अनेसास भानुजयन्ती , वार्षिक सभा तथा सर्वोत्‍कृष्ट पुस्तक पुरस्कारको नतिजा घोषणा कार्यक्रम सम्पन्न

२०२३ जुलाई १५, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले २१० औँ भानुजयन्ती, वार्षिक सभा तथा सर्वोत्‍कृष्ट पुस्तक पुरस्कार- २०२३ को नतिजा घोषणा कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । अनेसास केन्द्र तथा विभिन्न च्याप्टरहरुले भानुजयन्तीलाई पर्वको रूपमा बर्सेनी मनाउँदै आएका छन् ।

भर्च्युअल जूममार्फत भएको उक्त समारोहका प्रमुख अतिथि प्रा. डा. व्रतराज आचार्य हुनुहुन्थ्यो भने कार्यक्रमका सभापति अनेसासका केन्द्रीय अध्यक्ष श्री गोवर्द्धन पूजाले गर्नुभएको थियो । अनेसासका महासचिव श्री विमला निरौलाले सञ्चालन गर्नुभएको उक्त समारोहमा अनेसास बिओटीका सभापति पदम विश्वकर्मालगायत सम्पूर्ण पदाधिकारी तथा सदस्य, केन्द्रका पदाधिकारी एवं सदस्य, सल्लाहकारहरू, पूर्व सल्लाहकारहरु निवर्तमान अध्यक्ष तथा वर्तमान केन्द्रीय सल्लाहकार प्रकाश पौडेल ‘माइला’, पूर्व अध्यक्षहररू, संस्थापक अध्यक्ष श्री होमनाथ सुवेदीलगायत आजीवन सदस्यहरू, च्याप्टरका प्रतिनिधिहररूका साथै विभिन्न देशबाट साहित्यकारहरू एवं बालसाहित्यकारहरूको उल्लेख्य उपस्थित रहेको थियो ।

नियमित प्रशारण गरिने अनेसास संवादको ४३ औँ शृङ्खलाअन्तर्गत उक्त समारोह भएको थियो ।

समारोहमा उपस्थिति अतिथिहररूलाई स्वागत मन्तव्यबाट अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका वरिष्ठ उपाध्यक्ष श्री सर्वज्ञ वाग्लेले स्वागत गर्नुभएको थियो । भानुजयन्तीमा बालबालिकालाई प्रथम स्थान दिई मनाइएको यस भानुजयन्तीको समारोहमा अमेरिका बोस्टननिवासी श्री बालक हार्दिक काफ्लेले शंख बजाई स्वस्तिक वाचन गरेका थिए भने भर्जिनियाका सचिन चापागाई, सुयोग चापागाईले राष्ट्रियगान गाएर स्वागत गरेका थिए । त्यस्तै अनेसास केन्द्रको तर्फबाट अस्ट्रेलिया निवासी श्री महेश्वर शर्माले भानुका सम्बन्धमा तयार पारिएको सामग्रीलाई प्रस्तुत गर्नुभएको थियो ।

अस्ट्रेलियाबाटै उपस्थित ९ बर्षिय बालक आयाम घिमिरेले रामायण बालकाण्डको श्लोक वाचन गरेका थिए । त्यसैगरी संस्कृति बुढाथोकी,  स्वाधिनता पौडेल, विमल शर्मा, प्रसुन पौडेललगायत नेपालबाट उपस्थित बालबालिकाहरूले पनि रामायणका श्लोकहरू वाचन गरेर सुनाएका थिए । 

भानुजयन्तीका अवसरमा यसरी बालबालिकालाई समेत जोडेर गरिएको कार्यक्रमको प्रशंसा गर्दै अनेसासका संस्थापक तथा साहित्यकार श्री रोहिणी शर्माले कार्यक्रममा भाग लिई रामायण श्लोक सुनाउने बालबालिकाहरूलाई आफ्नो तर्फबाट जनही २५ डलर पुरस्कारस्वरूप प्रदान गर्ने घोषणा गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । त्यसैगरी शुभकामना मन्तव्य दिने अनेसासका सल्लाहकार गोविन्द गिरि प्रेरणाले कार्यक्रमको प्रशंसा गर्दै भानुका विषयमा आफ्नो मन्तव्य राख्नुभएको थियो । त्यस्तै शुभकामना मन्तव्य दिनुहुने अनेसास बिओटीका पूर्व सभापति श्याम कार्कीले अनेसास र भानुजयन्तीका विषयमा आफ्नो मन्तव्य राख्नुभएको थियो । अनेसास प्राज्ञिक समितिका तर्फबाट नेत्रबन्धु पोखरेलले शुभकामना मन्तव्य राख्नुभएको थियो । शुभकामना मन्तव्य दिनेहरूमा अनेसास बोस्टन च्याप्टरका अध्यक्ष तथा अनेसास सांस्कृतिक समितिका अध्यक्ष श्री महेश्वर पन्तले अनेसासको पुरस्कारको गरिमा बढाउने योजनासहित सुझाव व्यक्त गर्दै आफ्नो मन्तव्य दिनुभएको थियो ।

