुखीझैँ तिमीलाई नदेखी उज्यालो हुन्न भन्ने मान्छे आजकल तिम्रो दिन कसरी सुरु हुने गरेको छ ? तिम्रा परेलाका पर्दा नउघ्रेसम्म मेरो दिन उघ्रिँदैनथ्यो । तिम्रो मुस्कानको उज्यालो नछरिएसम्म मेरो घाम लाग्दैनथ्यो । तिमीलाई नभेटेको दिन जूनले घुम्टो ओडेर बादलको बुर्काभित्र आफ्नो अनुहार लुकाएजस्तो लाग्थ्यो। तिमीलाई थाहा छ त अनु ! तिमी मेरो कमजोरी हौ, सँगसँगै तिमी मेरो शक्ति पनि हौ । मेरो कमजोरी र शक्तिको फ्युजन हुन्छ तब म मा एउटा शक्ति सञ्चार हुन्छ अनि म बाँचेको छु भन्ने अनुभूत हुन्छ नत्र कैयौँ रात म आफैँलाई चिमोटेर निर्क्यौल गर्छु म ज्युँदो छु कि मरिसकेँ । तिमीलाई नसुनी रात पर्दैन, निद्रा लाग्दैन भन्ने मेरी प्रियतमा तिम्रो रात कस्तो भएको छ ? यसको मतलव तिम्रो रात नै भएको छैन ? सुतेकी पनि छैनौ ? यसको मतलव मलाई सपनामासमेत भेट्न छाडिसक्यौ ?
तिमीलाई याद छ अनु ! हामी कति कुरा गर्थ्यौ: कहिले सपनाका, कहिले विपनाका, कहिले मिलनका कहिले बियोगका, कहिले विगतका कहिले आगतका, कहिले रहरका, कहिले कहरका । कस्तो मूर्ख हुने रहेछ मान्छे प्रेममा। उनीहरूलाई लाग्छ कि समय सधैँ उनीहरूकै अनुसार चल्छ, ग्रह र नक्षत्रहरू सबै उनीहरूकै पक्षपोषण गरिरहेका हुन्छन्, जीवनको गति घडीझैँ एकैनाश एउटै गतिमा चलिरहन्छ सायद त्यही मुर्खता र अन्धोपनभित्रै जीवनको मिठास हुँदोरहेछ नत्र त मान्छेले सुखद पलको अनुभूति नै गर्न सक्थेन होला । आगतको डर, बियोगको त्रास, भवितव्यको आशंका मनमा लिइरह्यो भने त प्रत्यक पल चिन्ताको चितामा जलिरहन्थ्यो होला ।
प्रिय अनु, बडो असह्य भइरहेछ, काँडैकाँडाको शैयामा सुतेजस्तो, वाँणैवाँणले छाती छियाछिया भएजस्तो । न सजिलोसँग प्राण जान्छ न चैनले जिउन सकिन्छ। कस्तो सजाय हो प्रिया यस्तो ? कसरी छाड्यौ रगताम्य पारेर ? मेरो धड्कन लैजाँदा मेरो दिमागको ठेगान पनि लगिदिएको भए बरु म यो मरुस्थल अन्जान शहरमा पागल भएर बेठेगान भएर हिड्थेँ । कमसेकम हाँस्नलाई तिमीलाई कुरिरहन त पर्दैनथ्यो ? आखिर यो मेरो वर्तमान त्योभन्दा बेहत्तर कहाँ छ र ?
