( कविता) किरन सिवा
( कविता)
ठुले देश बिर्सिदैन
धितो राखेर आफ्नै पुर्खौली विरासत
बाध्यताको विमान चडेर पर्देशिएको हुँ
हजुरले सोचेको यत्ति त हो
भुलेर आफ्नै देशको माटो
बिर्सिएर आफ्नै गाँउको परिवेश
यो ठुले कसरी जान सक्छ सात समुन्द्रपारी ?
महासय !
देश सोच्दासोच्दै
अभावको पैतालाले हरेक दिन बाध्यताको बाटो हिँडाउदो रहेछ
बेरोजगारीको आगोले हरेक दिन
सपनाहरुको घर जलाउदो रहेछ
भाग्यका पानाहरुमा सौभाग्यका अक्षरहरु मेटिदै गएपछि
श्रमको कुँचीले आवश्यकताको रङ्ग भर्न पछि पर्नु थिएन
तर पनि
समयको धरालतमा उभिएर
ईच्छाहरुको क्षितिज पारीबाट सम्बोधन गरिरहेछु मेरो देशलाई
मैले बाको शीरमा नयाँ ढाका टोपी पहिरिदिएपछि
सगरमाथाको गौरब झल्किएको महसुस गेरेकै हुँ
बहिनीलाई चौबन्दी र फरीया किनिदिएपछि
चन्द्रसूर्य फर्फराएको आभास गरेकै हुँ
आमालाई रातो साडी लगाइदिएपछि नेपाल–आमा
हाँसिरहेको महसुस पनि गरेकै हुँ
महासय !
यहाँ पनि मलाई यस्तो लाग्छ–
भ्रमको महसुसभित्र पनि डर र त्रासको बास हँुदोरहेछ
दुःख बुझोस् भनि धेरै पढाएर, पर्देश पठाएको छोराले
बाबाकै दुःख बिर्सेपछि, फेरि फर्किदैन कि भन्ने डर लाग्छ
म हरेक रात ती चिच्याहटहरु महसुस गर्न सक्छु
जो मजदुरीको नाममा पर्देशीएको चेलीहरु, बेचिन बाध्य छन्
यहि कुराले त बिजाएको छ हजुरलाई
कि देश छोडेर जानेहरु
सबैसबै बिर्सिएर जान्छन्
महशय ! मैले त
मेरी आमाको विस्वास
बाबाको ईमान र बहिनीको ईज्जत्
आफ्नै देशलाई छोडेर आएको छु
यदि कुनै दिन मेहनतको जाँतोमा
जिन्दगीको सम्पूर्णता पिसिएर मर्नु परेछ भने
रातो बाकसभित्र
आफ्नै माटो फर्किएर आउने छु
सायद विश्वास हुनेछ हजुरलाई
यो ठुले कहिल्यै देश बिर्सदैनँ ।