त्यसैगरी अनेसासका संस्थापक अध्यक्ष श्री होमनाथ सुवेदीले अनेसासले भानुजयन्ती मनाउने गरेको विगतका इतिहासलाई संंक्षिप्त रूपमा प्रष्ट पार्दै भानुसम्बन्धी कवितामार्फत शुभकामना मन्तव्य दिनुभएको थियो । त्यसैगरी आजीवन सदस्यहरूको तर्फबाट ललिता दोषीले शुभकामना मन्तव्य राख्नुभएको थियो । त्यस्तै अनेसासको भानुजयन्ती, साधारणसभा तथा उत्कृष्ट पुरस्कारको विषयमा आफ्नो धारण राख्दै अनेसासका पूर्व अध्यक्ष श्री राधेश्याम लेकालीले शुभकामना मन्तव्य राख्नुभएको थियो । त्यसैगरी अनेसासका पूर्व अध्यक्ष मोहन सिटौलाले शुभकामना मन्तव्य दिनुभएको थियो ।

अनेसास बिओटीका सभापति श्री पदम विश्वकर्माले कार्यक्रमको प्रशंसा गर्दै अनेसासको ३१ औँ वार्षिक साधरणसभामार्फत प्रस्तुत गरिने अनेसास केन्द्र तथा बिओटीको प्रतिवेदन तथा समारोहको महत्त्वपूर्ण कार्यक्रम ‘अनेसास सर्वोत्कृष्ट पुरस्कार’का विषयमा संक्षिप्त जानकारी दिँदै अनेसास एवं बिओटीका कार्यहरूका विषयमा बोल्दै आफ्नो शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. व्रतराज आचार्यले अनेसासले नेपाली भाषाभाषी समुदाय र नेपाली वाङ्मयलाई जोड्ने सेतुको कार्य गरेको कुरा उल्लेख गर्दै भानुभक्तको वंशज भएका नाताले भानुभक्तबारे आफूले अनुसन्धान गरेका कुराहरूको उल्लेख गर्दै भानुभक्तका विषयमा र उहाँको कृति रामायणलगायतका अन्य कृतिका विषयमा छोटकरीमा जानकारी दिनुभयो । भानुभक्तको रामायणले हरेक नेपाली भाषा संस्कृतिलाई एकीकरण गरेको उल्लेख गर्दै भानुभक्तको रामायणलाई अनुवाद नभनेर लेखन नै भन्नुपर्नेमा जोड दिनुभयो । दार्जिलिङ्गेले भानुभक्तको रामायणको मूल्यबोध गर्दै कलकत्ता युनिभर्सिटीमा नेपाली भाषाको पाठ्यक्रम राख्न विशेष पहल गरेको कुरा बताउँदै २००७ सालपछिमात्र सरकारी र गैर सरकारीस्तरबाट भानुजयन्ती मनाउने गरिएको कुरा बताउनुभयो । नेपाली भाषासाहित्यको मूल नै रामायण भएको र यसले विश्वभर रहेका नेपालीहरुलाई एकताबद्ध गराउन सकेको जानकारी गराउनुभयो ।

प्रमुख अतिथिको मन्तव्यपश्चात् प्रभा पोखरेल, यम पौडेल, गंगा लिगलले भानुविषयक कविता वाचन गर्नुभएको थियो । त्यसपछि कार्यक्रमका सभापति तथा अनेसास केन्द्रीय अध्यक्ष श्री गोवर्द्धन पूजाले भानुसमारोहमा भएको उपस्थितिले अनेसासप्रतिको अगाध माया ममता रहेको कुरालाई पुष्टि गरेको बताउँदै उपस्थित सबैलाई धन्यवाद दिँदै भानुजयन्ती समारोह सत्र समाप्त भएको र वार्षिक साधारणसभाको आरम्भको लागि अनुमति दिनुभयो ।

भानुजयन्ती समारोहको सत्र समाप्तपश्चात् प्रारम्भ भएको अनेसास ३१ औँ वार्षिक साधारणसभामा अनेसास केन्द्रीय कार्यसमिति २०२२–२०२३ को प्रतिवेदन महासचिव विमला निरौलाले प्रस्तुत गर्नुभएको थियो । कोषाध्यक्ष निजानन्द मल्ललले २०२२—२०२३ को आर्थिक आय-व्ययको विवरण पेश गर्नुभएको थियो भने वार्षिक साधारसभा समारोहको सञ्चालन अनेसासका सचिव दीप पाठकले गर्नुभएको थियो ।

त्यसैगरी अनेसास बिओटीको प्रतिवेदन महासचिव प्रकाश नेपालले पेश गर्नुभएको थियो भने आर्थिक आय-व्ययको विवरण सचिव नारायण अधिकारीले पेश गर्नुभएको थियो ।