मेरी प्राण ! म एक्लै हाँस्न थालेदेखि तिमीसँग गुनासो पनि कम हुँदै गएको छ । म ज्ञानी भएको छु । सायद समय नै पीडा र ओखती दुवै हो। यसैले पीडा दिएर जान्छ यसैले मलम लगाउँछ । यसैले घाउ बनाउँछ यसैले खाटा बसाल्छ । सायद यही समयले धेरै कुरा सिकाएर गएको छ र सायद यसैकारण अब म पहिलेभन्दा धेरै समझदार भएको छु । जति मुर्ख भए पनि यत्ति त बुझ्न सक्छु कि माया भन्ने चिज न माग्न मिल्छ, न किन्न पाइन्छ न साट्न पाइन्छ ।
मेरी प्रियतमा अनु, म कसरी बताउँ यी बितेका समयको कालखण्डमा कसरी बिते? म निस्सासिएर, चोइटिएर भाँचिएर बाँचिरहेछु । मलाई यति मात्र भन तिमी किन गुमनाम बस्न चाहन्छौ ? किन फेरियो तिम्रो सम्पर्क नम्बर, किन दिइनौ नयाँ नम्बर, तिमी कहाँ छौ ? कमसेकम यति मात्रै जानकारी देऊ कि तिमी सकुशल छ्यौ, खुसी छौ म बस् चित्त बुझाउन सक्छु । जब तिम्रो अन्तिम चिठ्ठी हात परेथ्यो त्यही दिन मेरो अन्तिम दिन हुनुपर्थ्यो तर सकेन म किन बाँचे ? कहिलेकाहीँ मृत्यु किन यति उदार भइदिन्छ कि प्राण स्वीकार्न इन्कार गर्छ । जब म तिम्रा चिठ्ठीका हरफहरूमा दौडिरहेको थिएँ बेलाबेला मेरो मुटु द्रुतगतिमा दौडन्थ्यो भने घरि धड्कन मा ब्रेक लाग्थ्यो । `म अब पुरानो ठाउँमा छैन, अन्तै बसाइ सरेँ । पुरानो ठेगानामा चिठ्ठी नपठाउनू र मलाई नपर्खनू र नखोज्नू पनि´ भन्ने तिम्रो भनाइले मलाई सोच्न बाध्य बनायो । भौतिक बसाई मात्र परिवर्तन भएको हो कि मन अर्कैलाई डेरामा दियौ या कसैको तन,धन र मनको मालिक भयौ त्यो प्रष्ट खुलाएकी थिइनौ चिट्ठीमा। यदि हो भने कहाँ थन्कायौ हाम्रो वाचा र कसम ? कता गाड्यौ मैले साहिँली औलामा चिनो छाडेको औँठी र मनमा गाडेको प्रेमको निशानी ?
मेरी प्राण ! म एक्लै हाँस्न थालेदेखि तिमीसँग गुनासो पनि कम हुँदै गएको छ । म ज्ञानी भएको छु । सायद समय नै पीडा र ओखती दुवै हो। यसैले पीडा दिएर जान्छ यसैले मलम लगाउँछ । यसैले घाउ बनाउँछ यसैले खाटा बसाल्छ । सायद यही समयले धेरै कुरा सिकाएर गएको छ र सायद यसैकारण अब म पहिलेभन्दा धेरै समझदार भएको छु । जति मुर्ख भए पनि यत्ति त बुझ्न सक्छु कि माया भन्ने चिज न माग्न मिल्छ, न किन्न पाइन्छ न साट्न पाइन्छ । म त तिम्रो मायाको भिखारी न हूँ । तिमीले उदार भएर मेरो झोलीमा मायाको भिक्षा दिउन्जेल म सन्सारकै धनी, भाग्यमानी र शक्तिशाली थिएँ जब तिम्रो बाटो फेरियो म सर्वहारा भएँ । म गतिहिन, शक्तिहिन र गन्तव्यविहीन भएँ । प्रेम के दावी गर्ने या जिकिर गर्ने चिज हो र म जिकिर गरूँ ? फेरि अर्को कुरा तिमी त आखिर मसँगै छौ हरदम हरपल। कहिल्यै कुनै पल तिमीबाट टाढा भएको महसुस नै भएन तब म किन यति जिद्दी भइरहेछु सानो बालकले मिठाई मागे जस्तो ? प्रेममा सधैँ पाउनुपर्छ भन्ने धारणा बनाइन्छ भने प्रेम त वासनाको परिपुर्तिका लागि जलप लगाएर बनाइएको सम्बन्ध मात्र न हो । प्रेममा त कोही आफूभित्रै समाहित हुन्छ, अँध्यारो गुफामा दीप प्रज्वलित भएजस्तै भित्र एउटा अनुरागको उज्यालोले जीवन प्रज्वलित गरिरहेको हुन्छ। शरीर र भावना कहिल्यै भिन्न अस्तित्वमा रहन्न । तिमी जहाँ रहू, जो सँग रहू तिमी खुसी हुनु किनकि अघि नै भनिसकेँ तिमी मुस्कुराइरह्यौ भने मलाई सास फेर्न सजिलो हुन्छ ।
कुनै दिन अभावको सिरेटोले मुटु छेड्यो भने मेरो शरीरमा तातो रहेसम्म, मेरो सन्दुकमा रहेको अन्तिम टाँकसमेत तिम्रो अभावको खाल्डो पुर्न सकेछन् भने मेरो जीवनको कमाइको सार्थकता हुनेछ।
मेरी प्रियतमा !