अनेसास केन्द्रको प्रतिवेदनमाथिको टिप्पणी सल्लाहकार भारती गौतमले गर्नुभएको थियो भने बिओटीको प्रतिवेदनमाथिको टिप्पणी सल्लाहकार पुरु सुवेदीले गर्नुभएको थियो । टिप्पणीपश्चात् उपस्थित अतिथिहरूका लागि दुवै प्रतिवेदनमाथि छलफलका निम्ति समय छुट्याइएको थियो ।

टिप्पणीकर्ता तथा उपस्थित अतिथिहरूबाट उठाएका टिप्पणी एवं गुनासा, सुझावहरूलाई अध्यक्ष गोवर्द्धन पूजाले सम्बोधन गरेपश्चात् वार्षिक साधारणसभाको अन्त्यमा उपस्थितहरू सबैले ताली बजाएर केन्द्र तथा बिओटीका दुई-दुईओटै प्रतिवेदनलाई पास गरिएको थियो ।

प्रतिवेदनको पूर्णपाठ:

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका आदरणीय आजीवन सदस्यज्यूहरू, केन्द्रीय कार्यसमिति अध्यक्षलगायत अन्य पदाधिकारीज्यूहरू, बिओटी सभापति र अन्य पदाधिकारीज्यूहरू, सल्लाहकारज्यूहरू, बिओटी सदस्यज्यूहरू,विभिन्न च्याप्टर परिवारहरू तथा आदरणीय अग्रजहरू !
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) २०२२–२०२४ को सुरुको यो एक वर्ष (२०२२–२०२३) मा गरेका प्रगति विवरण र आगामी वर्षको कार्ययोजना तथा लक्ष्यहरूको संक्षिप्त विवरण प्रस्तुत गर्दछु ।
वर्तमान कार्यसमितिले ११ जुलाई २०२२ बाट आफ्नो कार्यभार सम्हालेको थियो, जुन समय सम्पूर्ण मानवजाति कोरोनाको महामारीबाट त्रसित र अस्तव्यस्त बन्नुपरेको कुरा सर्वविदितै छ । अस्तव्यस्त र त्रासदीका बाबजुद पनि अनेसासको वर्तमान कार्यसमितिले अनेसासको विधानभित्र रहेर आफ्ना नियमित गतिविधिहरूलाई निरन्तरता दिनुका साथै नेपाली भाषा, साहित्यको पहुँचलाई विश्वव्यपीकरण, विभिन्न अग्रज साहित्यकार तथा भाषा र संस्कृति विज्ञहरूको सम्मान तथा विदेशमा जन्मेका र हुर्केका दोस्रो पुस्ताका भाइबहिनीहरूलाई नेपाली भाषा, साहित्यमा सहभागी गराउन र विदेशमा बस्ने सर्जकहरूलाई एकताबद्ध गर्न विभिन्न समन्वयकारी भूमिका तथा पहलहरू भौतिक तथा भर्चुअल कार्यक्रमहरूबाट सम्पन्न गरेको कुरा यहाँहरूसमक्ष प्रस्तुत गर्न पाउँदा हामीलाई गर्व लागेको छ ।
विभिन्नखाले आकर्षक भर्चुल कार्यक्रमहरू निरन्तर सञ्चालनमा आइरहेको भएता पनि लामो समयसम्म कोरोना भयले भौतिक रूपमा कुनै कार्यक्रम र भेटघाट हुन नसकिरहेको अवस्थामा अनेसास केन्द्रले न्युयोर्क च्याप्टरसँगको सहकार्यमा २६ नभेम्बर २०२२ मा लक्ष्मीजयन्ती कार्यक्रम भौतिक रूपमा भव्यताका साथ सम्पन्न गरेको थियो । यो कार्यक्रम नै यस कार्यसमितिले भौतिक रूपमा गरेको पहिलो कार्यक्रम हो । कोरोना महामारीले गर्दा विश्वका अधिकांश देशमा भएको लकडाउनका कारण अघिल्लो कार्यसमितिले यसरी भौतिक कार्यक्रम गर्ने अवसर प्राप्त गर्न सकेको थिएन ।
यसैगरी यसै वर्ष अमेरिकाबाहिरबाट १०० भन्दा बढी र अमेरिकास्थित अनेसास सम्बद्ध साहित्यकारहरूसहित २५० जनाको उपस्थितिमा अमेरिकाको बोस्टन शहरमा अनेसासको पाँचौंँ च्याप्टर तथा महिला सम्मेलन भव्य रूपमा सम्पन्न भयो । जसलाई हामीले गौरव र हर्षको रूपमा लिएका छौँ ।