धेरै के के लेखूँ, यो सायद अन्तिम चिठ्ठी हो र मेरो अन्तिम अनुरोध पनि यत्ति हो कि तिम्रो जीवनको कुनै पनि मोडमा जब दु:खको झरीले भिझाउँछ र ओत लाग्ने ठाउँको खट्किन्छ तब सम्झनु मेरो घरको छानो तिम्रो लागि सदा खडा छ । जब आँसुको भेलले जीवनको गोरेटो भत्काउन थाल्छ र एउटा सहाराको खाँचो पर्छ मेरा हातहरू सग्ला रहेसम्म यी हातहरू कहिल्यै तिम्रा लागि पराइ हुने छैनन्। कुनै दिन अभावको सिरेटोले मुटु छेड्यो भने मेरो शरीरमा तातो रहेसम्म, मेरो सन्दुकमा रहेको अन्तिम टाँकसमेत तिम्रो अभावको खाल्डो पुर्न सकेछन् भने मेरो जीवनको कमाइको सार्थकता हुनेछ। जब संसारका सबै बाटाहरू बन्द भएजस्तो लाग्छ, जब घाम मलिन र जून रापिलो लाग्न थाल्छ, जब अगाडि बढ्न बाटो सकिएको भान हुन्छ, जब टेक्ने थलो र समाउने ठाउँको अभाव खट्कन्छ तब तिम्रो बस्ती नजिकै उहिल्यै उजाडिएको मेरो घरतिर सोझिनू र सिधै सिरानतलाको पूजाकोठामा गएर एउटा दियो बालिदिनू अनि उज्यालो बनाइदिनू उहिल्यैदेखि बत्ति निभेको मेरो चकमन्न घरमा ।उही सदा तिम्रो
अभागी अनुरागगल्कोट नगरपालिका,बाग्लुङमा जन्मिएर वनस्थली, काठमाडौंमा बसोवास गर्दै आउनुभएका राधिका कल्पित पेसाले अध्यापक हुनुहुन्छ । कुमुदिनी कुन्ज स्कुल, टेकुका संस्थापक एवम् कार्यकारी अध्यक्ष उहाँको विधागत रुचि अङ्ग्रेजी साहित्यमा फिक्सन र फिलोसोफी, नेपाली साहित्यमा कविता, कथा र उपन्यास छ भने लेखन विधामा मुख्यत: कविता (नेपाली एवम् अङ्ग्रेजी ), साथमा फुटकर रूपमा कथा, लघुकथा, संस्मरण मुक्तक, गजल, लेख आदि रहेका छन् । अङ्ग्रेजी साहित्यमा स्नातक र समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएका उहाँको `बरफका कोइलाहरू´ कवितासङ्ग्रह वि.सं. २०७७ मा प्रकाशन भएको छ ।