नेपाली भाषा र साहित्यको विश्वव्यापीकरणमा यी कदमहरू सामान्य लागे पनि इतिहासले गौरव गर्ने छ र स्मरण गर्नेछ भन्ने कुरामा हामी विश्वस्त छौँ । विगतमा भएका कामहरूलाई निरन्तरता दिँदै नयाँ कार्यहरू पनि हामीले गर्दै आएका छौँ । संस्थाको हकहितका लागि स्थापना गरिने विभिन्न समितिहरूको गठन, बिओटीसँगको सहकार्य, चाप्टरहरूसँगको सहकार्यलगायत विभिन्न कार्यक्रमहरू, प्रकाशनहरू, विभिन्न पुरस्कार व्यवस्थापन तथा वितरणका लागि प्रमुखताका साथ लागिरहेका छौँ । अनेसास संवाद कार्यक्रममार्फत विभिन्न विषय र सन्दर्भहरू निरन्तर प्रसारण भइरहेका छन् । म यिनै कुराहरू र अनेसासले यस वर्ष गरेका अन्य कार्यक्रमहरूका साथै आगामी कार्ययोजना र लक्ष्यहरूलाई संक्षिप्त बूँदागत रूपमा प्रस्तुत गर्दछु ।
१ अनेसासको सङ्गठन सुधार तथा सदस्यतासम्बन्धी 
► आजीवन सदस्यहरूको संख्यामा वृद्धि गरेको ।
► संसारभरिका च्याप्टरहरूसँग अन्तरक्रियाहरू गरेको ।
► अध्यक्षसँग अनेसासका कुरा कार्यक्रममार्फत संसारभरका आजीवन सदस्य तथा च्याप्टरहरूका गुनासा,  सुझाव सुन्ने कार्यको थालनी गरेको ।
► नियमित रूपमा बैठकहरू राखी अनेसासलाई क्रियाशील तुल्याउने खालका विभिन्न निर्णयहरू गरिएको ।
► नेपाल च्याप्टरसँग विशेष बैठकहरू सम्पन्न भएको ।
► बिओटीसँगको संयुक्त बैठकहरू भएको ।
► बोर्ड अफ ट्रष्टीको निर्वाचनमा गरेको विशेष भूमिका निर्वाह गरेको ।
२ अनेसासको वेबपेजसम्बन्धी 
► यस कार्यकालअघिसम्म अनेसास दर्पण पत्रिकालाई पिडिएफ भर्सनमा inls.org मा अपलोड गरी सार्वजनिक गरिन्थ्यो भने यस वर्षदेखि inlsdarpan.com नामक छुट्टै अनलाईन साहित्यिक पत्रिकाको  रूपमा निर्माण गरी यसमार्फत अनेसास गतिविधिलगायत विश्वका अन्य साहित्यिक समाचार, गतिविधि, अन्तर्वार्ता, साहित्यिक लेखरचना, कला, संस्कृति, मनोरञ्जन आदिका सामग्रीहरू प्रकाशन गर्न थालिएको ।
► अनेसास केन्द्रको वेबपेज inls.org को अद्यावधिक गरिएको ।
► वेबपेज चुस्त र दुरुस्त राख्नको लागि आन्तरिक बैठक र छलफलहरू गरिएको ।
► प्राविधिकको सहयोगबाट अनेसासको वेबपेजलाई नयाँ र आकर्षक बनाउने कामहरू र सामग्री राख्ने काम भएको ।
३. संथाका अग्रज र ज्येष्ठ साहित्यकार, समालोचक र भाषा तथा संस्कृतविद्हरूसँगको अन्तरक्रिया र सम्मान 
► अग्रजहरू र संस्थामा अनवरत योगदान दिएका व्यक्तिहरूलाई पुरस्कृत र सम्मानित (जस्तैः अग्रज सम्मान–  रोहिणी शर्मा) गरिएको ।
► अनेसास विशेष पुरस्कार (जस्तैः अग्रज मोहन सिटौला र गीता खत्री) प्रदान गरिएको ।
► अग्रज र प्रसिद्ध साहित्यकारहरूको जन्मोत्सव तथा स्मृतिमा कार्यक्रमहरू गरिएको ।
► अमेरिकाबाहरिबाट अमेरिका आउनुभएका साहित्यकारहरूको सम्मान कार्यक्रम गरिएको ।
► दिवंगत भएका साहित्यकारहरूको सम्झनामा श्रद्धान्जलिसभाहरू गरिएको ।
४. दोस्रो पुस्तामा भाषा र साहित्यको पहुँच र सहभागितासम्बन्धी 
► प्रवासमा रहेका बालबालिकालाई समेटेर गरिने बालतारा कार्यक्रम नियमित रूपमा गरिएको
► अनेसास संवादअन्तर्गत बालसिर्जना र बालसंवाद वा रचना वाचन तथा बालक्षमता प्रदर्शनका कार्यक्रमहरू     नियमित रूपमा गरिएको ।
► बालबालिकाको क्षमता अभिवृद्धिका लागि विभिन्न बालकार्यक्रमहरू सञ्चालन गरिएको ।
► सम्मेलन तथा अन्य भौतिक, भर्चुअल कार्यक्रमहरूमा बालबालिकाहरूको सहभागिता गराइएको ।
► समय समयमा भाषा पाठशालासम्बन्धी छलफल र अन्तरक्रिया कार्यक्रमहरू गरिएको ।
५.साहित्यकारहरूको एकता तथा साहित्यलेखनमा प्रेरणा र सहजीकरणसम्बन्धी

► नेपाली चाडपर्वको आधारमा गरिने कविगोष्ठी जस्तै ः काव्यमा आमा– मातातीर्थ औँसी, दसैँ, तिहार विशेष कविता, नयाँ वर्ष कविता, तीज विशेष कार्यक्रम आदि गरिएको ।
► विभिन्न सर्जकका पुस्तकहरूलाई प्रकाशनमा सहयोग गरिएको ।
► अग्रज र वरिष्ठ साहित्यकारहरूसँग अन्तरक्रिया कार्यक्रमहरू गरिएको ।
६. अनेसासको अन्य सङ्घसंस्थाहरूसँगको समन्वय
► अन्य सङ्घसंस्थासँगको सहकार्यमा जस्तैः एएनए., आन्मालगायत अनेसास च्याप्टरसँग मिलेर विभिन्न  कार्यक्रमहरू गरिएको ।

७ महिला साहित्यकारहरूसँगको विचार मन्थनः
► पाँचौँ महिला सम्मलेन (बोस्टन) मा सम्पन्न गरिएको
► महिला सम्मेलन २०२३ बोस्टनमा सिर्जनामा नारी ३ लोकार्पण गरिएको ।
► तिज विषयमा महिला विचार–विमर्श कार्यक्रम गरिएको ।
► नारी दिवसको अवसरमा कार्यक्रम गरिएको ।
► भाषा पाठशालालाई हौसला प्रदान गर्न उत्कृष्ट गुरुआमा सम्मान र पुरस्कार व्यवस्था तथा वितरण गरिएको ।
८. नियमित साहित्यिक रचना वाचन ः
► हरेक हप्ता शनिवार बिहान साहित्य–संवादमार्फत भिन्न भिन्न विधामा गरिने वाचनहरू जस्तैः गद्य कविता, पद्य  कविता, मुक्तक, गजल, हाइकु आदि नियमित गरिएको ।
► विशिष्ट साहित्यिक व्यक्तिको सम्झनामा गरिने जन्मजयन्तीहरूका अवसरमा जस्तैः लक्ष्मीजयन्ती, भानुजयन्ती,  महानन्द सापकोटा जयन्ती, वासुशशीको सम्झना, माधव घिमिरेको कविता मोहत्सव, सिद्धिचरण जयन्ती आदि   कार्यक्रम गरिएको ।
९ नियमित कार्यक्रम ः
► पटक पटक बसेको नियमित बैठकहरूमा १९ औँ बैठकसम्म सम्पन्न गरी विभिन्न निर्णयहरू गरिएको ।
► हरेक हप्ता शनिवार बिहान साहित्य संवादहरू नियमित गरिएको ।
► वार्षिक साहित्यिक उत्सवका कार्यक्रमहरू गरिएको ।

१०. सम्मेलन, कार्यक्रम तथा सहभागिता ः
► बोस्टनको पाँचौँ च्याप्टर तथा महिला सम्मेलन सम्पन्न गरिएको ।
► च्याप्टरको कार्यक्रममा केन्द्रको सहभागिता गराइएको ।
► न्युयोर्कमा लक्ष्मीजयन्ती सम्मेलन सम्पन्न गरिएको ।
► डीसीमा कवि नवराज पराजुलीको एकल कविता वाचन कार्यक्रम गरिएको ।
► डीसीमा प्राध्यापक रामप्रसाद पराजुलीको सम्मान गरिएको ।
► न्युह्यामसाएरमा लक्ष्मीजयन्ती र श्रीपञ्चमीको सन्दर्भमा बालकार्यक्रम गरिएको ।
► बोस्टन च्याप्टरको विभिन्न कार्यक्रममा अध्यक्षज्यूको सहभागिता रहेको ।
► कोलोराडो च्याप्टरको कार्यक्रममा अध्यक्षको सहभागिता रहेको ।
► जर्जिया च्याप्टरको कार्यकर्ममा अध्यक्षको सहभागिता रहेको ।
► मेरिल्याण्ड च्याप्टर कार्यक्रममा अध्यक्षज्यूको सहभागिता रहेको ।
११. प्रकाशनसम्बन्धी कार्य
► अनेसाको मुखपत्र अन्तर्दृष्टिको नियमित प्रकाशन तथा वितरण गरेको ।
► विश्वभरि रहेका नेपाली नारीहरुको लेखरचना सङ्गृहीत सिर्जनामा नारी—३ को प्रकाशन तथा वितरण गरेको ।

 

आगामी कार्ययोजना तथा लक्ष्यहरू
आजीवन सदस्यहरूको तथ्याङ्कलाई अद्यावधिक गरी नामावलीका आधारमा कोड नंबरसहित अनेसासको QR  कोड राखी सम्पूर्ण आजीवन सदस्यहरूको परिचपत्र (ID CARD) निर्माण गर्ने र आजीवन सदस्यहरूलाई वितरण  गर्ने लक्ष्य रहेको ।
► नियमित गरिँदै आएका अनेसासका कार्यक्रमलाई निरन्तरता दिने ।
► अनेसास संवाद र अनेसास बालतारा कार्यक्रमलाई अझै प्रभाकारी तरिकाले अगाडि लैजाने ।
► बिओटी र च्याप्टरहरूलाई आवश्यक परेको बेलामा सल्लाह, सुझाव र सहयोग गर्ने ।
► केन्द्रले गर्दै आएको आठौँ विश्व सम्मेलनलाई भव्य तरिकाले मनाउने ।
► क्षेत्रीय सम्मेलनको तयारी (युरोप सम्मेलन पोर्चुगलमा) गर्ने ।
► उत्तर अमेरिका क्षेत्रीय सम्मेलन उचित मितिमा गर्ने लक्ष्यपूर्तिका लागि च्याप्टरहरूसँग छलफल गर्ने ।
► क्षेत्रीय सम्मेलन र अनेसास दोस्रो बालसम्मेलन अस्ट्रेलियामा गर्ने लक्ष्यसहित आवश्यक कार्य गर्ने ।
► एसिया सम्मेलनका लागि आवश्यक छलफल चलाई मिति स्थान र समय निर्धारण गरी सम्मेलन गर्ने ।
► नेपालमा बृहत् साहित्यिक सम्मेलन गर्ने लक्ष्यलाई नेपाल च्याप्टरसँग छलफल गरी पूर्णता दिने ।
► अनेसास भवन खरिदको लागि बिओटीसँग सहकार्य गरी खरिद प्रक्रियालाई पूर्णता दिन पहल गर्ने ।
► अनेसास विधानलाई सम्पूर्ण आजीवन सदस्यसम्म पु¥याउन पहल गर्ने ।
► अन्य सङ्घ–संस्थासँग मिलेर गरिने कार्यक्रमहरूलाई निरन्तरता दिने ।
पुरस्कार र सम्मान
► नेपाली भाषा, साहित्य र समाजसेवी अग्रजहरूलाई र योगदानका आधारमा कदरस्वरूप सम्मान गर्ने ।
► अनेसास नवरत्न पुरस्कारलाई प्रभावकारी तरिकाले वितरण गर्ने ।
► भइरहेका पुरस्कारबाहेक थप पुरस्कारको सिर्जना तथा वितरण गर्ने ।
► प्रवासका दोस्रो पुस्तालाई प्रेरणास्वरूप बालतारा पुरस्कारलाई निरन्तरता दिने ।
► वार्षिक रूपमा प्रदान गरिँदै आएको अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारको संख्यावृद्धि र पुरस्कार राशीवृद्धिका लागि आवश्यक पहल गरी बिओटीलाई सहयोग गर्ने ।
प्रकाशन एवं प्रशारण
► अनेसासको पुस्तक प्रकाशन जस्तैः प्रवासी बालसिर्जना—२, अनेसास गान, मुक्तकसङ्ग्रहलगायत अन्य विधाका    पुस्तकहरू आर्थिक स्रोतअनुसार प्रकाशन गर्ने ।
► आजीवन सदस्यको सिर्जनाहरू प्रकाशनका लागि प्रेरणादायी भूमिका निर्वाह गर्ने ।
► अनेसासको मुखपत्र अन्तर्दृष्टिको बृहत् स्वर्ण अङ्क प्रकाशन गर्ने र भव्य कार्यक्रमसहित लोकार्पण गर्ने साथै अन्य   अङ्कलाई नियमित रूपमा प्रकाशन गर्ने ।
► अनेसास दर्पणको अनलाइन समाचार साइट inlsdarpan.com मार्फत अनेसास गतिविधिलगायत संसारभरका   साहित्यिक समाचार, अन्तर्वार्ता, साहित्यिक लेख, रचना एवं अन्य कला संस्कृतिलगायतका सामग्रीहरू प्रकाशन  गरी आम साहित्यिक पाठकहरूमाझ पुर्याइ नेपाली भाषा, साहित्यको उत्थान कार्यलाई निरन्तरता दिई साइटलाई अझ आकर्षक तथा प्रभावकारी बनाउनका लागि आवश्यक कार्यहरू गर्ने ।
► अनेसास केन्द्रीय सचिवालयलाई व्यवस्थित गर्नका लागि आवश्यक कार्यहरू गर्ने ।
► अनेसासको विधानलाई नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रकाशन गर्नेे ।
► आर्थिक स्रोतका आधारमा विभिन्न लेखरचना सङ्कलित संयुक्त कृति प्रकाशन गर्ने ।
► नेपाली भाषा–साहित्यका कृतिलाई विदेशी भाषाहरूमा अनुवाद गरी प्रकाशन गर्ने कार्यलाई बिओटी र विभिन्न       च्याप्टरको सहकार्यमा अघि बढाउने ।
► अनेसासको आफ्नै यूट्युव च्यानल निर्माण गरी उक्त च्यानलमार्फत नेपाली भाषा साहित्यका विविध कार्यक्रम  प्रशारण गर्ने तथा अन्य सङ्घ–संस्थासँग सहकार्य गरेर वा प्रायोजकको खोजी गरी कुनै स्याटेलाइट टेलिभिजनबाट  नेपाली भाषा–साहित्यविषयक कार्यक्रम सञ्चालन गर्ने लक्ष्यलाई पूर्णता दिन अनेसास बिओटी तथा अन्य सम्बन्धित  निकायसँग छलफल गरी आवश्यक कार्यहरू गर्ने ।
► प्रवासमा जन्मिएर हुर्कंदै गरेका बालबालिकाहरूलाई नेपाली भाषा, साहित्य, संस्कृति र सम्पदाप्रति जागृत   तुल्याउने  हेतुले त्यस्ताखाले बालपुस्तकहरूको नेपाली भाषासँगै अङ्ग्रेजी भाषामा उल्था गरी प्रकाशन गर्ने ।
विविध
► सञ्चालन भइरहेका नेपाली भाषा पाठशालाहरूलाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्न विभिन्न सहयोग तथा  कार्यहरू गर्नुका साथै अनेसासका च्याप्टरहरू भएका अन्य राज्य÷देशमा नेपाली भाषा पाठशाला खोली सञ्चालन  गर्नका लागि च्याप्टरहरूलाई सल्लाह, सुझाव र सहयोग गर्ने ।
► अनेसासका च्याप्टरहरू रहेका अन्य देश÷राज्यहरूमा नेपाली भाषाका पुस्तकालय खोल्नका लागि सल्लाह, सुझाव  तथा पुस्तक उपलब्ध गराउनेलगायत अन्य सहयोगका कार्यहरू गर्ने ।
► आवश्यकता र पहुँचका आधारमा अनेसासको उचाइ बढाउने अन्य गतिविधि तथा कार्यक्रमहरूको परिकल्पना गरी  आम आजीवन सदस्य एवं सङ्घ–संस्थालाई अनेसाससँग आबद्ध भएकोमा गर्वको महसुस हुने खालका कार्य गर्ने तथा कार्यको थालनी गर्ने ।

अर्को महत्त्वपूर्ण कुरा, यो अवधिमा अनेसासका च्याप्टरहरूबाट पनि धेरै नै उत्कृष्ट साहित्यिक कार्यक्रमहरू भएका छन् जुन आज मैले यहाँ समय अभावले समावेश गर्न सकिनँ । हाम्रा च्याप्टर र आजीवन सदस्यज्यूहरूको सक्रियता नै हाम्रो आधार र क्षमता हो। उहाँहरूप्रति हामी केन्द्रीय कार्यसमितिको तर्फबाट आभार र धन्यवाद व्यक्त गर्दछौँ । साथै अभिभावाकत्व र सल्लाह तथा मार्गदर्शनका लागि बोर्ड अफ ट्रष्टी तथा सल्लाहकारज्यूहरूप्रति आभार व्यक्त गर्दछौँ ।
अन्त्यमा,
अनेसास केन्द्र २०२२–२०२४ कार्यकालको पहिलो वर्षमा गरिएका कार्यक्रमले विश्वका विभिन्न ठाउँमा रहेका नेपाली मनहरूलाई नेपाली भाषा, साहित्य र नेपालीपन अङ्कुरण, संरक्षण, सम्वद्र्धन गर्न सहयोग पुगेको हामीले विश्वास लिएका छौँ । साथै आगामी वर्षको कार्यक्रम र लक्ष्यहरू पूरा गर्नमा हामी दृढ सङ्कल्पका साथ लागीपर्ने छौँ । यस प्रकारको कार्यक्रम तथा गतिविधिले अनेसास स्थापनाको मूल मर्मलाई सम्बोधन गर्न सक्नेछ भन्ने हामीलाई लागेको छ । यहाँहरू सम्पूर्ण आजीवन सदस्यहरूलगायत अनेसास बिओटी तथा नेपाली भाषा, साहित्यलाई माया गर्ने सम्पूर्ण अनेसास–अनुरागीहरुको साथ सहयोग र सल्लाह—सुझावले नै हाम्रो एक वर्षका कार्यक्रम तथा गतिविधले सार्थकता पाएको हो । हाम्रा आगामी योजना तथा लक्ष्यहरू पूरा गर्नका लागि यहाँहरूको यस्तै साथ सहयोग र सल्लाह—सुझाव पाइरहनेमा हामी विश्वस्त छौँ । साधनाका साथ गरिएको योजना तथा कार्यक्रमले नै भोलिको अनेसासको सुनौलो इतिहास कोर्न सफल हुनेछ र ‘हाम्रो अनेसास, मनमनमा बस्नेछ बास’ भन्ने कुरामा विश्वास लिँदै पुनः यँहाहरूको अटुट साथ सहयोगको अपेक्षासहित यहाँहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।
धन्यवाद !

विमला निरौला
महासचिव

त्यसपछि यस वर्षको अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारको नतिजा घोषणा बिओटी पुरस्कार समितिका अध्यक्ष तीर्थपाण्डेबाट भएको थियो ।

पुरस्कृत नतिजाको घोषणाको पूर्ण विवरण:

१. अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार 
राशी: २१०० $
दाता: अनेसास तथा प्रा.डा. गोपी उप्रेती
पुरस्कृत स्रष्टा: रण काफ्ले, भारत
कृति: रैथाने – उपन्यास

२. अनेसास होमनाथ सुवेदी डायस्पोरा सर्वोत्कृष्ट वाङ्मय पुरस्कार
राशी: १०००$
दाता: रोहिणी शर्मा
पुरस्कृत स्रष्टा: महेश्वर पन्त, अमेरिका
कृति: बौलाको डायरी – उपन्यास

३. अनेसास श्याम कार्की तथा इन्दीरा कार्की सर्वोत्कृष्ट निबन्ध पुरस्कार
राशि: १०००$
दाता: डा. श्याम कार्की
पुरस्कृत स्रष्टा: श्रीबाबु कार्की, नेपाल
कृति: शन्दिग्ध शताव्दी-निबन्ध

४. अनेसास डिल्लीराम तिम्सिना सर्वोत्कृष्ट उपन्यास पुरस्कार
राशी; १०००$
दाता: सुमन तिम्सिना
पुरस्कृत व्यक्ति: कल्पना खरेल, नेपाल
कृति: रानीतलाउ-उपन्यास

५. अनेसास सीता शर्मा संस्कृति तथा दर्शन सर्वोत्कृष्ट पुरस्कार
राशी: १०००$
दाता: रोहिणी शर्मा
पुरस्कृत स्रष्टा: गणेशकुमार जिसी, नेपाल
कृति: अरनिको एशिया: एक प्रस्तावना -संस्कृति

६. अनेसास राष्ट्रकवि सर्वोत्कृष्ट काव्य पुरस्कार (डायस्पोरा)
राशी: १०००$
दाता: गीता खत्री
पुरस्कृत स्रष्टा: सिन्धु पौडेल, इजरायल
कृति: मृत सागरको उचाइबाट-कवितासंग्रह

७. अनेसास राष्ट्रकवि सर्वोत्कृष्ट काव्य पुरस्कार
राशी: १०००$
दाता: डा. चुडामणि खनाल
पुरस्कृत स्रष्टा: डा.गोविन्द आचार्य, नेपाल
कृति: दङ्गी उर्वशी -महाकाव्य

८. अनेसास स्व. लक्ष्मीदत्त पाण्डेय सर्वोत्कृष्ट नियात्रा पुरस्कार
राशी: १०००$
दाता: तीर्थराज पाण्डेय
पुरस्कृत स्रष्टा: निर्मोही व्यास, नेपाल
कृति: आवारा वादल नियात्रा

९. अनेसास पदम विश्वकर्मा सर्वोत्कृष्ट कथा पुरस्कार
राशी: १०००$
दाता: पदम विश्वकर्मा
पुरस्कृत स्रष्टा: महेश पौड्याल, नेपाल
कृति: अपरिचित अनुहार कथासंग्रह

१०. अनेसास लक्ष्मण सत्याल सर्वोत्कृष्ट गीत गजल पुरस्कार
राशी: ५००$
दाता: पुरु सुवेदी तथा कल्पना सुवेदी
पुरस्कृत स्रष्टा: खेम रिजाल, अमेरिका
कृति: ऊर्जा (गितीसंग्रह)

११. अनेसास सुनिल पाठक विशिष्ट पुरस्कार
राशी: २०००$
दाता: सुनिल पाठक
पुरस्कृत विशिष्ट व्यक्तित्त्व: मोहन सिटौला

बिओटीका सभापति श्री पदम विश्वकर्माले उल्लेखित पुरस्कार लक्ष्मीजयन्तीका अवसरमा अमेरिकाको वासिङ्टन डिसीमा भव्यसमारोहबीच प्रदान गरिने जानकारी दिनुभयो । पुरस्कार समितिका अध्यक्ष तीर्थ पाण्डेय, साहित्यकार तीर्थ अधिकारी, गणेश खड्का, विजयराज शर्मा, दीपा राई पुन, ईश्वरी भट्टले पुरस्कारको विषयमा आफ्नो मन्तव्य राख्नुभएको थियो ।

उपस्थित सम्पूर्ण अतिथिहरूलाई अनेसास केन्द्रीय सदस्य सुदीपभद्रले धन्यवाद व्यक्त गर्नुभएको थियो भने अध्यक्ष गोवर्द्धन पूजाले समारोहको समापन गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्